अनि कायाकल्प

  • सुगठन

- गोकर्ण गौतम

भुइँचालो गएपछि अरू काम भएन । घरमा बस्ने, खाने, सुत्ने । महिना दिनमा ज्यान ह्वात्तै बढेर ६५ किलो पुग्यो, मल्लिका शाक्य, २९ को । शरीर भारी र आफ्नै कपडा अटेसमटेस हुन थाल्यो । मल्लिका आत्तिँदै फिटनेस क्लब पुगिन् । त्यतिबेला उद्देश्य एउटै थियो, जसरीतसरी तौल कम गर्ने । तर कहिलेकाहीँ सानो निर्णयले जिन्दगीमा ठूला मोड ल्याइदिन्छन् । मल्लिकाको हकमा त्यही भयो । ४ साउनमा उनले गोल्ड मेडल जितिन्, १२ औँ दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा । यस प्रतियोगिताको वुमन मोडल फिजिक विधातर्फ मल्लिका सर्वोत्कृष्ट ठहरिएकी हुन् । विजयी मुस्कानसहित भन्छिन्, “मोटाउनु त मेरा लागि वरदान पो भयो ।”

सामान्य केटीबाट अन्तर्राष्ट्रिय बडीबिल्डरको पहिचान तब मात्र बनेको हो, जब मल्लिकाले कडा शारीरिक मिहिनेत र खानपानमा अनुशासन आत्मसात् गरिन् ।

जिमबाट शारीरिक अभ्यास सुरु गरे पनि केही समयमै उनले जुम्बा र एरोबिक रोजिन् । तौल घट्यो तर फिटनेसप्रतिको मोह हराएन । तिनताका एक म्यानपावर कम्पनीमा आबद्ध थिइन् । काम सिर्जनशील थिएन । अर्काको काम गर्दा–गर्दा निराश भइसकेकी थिइन् । मल्लिका सम्झिन्छिन्, “त्यही बेला मैले कार्डियोबारे थाहा पाएँ । त्यसपछि आँटै गरेर जागिर छाडेँ, कार्डियोको प्रशिक्षण लिन थालेँ ।” जुम्बा र एरोबिक नियमित गर्ने भएकाले कार्डियो सिक्न समय लागेन । महिना दिनमै पोख्त भइन् र आफैँले सिकेको क्लबमा सिकाउन थालिन् । अरूलाई सिकाउँदा छुट्टै स्फुर्ति आउँथ्यो, अरूले गुरु भनेर सम्मान गर्थे । अगाडि थप्छिन्, “ममा बिस्तारै पैसा कमाउने मात्र होइन, आफ्नो नाम राख्ने काम गर्छु भन्ने प्रण गरेँ । त्यसका लागि म कार्डियो प्रशिक्षणमै दत्तचित्त भएँ ।” नभन्दै तीन महिनाबीच राजधानीका चार फिटनेस क्लबमा प्रशिक्षण दिने मौका मिल्यो, उनलाई ।

अहिले पनि महिला कार्डियो प्रशिक्षक नगन्य छन्, त्यतिबेला मल्लिका एक्लैजस्तै थिइन् । केटाकेटी दुवैलाई सिकाउनुपर्ने । तर कहिल्यै अप्ठेरो मानिनन् । क्लबमा आउने महिला उनीसँग सहज महसुस गर्थे । कति केटी लाज पनि मान्थे तर उनी हौसला दिन्थिन् । महिला सेवाग्राहीको संख्या बढ्दै गयो । छोटै समयमा प्रशिक्षकको रूपमा लोभलाग्दो ख्याति कमाए पनि मल्लिकाको मन भरिएन । त्यस अगाडि उनले अन्तर्राष्ट्रिय महिला दिवसमा हुने स्क्वाड प्रतिस्पर्धामा भाग लिएकी थिइन् तर उपलब्धिमूलक भएन ।

नियमित जुम्बा गरे पनि खानपानमा नियन्त्रण थिएन । फेरि ज्यान मोटो हुँदै गयो । जिम गर्नुको विकल्प भएन । त्यसैले कालीमाटीस्थित डिभाइन फिटनेस क्लब धाउन थालिन् । उनीसँग भेट भएपछि त्यहाँका गुरु रुजेश शाहीले भनेछन्, ‘साउथ एसियन गेम हुँदै छ, बिकिनी लगाएर पर्फम गर्नुपर्छ । कडा मिहिनेत गर्‍यौ भने उपाधि जित्न सक्छौ । इच्छा छ ?’ अप्रत्यासित प्रस्ताव थियो यो । मल्लिकाले ‘हुन्छ/हुँदैन’ भन्न सकिनन् । रातभर सोचिन् र निष्कर्षमा पुगिन्, ‘जागिर छैन, अरू काम छैन । बरु यसबाटै नाम कमाउने मेरो सपना पूरा हुन्छ । अब दिलो ज्यान दिएर खट्छु ।’

गत वर्ष चैतको कुरा हो यो । प्रतियोगिता आउन चार महिना मात्र बाँकी थियो । त्यसैले गुरु रुजेशको सल्लाहमा भोलिपल्टैबाटै प्रशिक्षण सुरु भयो । नुन, तेल र चामल पूर्ण रूपमा बन्द, चिकेन पनि उमालेर मात्र खान पाउने । नत्र सागपात, काउली, गाजरकै भर । एकातिर दैनिक पाँच घन्टा अभ्यास, अर्कातिर मन लागेको कुरा खान नपाउने । खानाकी सोखिन मल्लिकालाई कठोर सजायजस्तो भयो । भावुक हुँदै भन्छिन्, “ज्यान असाध्यै दुख्थ्यो । रातभर निद्रा लाग्दैनथ्यो । अरूले खाएको देख्दा कत्ति रोएँ, कत्ति ।” तर उनलाई भाग्न मन लागेन, गोल्ड मेडलको सपना जो थियो । दक्षिण एसियाली च्याम्पियनसिपमा भाग लिनुअगाडि राष्ट्रिय प्रतियोगिता मिस्टर हिमालयमा भाग लिनैपर्ने भयो । त्यतिबेला न उनको ज्यान सुगठिलो थियो, न त आत्मविश्वास नै । तैपनि सहभागी भइन्, कत्तिले गिज्याए, ‘ज्यान यति भद्दा छ, के बडीबिल्डर हुन खोज्या ?’ तर हरेश खाइनन् । अझ कडा कसरत गर्न थालिन् ।

बिस्तारै नुनतेलबिनाका खाना पनि मीठो लाग्न थाले, मसल आकर्षक देखिन थाल्यो । कडा अभ्यास र खानपानको अनुशासनमा बस्यो भने तीन महिनामा शरीर चाहेजस्तै बनाउन सकिन्छ । मल्लिकाको हकमा त्यही भयो । त्यसैले त च्याम्पियनसिपका लागि आफ्नो सुगठित शरीर प्रज्ञा भवनका भरिभराउ दर्शकमाझ बिकिनीमा प्रस्तुत गर्दा पनि कुनै धक लागेन । भन्छिन्, “मिस्टर हिमालयमा बिकिनी लगाउँदा अप्ठेरो महसुस भयो । तर यसपालि मैले के लगाएकी छु, मेरो वरपर को–को छन्, ख्यालै भएन । खेलमा मात्र ध्यान गयो ।” उनी फुरुंग किन पनि छिन् भने आफूभन्दा सिनियर प्रतियोगीलाई उछिन्दै उपाधि चुम्न सफल भइन् ।

गोल्ड मेडल उत्साहसँगै ३१ साउनमा थाइल्यान्डमा हुने एसिया प्यासिफिक प्रतियोगिताको तयारीमा जुटेकी छन्, मल्लिका । आत्मविश्वास र ऊर्जा प्रचुर छ । तर समस्या उही, पैसाको । दिनको १० अन्डा, टन्नै फलफूल, आधा केजी चिकेन, प्रोटिन खानुपर्छ । सबै महँगो हुन्छ । कतैबाट सहयोग छैन । दैनिक ६ घन्टा जिम गर्नुपर्ने भएकाले जागिरका लागि समय हुन्न ।

नेपाल बडीबिल्डिङ एसोसिएसनले गोल्ड मेडल विजेतालाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको थियो तर अहिलेसम्म मल्लिकाको हातमा परेको छैन, न त अन्य व्यावसायिक प्रायोजक नै भेटिन्छ । आर्थिक संकटले खेलमा एकाग्र हुनबाट बिथोलिरहेको छ । तैपनि मल्लिका यी अड्चनलाई चिर्ने प्रयास गर्दै छिन् किनभने यो खेलमा भविष्य देखेकी छन् । ननिता महर्जन, शोभा मानन्धर, निर्मला महर्जनले बिहेपछाडि नै बडीबिल्डिङमा नाम कमाए, उनी त अविवाहिता नै । “राष्ट्रिय खेलाडी भनेर चिनिसकेँ, अब देशका लागि खेल्नुपर्छ भन्ने जिम्मेवारीबोध भएको छ, मल्लिकाको मन्त्र छ, “बाधा आउलान् तर म रोकिन्नँ ।”

प्रकाशित: श्रावण २१, २०७६