रोइला रमाइलो
युरोपका विभिन्न देशमा 'स्टेज सो' सकेर मध्य पुसमा नेपाल फर्केका लोकगायक पशुपति शर्मा सुनाउँदै थिए
हुन पनि अहिले रोइला गीतहरू नेपाली लोकलयमध्ये इन्टरनेटमा सबैभन्दा बढी सुनिने र हेरिनेमा पर्छन्। यसको खास विशेषताका कारण लोकगीतप्रेमीमाझ यो भाका र लय चर्चित भइरहेको छ। शर्माले गायिका रीता थापासँग गाएको 'यति बानी सुधार...' बोलको दोहोरी रोइलाको श्रव्यदृश्य कम्तीमा पनि तीन दर्जनभन्दा बढी सर्भरका नाउँमा युट्युबमा अपलोड गरिएको छ र यो गीत ६० लाखभन्दा बढीपटक हेरिएको/सुनिएको छ।
त्यसै गरी शिरीष देवकोटाको आवाज रहेको 'म त आउने थिइनँ...' र प्रजापति पराजुली तथा देवी घर्तीको 'झन् झन् गोरी भइछौ कुन साबुनले मुख धुन्छ्यौ...' बोलको गीत पनि सबैभन्दा बढी अपलोड भएको गीतमा पर्छ। यस्ता धेरै खाँटी रोइला र रोइला लयलाई परष्िकृत गरिएका गीतको इन्टरनेट वर्चस्व लोभलाग्दो देखिन्छ।
त्यसो त रोइला गीतको नामका विषयमा लोकसंस्कृतिका अध्येताहरूबीच एकरूपता छैन। एकथरी अहिले रोइलाका नाउँमा सुनिने गीति संरचनालाई रोइला नभएर खेलीगीत भन्छन् भने अर्कोथरी यसको नाउँ ठाउँ अनुसार फरक फरक रहेको दाबी गर्छन्।
लोकगीतका अनेक विधा र शैलीमध्ये खेलीगीतको अर्थ ख्यालठट्टा र हाँसखेलका रूपमा रमाउँदै गाइने गीतका रूपमा परििचत छ भने रोइला गीत खास गरी धवलागिरि क्षेत्रको थाक खोलाका थकालीहरूको मृत्यु संस्कारमा रहेको 'रोइलाग' प्रचलनबाट फैलिएको गीत मानिन्छ। अहिले रोइला गीतको लयलाई आँधीखोले गीत, नुवाकोटे गीत र चुड्का भनेर पनि चिनिन्छ।
खास गरी पश्चिमाञ्चल र यसवरपरका जिल्लामा चर्चित रोइला भाकाको लयगत संरचना भने लोकगीतका एकसरा भाकाभन्दा अलिक फरक खालको छ। यो गीतको हरफ तीन पाउको हुन्छ। ६-७-७ को अक्षर संरचना भएको, स्थायी र अन्तराको भेद नभएको रोइलाको वाद्यवादन लय पनि परम्परागत मेलोडीभन्दा पृथक् छ। "गीतको लयमा बज्ने बाजाहरूको पहिला ढिलो र पछि छिटोछिटो हुने अन्तरगतिले गर्दा श्रोता र दर्शकलाई नचाउँछ, त्यसैले पनि 'स्टेज सो'हरूमा रोइला गीतको माग बढी देखिन्छ," गायक शर्मा अनुभव सुनाउँछन्, "अहिलेका श्रोताले खोज्ने भनेको रमाइलो दोहोरी र नृत्यमैत्री गीत हुन्, जुन गुण रोइलामा देखिन्छ।"
रोइला एकल गाउन पनि मिल्छ तर पछिल्ला दिनमा भने यसले दोहोरीका नाउँमा चर्चा कमाइरहेको छ। जति पनि गीत हिट भएका छन्, ती दोहोरी नै छन्। चाहे खुमन अधिकारीको 'घरमुनि लौका, लौकासँगै घिरौँला, गुनको पैचो तिरौँला...' होस् या शिरीष र सुनीता दुलालको 'तिर्खा लाए पानी, धोका खाए काँ जाने...' होस्। दोहोरी गीतमा प्रेमको आलाप-विलाप, विषयगत घोचपेच र हल्का रामरमिताको पक्ष-विपक्ष तय हुने भएकाले पनि यसले दर्शक स्रोतामा छिटो र गाढा हिसाबले प्रभाव पर्छ। जस्तो ः गायक शर्मा र निशा सुनारबीचको 'हाम्रो गाउँको कट्टु चोर...' बोलको रोइला दोहोरीले स्रोतालाई हुरुक्कै पारिदिन्छ।
गीतमा वल्लो-पल्लो गाउँका दुई युवायुवतीको दोहोरी छ। केही बाल्यकालका सम्झना र वर्तमानका यथार्थमाथि जीवन्त प्रकारका व्यंग्य उनिएका छन्। खिसिट्युरी भावमा अघि बढ्ने यो गीतले दर्शकलाई हाँस्न बाध्य बनाउँछ। त्यसै गरी कोमल वली र शिरीषले गाएको अर्को एउटा गीत छ, जसमा जवानीका किस्सा गजबले वर्णन गरिएको छ।
'मान्छे सानी सानी, बढ्दै आको जवानी, दुर्गा हौ कि भवानी...' बोलको यस गीतमा भने एकअर्कालाई सुन्दर ढंगले प्रशंसा गरिएको छ। जोवनमा साथ चाहिन्छ, प्रेम चाहिन्छ र बल्ल जीवन सार्थक हुन्छ भन्ने भाव व्यक्त गर्ने यो रोइला गीत पनि बढी सुनिएको गीतमा पर्छ। लक्ष्मण खड्का र टीका पुनको 'फूलझैँ बास्ना छरेर...' पनि यस्तै भावमा बनाइएको रोइला गीत हो।
कतिपय रोइला गायकगायिकाले लोकगीत प्रतियोगिताहरूमा गाएका साँच्चैका दोहोरीलाई अलिक परमिार्जन गर्दै पुनः रेकर्डिङ् गरेर बजारमा ल्याएका उदाहरण पनि छन्। "रोइला लाइभ गाउनु र सुन्नुको मजा अलग्गै हुन्छ," गायिका रीता थापा भन्छिन्, "त्यस्तो बेला दर्शक-स्रोताले सहजै बुझ्न सक्ने शब्द चयन र आफ्ना विपक्षीलाई दिने जवाफको महत्त्वपूर्ण अर्थ हुन्छ।"
अर्को कुरा, रोइलाको संरचना अलिक लामो र दोहोरो अन्त्यानुप्रास मिलाउन मिल्ने भएकाले गायक-गायिकाले आफ्ना कुरा पेचिलो हिसाबले अभिव्यक्त गर्न सक्छन्। अरू धेरै लोकगीतमा जस्तो यसमा पछिल्लो लाइन एकोहोरो हुँदैन। रोइला गायनबाटै चर्चा कमाएका शिरीष देवकोटाका शब्दमा रोइलाको ताल र लय नै यसको सबैभन्दा सुन्दर पक्ष हो। देवकोटाले गाएको पछिल्लो गीत 'अहिले टारी खेतमा गहुँ नछर, तिल छर, माया लाउन मिल्छ र...' बोलको रोइला रेडियो र टेलिभिजनमा सबैभन्दा बढी बज्ने लोकगीत हो।
पछिल्लो छिमलमा पशुपति शर्मा, शर्मिला गुरुङ, शिरीष देवकोटा, रीता थापा, राधिका हमाल, खुमन अधिकारी र निशा विश्वकर्माले रोइलाको बजार बनाएका छन्। गीतमा नयाँ विम्ब राख्ने र आयामिक बनाउने क्रम बाक्लिएको देखिन्छ। खासमा यस्ता रोचक गीत कसरी जन्मिन्छन् ? गायक शर्मा भन्छन्, "प्रत्यक्ष दोहोरी कार्यक्रममा हामी विषय छनोट गरेर गीतमा उत्रन्छौं, त्यस्ता बेला घतलाग्दो सवाल-जवाफको स्थिति हुन्छ र त्यही जगमा उभिएर अधिकांश गीत बनाइन्छन्।"
त्यसो त रोइलाको साइनो ग्रामीण जनजीवन र संस्कृतिसँग जोडिएको छ। गाउँका सुखदुःख, जीवनशैली, अनुभव र अनुभूतिका आधारमा गाउँमा रोइला बनाउने र गाउने चलन उहिल्यैदेखिको हो। ब्राह्मण जातिका घरमा कुनै पनि धार्मिक अनुष्ठान हुँदा भजनकीर्तन हुन्छन्। रुद्री लगाउँदा होस् या सत्यनारायणको पूजा, कसैको व्रतबन्ध होस् या स्वस्थानीको सांगे, रातभर बसेर खैँजडी, मुजुरा, मृदंग र बाँसुरी बजाउँदै गाउने पुरानो परम्परा रहिआएको छ। समाज परविर्तनको सापेक्षमा यस्ता जमघटहरू विस्तारै सस्तुति गायनबाट बदलिएर दोहोरी गीतसम्म आइपुगे।
पूजाआजामा विशेष रुचि राख्ने ब्राह्मण जातिका यस्ता भजनकीर्तनमा अन्य जातजातिको सांस्कृतिक पहलुको प्रभाव पर्न थाल्यो। जस्तो ः गुरुङको रोधीमा हुने ठाडी भाका होस् या म्याग्दीका मगर सम्प्रदायमा चल्ने यानीमाया गीतको रन्को, बिस्तारै यसले अरू जातिमा पनि प्रभाव पारेको देखियो। त्यसैले पनि रोइला गीत अरू धेरै लोकभाकाको सम्मिश्रण जस्तो प्रतीत हुन्छ। "सम्भवत ः रोइला गाउँका यस्तै भजनकीर्तनमा हुर्केको भाका हो," स्याङ्जा घर भएका गायक शर्मा भन्छन्, "मैले धेरैपटक गाउँमै यस्ता गीत गाएँ। र, यता काठमाडौँ आएपछि रोइला गाउँदा चर्चित हुन्छ भनेरै यसमा गीत बनाउने काम गरेँ।"
अर्को पक्ष, धवलागिरि र गण्डकी अञ्चल तथा त्यस क्षेत्रसँग जोडिएका जिल्लाबाट काठमाडौँ आएर लोकगीत रेकर्ड गराउने र दोहोरी साँझहरूमा गाउने गायक-संकलकहरूले रोइलाको सहरी यात्रालाई सघन बनाए। रेकर्ड भएका गीतहरू डीभीडी र सीडीमा मात्र होइन, अरू डिजिटल भर्सनका माध्यमले सर्वत्र फैलने क्रम सुरु भयो। विद्युतीय सञ्चारमाध्यममा लोकगीतका कार्यक्रमहरूको बाक्लो उपस्थिति देखियो।
यतिसम्म कि, अहिले त इन्टरनेटबाटै चाहेको गीत सुन्न सकिने अवस्था रह्यो। यसले विदेशमा रहेका नेपालीले पनि आफूलाई मनपर्ने गीतहरू अपलोड गर्ने, सुन्ने र सुनाउन सम्भव भयो। यही सिलसिलामा रेकर्ड भएका रमाइला रोइला पनि रातारात विश्वभर पुगे। रोइला गाउने गायकगायिकाले स्टेज कार्यक्रममा स्थान पाउन थाले। देशविदेशका विभिन्न स्थानबाट निम्तो आउन थाले। यसले रोइलाको आर्थिक स्थान पनि तय गर्यो। "पहिलेभन्दा रोइलाका प्रशंसकहरू बढेका छन् तर सिंगो संगीत क्षेत्र डिजिटल अव्यवस्थापनको मारमा पर्दा स्वाभाविक रूपमा अझै मौलाउने यो भाका पनि मारमा परेको छ," गायक शर्मा भन्छन्, "जे होस्, रोइलाको चर्चा हुँदा हामी गायकगायिकालाई असाध्यै खुसी लाग्छ।"
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...