गुरुकुलको सुखद प्रत्यागमन (नाटक समीक्षा : मीमांसा)

- गोकर्ण गौतम

गीतामा लेखिएको छ :

नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः

चैनं क्लेदयन्त्यापो शोषयति मारुतः

यसको अर्थ हो, ‘हाम्रो आत्मालाई न कुनै हतियारले टुक्राउन सक्छ, न आगोले जलाउन सक्छ । न पानीले गलाउन सक्छ, न हावाले नै उडाउन सक्छ ।’

कञ्चटमा आफैँले गोली ठोक्नुअगाडि डा हरिहर सिग्देलले सहायक डा अतुल चौलागाईंलाई गीताका यी पंक्ति सुनाउँछन् । र, शरीर मरे पनि आत्मा जीवित हुने ठहर गर्दैआत्महत्याको बाटो रोज्छन् । हरिहरको आदेशबमोजिम अतुल उनको आत्मासँग कुरा गर्न चाहन्छन् तर प्रहरी बाधक बनिदिन्छ । अतुल मरिहत्ते गरिरहन्छन् ।

अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक मीमांसाको दृश्य हो, यो । यसका मुख्य पात्र हरिहरले आत्माको खोजका लागि पागलपनको हद पार गरिदिन्छन् । खोजलाई निष्कर्षमा पुर्‍याउने जिम्मा अतुलको हुन्छ । शंकर लामिछानेको कथा आत्माको मीमांसामा आधारित यस नाटकका निर्देशक हुन्, प्रवीण खतिवडा । नाट्य रुपान्तरण पनि प्रवीणकै । हरिहरको भूमिकामा सुनील पोखरेल छन् भने अतुलचाहिँ राजकुमार पुडासैनी । नाटक मृत्युपछि मान्छेको आत्माको अस्तित्वबारे शंका–उपशंका र तर्क–वितर्कमा केन्द्रित छ । सोही कारण नाटक हेरिरहँदा र हेरिसकेपछि दर्शकको मानसपटलमा अनेक सवाल खडा हुन्छन् ।

पछिल्ला वर्षहरुमा नेपाली रंगमञ्चमाथि आरोप छ, हल्का र बजारु नाटकमै रमाएको । केही समययता नाटकको संख्या उल्लेख्य बढे पनि गुणस्तर खस्किएको छ । न विषय छनोटमा सतर्कता देखिन्छ, न त त्यसको प्रस्तुतिमै । कति नाटक त ‘फास्टफुड’ झैँ लाग्छन् । अभिनयमा निखार हुन्न । यो कोटिका नाटक मण्डलामा पनि छ्यासछ्यास्ती देखिए । नाटकघरमा दर्शकको चाप खुकुलो हुनथाल्यो ।

स्तरीय र गम्भीर प्रकृतिका नाटकको खडेरी भइरहेको यो समय मीमांसा मञ्चन हुनु आफैँमा सुखद संकेत हो । यसलाई आरोहण गुरुकुलको पुनरागमन मानिएको छ । निर्देशक खतिवडा र कलाकार पुडासैनी गुरुकुलबाटै दीक्षित हुन् भने सुनील र पृष्ठभूमिमा आत्माको आवाज दिने निशा शर्मा गुरुकुलका गुरु । गुरुकुलको पुरानो छविलाई मीमांसाले धुमिलिन दिएको छैन ।

खासमा मीमांसाको कथा हाम्रो दैनिक जीवनसँग नजिक छ तर अनेक भागदौड र लालसाका कारण त्यसलाई वास्तै गर्दैनौँ । जिन्दगीलाई जटिल बनाउँछौँ तर मुख्य पात्र हरिहर आमसोचाइ र लोभभन्दा माथि छन् । मरिसकेको महान् व्यक्तित्वको आत्मालाई सम्मोहन गरी जीवित व्यक्तिमा ल्याउन सके अनेकौँ रहस्य पत्ता लाग्ने र युगलाई नै देन हुने ठान्छन् । आत्माको संसारमा आफैँ डुलेर विभिन्न घटनाको गाँठो फुकाउने हुटहुटी राख्छन् । उनी आफ्नो चेला अतुललाई भन्छन्, ‘न्युटन, आइनस्टाइनलाई आत्माका माध्यमबाट सोध्न पाए, कार्लमार्क्स र एरिस्टोटलले अहिलेका बारे बुझ्न पाए ? अथवा, नेपालकै पत्ता नलागेका घटनाजस्तै : दरबार हत्याकाण्ड, ३३ किलो सुन प्रकरण, निर्मला काण्डबारे पीडित वा मृतककै मुखबाट बुझ्न पाए ?’

अतुलले सम्मोहन गरेरै आफ्नो आत्मासँग वार्ता गरोस् र नयाँ तथ्य पत्ता लागोस् भनेर हरिहरले ज्यानको तिलाञ्जली दिन्छ । तर हरिहरको आत्मासँग अतुलको साक्षात्कार होला ? सम्मोहन र आत्माको गहिराइ नबुझेको प्रहरी प्रशासनले उल्टै अतुललाई बहुलाहा ठानिदिन्छ । यसले संसार कति सतही ढंगबाट चलिरहेको छ र नवीन प्रयोगमाथि कसरी निर्मम व्यवहार हुन्छ भन्ने देखाउन खोजिएको छ । तर नाटक ‘ओपेन इन्डिङ’ छ । पात्र दर्शकलाई नै घटनाबारे सोध्छन् । दर्शकलाई पनि नाटक हेरेको भान हुन्छ । खासमा यो पुरातन शैली हो । आत्माको खोज ठोस निष्कर्षमा पुग्न नसकिने भएकाले पनि निर्देशकले यो शैली पछ्याएका हुन सक्छन् ।

कन्टेन्टजस्तै सेट डिजाइन र प्रकाश संयोजनले नाटकलाई अब्बल बनाउन भूमिका खेलेको छ । आत्मासँग भलाकुसारी कलात्मक लाग्छ, दर्शकमा रोचकता पैदा हुन्छ । नाटकको अर्को प्रशंसनीय पक्ष हो, अभिनय । नेपाली रंगमञ्चका भेट्रान सुनीलले आफ्नो साख जोगाएका छन् । आत्मासँग सम्मोहित भएर खोजमा समर्पित पात्रलाई जीवित बनाएका छन् । नेपाली रंगमञ्चका अर्का सशक्त कलाकार राजकुमारको अभिनय जीवन्त छ । मञ्चमा उनले देखाउने अक्सर व्यवहार असामान्य लाग्छ, भलै ती तर्क र तथ्यमा आधारित किन नहुन् ।

विजय बराललाई प्रहरी अधिकृतका रुपमा देख्न पाइन्छ । नेपथ्यमा निशाको आवाज सुनिन्छ ।अभिनयमा निपुणता पस्किसकेका प्रवीणले निर्देशनमा फेरि एकपटक आफ्नो कुशलता पस्किएका छन् । उनले यति गहन कथा चयन गर्नु साहस हो भने त्यत्तिकै प्रभावकारी ढंगले नाट्य रुपान्तरण गर्नु खुबी ।

आत्माको रहस्यमयी संसारमा सयर गराउने र सवाल खडा गर्ने मीमांसा नेपाली रंगमञ्चले दीर्घकालसम्म सम्झनेछ । यसको मञ्चन ३२ साउनसम्म हुनेछ ।

प्रकाशित: श्रावण २४, २०७६

×