केही छैन नयाँ [फिल्म समीक्षा : सत्यमेव जयते]
मसलेदार फिल्मका जबर्दस्त पारखीबाहेकले सत्यमेव जयते हेर्नु भनेको समय र पैसाको बर्बादी मात्र हो ।
हिन्दी फिल्मका लागि बिकाउ विषय हो, प्रहरी । कहिले प्रहरीलाई इमानको प्रतीकका रुपमा प्रस्तुत गरिन्छ त कहिले घुस्याहा । ‘हिरोइज्म’ देखि राक्षसी प्रवृत्तिका कथासमेत प्रहरीकै माध्यमबाट भनिन्छ । यही भीडमा थपिएको छ, मिलाप मिलन जाभेरीको नयाँ फिल्म सत्यमेव जयते । नामैबाट थाहा हुन्छ, फिल्मले सत्यको वकालत गर्छ । यसमा प्रहरीभित्रको असल र खराब दुवै पक्षलाई एकसाथ देखाउने प्रयास गरिएको छ । तर, मिलन आफैँले लेखेको यसको पटकथा भने निकै बासी लाग्छ । मुख्य कथा मात्र होइन, हरेक दृश्य परम्परागत सोचबाट मुक्त छैनन् । जोन अब्राहमको एक्सन र मनोज बाजपेयीको धमाकेदार अभिनयले मात्र फिल्मको साख जोगिने गुन्जायस रहेन ।
चित्रकार वीर (जोन अब्राहम) लगातार प्रहरीको हत्या गर्छन्, त्यो पनि जिउँदै जलाएर । मारिने सबै घुसखोरीमा मुछिएका हुन्छन् । यो प्रकरणले प्रहरी प्रशासनमा खैलाबैला हुन्छ । वीरलाई पक्रने जिम्मा इमानदार प्रहरी अधिकृत शिवंश (मनोज बाजपेयी) लाई दिइन्छ । शिवंशले सक्दो प्रयास गर्छन् तर उनलाई चुनौती दिँदै प्रहरी हत्या रोकिन्न । वीर आफैँ शिवंशलाई फोन गर्छन् तर पक्रन सक्दैनन् । वीरले किन मारिरहेका छन् ? शिवंशले उनलाई समातेर सजाय दिलाउन सक्लान् ? आक्कलझुक्कल हिन्दी फिल्म हेर्नेले पनि क्लाइमेक्स सहजै अनुमान लगाउन सक्छ । ‘ट्वीस्ट’ नभएका होइनन् तर दर्शकमा रोमाञ्च पैदा हुन्न । कारण उही, सूत्रमै रुमल्लिएका सस्पेन्स ।
खासमा सत्यमेव जयतेको केन्द्रीय कथा संवेदनशील छ । अपराधीलाई पक्रनुपर्ने प्रहरी आफैँ आपराधिक कार्यमा मुछिनु पक्कै दु:खदायक हो । अझ प्रहरी र भ्रष्टाचार एकअर्काको पर्यायजस्तै मानिन्छ भारतमा । यही कुप्रवृत्तिलाई सतहमा ल्याउने प्रयास गरिएको छ । तर, कानुनी बाटोबाट होइन, हिंसामार्फत । एक त यस्ता कथामाथि सन् ७० र ८० का दशकमा दर्जनौँ फिल्म बने । जहाँ घुस्याहा प्रहरी मार्ने पात्रलाई ‘हिरो’ का रुपमा चित्रित गरिन्थ्यो । सत्यमेव जयते रत्तिभर फरक छैन । प्रस्तुतिमा नयाँपन मिसाएर रोचक बनाउने मौकालाई निर्देशक तथा लेखक जाभेरीले सदुपयोग गर्न सकेका छैनन् ।
कथाको सुरुआत, घुस्याहा प्रहरीलाई हत्या गर्ने शैली, हत्याराको मनोविज्ञान, हत्यारा र इमानदार प्रहरीबीचको रस्साकस्सी, मुख्य पात्रको समीकरण, तिनले बोल्ने संवाद, हिरोइनको उपस्थिति सबै बासी लाग्छन् । तर, निर्देशकको ध्याउन्नचाहिँ ‘पपुलिस्ट’ कथा भनेर एकोहोरो राष्ट्रवाद जगाउनेतिर देखिन्छ । अर्थपूर्ण र विश्वसनीय सिक्वेन्सको अभावमा उनको प्रयास असफल भएको छ । सत्यमेव जयते हेरिरहँदा नयाँ फिल्म हेरेको आभास नहुनु सबैभन्दा दुर्भाग्य पक्ष हो । कतिसम्म भने वीर र शिवंशको सम्बन्ध पनि नवीन लाग्दैन । मध्यान्तरसम्म एकपछि अर्को हत्या हेरेर दर्शक हैरान हुन्छन्, मध्यान्तरपछि घिसिपिटी ‘फ्ल्यासब्याक’ ले दिक्क बनाउँछ ।
जोन अब्राहमका लागि न फिल्म नौलो हो, न त चरित्र । त्यसैले वीरका रुपमा उनी फिक्का लाग्छन् । कथानकलाई बिर्सने हो भने उनको एक्सन आकर्षक लाग्छ । मनोज बाजपेयीको हविगत पनि उही हो । अभिनयभन्दा गह्रौँ संवादमा टिकाउन खोजिएको छ उनको चरित्र । फलत: चरित्रप्रति विश्वसनीयता पैदा हुन्न । हिरोइन आयशा शर्माले अभिनय क्षमता पस्कने मौका पाएकी छैनन् । ‘सो–पिस’ मा सीमित गरिएको छ । जाभेरीले यसअगाडि पनि केही फिल्म निर्देशन गरेका थिए । तीमध्ये सबैभन्दा ठूलो फिल्म यही हो । तर, यसमै उनले आफ्नो निर्देशन कौशल पस्कन सकेनन् । निर्देशकलाई कथावाचक मान्ने हो भने जाभेरी ज्यादै कमजोर लाग्छन् । आफ्नोपन त छँदै छैन ।
मसलेदार फिल्मका जबर्दस्त पारखीबाहेकले सत्यमेव जयते हेर्नु भनेको समय र पैसाको बर्बादी मात्र हो । बलिउडमा अझ यस्तो ‘एक्स्पायर्ड’ कथा र शैलीका फिल्म बन्छन् ? उदेक लाग्छ ।
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...