कामचलाउ कमेडी [फिल्म समीक्षा : छक्का–पञ्जा ३]
कन्टेन्ट र कमेडीलाई सँगै लैजाने प्रयास प्रतिफलमूलक नभएकाले छक्का–पञ्जा ३ले नयाँ दर्शक रिझाउन सक्दैन ।
दीपकराज गिरी र दीपाश्री निरौलाले व्यावसायिक कीर्तिमान् राखे, छक्का–पञ्जा र छक्का–पञ्जा २ बाट । नेपालभित्रै झन्डै १५–१५ करोड रुपैयाँको व्यापार गरेर यी फिल्मले बजारको आयतन फराकिलो बनाइदिए । तर, दामजसरी दीपक–दीपाले नाम भने कमाएनन् । महिलालाई होच्चाएको र भद्दा मजाक गरेर ‘विवेकशून्य’ फिल्म बनाएको आरोप लगायो, एउटा ठूलो तप्काले । यही कारण हुनुपर्छ, छक्का–पञ्जा ३ मा दीपक–दीपाले सर्जकका रुपमा केही संयम अपनाएको देखिन्छ । सरकारी स्कुलमा हुने बेथितिमाथि प्रहार गरेका छन्, हँसाउनकै खातिर जबर्जस्ती राखिने संवाद घटाएका छन् । तैपनि, छक्का–पञ्जा ३ हेरेपछि दिल खोलेर ताली बजाउन सकिन्न । कारण, विषयवस्तुको उठान र प्रस्तुति सतही मात्र छ । दीपक आफैँले लेखेको पटकथामा पात्र र घटनाहरु असरल्ल छरिएका छन् । केन्द्रीय द्वन्द्वमै अलमल छ । हाँस्य कलाकारको भीड त यसपटक पनि छँदैछ ।
झुले बस्तीको खानीडाँडा माध्यमिक विद्यालयका कोही शिक्षक तासमै मग्न छन्, कोही जग्गा दलाल । पाले दाइको पारा उस्तै । त्यही गाउँमा खानीडाँडाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काजी (नीर शाह) का भाइको निजी स्कुल छ । काजीलाई विद्यालयको बहानामा राजनीति गर्नुछ, उनको तगारो बनिदिन्छन्, क्रान्तिकारी स्वभावका बाङदेल (शिशिर बाङदेल) । उनका कारण राजनीति चौपट भएपछि काजीले छोरा राजा (दीपकराज गिरी) लाई बोलाउँछन् । त्यही बेला प्रधानाध्यापककी अंग्रेजी पढेकी छोरी उजेली (दीपिका प्रसाईं) गाउँ आएपछि अनेक रस्साकस्सी हुन्छ । खानीडाँडाको हविगत सुध्रिएला ? क्लाइमेक्समा अघिल्ला सिरिजमा झैँ ‘ट्वीस्ट’ खोजियो भने निराश हुनुपर्छ ।
गाउँका सरकारी स्कुलको हालत यस फिल्ममा देखाइएभन्दा खास फरक हुन्न । त्यसैले कथामा अपनत्व महसुस गर्न सकिन्छ । तर, पात्रको हूल र तिनलाई स्थापित गर्न नसक्दा फिक्का लाग्छ । सुरुआती झन्डै ४५ मिनेट त पात्रको ‘सेटअप’ मै खर्चिएको छ । फिल्मको कथा उठान, त्यसको विकासक्रम एक हदसम्म यथार्थपरक छ । तर, वर्षभरि कुनै महिना राम्रो पढाइ नभएको विद्यालयका विद्यार्थी एसईईमा शतप्रतिशत पास हुन्छन् । यसरी क्लाइमेक्सलाई नाटकीय बनाउँदा निशाना चुकेको छ । शिक्षकको रबैया, गाउँलेको मनोविज्ञान, विद्यार्थीको पीडालाई पटकथामा उनिएको छ । तर, समस्या उही, गहिराइमा पुगिन्न । लन्ठ्याङमन्ठ्याङ गर्दै अगाडि बढाइन्छ । सरकारी विद्यालयको यस्तै लापरवाहीमाथि मह जोडीले शिक्षा सिरियल बनाएका थिए ।
दीपक–दीपासामु चुनौती पक्कै छ, उनीहरुका आमदर्शक ‘कन्टेन्ट’ होइन, ‘ कमेडी’ खोज्छन् । अर्थात्, हाँस्न पाए पुग्यो । फिल्म चेतहीन हाँसोको भण्डार मात्र होइन । पाँचौँ फिल्ममा आइपुगेपछि दीपक–दीपाले यो तथ्यलाई बोध गरेका छन् । त्यसका लागि धन्यवादका पात्र हुन् । तर, खल्लो कतिखेर लाग्छ भने उनीहरुले जति संवेदनशील विषय रोजे, सोही अनुपातमा चोटिलो बनाउन सकेनन् । हँसाउने लोभमा सहायक पात्र र घटनाक्रमलाई स्थान दिँदा मूलकथा ओझेल पर्यो । अर्को समस्याचाहिँ पात्रप्रति निर्देशक र पटकथाकारको कमाण्ड नहुनु हो । बाङदेल कहिले ‘हिरो’ जस्तो लाग्छन्, कहिले ‘भिलेन’, विश्वसनीय कारणबिनै । स्कुल सुधारका लागि बिहे गरेकी केटी उतिखेरै हार मान्छिन् । माग्नेबूढाकी बहिनी गमलीबाट दर्शकको संवेदना जित्ने प्रशस्त सम्भावना थियो । तर, छिपछिपेमा सीमित छ । फिल्मको मूल भिलेनझैँ लाग्ने निजी विद्यालय सञ्चालकका छोरालाई अन्तिममा एउटा कोठामा थुनिदिने दृश्य आफैँमा हाँस्यास्पद लाग्छ ।
दीपक, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङको चरित्र अघिल्ला सिरिजकै निरन्तरता हो, नयाँपन छैन । यी पात्रको ‘कमिक टाइमिङ’ रोचक छ । बरु राजाले अघिल्ला सिरिजमा झैँ यावत ‘छक्का–पञ्जा’ गर्दैनन् । फिल्म हेरिरहँदा र हेरिसकेपछि लाग्छ, यही पटकथालाई प्रभावकारी ‘ट्रिटमेन्ट’ गरेको भए फिल्म अर्कै लेभलमा पुग्थ्यो । दृश्यभन्दा संवादलाई महत्त्व दिने शैली रोकिएको छैन । रेडियो नाटकको धङधङीबाट मुक्त नहुँदाको परिणाम हो यो । बरु प्राप्त पटकथामा दीपाको निर्देशन प्रशंसनीय छ । दृश्य भाषा निर्माणमा भने उनले विशेष ध्यान दिनु आवश्यक छ । दृश्यभन्दा पहिल्यै संजोग कोइराला र प्रियंका कार्की गीतमा झ्वाट्ट देखिँदा उदेक लाग्छ । दीपिका प्रसाईंको अभिनय र संवाद बोल्ने शैलीमा स्वाभाविकताको ह्रास छ । ‘पहिलो नम्बर...’ र ‘पछिल्लो उमेर ढल्कन्छ...’ गीत सुन्दा रमाइला छन् । तर, फिल्ममा उचित सन्दर्भबिना राखिएको छ, त्यसैले बिझाउँछ । पुरुषोत्तम प्रधानको खिचाइमा निर्देशकको पूर्ण नियन्त्रण नभएको आभास हुन्छ । दृश्य भव्य देखाउन कन्जुस्याइँ गरिएको छैन ।
छक्का–पञ्जा सिरिजप्रेमीलाई छक्का–पञ्जा ३ प्यारो लाग्छ । तर, कन्टेन्ट र कमेडीलाई सँगै लैजाने प्रयास प्रतिफलमूलक नभएकाले नयाँ दर्शक रिझाउन सक्दैन । यद्यपि, दीपक–दीपाबाट आगामी दिनमा सार्थक सिनेमा अपेक्षा गर्न सकिने आधारचाहिँ छाडेका छन् ।
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...