सुकेको गुलाफ [फिल्म समीक्षा : रोज]
फिल्म पारखी मात्र होइन, प्रदीपकै फ्यानलाई समेत रोजले निराश तुल्याउँछ । यसले नेपाली फिल्मको साख र समृद्धिमा खासै योगदान पुर्याउँदैन ।
प्रेमगीतबाट प्रदीप खड्का चम्किए । क्रेज बढ्यो, व्यस्तता बढ्यो, पारिश्रमिक बढ्यो । नबढेको त त्यसयता उनले खेलेका फिल्मका गुणस्तर मात्र हो । प्रेमगीत २ र लिलीबिलीले अपेक्षाकृत बहार ल्याउन सकेनन् । नयाँ फिल्म रोजको हालत अझ दयनीय छ । न कन्टेन्ट बलियो छ, न त प्रदीपको चरित्र र अभिनय नै । रोजलाई निरक पौडेलले निर्देशन गरेका हुन् । सोही कारण फिल्म कमजोर हुनुको पहिलो अपजस निरकलाई जान्छ । प्रदीपजस्ता गिनेचुनेका स्टारलाई लिएर पनि उम्दा फिल्म बनाउन नसक्नु दु:खद पक्ष हो । जबकि, फिल्मको विषयवस्तु आफैँमा गहन छ, हत्यामा बदलिएको प्रेम र सत्यको खोजी । तर, अपरिपक्व प्रस्तुतिले रोजलाई निरस बनाएको छ ।
लज्जालु अभि (प्रदीप) खुला स्वभावकी रोज (परामिता राज्यलक्ष्मी राणा) लाई मन पराउँछन् । तर, व्यक्त गर्न सक्दैनन् । मौका मिलाएर प्रस्ताव राख्छन्, स्वीकृत हुन्छ । तर, प्रेम घनीभूत हुन नपाउँदै अभि पढाइका लागि विदेश जानुपर्छ । बिस्तारै रोजसँग सम्पर्क टुट्दै जान्छ । फर्केर आउँदा स्थिति भयानक भइसकेको हुन्छ । प्रतिशोध र आक्रोश कतिसम्म बढ्छ भने अभिले रोजको ज्यानै लिन्छन् । त्यसरी हत्या गर्नुको कारण के होला ? वा रोजको हत्या अभिले नै गरेको होला ? यस्तै सवालवरपर घुमेको छ फिल्म । एकाध ‘ट्वीस्ट’ छन् । तर, उतिविघ्न विश्वसनीय लाग्दैन ।
भनिन्छ– जे देखिन्छ, त्यति मात्र सत्य हुन्न । प्रमाण खोज्दै जाँदा वास्तविक सत्यको घुम्टो खोलिँदै जान्छ । अदालतलाई न्याय र सत्यको प्रतिविम्ब त्यत्तिकै मानिएको होइन । रोजको मूल कथा पनि एउटी युवतीको हत्याको सत्यतथ्य पत्ता लगाउने नै हो, जहाँ वर्तमान समयका युवायुवतीको अधैर्य, महफ्वाकांक्षा र एकअर्काप्रतिको अविश्वासलाई पहिल्याउन खोजिएको छ । तर, सुरुआतबाटै दर्शकको मोहभंग हुँदै जान्छ । कारण हो, अमूर्त र पट्यारलाग्दो कथाबुनोट । केदार भुसालले लेखेको यस फिल्ममा कलात्मक दृश्यको उस्तै खडेरी छ । घटना र पात्रलाई आत्मसात् गर्न सकिन्न । भुसालको लेखनमा गहनता मात्र होइन, विश्वसनीयताको पनि चर्को अभाव छ ।
रोज निरकको यो तेस्रो फिल्म हो, कुसुमे रुमाल २ र होमवर्कपछि । तर, उनको निर्देशन कौशल माझिएको छैन । बरु गिरावट आएको छ । अदालतभित्रका दृश्यसमेत निर्देशक र लेखकले स्वाभाविक ढंगले बुन्न सकेका छैनन् । मुख्य पात्र रोजलाई घरीघरी ‘रोजी’ भनिनुबाट लापरबाही प्रस्ट हुन्छ । अभि र रोजको सम्बन्धलाई आत्मीय नदेखाइएकाले रोजको हत्या हुँदा पनि दर्शकको आँखा रसाउँदैन । अभि, रोज, अभिकी साथी तथा वकिल बनेकी स्नेहा (मिरुना मगर) देखि अभिका बाबुसम्मको चरित्र स्थापित हुन्न । कथालाई अनावश्यक तन्काइएकाले झिँझो लाग्छ । विदेशमा खिचिएका दृश्य‘ब्लर’ छन् ।
‘फूल होइन...’ भन्ने गीत श्रुतिमुधर मात्र होइन, लोकेसन पनि आकर्षक लाग्छ । फिल्मको पहिलो भाग तुलनात्मक रुपमा राम्रो छ । केन्द्रीय कथा संवेदनशील छ । मोडलिङको दुनियाँमा हुने यौन दुव्र्यवहारलाई एक हदसम्म तार्किक ढंगले खिचिएको छ । तर, कथावाचनमै समस्या रहेकाले रोज फक्रेको र सुगन्धित होइन, सुकेको गुलाफजस्तो भएको छ । अभिनय र चरित्र चयनमा प्रदीपले ध्यान नपुर्याए उनको लोकप्रियता स्वाट्टै ओरालो लाग्नेमा शंका छैन । उनी रोजमा भिन्नभिन्न ‘लुक्स’ मा छन् । तर, फलदायी भएको छैन । परामिताको अभिनयबाट सन्तुष्ट हुन सकिन्न । उनले आफ्नो चरित्रलाई आत्मसात् गर्न नसकेको प्रतीत हुन्छ । बरु मिरुना मगरको काम तारिफयोग्य छ । मध्यान्तरपछि फिल्म करिब–करिब उनकै काँधमा अडेको छ । स्वर अर्कै कलाकारको भएकाले अभिनेता कर्माको उपस्थिति फिक्का लाग्छ । वरुणजंग राणा, नरेश पौडेललगायतका सहायक कलाकारको अभिनय औसत छ । दम्भ र दामले होइन, साधना र सामूहिक प्रयासले मात्र अब्बल फिल्म तयार हुन्छ भन्ने तथ्यलाई निर्देशक निरकले आत्मसात् गर्नुपर्ने समय घर्किसकेको छ ।
खुराकयुक्त फिल्मका पारखी मात्र होइन, प्रदीपकै फ्यानलाई समेत रोजले निराश तुल्याउँछ । यसले नेपाली फिल्मको साख र समृद्धिमा खासै योगदान पुर्याउँदैन पनि ।
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...