कलेजको स्थापना
आईए उत्तीर्ण भाइ सोमनाथलाई जागिर खुवाउनका लागि काठमाडौँ आएको थिएँ,विसं २०११ मा । मेरा साथीहरू निर्वाचन आयोगमा जागिरे थिए ।

मेरो खास उद्देश्य भाइलाई जागिर लगाइदिएर आफू पढ्ने थियो। भाइको इच्छा पनि त्यही थियो। त्यसै वर्षको कात्तिकमा स्थापना भई फागुनदेखि पढाइ सुरु भएको नेपाल कानुन महाविद्यालय -ल कलेज)मा भर्ना भएँ। उक्त कलेज स्थापना गर्न रामराज पन्तले ठूलै पाथापच्ची गर्नुपरेको थियो। त्यतिबेला कानुन सचिव तिलकशमशेर जबराको नेतृत्वमा राजा महेन्द्रकहाँ उजुरी पुर्याइएछ, 'कानुनको काम सुब्बा-खरदारबाट भइरहेको अवस्थामा यस किसिमको क्याम्पस स्थापना गरियो भने देश नै बर्बाद हुन्छ। किनभने, वकिलहरू फटाहा हुन्छन्। यस क्याम्पसको मुख्य उद्देश्य त वकिल तयार गर्नु हो।' तर, पन्तले राजा महेन्द्रलाई पहिले नै यस विषयमा बि्रफिङ गराइसकेकाले तिलकशमशेरको केही लागेन। ल कलेज खुलेरै छाड्यो।
त्यतिबेला दरबार हाई स्कुलको दक्षिणपट्टकिो भवनमा विहार-पटनाको सम्बन्धनका आधारमा कानुनको पढाइ हुन्थ्यो। रात्रिकालीन कक्षा चल्थ्यो। अंगुरबाबा जोशी, बलराम जोशीलगायत हामी पहिलो ब्याचका विद्यार्थी हौँ। त्यतिबेला भारतीय कानुनको मात्र पढाइ हुन्थ्यो। मैले यहीँबाट बीएल उत्तीर्ण गरेँ । ३० वैशाख ०१४ मा मैले अधिवक्ताको लाइसेन्स पाएँ, नम्बर९ ।
त्यसै वर्ष जेठतिर वासुदेव ढुंगाना, टोपबहादुर सिंह, नीरकुमार खत्रीलगायतको एउटा टोली बागबजारस्थित मेरो डेरामा आयो । उनीहरूले पाठ्यक्रममा समावेश नेपाली विषय पढाइदिन आग्रह गरे । कानुनको पाठ्यक्रममा नेपालको मुलुकी ऐन र संविधानको विषय समावेश गरेपछि शिक्षक खोज्ने क्रममा उनीहरू मकहाँ
आइपुगेका रहेछन्।
त्यति बेलाका साह्रै लगनशील र प्रतिभाशाली विद्यार्थी मानिन्थे उनीहरू। मेरो दैलोसम्म आएर विद्याको भिख माग्दा मैले कसरी हुन्न भन्न सक्थेँ र ! फेरि संविधान र मुलुकी ऐन त मलाई कण्ठजस्तै थियो। मैले स्वीकृति दिएँ। र, एकैचोटि प्राध्यापकको नियुक्ति पाएँ। तर, मेरो राजनीतिक पृष्ठभूमि कम्युनिस्ट रहेकाले पन्तले प्राध्यापकको नियुक्ति दिने बेला एउटा सर्त राखे, 'क्याम्पसभित्र राजनीतिक सक्रियता देखाउन पाउनुहुन्न।' नभन्दै मैले कक्षाकोठा र विद्यार्थीसम्मुख कहिल्यै राजनीतिक सक्रियता देखाइनँ।
त्यतिबेलासम्म उक्त कलेजको आफ्नै भवन थिएन। लामो समय हामीले पनि दरबार हाई स्कुलसँगैको भवनमा पढायौँ । एक दिन अभिन्न मित्र कृष्णराज अर्यालसँग भेट भयो। अर्यालले रत्नराज्य क्याम्पस निर्माणार्थ सरकारसँग जग्गा माग गरेका रहेछन्। उनले क्याम्पस स्थापनार्थ आफूले जग्गा माग गरेको सुनाउँदै यही बेला माग्ने हो भने ल कलेज -हालको नेपाल ल क्याम्पस)का लागि पनि जग्गा प्राप्त हुने सुझाए । दरबार र दरबारियाहरूसँग पन्तको राम्रो सम्बन्ध-सम्पर्कको फाइदा उठाउँदै राजा महेन्द्रसँग यसबारे जाहेरी गर्याँैर रत्नराज्य क्याम्पससँगै जग्गा पायौँ।
यसरी प्राप्त भएको जग्गामा विद्यार्थीबाट उठेको मासिक शुल्कबाट प्राध्यापक-कर्मचारीलाई तलब दिएर बचेको रकमबाट भवन बनाउने काम भइरहेको थियो। यसैबीच प्राध्यापक तथा बोर्ड सचिव आशुतोष गंगोलको निधन भएपछि बोर्ड सचिवका साथै भवन निर्माण समितिको जिम्मेवारी मलाई सुम्पियो।
त्यति बेला त्यस कलेजका प्राध्यापकको मासिक तलब बढीमा १ सय ५० रुपियाँ थियोभने सहयोगीको ५० रुपियाँ । क्याम्पस प्रमुखका रूपमा पन्तले दुई सय रुपियाँ लिन्थे। शिक्षक-कर्मचारीले तलब वृद्धिको माग उठाएपछि बोर्डको बैठकमा छलफल चलायौँ। थोरै थोरै तलब बढाउँदा पनि मासिक साढे दुई हजारजति अतिरिक्त भार क्याम्पसलाई पर्ने देखियो। हरेक प्राध्यापकसँग व्यक्तिगत कुराकानी गरेर मैले ६ महिनासम्म तलबवृद्धिको माग स्थगित गर्न र त्यो रकम भवन निर्माणमा लगाउन प्रस्ताव गरेँ । प्राध्यापक-कर्मचारीले कुनै नाइँनास्ति गरेनन्।
ल कलेजको त्यो भवन प्राध्यापक-कर्मचारीको त्यही पसिनाबाट बनेको हो। हामीले भवनको अग्रभागमा एउटा शिलालेख नै राखेका छौँ, त्यहाँ ती २१ जना प्राध्यापक-कर्मचारीको नाम अहिले पनि चम्किरहेको छ। सोही कलेज अहिले नेपाल ल क्याम्पसका नामले चर्चित छ । त्यतिबेलाका सहयोगी कृष्णबहादुर त अहिले पनि त्यहीँ पसिना बगाइरहेका छन् । उक्त कलेजमा क्याम्पस प्रमुखलाई भनेर मैले नै नेपाली कानुनका जानकार कृष्णप्रसाद घिमिरे, कुसुम श्रेष्ठ, लक्ष्मण अर्याललगायत धेरैलाई पढाउन लगाएको थिएँ। नेपाल ल क्याम्पस स्थापनाको सुरुआती कथा यही हो ।
प्रस्तुति : ईश्वरी ज्ञवाली