घर बेचेर क्यामेरा
फोटोग्राफर जगदीश तिवारी भन्छन्, “मस्तिष्कले खिच्नुस्, फोटो त्यत्तिकै राम्रो हुन्छ ।”
भर्खर ११ वर्ष टेक्दै थिए, जगदीश तिवारी, ५६ । तनहुँ, चुँदीरम्घास्थित उनको घरमा एक अमेरिकी नागरिक पाहुना आए । ती अमेरिकी स्थानीय स्वास्थ्य चौकीमा स्वयंसेवक थिए । उनीसँग दुई क्यामेरा थिए । फोटो खिच्दै हिँड्थे, साथमा हुन्थे जगदीश । ६ महिनापछि अमेरिका फर्कने बेला एउटा क्यामेरा उपहार दिए, प्लास्टिकको कोडाक ११० । जगदीश भन्छन्, “त्यसपछि अब म सोकल्ड फोटोग्राफर भएँ । क्यामेरामा रिल थिएन, सीप थिएन, तैपनि खिच्दै हिड्थेँ । रमाइलो लाग्थ्यो ।” तर उनी आफैँलाई थाहा थिएन, यहीँबाट जागृत क्यामेराप्रेमले कुनै दिन ‘भेट्रान’ फोटोग्राफर बनाउँछ भन्ने । नेचर फोटोग्राफीमा जगदीश जति उचाइ सायदै अरु कुनै नेपाली फोटोग्राफरको छ । दुई दशकअगाडि नै सगरमाथा क्षेत्रको चार तस्बिरको एउटा सेट ७ लाख २५ हजार रुपैयाँमा बेचेका थिए उनले ।
कोडाक ११० हात परेकै बेला जगदीशलाई बलेसीमा पानी दर्किएको फोटो खिच्न मन लाग्थ्यो । घरि आकाशतिर क्यामेरा सोझाउँथे । कल्पनाशीलतामा डुब्थे । प्रकृतितिर विशेष झुकाव थियो । झन्डै साढे चार दशकअघिको समाजमा फोटोग्राफी पेसा बन्छ भन्ने सोचाइ आफैँमा असम्भव थियो । त्यसमाथि उनी परे, किसानका छोरा । आम मानिसमा पनि फोटोको महफ्वबारे ज्ञानै थिएन । जगदीश सम्झन्छन्, “तर म अति महफ्वाकांक्षी भएछु । फोटो खिचेरै जीवन बिताउँछु भनेर प्रण गरेँ ।”
उनले कहिल्यै फोटोग्राफीको औपचारिक तालिम लिएका छैनन्, न कसैलाई गुरु माने । भोगाइ र लगनशीलता नै उनका गुरु हुन् । १७ वर्षको उमेरमा राजधानी छिरे । यहाँ आउँदा उनीसँग जम्मा दुई कुरा थिए । एउटा, त्यही प्लास्टिकको क्यामेरा । अर्को, फोटोग्राफर बन्ने सपना । तर सहर बिरानो थियो । न उनलाई कसैले चिन्थे, न त उनी कसैलाई चिन्थे । कतिसम्म भने गाडी देख्दा पनि डराउँथे । मान्छेको भीड देख्दा आतेस लाग्थ्यो ।
गाउँमा त्यही क्यामेरा सबथोक लाग्थ्यो । यहाँ आएपछि थाहा भयो, त्यो त कमसल रहेछ । थरीथरीका आधुनिक क्यामेरा हुँदा रहेछन् । अब कसरी क्यामेरा चलाउन सिक्ने ? भौतारिन थाले । एक दिन दिमागमा बत्ती बल्यो, वसन्तपुर, पाटन, भक्तपुर चहार्ने, त्यहाँ पर्यटकले फोटो खिच्छन् । त्यही हेरेर सके केही सिक्ने, नसके हेरेरै चित्त बुझाउने । “बोल्ने आँट थिएन, पर्यटकको पछिपछि हिँडेर लेन्स र फिल्म परिवर्तन हुन्छ भनेर थाहा पाएँ,” जगदीश आफ्नो भोगाइ सुनाउँछन्, “क्यामेरा छोएर होइन, हेरेरै अभ्यास गरेँ ।” यत्तिकै दुई–चार वर्ष बिताए उनले ।
फोटोग्राफीप्रतिको भोक अझ घनीभूत हुँदै थियो । दगुर्दादर्गुदै एक दिन महाकालको एउटा पुस्तक पसल पुगे । फोटोग्राफीसम्बन्धी किताब त कत्ति हो कत्ति ! कुवाको भ्यागुता समुद्र पुगेजस्तो भएछ उनलाई । पर्यटकको हातमा देखेका क्यामेरा र लेन्सबारे खोजीखोजी पढ्न थाले, नोटबुकमा टिपे । सुरुमा पसलेलाई लागेछ, किताबप्रति यत्रो रुचि रहेछ, पक्कै किन्छ । जगदीश भन्छन्, “पैसा भएको भए किन त्यहाँ धाउँथे, किनेर घर लगिहाल्थेँ नि । जब पसलेलाई मैले किन्न सक्दिनँ भन्ने थाहा भयो, मलाई ढिम्कनै दिएनन् ।” फोकस, सटर स्पीड, अपार्चरजस्ता फोटोग्राफीका आधारभूत ज्ञान सिक्नै चार–पाँच वर्ष लाग्यो । त्यसैले अहिले उनलाई लाग्दो रहेछ, त्यो समय कसैले गाइड गरेको भए अझ माथि पुगिसक्थेँ ।
ठमेलमा भेटेको नेपाल हिमालय नामक फोटोकिताब जगदीशको जीवनमा ‘टर्निङ पोइन्ट’ बन्न पुग्यो । त्यस पुस्तकमा नेपालका सबै हिमालका तस्बिर थिए । अनि थियो, फोटोग्राफरले प्रयोग गरेको क्यामेराको जानकारी । फोटोग्राफर रहेछन्, जापानी नागरिक सिरो सिराहात । ती क्षण यसरी सम्झन्छन्, “जापानदेखि आएर कसैले यस्तो गर्न सक्छ भने म किन सक्दिनँ भन्ने भाव पलायो ।” वास्तविकता भने अलग थियो । खाजाको पैसा बचाएर क्यामेरा भाडामा लिन्थे । देशभरका हिमालको फोटो खिच्ने ल्याकत कहाँ हुनु र ! तर इच्छाशक्तिसामु कसको के लाग्छ ? उनी निरन्तर डटिरहे ।
उनले १७ वर्षकै उमेरमा नेपाली सेनामा जागिर खाएका थिए । काम उही, फोटो खिच्ने । जीवन धान्न जागिरले पक्कै सहज बनाएको थियो, तर मन फुरुंग थिएन । कारण यस्तो रहेछ, “म परेँ प्रकृतिप्रेमी, स्वभावले पनि प्रकृतिकै फोटो खिच्न खोज्थ्यो । तर सेनामा युद्धकलाका फोटो खिच्नुपर्ने ।” यसबाट छुटकारा पाएर स्वतन्त्र ढंगले उड्न पाउने एउटै विकल्प थियो, राजीनामा दिने । उनले त्यही गरे । र, स्वच्छन्द भएर फोटोग्राफीको यात्रा सुरु गरे ।
जागिर मात्र छाडेनन्, काठमाडौँमा भर्खरै बनाएको घर बेचिदिए, पत्नी र दुई सन्तानलाई डेरामा सारे अनि आफू जर्मनी उडे । उद्देश्य एउटै थियो, अत्याधुनिक क्यामेरा किन्ने । र, किने पनि, लिनहफ मास्टर टेक्निका । त्यतिबेला यो एनालग क्यामेराको मूल्य १७ लाख रुपैयाँ थियो । घर बेचेर क्यामेरा, दुस्साहस हैन ? तर यही निर्णयले उनलाई फोटोग्राफीमा अनुपम सफलता चुम्न भूमिका खेल्यो । क्यामेरा भिरेर देशका कुनाकाप्चा दौडिए । आफ्नो रुचिअनुकूल हिमाल, ल्यान्डस्केप, पानोरामा फोटोग्राफी गरे । जगदीशको क्यामेरामा सजिन सायदै कुनै हिमाल बाँकी छन् नेपालका । सबै जिल्ला पुगिसके । २५–३० देश पुगेर प्रकृति र ग्रामीण भेगका फोटो खिचेका छन् । भन्छन्, “जहाँ गए पनि प्रकृतिले तान्छ, मानिसले बनाएका वस्तुले मलाई खास तान्दैन ।”
जब हिउँ परेर मनाङदेखि बाटो बन्द हुन्छ, उनी त्यही बेला तिलिचो लेक जान्छन् । जब हिउँपहिरो जान थाल्छ, उनी अन्नपूर्ण पुग्छन् । यो बानीले उनलाई कैयौँ पटक मृत्यु नजिक पुर्याएको छ । भन्छन्, “तर डर लाग्दैन, त्यसमै रमाउँछु ।” यही विशिष्ट गुणले हुनुपर्छ, जगदीशका हरेक खिचाइले जोकोहीको मन तान्छ । भिन्न र कलात्मक शैलीको फोटो खिच्नु उनको चिनारी हो । डेनमार्कका फोटोग्राफर सोरन लौरिड्क्सनसँग मिलेर पासिङ बाई नेपाल नामक फोटोकिताब प्रकाशन गरेको १५ वर्ष बित्यो । तर आफैँले फोटो प्रदर्शनी भने गरेका छैनन् । अहिले साढे ७ लाख मूल्य पर्ने फुजीको जीएफएक्स ५० एस चलाउँछन् । भन्छन्, “महँगो क्यामेरा हुँदैमा राम्रो फोटोग्राफी हुँदैन । फोटोमा मस्तिष्क जोडिनुपर्छ । फोटो त्यत्तिकै राम्रो हुन्छ ।”
जगदीशकै शब्दमा फोटो खिच्नु प्रेम हो, फोटो बेच्नु बाध्यता । किनभने बाँच्नकै लागि पनि उनीसँग फोटोबाहेक अर्को स्रोत छैन । खिच्दा बजारले कस्तो रुचाउँछ भनेर सोच्दैनन् । जस्तो दृश्य आँखामा नाच्छ, त्यस्तै क्यामेरामा सजाउँछन् । र, निर्धक्क भनिदिन्छन्, “सबै त्याग्न सक्छु, तर फोटोग्राफी त्याग्न चाहन्नँ । फोटो खिचेरै मर्न चाहन्छु ।”
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...