मन छुने कथा, मौलिक वाचन
अर्गानिक फिल्मका पारखीलाई प्रसाद प्रिय लाग्छ । आफ्नोपन भेटिन्छ ।
हामीकहाँ बजार निर्देशित फिल्मको ‘आतंक’ छ । मौलिकताको खडेरी हुन्छ । चुट्किला, द्विअर्थी संवाद, मारपिट, रोमान्स र रोनाधोनाको खिचडी बनाइन्छ । कुनै त सीमापारिबाट हुबहु आयातीत हुन्छन् । दिनेश राउत निर्देशित प्रसाद यी तमाम धङधङीबाट करिब मुक्त छ । खासमा यो फिल्म नि:सन्तान दम्पतीको व्यथा हो । सँगै जातीय छुवाछूत, महिला–हिंसा, गरिबमाथिको थिचोमिचोजस्ता समाजका अँध्यारा पक्षलाई उधिनिएको छ । प्रसादका लेखक सुशील पौडेल पात्र, कथा र तिनका प्रवृत्तिमार्फत फिल्मप्रति अपनत्वबोध गराउन धेरै हदसम्म सफल छन् । मूल पात्रका मनोविज्ञान र केही घटनाक्रममा लेखकसँगै निर्देशकमा अस्पष्टता/अपरिपक्वता नझल्कने होइन । तर अभिनेता विपिन कार्कीको उपस्थितिले प्रसादलाई प्रभावशाली बनाउन भूमिका खेलेको छ ।
दलित बाबुराम (विपिन)ले क्षत्रीकी छोरी नारायणी (नम्रता श्रेष्ठ) लाई भगाउँछन् र काठमाडौँ आउँछन् । यी दुई अन्जानले काठमाडौँमा अनेक हन्डर खान्छन् र पनि खुसी छन् । मायाप्रेम गाढा छ । तर सन्तान हुँदैन । बिस्तारै मनमुटाब उत्पन्न हुन्छ । यसबीच कथामा बाबुरामको बच्चैदेखिको साथी रमेश (निश्चल बस्नेत)को प्रवेश भइसक्छ, जसले सुरुबाटै नारायणीमाथि आँखा लगाउँछन् । बच्चा पाउने पिरलोले बाबुराम र नारायणीको सम्बन्धमा आउने उतारचढाव अनि रमेशका हर्कतमै केन्द्रित छ प्रसाद । यथार्थवाद पछ्याइएको फिल्मको क्लामेक्सचाहिँ केही नाटकीय लाग्छ ।
प्रसादमा नक्कलझक्कल केही छैन । दुई भुइँमान्छेको कथा हो यो । अन्तरजातीय प्रेमविवाहकै कारण सास्ती भोगेका यस्ता जोडी जति पनि भेटिन्छन् समाजमा । उनीहरुले काठमाडौँमा भोगेको संघर्षले दर्शकलाई अझ नजिक गराउँछ । बाबुरामको नारायणीप्रतिको प्रेम र बाबुरामका खातिर नारायणीको त्याग आफैँमा आदर्शवादी लाग्छ । फिल्मको सुरुआती २० मिनेटमै निर्देशकले पात्र स्थापित गरिसक्छन् । त्यसपछि सुरु हुन्छ, सन्तान नहुनुको पीडा । नारायणीले किन्डरगार्टेनमा बच्चा हेरविचार गर्ने काम गर्नु अनि बाबुरामले भोलिको सन्तानका लागि कपडा सिलाउनु विम्बात्मक लाग्छ । यसरी एउटा भावनात्मक बेगमा दौडिरहेको कथा बिथोलिन्छ, जब रमेशको आगमन हुन्छ । पहिलो दृश्यबाटै रमेशलाई नकारात्मक रुपमा उभ्याइन्छ । तापनि बाबुरामकै सामु उसकी पत्नी नारायणीप्रति रमेशका व्यवहार स्वाभाविक र विश्वसनीय लाग्दैन ।
दर्शकको संवेदना जित्ने बाबुराम र नारायणीको आत्मीय दृश्य छिटो–छिटो काटिन्छ । मध्यान्तरअघि फिल्म कहीँ–कतै सुस्त लाग्छ । समस्या प्रस्ट भइसक्छ तर निर्देशक कथा अगाडि बढाउँदैनन् । यस्तो रिक्ततामा पनि पट्यारचाहिँ लागिहाल्दैन । बाबुरामको हुलिया, हाउभाउ, प्रेमाभिव्यक्ति, बोलीचाली, रिस आदिले ‘रिफ्रेस’ गराउँछ । प्रसादमा प्रशस्त हाँस्न पाइन्छ तर हँसाउने चक्करमा दृश्यको भाव तोडमोड गरिएको छैन । जाति–प्रथाविरुद्ध नारायणी प्रगतीशील र निर्भीक लाग्छिन् । तर बलात्कारका सवालमा चाहिँ उनको विद्रोहीपना एकाएक लोप हुन्छ । यहाँ आएर नारायणीको चरित्रले पूर्ण न्याय पाएको छैन । फिल्ममा जेलाई प्रसाद मानिएको छ, त्यो अनुसरणयोग्य छ त ? निर्देशक र लेखकसामु तेर्सिने पेचिलो सवाल हो यो । बलात्कारका सन्दर्भमा अपेक्षाकृत सामाजिक चेत देखिएन । बलात्कारविरुद्ध सर्वथा विद्रोह हुनुपर्छ ।
मौलिक कथा र कथावाचनलाई आत्मसात गरेकाले प्रसाद सम्झनलायक बनेको छ । यो निर्देशक राउतको करिअरकै उत्कृष्ट फिल्म हो । कम्तीमा उनले संवेदनशील विषयमाथि सार्थक फिल्म बनाउने प्रयत्न गरेका छन् । प्रसाद उनको पाँचौँ फिल्म हो । सोही अनुपातको निपूणताचाहिँ अझै झल्किएको छैन । हाम्रै समाजको यथार्थलाई सिर्जनात्मक ढंगले पस्केकाले केही कमजोरीसहित लेखक सुशील प्रशंसाका हकदार बनेका छन् ।
विपिन कार्कीले बाबुरामलाई आन्तरिक र बाह्य दुवै ढंगले जीवन दिएका छन् । उनको अभिनय ‘लाउड’ हुन्छ भन्नेहरूका लागि मुखमा बुजो हो यो फिल्म । नारायणी बन्न नम्रता आफैँमा उपयुक्त कलाकार होइनन्, यद्यपि पात्रलाई सजीव बनाउन उनको यथासक्य प्रयास देखिन्छ । उनले लगाएको ‘वीग’ले बिझाइरहन्छ । निश्चल बस्नेतचाहिँ प्रसादका ‘मिस कास्ट’ हुन् । शान्त र मायालु बाबुरामको जोडीबीच एक्कासि रमेश आउँदा ‘गाँसमा ढुंगा भेटिए’ जस्तो हुने रहेछ । विपिन र नम्रताको चरित्रभित्र अनेक तह छन् । आन्तरिक द्वन्द्व छ तर निश्चल सतही र निरस लाग्छन् । ‘लै लै...’ गीत कर्णप्रिय छ । राजेश श्रेष्ठको खिचाइ दृश्यभावअनुकूल छ । स्वरांकनमा कतै–कतै समस्या छ । सम्पादनका क्रममा १० मिनेट जति छोट्याइएको भए फिल्म कसिलो हुन्थ्यो ।
अर्गानिक फिल्मका पारखीलाई प्रसाद प्रिय लाग्छ । आफ्नोपन भेटिन्छ । विपिनकै लागि भए पनि प्रसाद नछुटाउँदा हुन्छ । तर अनेक मसला खोज्नेहरूचाहिँ निराश हुन्छन् ।
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...