पर्दामा मधेस

- गोकर्ण गौतम

एक राष्ट्रिय दैनिकको फिल्मी पेज संयोजन गर्थे, दीपक रौनियार । हतार–हतार अफिस पुग्दै थिए, एउटा हूलले अफिस घेरेको रहेछ, होहल्ला हुँदै थियो । उनले मेलोमेसो पाएनन् । सुरक्षा गार्ड लुसुक्क उनीतिर आए र खुसुक्क कानमा फुके, ‘यिनीहरु तपाईंलाई नै खोज्न आएका हुन् । धन्न चिनेका रहेनछन्, कतै लुक्नुस् ।’

त्यो दिन पत्रिकामा छापिएको राजेश हमाल अभिनीत फिल्मको समीक्षाको विरोधमा अफिसमा हूलदंगा भएको रहेछ । त्यो भीड देखेपछि उनका मनमा अनेक तर्कना खेले । र, त्यही क्षण पत्रकारिता छाड्ने निधो गरे । भन्छन्, “पत्रिकामा लेखेर मात्र केही परिवर्तन हुन्न, बरु आफैँ आफूलाई मन लागेको फिल्म बनाउँछु भन्ने कठोर निर्णय गरेँ ।”

तिनताका दीपक सतही रिपोर्टिङभन्दा फिल्म मेकिङको अन्तरवस्तु केलाउँदै मौलिक र कलात्मक सिनेमाको पैरवी गर्थे । बजार र कन्टेन्टको विश्लेषणात्मक रिपोर्ट तयार पार्थे । तर बलिउडको बजारु सूत्रबाट ग्रसित फिल्मकर्मीका आँखाको तारो हुन्थे उनी । अति भएपछि पत्रकारिता नै छाडे । आखिर त्यो निर्णय नेपाली फिल्म उद्योगकै लागि ‘वरदान’ बन्यो ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपाली सिनेमाको उपस्थिति जनाउने सीमित फिल्ममेकरमध्ये एक हुन्, दीपक । सर्ट फिल्म थ्रेस होल्ड अनि दुई फिचर फिल्म हाइवे र सेतो सूर्यमार्फत दीपकले फिल्मी दुनियाँमा आफ्नो ‘दीप’ बालिसकेका छन् । दुई वर्षअघि न्युयोर्क टाइम्सको संसारका उत्कृष्ट ९ नवनिर्देशकको सूचीमा दीपक पनि समेटिएका थिए ।

पूरापूर ‘सेल्फमेड’ दीपक सप्तरीमा जन्मिए, उदयपुरमा हुर्किए । उनको गाउँबाट गाडी चढ्नै चार घन्टा हिँड्नुपर्थ्यो । बिजुली बत्ती थिएन । टेलिभिजन पनि जमिनदारको घरमा मात्र । गाउँमा एसएलसी पास गर्ने कोही थिएनन् । ०५० मा उनै पहिलो एसएलसी भए । त्यसपछि विराटनगर आए ।

संयोग उनी भाडा लिएर बस्ने कोठा इन्द्रचित्र मन्दिरको ठ्याक्कै पछाडि थियो । गाउँमा टीभी हेर्न नपाएको भोक उनले फिल्म हेरेर पूरा गरे । नेपाली फिल्म आक्कलझुक्कल मात्र लाग्थ्यो । सिने साक्षरता बढ्दै गए पनि त्यहीअनुरुपका फिल्म हेर्न पाएनन् । उनी सम्झन्छन्, “फिल्म चित्त बुझ्दैन्थ्यो तर किन नबुझेको भन्ने ठम्याउने ज्ञान थिएन ।”

घरबाट पैसा ल्याएर कलेजमा बुझाउने स्थिति थिएन । त्यसैले पढाउन थाले तर टिक्न सकेनन् । त्यसपछि स्थानीय रेडियोमा आबद्ध भए । पत्रकारिताचाहिँ प्रिय लाग्न थाल्यो । केही समयपछि रेडियो नेपालको विराटनगर प्रतिनिधि भए, स्थानीय अखबारमा लेख्थे । त्यही बेला खोज पत्रकारिताको एक महिने प्रशिक्षण लिन काठमाडौँ आउने मौका मिल्यो । त्यसपछि राजधानीकै फिल्म बिटमा जमे ।

फिल्म निर्देशक नवीन सुब्बाको संगतले दीपकको सिनेमा चेत अभिवृद्धि हुँदै गयो । अब्बास किरुस्तामी, सत्यजीत रेजस्ता महान् फिल्मकर्मीलाई नियाले । “महाबौद्धभित्रको सीडी/डीभीडी पसलबाट झोलाभरि फिल्म लगेर हेर्न थालेपछि डाङडाङ–डुङडुङ मात्र होइन, हाम्रो साधारण जीवन पनि सिनेमामा अटाउन सक्छ भन्ने बोध हुन थाल्यो,” उनी भन्छन्, “फिल्मबारे जति बुझ्दै गएँ, रिपोर्टिङ र समीक्षा उत्तिकै तिखो लेख्न थालेँ ।” त्यसपछि कलम छाडेर क्यामेरा समाए ।

मुकुन्डो बनाएर वाहवाही कमाएका निर्देशक छिरिङरितार शेर्पा नयाँ फिल्म कर्मा निर्माणमा जुटेका थिए । यसको मुख्य सहायक निर्देशकमा दीपक छनोट भए । यो फिल्म र छिरिङरितारसँगको सान्निध्य उनका लागि सिकाइ थलो भइदियो । लगत्तै बीबीसी वर्ल्ड सर्भिस ट्रस्टको रेडियो नाटक कथा मीठो सारंगीमा जोडिए । दूरदराज घुम्न पाए, समाज बुझे । नाटकमा गगन थापा, चित्रलेखा यादव, हिसिला यमीलाई अभिनय गराए । ‘नन्–एक्टर’ सँग काम गरेर फिल्म बनाउने आत्मविश्वास भरियो ।

त्यसकै प्रतिफल हो, थ्रेसहोल्ड । यो सर्टफिल्म बनाउन दसैँमा घर गएनन्, नजिकका साथीलाई पनि जान दिएनन् । मुख्य भूमिकामा आफ्नै भाउजूलाई खेलाए । मिहिनेतको कदर भयो, सन् २००८ मा काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) को उद्घाटन फिल्मका रुपमा चयन भयो । फिनल्यान्ड र अमेरिकाको फेस्टिभलका लागि छानियो । कान्स फेस्टिभलको सर्टफिल्म कर्नरमा देखाउन फ्रान्स पुगे । भन्छन्, “कान्सले एक्स्पोजर दियो, सिनेमाको बेग्लै संसार देख्न पाएँ । सिनेमा–प्रेम अझ घनीभूत भयो ।”

लगत्तै फिचर फिल्म हाइवे बनाउन लागिपरे । ‘क्राउड फन्डिङ’ बाट ५० हजार डलर उठ्यो । नभन्दै यो फिल्म उनको करिअरकै लागि ‘हाइवे’ सावित भयो । प्रतिष्ठित बर्लिन फिल्म फेस्टिभलमा गयो, अमेरिकाको मोर्डन आर्ट म्युजियममा १ सातासम्म देखाइयो । फ्रान्स, क्यानडा, जर्मनी, अस्ट्रेलियालगायत देशमा प्रदर्शन भयो । यही फिल्मको माध्यमबाट हो, अमेरिकाको लुभेचर फिल्मसँग सम्बन्ध गाँसिएको, जसले सेतो सूर्यमा लगानी जुटायो ।

माओवादी द्वन्द्वको पृष्ठभूमिमा बनाइएको सेतो सूर्य दीपकका लागि ‘टर्निङ पोइन्ट’ सावित भयो । भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भयो । यही फेस्टिभलमा उत्कृष्ट निर्देशकको मनोनयनमा परे । सिंगापुर अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा त अवार्ड नै जिते । यसबाहेक संसारका सयभन्दा धेरै फेस्टिभलमा देखाइएको उनले जानकारी दिए । त्यति मात्र होइन, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड, अमेरिका, खाडीमा सार्वजनिक प्रदर्शन भयो । चीन र स्वीडेनको वितरण अनुमति भर्खरै बिक्यो । कतिपय देशमा स्थानीय भाषामा ‘सबटाइटल’ गरिएको छ । सेतो सूर्य हेरेपछि अधिकांश विदेशी नेपालमा पनि यस्तो फिल्म बन्छ भनेर अचम्मित भएको अनुभव छ, उनीसँग । भन्छन्, “यसले नेपाल र नेपाली फिल्मप्रति चासो जगाएको छ । अन्य नेपाली फिल्म अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्न यसले प्रत्यक्ष/अप्रत्यक्ष रुपमा भूमिका खेल्छ ।”

सेतो सूर्य प्रदर्शनपछि नै हो, सिड्नी फिल्म फेस्टिभल र एसियाको ओस्कार मानिने एसिया प्यासिफिक स्क्रिन अवार्डमा दीपक जुरीका लागि चयन भएको । लोकार्नो फिल्म फेस्टिभलको सर्ट फिल्म प्रतिस्पर्धामा समेत निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । कुनै नेपाली निर्देशकले नपाएको सम्मान र सफलता हो यो । उनी आफ्नै बलबुतामा एकपछि अर्को सिँढी चढ्दै छन् ।

उनको नयाँ फिल्मचाहिँ मधेस आन्दोलनको पृष्ठभूमिमा हुनेछ । यो पोलिटिकल थ्रिलरको स्क्रिप्ट लेखिसकेका छन् । दयाहाङ राई र आशा मगरातीबाहेक अरु कलाकार चयन हुन बाँकी छन् । उनको अनुभव छ, “एकै पटक ठूलो भाग खोज्ने वा हिटको पछाडि दौडने होइन, सानो स्केलमै भए पनि आफ्नो क्षमता इमानदारीसाथ देखाउनुपर्छ । एकपछि अर्को सफलताले पछ्याउँदै जान्छ ।”

दीपक सिनेमाप्रति किन पनि उत्साही छन् भने सन् २०१२ मा बनेको हाइवे सात वर्षपछि अर्थात् सन् २०१९ मा स्वीट्जरल्यान्डमा बिक्यो, अरु देशमा वितरणका लागि डिल हुँदै छ । भन्छन्, “अब्बल सिनेमा बनाउने हो भने त्यसको आयु कहिल्यै सकिँदैन ।”

प्रकाशित: भाद्र ९, २०७६