आवरण चहकिलो, आत्माचाहिँ फिक्का–फिक्का (फिल्म समीक्षा : हजार जुनीसम्म)

फिल्म : हजार जुनीसम्म | रेटिङ : १.५/५

- गोकर्ण गौतम

उदय सोताङ र मनिला सोताङको श्रुतिमधुर गीत छ, ‘हजार जुनीसम्म...।’ सम्बन्ध टुटे पनि माया र पर्खाइ कहिल्यै नटुट्ने भावना पोखिएको । दर्शक रुवाउन खप्पिस मानिएका निर्देशक विकास आचार्यले यही गीतको शीर्षक लिएर फिल्म बनाएका छन्, हजार जुनीसम्म । दृश्यभाषा भएकाले फिल्ममा गीतको भाव अझ गहिरो र मर्मस्पर्शी बनाउनु निर्देशकको जिम्मेवारी हो । तर क्लिसे सूत्र र संरचनाको घेरामै अल्झँदा फिल्म निरस बनेको छ । गीत बिर्सेर स्वतन्त्र ढंगले हेर्दा पनि मन रम्दैन । पर्दामा दृश्य आउँछन्, जान्छन् तर दिलमा पुग्दैनन् । यही कारण हुनुपर्छ, गिनेचुनेका कलाकारको डफ्फै हुँदा पनि फिल्म कान्तिविहीन लाग्छ । पटकथा आचार्य र सामिप्यराज तिमिल्सिना मिलेर लेखेका हुन् ।

सिक्किममा गीत गाउन जाँदा सिद्धान्त (आर्यन सिग्देल) को त्यहीँकी केटीसँग माया बसेको हुन्छ । पोखरा फर्केपछि उनले अर्कै केटो रोजेको थाहा पाउँछन् । तर सिद्धान्तको प्रेम कति घनीभूत भने १४ वर्ष बितिसक्दा पनि बिर्सन सक्दैनन् । यो रहस्य उनका छोराद्वय अथर्व (अखिलेश प्रधान) र निशान्त (सलोन बस्नेत) ले थाहा पाउँछन् । त्यसैले छुटेकी प्रेमिकासँग भेट गराउन जबर्जस्ती सिद्धान्तलाई सिक्किम लैजान्छन् । उनीहरुको यात्रामा सिक्किममा घर भई पोखरामा पढिरहेकी अवन्तिका (स्वस्तिमा खड्का) पनि मिसिन्छिन् । बाबुकी मायालु भेटाउने दुई छोराको चाह पूरा होला ?

फिल्मको केन्द्रीय कथा मात्र होइन, पात्र र तिनका भोगाइ पनि सतही लाग्छ । चरित्र स्थापितमा रत्तिभर ध्यान दिइएको छैन । पहिलो दृश्यबाटै मुख्य पात्र सिद्धान्त अनवरत खोक्छन्, चुरोट र रक्सी पिएकोपियै गर्छन् । वियोगमा तड्पिएका यस्ता ‘देवदास’हरुलाई पर्दामा सयौँ पटक हेरिसकिएको छ । यस्ता बासी पात्र र प्रवृत्तिप्रति कसरी प्रेमभाव पैदा हुनु ? पहिलो भेटमै बुहारी बन्न प्रस्ताव गर्ने तर त्यही केटीलाई छोराले पहिल्यै मन पराउने, बाबुछोरा सँगै हुँदा संयोगले त्यही केटीसँग भेट हुने, प्रेम प्रस्ताव राख्न उक्साउने, हराएको मान्छे भेट्न पुरानो गीतको सहारा लिनेजस्ता दृश्य र उस्तै शैलीको प्रस्तुतीकरणले अब धान्दैन । निर्देशकले नयाँ शिल्पको विकास गर्नैपर्छ । नत्र फिल्मप्रति ‘इन्गेज’ हुनै सकिन्न ।

कथा र कथावाचनभन्दा गीतलाई अनावश्यक प्राथमिकता दिने भन्दै निर्देशक आचार्य उसैपनि आलोचित छन् । नाईं नभन्नु ल सिरिजभन्दा बाहिरको फिल्म बनाउँदासमेत उनी यो धङधङीबाट मुक्त हुन सकेका छैनन् । यस पटक पनि कथाभन्दा बजारको मागअनुसार गीत थोपरिएको छ । त्यसैले कथाप्रवाहमा गीत सहायक बन्दैन, बरु भाँजो हाल्छ । कोरियोग्राफी उम्दा नभएपनि लोकेसन, कलाकारको भेषभूषा र सेटमा काफी खर्च गरिएको छ । दृश्य मजबुत बनाउन सोहीअनुरुपको मिहिनेत छैन । आचार्यजस्ता पाका निर्देशकलाई शोभा दिने कुरा हैन, यो । सुकिलामुकिला हिरो–हिरोइन, महँगो सेट, आकर्षक लोकेसन हेर्न होइन, नवीन र मनछुने कथाको संसारमा सयर गर्न फिल्म हेरिन्छ । बोलेर होइन, दृश्यबाटै पात्रको सुख–दुःख दर्शकसम्म प्रवाह हुनुपर्छ ।

अरु फिल्ममा बेप्रसंग व्यावसायिक उत्पादनझैँ हजार जुनीसम्ममा नेताको विज्ञापन घुसाइएको छ । सिक्किम राम्रो भएको त्यहाँका नेता असल भएर हो भन्ने संवाद छ । नाम नतोके पनि यो पवन चाम्लिङको प्रचार हो । यो फिल्म सुटिङ गर्ने बेला चाम्लिङ सिक्किमका मुख्यमन्त्री थिए, ‘हजार जुनीसम्म...’गीतको रचनाकार उनै हुन्, फिल्मको निर्माता र कथाकारचाहिँ उनका छोरा विशाल चाम्लिङ । तर गत जेठको लोकसभा निर्वाचनबाट पवन चाम्लिङको राज अन्त्य भयो । कस्तो संयोग ?

सिक्किम र पोखराको सौन्दर्य पस्कने मामलामा भने फिल्म सफल देखिन्छ । छायाकार पुरुषोत्तम प्रधानले दृश्यभावानुकूल खिचेका छन् । केही ड्रोन सट्चाहिँ अनावश्यक लाग्छ । पार्श्व संगीत र सम्पादनले मान राखेको छ । फिल्मको आवरण भव्य बनाउन निर्माण पक्षबाट कन्जुस्याइँ देखिन्न । लम्बेतान दृश्य छैनन् । बाबु र छोराद्वयको सम्बन्ध प्रेमपूर्ण लाग्छ । तुलनात्मक रुपमा क्लाइमेक्स प्रशंसनीय छ । उतिबिघ्न नाटकीय लाग्दैन । सान्दर्भिक नभएपनि गीत कर्णप्रिय छन् ।

कलाकारसँग भने सन्तुष्ट हुन सकिन्न । कपाल र दाह्रीमा सेतो दल्दैमा लाठे छोराको ‘बुबा’ भइहालिन्छ भन्ने गलत सोचबाट प्रेरित देखिन्छन्, आर्यन । मेकअप पनि ‘जर्क’ छ । तर उनको युवावयको हुलिया र अभिनय भने स्वाभाविक लाग्छ । स्वस्तिमा खड्काको न चरित्र दरिलो छ, न त अभिनय नै । निर्देशकका कारण कलाकारको अभिनयमा कति अन्तर हुन्छ भन्ने थाहा पाउन स्वस्तिमाको बुलबुलहजार जुनीसम्म  हेरे हुन्छ । तर उनले बुझ्नुपर्ने कुराचाहिँ, यही स्तरको पात्र र अभिनयले राष्ट्रिय अवार्ड विजेता अभिनेत्रीको साख जोगिन्न । सञ्चिता र प्रियंकाको अभिनय विश्वसनीय नै लाग्छ तर लबजमा सिक्किमको स्थानीयपन आभास हुन्न । सलोन ‘टाइपकास्ट’मै सीमित छन् । डेब्यु अभिनेता अखिलेश प्रधान फिल्मभर असहज देखिन्छन् । उनले अभिनयमा करिअर बनाउन कायापलट आवश्यक छ । पटकथामा राष्ट्रिय अवार्ड जितेका सामिप्यराज तिमिल्सिना यस्तै अर्थहीन सिनेमामा अल्झिरहनु प्रीतिकर देखिन्न । आत्मरति र बजारु मनोविज्ञान सजर्कका लागि घातक हुन्छ भनेर अबचाहिँ विकास आचार्यले बुझ्नैपर्छ ।

नाईं नभन्नु ल सिरिजका कट्टर फ्यानलाई तैबिसेक लाग्ला, अरुलाई भने हजार जुनीसम्म झेल्न सकस पर्छ । यसको आवरण चहकिलो भए पनि आत्माचाहिँ फिक्का–फिक्का छ ।

प्रकाशित: श्रावण ३१, २०७६