कंगना–राजकुमारको शान (फिल्म समीक्षा : जजमेन्टल हे क्या)

फिल्म  : जजमेन्टल हे क्या | रेटिङ  : ३.५/५

- गोकर्ण गौतम

जीवन्त अभिनयबाट परिचित छन्, कंगना रनावत र राजकुमार राव । फिल्म र चरित्र छनोटमा पनि उत्तिकै चलाख । यो जोडीको क्वीनले हिरोकै दबदबा भएको फिल्म मात्र हिट हुन्छ भन्ने बलिउडको स्थापित मान्यतालाई भत्काएको थियो । त्यसैले पनि उनीहरुको नयाँ फिल्म जजमेन्टल हे क्याप्रति धेरै अपेक्षा थियो । तर निराश हुनुनपर्ने भएको छ । कंगना र राजकुमारको सशक्त अभिनयसँगै रसिलो प्रस्तुतीकरणले साइको–ब्ल्याक कमेडी जनराको यस फिल्मलाई अब्बल बनाएको छ । कनिका ढिल्लोनको चुस्त र कसिलो पटकथालाई निर्देशक प्रकाश कोवेलमुदीले न्याय गरेका छन् । मानसिक समस्याबाट पीडित पात्रमार्फत समाजमा विद्यमान अनेक विभेद र हिंसालाई पहिल्याउन खोजिएको छ ।

डबिङ आर्टिस्ट बोब्बी (कंगना) मानसिक रोगबाट ग्रस्त छिन् । उनलाई साँचो कुरा पनि झुट लाग्छ, झुट पनि सत्य । सन्काहा र रिसाहा छिन् । कसैप्रति विश्वास छैन । जुन पात्रको डबिङ गर्‍यो, वास्तविक जीवनमा पनि आफूलाई त्यस्तै बनाउन खोज्छिन् । उनको घरमा पत्नीसँगै बस्न आइपुग्छन्, केशव (राजकुमार) । पत्नीलाई उनी निकै माया गर्छन् । बिस्तारै बोब्बी केशवप्रति आकर्षित हुन्छिन् । तर उनलाई केशवको आनीबानीमा शंका लाग्न थाल्छ । त्यहीबेला केशवकी पत्नीको मृत्यु हुन्छ । त्यसपछि बोब्बीले गर्ने अनेक हर्कतमा केन्द्रित छ, फिल्म । साँच्चि केशवको वास्तविकताचाहिँ के होला ? क्लाइमेक्समा ट्वीस्ट छ ।

जजमेन्टल हे क्या विशेष हुनुको एउटा कारण हो, यसले बलिउडको मसलेदार सूत्रलाई पूरै नजरअन्दाज गरेको छ । पात्रको चरित्रचित्रण र घटनाक्रम स्वच्छन्द लाग्छ । त्यसैले सुरुआतबाटै नयाँपनको आभास हुन्छ तर पटकथाकार कनिकाले हाम्रो सामाजिक यथार्थकै जगमा कथाउठान गरेकी छन् । त्यो हो, घरेलु हिंसा । सानो छँदा बोब्बीले बारम्बार आफ्नी आमामाथि कुटपिट देख्नुपर्छ । यही कारण उनले आमा मात्र होइन, बुबा पनि गुमाउनुपर्छ । यसले उनको बालमनोविज्ञानमा परेको असरलाई निकै संवेदनशील ढंगबाट देखाउन खोजिएको छ । हरेक दृश्यमा समाजका अध्याँरा पाटामाथि कटाक्ष फिल्मको सुन्दर पक्ष हो ।

बोब्बीको चरित्र स्थापित गर्न यथेष्ट दृश्य खर्चिएको छ । सुरुआतमा उनका हर्कतले रिस पैदा गर्छ तर पीडादायक विगतको पर्दा खुल्दै गएपछि प्रिय लाग्नथाल्छ । वरपरका प्रायः पुरुषले उनीसँग स्वार्थप्रेरित सम्बन्ध राखेका छन् । त्यसले उनलाई थप अस्थिर र अविश्वासी बनाउन भूमिका खेल्छ । केशवको प्रवेशपछि अझ रोचकता थपिन्छ । पत्नीको अगाडि औधी सोझा र मायालु केशवको वास्तविक रुप भिन्नै हुन्छ । यही तथ्य भेउ पाएपछि बोब्बीले शंकालु नजरले हेर्न थाल्छिन् । कथासँगै उनको शंकाको ग्राफ बढ्दै जान्छ । निर्देशक र पटकथाकारले त्यही रहस्यलाई केन्द्रमा राखेका छन् । केशव र बोब्बीको नोकझोकलाई प्रधानता दिइएको छ ।

मध्यान्तरपछि मुख्य दुवै पात्र अलग्गै दुनियाँमा पुग्छन् । दर्शकलाई कथाको लय बिथोलिएको भान हुन्छ तर फेरि पुरानै घटनाक्रममा अनेक ट्वीस्ट थपिन्छन् । यद्यपि बोब्बी र केशवको पुनर्मिलन विश्वसनीय लाग्दैन । बोब्बीको चरित्र चिनाउने चक्कर मध्यान्तरपछि पनि रोकिन्न । तर केशवमा सस्पेन्सको लेप गाढा बनाएसँगै फिल्मले ध्यान खिच्न थाल्छ । पागलपनको सिकार भएका बिरामी कुन हदसम्म पुग्छन् भन्ने प्रस्ट पारिएको छ । मनोविज्ञहरु भन्छन्, कुनै व्यक्ति त्यत्तिकै अपराधी/हिंस्रक हुँदैन, त्यसमा पृष्ठभूमिको भूमिका हुन्छ । यही मान्यताका प्रतिनिधि हुन्, केशव र बोब्बी ।

बलिउडले ब्याकग्राउन्ड म्युजिकमा फड्को मारेको छ । यस फिल्म ताजा नमुना हो । दृश्यमजबुत बनाएर दर्शकलाई बाँध्न संगीतले प्रभावकारी भूमिका खेलेको छ । खिचाइ, सम्पादनजस्ता प्राविधिक पक्ष बुलन्द लाग्छ । कंगनाले आफ्नो विशिष्ट अभिनयकलालाई निरन्तरता दिएकी छन् । हरेक दृश्यलाई स्वाभाविक बनाउन सक्दो मिहिनेत गरेकी छन् । बलिउडमा उनीजस्तो अभिनयशिल्प भएका कलाकारको साँच्चै खडेरी छ ।

हिरोको परम्परागत संरचनाभित्र नअटाउने राजकुमार बलिउडमा किन यतिविघ्न व्यस्त र प्रतिष्ठित हुँदैछन् भन्ने उदारहण हो, जजमेन्टल हे क्या । द्वैधचरित्रको पात्रमा उनले आफूलाई पूरापूर ढालेका छन् । चरित्रनिर्माणमा त यी दुवै पोख्त भइहाले । कनिका ढिल्लोन भारतकी उदीयमान पटकथाकार हुन् । उनको लेखनकला केदारनाथ र मनमर्जियाभन्दा खारिएको छ । दक्षिण भारतीय फिल्म निर्देशन गर्दै आएका प्रकाशले यस सिनेमाबाट बलिउडमा दमदार ‘इन्ट्री गरेका छन् ।

कंगना र राजकुमारका फ्यान मात्र होइन्, जोकोहीले जजमेन्टल हे क्या हेर्दा  समय र पैसा खर्चिएकामा पछुताउनु पर्दैन । पात्रजस्तै दर्शकलाई पनि एकहदसम्म पागलपनमा पुर्‍याउँछ ।

प्रकाशित: श्रावण १७, २०७६