अनमोलकै भरमा 'ड्रिम्स'
सन् २००४ मा रिलिज भएको हलिउड फिल्म इफ वन्ली हेर्नुभएको छ भने ड्रिम्स हेर्ने कष्ट नगर्नु नै ठीक ।
अनमोल केसी यो समयका सबैभन्दा बढी स्टारडम भएका हिरो हुन् । यसमा शंकै छैन । शंका केमा पनि छैन भने उनको स्टारडमको राज अभिनय कौशल होइन, चकलेटी लुक्स मात्र हो । होस्टेल र जेरीपश्चात् चुलिएको अनमोलको क्रेजले यस्तै देखाउँछ । तेस्रो फिल्म ड्रिम्ससम्म आइपुग्दा उनको यही नियतिले निरन्तरता पाएको छ । ड्रिम्सको न कथ्य संरचना बलियो छ, न अनमोलको अभिनय नै जीवन्त ।
तैपनि, हलमा थेगिनसक्नु भीड छ, त्यसमा पनि नेपाली फिल्म भन्नासाथ नाक खुम्च्याउने प्लस टू पुस्ता ! लोभलाग्दो व्यापार गरेर ड्रिम्सले एउटा अपेक्षा त पूरा गर्यो तर भुवन केसीको निर्देशन हुनाले अनमोलको काम र गुणस्तर उकास्न भने फिल्म चुकेको छ । कमजोर पटकथा, धीमा गति र प्रस्तुतिले ड्रिम्सलाई औसतभन्दा मुनि राखेको छ । प्राविधिक अब्बलता फिल्मको मेरुदण्ड हो ।
फूलबारी रिसोर्टका मालिक अभिरप्रताप राणा (अनमोल) र उसकी प्रेमिका काव्या (साम्राज्ञी राज्यलक्ष्मी राणा)को वरपर घुमेको छ ड्रिम्स । दुवै सन्काहा र घमन्डी छन्, तैपनि, प्रेममा पर्छन् । उनीहरूको लोभलाग्दो सम्बन्धमा कालो ग्रहण तब लाग्छ, जब अभिरले काव्या दुर्घटनामा परेर मृत्यु भएको सपना देख्छ । काव्या र परिवारलाई सपना सुनाउँछन्, कोही पत्याउँदैनन् तर अभिरमा आफ्नो सपना सत्यमा बदलिने डरले डेरा जमाउँछ । त्यसैले, जसरी पनि काव्यालाई बचाउने ध्याउन्नमा लाग्छ । ऊ सफल हुन्छ वा असफल, यो थाहा पाउन भने फिल्म नै हेर्नुपर्छ । यत्ति हो कि, आक्कलझुक्कल फिल्म हेर्नेले पनि यसको क्लाइमेक्स मध्यान्तरको केही मिनेट बित्न नपाउँदै अनुमान लगाउन सक्छन् ।
यदि तपाईंले सन् २००४ मा रिलिज भएको हलिउड फिल्म इफ वन्ली हेर्नुभएको छ भने ड्रिम्स हेर्ने कष्ट नगर्नु नै ठीक । किनभने, ड्रिम्सको कथासार इफ वन्लीसँग ठ्याक्कै मेल खान्छ । फरक कति मात्र हो भने ड्रिम्समा हिरोइनलाई अनाथ बनाइएको छ र सुरुआती दृश्यमा अभिरलाई ‘हिरो’ बनाउन जबरजस्ती एउटा गुन्डा घुसाइएको छ । हिरोको छवि र कथाको बहाव उकास्न भिलेनको प्रयोग गरिएको हुन्छ । तर, ड्रिम्सको भिलेन फिल्मको मूल कथासँग खासै सरोकार राख्दैन । जबकि, उसलाई पटक–पटक केटीमाथि दुव्र्यवहार गरेको देखाइन्छ । त्यसैले, सुरुआती २० मिनेट झेल्नै मुस्किल पर्छ । पात्रको निश्चित उद्देश्य र त्यो प्राप्तिका खातिर पात्रले गर्ने संघर्ष पटकथामा बुन्न सकिएको छ । फिल्मको केन्द्रीय कथाका विषयमा पटकथाकार सामीप्यराज तिमल्सिना स्वयं अलमलमा देखिन्छन् । अधिकांश संवाद विन्यासमा गुगलको सहायता लिइएको छ ।
कथा र दृश्यमा रोमाञ्चकता सिर्जना गर्न नसके पनि निर्देशक भुवनले पैसा र दिमाग दुवै लगानी गरेका छन् । लोकेसन, सिनेमाटोग्राफी, पृष्ठभूमि संगीत र कलाकारका पहिरन यति सुन्दर छन् कि कथामा महत्त्व नहुने दृश्य हेर्दा पनि दर्शकको आँखा बिझाउँदैन । पुरुषोत्तम प्रधानले जादुयी शैलीमा मुस्ताङलाई पर्दामा उतारेका छन् । मन छुने संगीत फिल्मको अर्को मजबुत पक्ष हो । गीत त राम्रो छ नै, त्यसको सदुपयोग सही ठाउँमा गरिएको छ ।
अनमोलको अनुहार जस्तै अभिनय सुन्दर हुँदो हो त फिल्मको वजन चुलिन्थ्यो । संवाद बोल्ने शैली र हाउभाउ अघिल्ला फिल्मभन्दा रत्तिभर सुधारेका छैनन् उनले । अनमोलको स्टारडमकै भर परेका छन् निर्देशक भुवन । बरू, साम्राज्ञीको लुक्स र अभिनय दुवै ‘सरप्राइज’ लाग्छ । पहिलो फिल्म भईकन पनि हरेक दृश्यमा परिपक्वता झल्किएको छ । उनले आफूलाई सम्भावना बोकेकी अभिनेत्रीका लहरमा दर्ज गराएकी छन् ।
अनमोलका डाइहार्ट फ्यानबाहेकले ड्रिम्स हेर्दा निराश मात्र हुनुपर्छ किनभने फिल्मको मुटु मानिने पटकथा नै एकातिर चोरिएको, अर्कोतिर सुस्त र अलमलिएको छ ।
रेटिङ: २/५
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...