सेन्सरको नाममा चीरहरण
सिर्जनामा कैँची, सिनेकर्मीलाई सास्ती
पाँच वर्षअगाडि बनिसकेको सिनेमा हो, कीर्तिपुर । १३ असारमा बल्ल रिलिज भयो । ढिला हुनुको कथा दर्दनाक छ ।
पृथ्वीनारायण शाहले अढाई शताब्दीअघि कीर्तिपुर कब्जा गरेको इतिहासलाई निर्देशक प्रदीप खड्गीले कीर्तिपुरको कोणबाट देखाउन सिनेमा बनाए । युद्धमा पराजितहरूको कथा भनिएको सिनेमा लिएर खड्गी सेन्सर बोर्ड पुगे । हेरेपछि बोर्ड पदाधिकारीले भने, ‘राजदरबारको कुरा रहेछ । गणतन्त्र आए पनि राजनीतिक स्थिरता छैन । त्यही भएर यो सिनेमालाई तत्काल स्वीकृति दिन सक्दैनौँ । केही दिनमा बैठक बसेर निर्क्योल गर्छौं ।’
खड्गीले दुई महिना कुर्दा पनि कुनै खबर आएन । आफैँले ताकेता गरे । बोर्डमा सदस्य परिवर्तन भइसकेछन् । सिनेमा पुनः सेन्सर गराउन भनियो । जस्तो, पृथ्वीनारायणले कीर्तिपुरमा लड्न हिन्दुस्तान गएर बन्दुक र बन्दुक चलाउने मान्छे लिएर आएको प्रसंग तथा टाउको काटिएपछि ढलपल गर्दै हिँडेको दृश्य काट्न भनियो ।
‘युद्धबन्दीलाई कस्तो व्यवहार गर्नुपर्छ भन्नेसमेत थाहा नभएको जंगली काँठे राजाको सामु म के बोलौँ’ भन्ने संवाद म्युट गराउन उर्दी जारी भयो । खड्गी दुखेसो पोख्छन्, “गृह मन्त्रालयका प्रतिनिधिले यस्तो सिनेमा चल्न दिए देशको शान्तिसुरक्षा खलबलिन्छ भनेर तर्साए ।”
उसो त चलचित्र विकास बोर्ड र सञ्चार मन्त्रालयबाट कीर्तिपुरको पूर्ण संवादसहितको पटकथा पहिल्यै पास भएको थियो । तर करोड रुपैयाँ लगानी गरेर सिनेमा बनेपछि यस्तो खप्की ! खड्गी दुखेसो पोख्छन्, “सिनेमै चल्न नदिने धम्की आएपछि उनीहरूले भनेजस्तै गर्न बाध्य भयौँ । सेन्सरका मान्छेकै संकुचित विचार देखेर दिक्दार लाग्यो ।”
कीर्तिपुरजस्तै सेन्सरबाट सास्ती भोग्न अभिशप्त छ, सिनेमा प्रेमनाथ । कीर्तिपुर चल्यो । प्रेमनाथको टुंगो छैन ।
बुद्धको कृपाले पुनर्जन्म पाएका केटाकेटीको कथा भन्छ सिनेमाले । क्लाइमेक्समा लुम्बिनीमा एक्सन सिक्वेन्स छ । निर्देशक गणेश बेल्वासेका अनुसार विकास बोर्डबाट स्क्रिप्ट पास भयो, सुटिङका लागि लुम्बिनीमा स्वीकृति पाए । तर सेन्सर बोर्डले सिनेमा रोकिदियो । बोर्डको जिकिर छ, ‘शान्तिभूमिमा द्वन्द्वात्मक दृश्य खिच्न मिल्दैन । क्लाइमेक्स हटाएपछि मात्र चल्न दिन्छौँ ।’
सोही कारण पूर्वघोषित मिति २२ चैत ०७५ मा सिनेमा रिलिज हुन सकेन । बेल्वासेको प्रश्न छ, “चीनका सिनेमामा बुद्धका विभिन्न अवतारले फाइट नै गरेका छन् । हामीले स्क्रिप्ट पास गराएपछि पनि लुम्बिनीमा एक्सन खिच्न नपाउने ?”
क्लाइमेक्समा २२ लाख र पूरा सिनेमाका लागि १ करोड २० लाख रुपैयाँ खर्च भएको छ । यो लगानी बालुवामा पानी खन्याएझैँ हुने हो कि भन्ने भयबाट गुज्रिरहेका छन्, बेल्वासे ।
नेपालमा सिनेमामा सेन्सर सुरु भएको थियो, राजा महेन्द्रको पालामा । अहिले गणतन्त्रमा पनि सिनेमा सेन्सरमा ‘पञ्चायतको पिशाच’ जीवित छ । कीर्तिपुर र प्रेमनाथ सेन्सरका पछिल्लो सिकार हुन् । हामीकहाँ यस्ता सिनेमा असाध्यै कम हुन्छन्, जसको सेन्सरसँग लफडा नपरेको होस् । सिनेमालाई साहित्यिक उत्पादन, सिर्जना मानिन्छ तर सत्ता सधैँ त्यसमाथि कैँची चलाउन अग्रसर हुन्छ । निर्देशक मनोज पण्डित भन्छन्, “चलचित्रले फड्को मार्यो, चलचित्रमा लोकतन्त्र आयो भन्नु व्यर्थ छ ।” पण्डित आफैँ सेन्सरपीडित हुन् । उनका वधशाला, दासढुंगाजस्ता सिनेमा सेन्सरको तारोमा परे ।
नेपालको संविधानको प्रस्तावनामै पूर्ण अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरिएको छ । आफ्नो अभिव्यक्ति र सिर्जना पस्कने दृश्यात्मक माध्यम सिनेमामा हरेक दृश्य र संवाद काँटछाँट गरिन्छ । जबकि किताब, नाटक, संगीत, पेन्टिङ, टेलिसिनेमाजस्ता सिर्जनाका अन्य माध्यममा सेन्सर छैन । समर लभ उपन्यास निर्बाध बिक्यो ।
त्यसैमाथि सिनेमा बनाउँदा मुस्कान ढकालले चाहिँ सेन्सर गराउनुपर्यो । माओवादी युद्ध रक्तपातपूर्ण थियो । कैयौँ निहत्था नागरिकको घाँटी रेटेर हत्या भयो । तर त्यस्तो दृश्य सिनेमामा राख्न दिइँदैन । सरकार मातहतको निकाय विकास बोर्डमा पास भइसकेको स्क्रिप्ट हुबहु सुटिङ गर्दा पनि सेन्सरले निहुँ खोज्छ ।
यो प्रवृत्तिबाट आजित भएका निर्देशक नवीन सुब्बाले राजधानीमा आयोजित एक कार्यक्रममा भनेका थिए, ‘हामीले त पत्रकारको जत्ति पनि स्वतन्त्रता उपभोग गर्न पाएका छैनौँ । अखबारमा प्रकाशित समाचारमाथि सिनेमा बनाउँदासमेत कठोर सेन्सर भोग्नुपर्छ ।’ लामो समयपछि सेन्सरविरुद्ध र स्वतन्त्रताको पक्षमा पैरवी गर्दै आएका सुब्बा यसलाई समाज नियन्त्रण गर्ने शासकको मनोविज्ञानको परिणाम मान्छन् ।
राजा महेन्द्रको सिनेमा नीति र सोच छिमेकी भारतबाट पूर्ण प्रभावित थियो । त्यसैले निर्माण, वितरण, सेन्सरदेखि प्रदर्शनसम्म उताकै जस्तो प्रणाली अवलम्बन गरियो । सुरुमा भारतमा सेन्सर प्रमुख सरकारी कर्मचारी हुन्थे, सिनेमाकर्मी र सेन्सर पदाधिकारीबीच रस्साकस्सी हुन्थ्यो । वाटर, फायर, ब्ल्याक फ्राइडेजस्ता कैयौँ सिनेमालाई सेन्सरले रोकिदियो । तर बिस्तारै भारत सेन्सरमा उदार हुन थाल्यो । कर्मचारी हटाएर चलचित्र क्षेत्रकै विज्ञलाई सेन्सरको जिम्मेवारी दिइयो । त्यसैले सेन्सरसिप रहे पनि चलचित्रकर्मीका कारण स्वतन्त्रता फराकिलो हुँदै गयो । मन्टो, पार्च्डजस्ता सिनेमासमेत अड्किएनन् । हाल गीतकार तथा सिनेमा लेखक प्रसून जोशी सेन्सरको नेतृत्वमा छन् ।
नेपालमा भने अझै कर्मचारीतन्त्रको बोलवाला छ, (हेर्नुस्, इन्फो ) । सिनेमा निर्देशक कुमार भट्टराई भन्छन्, “सिनेमा चेत नभएका मानिसले सिर्जनामाथि कैँची चलाउनु शर्मनाक हो । कर्मचारीको सिनेमाप्रतिको सोच संकुचित हुन्छ ।” विदेशी सिनेमामा डोनाल्ड ट्रम्प र भ्लादमिर पुटिनलाई एकसाथ उडाउन पाइन्छ । तर नेपाली सिनेमामा ‘कम्युनिस्ट’, ‘कांग्रेस’ उच्चारण गर्दासमेत माथापच्ची हुन्छ । सेन्सरले ‘म्युट’ गर्न आदेश दिन्छ । त्यसैले स्क्रिप्ट लेख्न बस्दा नै दिमागमा सेन्सरको भूत सवार हुने सिनेमाकर्मीको गुनासो छ । कीर्तिपुरका निर्देशक खड्गी भन्छन्, “नयाँ र चुनौतीपूर्ण कथा भन्न पहिल्यै डर मान्नुपर्छ । ऐतिहासिक र राजनीतिक विषय उठायो भने त सेन्सरले लफडा झिक्छ, झिक्छ ।” आफ्नो राजनीतिक विचारभन्दा फरक देखिएपछि सेन्सरका पदाधिकारी सिर्जनामाथि जाई लाग्ने उनको अनुभव छ ।
कर्मचारीतन्त्र त छँदै छ, सेन्सर पनि चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ अनुसार नै हुन्छ । यो ऐनको दफा ८ उपदफा ३ मा शान्ति र व्यवस्था, मित्रराष्ट्रसँग, विभिन्न वर्ग वा जातिबीचको सम्बन्ध बिगार्ने, सार्वजनिक हित, सदाचार वा नैतिकताको प्रतिकूल असर पर्ने देखिए त्यस्तो चलचित्रलाई प्रदर्शन गर्न चलचित्र जाँच समितिले अनुमति दिने छैन भन्ने उल्लेख छ । कुनै व्यक्ति–विशेषको मानहानि, अदालतको अवहेलना, लैंगिक हिंसालाई बढावा दिने ‘कन्टेन्ट’ मा पनि रोक लगाइएको छ । समयसँगै राज्यप्रणाली, नागरिकको सोच, सामाजिक व्यवहार बदलिए, उदार भए तर सिनेमा सेन्सरमा उही पुरानो ऐन छ । समयानुकूल नयाँ कार्यविधि बनाउन खोजे पनि त्यत्तिकै अड्किएको सेन्सर बोर्डका सदस्य सुवास गजुरेल सुनाउँछन् ।
सिनेकर्मीको साझा आरोप हुन्छ, ‘सेन्सरमा सिनेमा नबुझेका मान्छे हुन्छन् । सिनेमा जस्ताको तस्तै पास गर्यो भने आफ्नो भाउ हुन्न भनेर ‘ब्लर’ र ‘म्युट’ गर्न लगाउँछन् । दृश्य काटिदिन्छन् ।’ त्यस्तै हुन्छ त ? सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव तथा सेन्सर बोर्डका अध्यक्ष ऋषिराम तिवारी भन्छन्, “हुन्न । ऐन र नियमावलीभित्र बसेर चलचित्र हेर्छौं । राष्ट्रिय हित, सामाजिक सद्भाव र शान्ति–सुरक्षामा संवेदनशील हुन्छौँ ।” यसअघिका बोर्ड अध्यक्षको यथार्थ पनि तिवारीको भन्दा खास भिन्न थिएन । त्यसैले सिनेकर्मी सोधिरहेछन्, ‘सिर्जनाप्रतिको आधारभूत ज्ञान नभएकाले यो काट, त्यो राख भन्न मिल्छ ?’
केही वर्षअघि प्रदीप के उदय एक एक्सन सिनेमाको सेन्सर गराउन बोर्ड पुगेका थिए । ठूल्ठूलो आवाज र द्वन्द्वका दृश्य हुने भइहाले । तर सिनेमा हेर्नुअगावै सेन्सरका तत्कालीन अध्यक्षले भनेछन्, ‘म त मुटुको रोगी हुँ, एक्सन सिनेमा हेर्दा डर लाग्छ । त्यसैले हेर्दिनँ, पास गर्दिनँ ।’ अध्यक्षको तर्कले उदय अचम्मित भए । सिनेमाको रिलिज नजिक आइसकेकाले जसरी भए पनि सेन्सर गराउन बाध्य भए । उदय भन्छन्, “हाम्रो लगानी, आत्मसम्मान अनि सिनेमाको विधागत सौन्दर्यमाथि यस्तो खेलवाड गर्न पाइन्छ ? सिनेमा बनाउनभन्दा सेन्सर पास गराउँदा टाउको दुख्छ ।”
सिनेकर्मी मात्र होइन, सेन्सर बोर्डका सदस्य भइसकेकासमेत हचुवामा सेन्सर गरिने तीतो पोख्छन् । मीनेन्द्र रिजाल सञ्चारमन्त्री हुँदा बोर्ड सदस्य नियुत्त भएका प्रकाश सुवेदी भन्छन्, “त्यहाँ गएपछि थाहा पाएँ, बोर्ड त पार्टीको विशुद्ध भर्तीकेन्द्र पो रहेछ । सिनेमै नबुझेका मान्छे हुँदा रहेछन् ।” उनका अनुसार अध्यक्षले मन पराएका सिनेमा पास हुन्छन्, अरू रोकिन्छन् । ऐनमा भएका अमूर्त शब्दको अपव्याख्या हुन्छ । पत्रकार तथा फिल्म साउथ एसियाका अध्यक्ष कनकमणि दीक्षित भन्छन्, “कन्टेन्टअनुसार रेटिङ गर्नुपर्छ तर सेन्सरसिप गर्नुहुन्न । सेन्सरसिपको नाजायज र अन्धाधुन्ध प्रयोगले सिर्जनामाथि आघात पुग्छ ।”
निश्चित कार्यविधि नभएकाले हुनुपर्छ, उस्तै प्रकृतिका दृश्य कुनै सिनेमामा हुबहु राख्न दिइन्छ, कुनैमा काटिन्छ । सेन्सरपछि दिइने सिनेमा सर्टिफिकेटमा त्यत्तिकै राजनीति हुन्छ । चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७ अनुसार १६ वर्ष पूरा भएका दर्शकले मात्र हेर्न मिल्ने ‘एल्डट’, १६ वर्षभन्दा मुनिकाले अभिभावकको साथमा रहेर हेर्न मिल्ने ‘पीजी’ र सबैले हेर्न पाउने ‘युनिभर्सल’ सर्टिफिकेट दिइन्छ । त्यस्तै निश्चित पेसा वा क्षेक्रका व्यत्तिले मात्र हेर्न मिल्ने गरी छुट्टै सर्टिफिकेट दिन सकिने प्रावधान छ । तर सिनेकर्मीको गुनासो छ– भरमार दृश्य र संवाद काटिसक्दा पनि ‘युनिभर्सल’ होइन, ‘एडल्ट’ प्रमाणपत्र दिइन्छ । अर्थात्, दोहोरो मार ।
भारतमा एल्डट सिनेमाको व्यापार स्वतः २० प्रतिशत घट्ने विभिन्न अध्ययनले देखाएका छन् । त्यसको असर डिजिटल राइट्समा पनि पर्छ । ‘ट्रेन्ड सेटर्स’ सिनेमा लूटका निर्देशक निश्चल बस्नेत बरोबर आक्रोश पोख्ने गर्छन्, ‘दृश्य काटेपछि र संवादमा वीप लगाएपछि पनि युनिभर्सल सर्टिफिकेट दिइन्न । बरु केही नकाटी एडल्ट दिए भइहाल्यो नि ।’ उनको लूटदेखि लूट २ सम्म हरेक पटक सेन्सरमा लफडा भएको छ ।
सत्ताले सिनेमा सेन्सरलाई त्रासको मनोविज्ञान सिर्जना गरिरहने र आफ्नो भक्तिगान गाउन बाध्य पार्ने माध्यम बनाइरहेको छ । यत्तिकै तीतो यथार्थ हो, सेन्सरविरुद्ध सिनेकर्मीले आवाज उठाउन नसक्नु । पण्डित भन्छन्, “प्रेसमा अंकुश लगाउन खोजिएको थियो तर प्रेस लड्यो । सिनेमाले कहिल्यै त्यसो गर्न सकेन । मनोरञ्जनको साधनमै सीमित राखियो ।”
सिनेमालाई संसारभर सांस्कृतिक र कलात्मक उत्पादन मानिन्छ । त्यस हिसाबमा सिनेमालाई संस्कृति मन्त्रालयअन्तर्गत राखिनुपर्ने हो । तर हामीकहाँ सञ्चार मन्त्रालय मातहत चलचित्र विकास बोर्ड छ, सेन्सर छ ।
जबसम्म सिनेमा सञ्चार मन्त्रालय र कर्मचारीतन्त्रको पञ्जाबाट मुक्त हुन्न, तबसम्म न साहित्य वा कलाका अन्य विधामा जस्तै स्वतन्त्रता उपभोग गर्न पाइन्छ, न त चलचित्रलाई प्राज्ञिक उत्पादनका रूपमा राज्यले स्वीकार्छ । बोर्डका पूर्वसदस्य सुवेदी भन्छन्, “संसारभर सिर्जनामाथि सेन्सर गर्नुहुँदैन भनेर आवाज उठेका बेला यस्तोबोर्डको अर्थ छैन । स्वनियमनकै खाँचो छ ।”
सवाल उही हो, सेन्सरविरुद्ध सिनेकर्मीको सामूहिक आवाज कहिले मुखरित हुन्छ ? प्रेमनाथका निर्माता/निर्देशक गणेश बेल्वासे सेन्सरमा सिनेमा रोकिएपछि निर्माता संघमा दिएको उजुरी सुनुवाइ नभएर तड्पिरहेका छन् । तर सेन्सर बोर्ड अध्यक्ष फुर्तिसाथ भन्दै छन्, “म आएपछि कुनै सिनेमाकर्मीको गुनासो सुनिएको छैन ।”
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...