सरकारी छक्कापञ्जा
सरकारको विदेशी फिल्म नियन्त्रण नीतिमा निर्माता र वितरक–हलवाला विभाजित
केशव भट्टराईलाई अध्यक्षमा नियुक्त गरेसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा चलचित्र विकास बोर्डका गतिविधिमा सक्रिय हुन थाले । बोर्डको वार्षिकोत्सवमा बाँस्कोटाले कलाकर्मीलाई सम्मान गरे, १६ असारमा । त्यही कार्यक्रममा बाँस्कोटाले भनिदिए, “अब हलले अनिवार्य रूपमा १ सय ८० दिन नेपाली फिल्म चलाउनुपर्ने बाध्यकारी नियम आउँदै छ ।”
उसै पनि देशभर बक्स अफिस प्रणाली लागू भएपछि हलवाला त्रसित थिए, त्यसमाथि सञ्चारमन्त्रीको यो अभिव्यक्तिले घाउमा नुनचुक छर्क्यो । तर सञ्चारमन्त्रीले वर्षमा आधा समय नेपाली फिल्म चलाउनैपर्ने अड्डी कसिरहेका छन् । उनको भनाइको सार छ, ‘चले पनि/नचले पनि ६ महिना नेपाली फिल्मै चलाउनुपर्छ । नत्र हलमा ताला लाग्छ ।’
नेपाली सिनेमाको प्रचार र संरक्षणका लागि यो नियम आवश्यक भएको उनको जिकिर छ । चार वर्षअघि सरकारले राष्ट्रिय चलचित्र नीति पारित गरे पनि लागू हुन सकेन । विदेशी फिल्मलाई सकारात्मक विभेद गर्ने नीतिका आधारमा मस्यौदा गरेको विधेयकलाई ऐनका रूपमा ल्याउन सरकार लागिपरेको छ । यसकै पूर्वसन्ध्यामा बाँस्कोटाले हललार्ई चेतावनी दिएका हुन् । बोर्ड अध्यक्ष भट्टराई भन्छन्, “विदेशी फिल्मबाट नेपाली फिल्म पेलिएकै छ । त्यसबाट मुक्त गर्ने र नेपाली फिल्मलाई राहत दिने थिति बसाल्न हामी प्रतिबद्ध छौँ ।” तर के–कस्तो प्रावधान ल्याउने निर्क्योल भई नसकेको भट्टराईले जानकारी दिए ।
मन्त्री बाँस्कोटा १ सय ८० दिनको अड्डी कसिरहेका छन् भने सञ्चार मन्त्रालयकै चलचित्र नीति कार्यान्वयन समितिले विकास बोर्डलाई दिएको कार्ययोजनामा ९० दिन स्वदेशी चलचित्र प्रदर्शन गर्नुपर्ने उल्लेख छ । प्रस्तावित चलचित्र विधेयकको परिच्छेद ७ मा चाहिँ लेखिएको छ, ‘प्रत्येक चलचित्र घरले स्वदेशी चलचित्रको विकास, विस्तार र प्रवर्द्धन गर्न वर्षको कम्तीमा तोकिएबमोजिमको दिन स्वदेशी चलचित्र प्रदर्शन गर्नुपर्नेछ ।’
सरकारको यो नियन्त्रणकारी कदमले फिल्मवृत्तलाई दुई फ्याकमा बाँडेको छ । निर्माताले खुलेर स्वागत गरेका छन् भने हलवाला र वितरकले विरोध । निर्मातासमेत रहेका वितरक प्रचण्डमान श्रेष्ठ भन्छन्, “कलाको ठूलो सिमाना हुँदैन भनेर उफ्रन्छौँ । तर नियमचाहिँ यस्तो निषेधकारी ! ९० वा १ सय ८० दिने कोटा लगाउनु भनेको नेपाली फिल्मलाई थप संकुचित बनाउनु हो ।”
नेपाली फिल्मको डामाडोल व्यापार कसैबाट छिपेको छैन । बर्सेनि एक सय हाराहारी फिल्म चल्छन् तर मुस्किलले पाँच वटाले मात्र नाफा कमाउँछन् । पोस्टरको लगानीसमेत नउठाउने नियतिबीच गुज्रिरहेको छ, नेपाली फिल्म । यो हालतमा पुग्नुको मुख्य कारण विदेशी फिल्मको चेपुवा मात्र हो ? हलले पर्याप्त शो नदिएरै हो ? बक्स अफिसमा सधैँ रेकर्ड राख्ने छक्का–पञ्जा सिरिजका निर्माता दीपकराज गिरी भन्छन्, “होइन तर हलवालाले विदेशी फिल्मलाई च्याप्ने र नेपाली फिल्मलाई सकेसम्म कम चेप्ने गर्छन् । यसबाट अवश्य घाटा परेको छ । सरकारले नेपाली फिल्मलाई प्रोत्साहन गर्दा हलवालाले किन टाउको दुखाउने ?” विदेशी फिल्मलाई विलासितापूर्ण र नेपालीलाई सांस्कृतिक मनोरन्जनमा राख्न अनि विदेशी फिल्मको टिकट दर सय रुपैयाँ भए पनि बढाउन पैरवी गर्दै आइरहेका छन् । गिरीको तर्क छ, “म्यागी चाउचाउ २० रुपैयाँमै पायो भने वाईवाई कसले खान्छ ? अहिले हिन्दी र अंग्रेजी सिनेमा चलाएर बाँच्नेहरूको मात्र सातो उडेको हो, बाँकी खुसी छन् ।”
प्रेस र सामाजिक सन्जालपछि सरकारले फिल्म प्रदर्शनमा पनि अनुदार नीति अपनाएको भन्दै हलवालाले विरोध गरेका छन् । विधेयकका सम्बन्धमा विकास बोर्डले हलवालाको छाता संगठन नेपाल चलचित्र संघसँग राय मागे पनि जवाफ पाई नसकेको अध्यक्ष भट्टराईले जानकारी दिए । उनी बारम्बार दोहोर्याइरहेका छन्, “स्वदेशी फिल्ममैत्री माहोल बनाउन लाग्दा हल आत्तिनुपर्दैन ।”
चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय भने कोटा प्रणाली अन्ततोगत्वा नेपाली फिल्म उद्योगकै लागि घातक हुने दाबी गर्छन् । भन्छन्, “हामी नेपाली चलचित्रको विकासको बाधक होइनौँ तर व्यापार नबुझी हाम फाल्यौँ भने स्वदेशी चलचित्रको व्यापार थप धराशयी बन्न सक्छ ।” उनका अनुसार ०५८/०५९ मा देशभर चार सय हल थिए । त्यही बेला क्यु सिस्टम लाग्यो, जस्तासुकै फिल्म पनि चलाउनैपर्ने भयो । त्यस्तै साप्ताहिक होल्डओभर सिस्टमले नचले पनि एक सातासम्म हटाउन नपाइने भयो । उदय भन्छन्, “यो बाध्यकारी नियमले दर्शक भड्किए, हल संख्या पनि आधा घट्यो । फेरि त्यस्तै स्थिति निम्त्याउन खोजेको हो ?”
सुविधासम्पन्न मल्टिप्लेक्स खुल्न थालेपछि भने दर्शकको चहलपहल बढ्यो । सुरुमा मल्टिप्लेक्समा नेपाली होइन, विदेशी फिल्मकै व्यापार ज्यादा हुन्थ्यो । उदयका अनुसार त्यतिबेला पनि निर्माताहरू विदेशी फिल्मलाई मात्र फाइदा भयो भनेर कुर्लन्थे तर गुण अभिवृद्धिसँगै यी हलमा स्वदेशी फिल्मले लोभलाग्दो कमाइ गर्न थाले । मल्टिप्लेक्स लक्षित सिनेमा बन्न थाले । उदय भन्छन्, “मल्टिप्लेक्स नभएको भए छक्का–पञ्जाले २० करोडको व्यापार गर्थ्यो ? फिल्म चल्न फिल्म नै राम्रो हुनुपर्छ । अहिलेकै अवस्थामा नेपाली चलचित्रले मात्र हल धान्न सक्ने अवस्था छैन ।”
खासमा हलवालालाई पनि विदेशीभन्दा स्वदेशी चलचित्र चलाएकै फाइदा हुन्छ किनभने विदेशी फिल्ममा १५ प्रतिशत विकास शुल्क तिर्नुपर्छ, स्वदेशीमा पर्दैन । त्यसैले चल्ने नेपाली फिल्मलाई हलले विभेद गर्दै–नगर्ने उदयको दाबी छ । त्यसो त हलले शो दिँदैमा फिल्मले व्यापार गरिहाल्छ भन्ने पनि होइन । उदाहरण, द म्यान फ्रम काठमान्डु हो । यस फिल्ममा लगानी थियो, मल्टिप्लेक्स चेन क्युएफएक्सको । त्यसैले यस फिल्मले क्युएफएक्समा सुरुकै दिनबाट २४ शो पायो तर फिल्ममै दम नभएपछि कसको के लाग्छ ? सुरुआती दिनबाटै दर्शकको सुक्खा लाग्यो ।
ए मेरो हजुर ३ ले ओपनिङमा राम्रो शो पाएन, मल्टिस्टारर हिन्दी फिल्म कलंकको चेपुवामा पर्यो । तर जब ए मेरो हजुर ३ मा दर्शकको भीड लाग्न थाल्यो, शो संख्या २३ पुग्यो । कंलकचाहिँ ५ शोमा सीमित भयो । जात्रैजात्राले स्टुडेन्ट अफ इयर २ लाई उछिनेको थियो । चलचित्र संघ अध्यक्ष उदय भन्छन्, “हलवालाले राष्ट्रियता र भाषा हेर्दैन, व्यापार मात्र हेर्ने हो । जसमा दर्शक ओइरिन्छन्, त्यसैलाई च्याप्छन् । फिल्म जुध्नु र डुब्नुको दोष हलवाला होइनन्, स्वयः निर्माता नै हुन् ।”
गत वर्ष क्युएफएक्समा ५४ र बिग सिनेमामा ५५ नेपाली फिल्म चलेका थिए । काठमाडौँका लगभग सबै हलमा ३ सय ६५ दिन नै नेपाली फिल्म चल्छन् । तर नेपाली मात्र चलाउनुपर्ने बाध्यताले देशभर बनाइन लागेका सुविधासम्पन्न हल बन्दैनन् कि भन्ने चिन्ता छ उदयको । उनी आफैँले बुटवल, कृष्णनगर र सुनवलको हल भत्काएर बुटवलमा सिंगल तर सुविधासम्पन्न हल खोलेका छन् ।
हालै राजधानीको पृथ्वी, कास्कीको मन्दीप–मिलन र भैरहवाको सिद्धार्थ हल बन्द भए । नेपाली फिल्म मात्र चलाउने अरू धेरै हलको अवस्था नाजुक छ । तर निर्माता गिरी यसमा हल सञ्चालककै कमजोरी देख्छन् । “दर्शक ढुक्ने र सुधारै नगर्ने हल बन्द हुन्छन् नै,” गिरी भन्छन्, “हामीले विदेशी फिल्म निषेध गर्नुपर्छ भनेका छैनौँ, नेपाली फिल्मलाई थोरै माया र आरक्षण देऊ भनेका हौँ । दसैँ, तिहारमा नेपाली फिल्म मात्र लाग्यो र दुई दिन ढिला चलायो भने पनि धेरै राहत हुन्छ ।”
कसैबाट नछिपेको सत्य हो, नेपाली फिल्म हलका कारण नचलेका होइनन्, चल्नुपर्ने गुण नभएरै नचलेका हुन् । तर बिनासुझबुझ नियन्त्रणकारी नियम ल्याउँदा प्रत्युत्पादक हुनेमा शंकै छैन । विदेशी फिल्म बन्देज गरेर न पाकिस्तानलाई फाइदा पुगेको थियो, न त बंगलादेशलाई । वितरक तथा निर्माता श्रेष्ठ भन्छन्, “कोटा प्रणाली लागेपछि १ सय ८० दिनबाहेक हलले नेपाली फिल्म चलाएन भने को जिम्मेवार ? जबर्जस्ती चलचित्र चलाएर दर्शक हलमा आउँछन् ? नेपाली फिल्म नचलेको हल नपाएर होइन, राम्रो फिल्म नबनेर हो ।” एकै दिन नेपालभर १ करोड ८० लाखको व्यापार गर्ने क्षमता राख्छन् हलले । त्यसैले अब्बल फिल्मलाई विदेशी फिल्म आउँदा पनि फरक नपर्ने उनको दाबी छ । भन्छन्, “प्रतिस्पर्धात्मक क्षमता वृद्धि गरेर मात्रै नेपाली फिल्मको गुणस्तर र व्यापार बढ्छ । विदेशी फिल्म निषेध गरेर होइन ।”
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...