भर्चुअल दुनियाँको वेदना (नाटक : गुम्फन)
बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक गुम्फन, जसका पात्रहरु वास्तविक दुनियाँबाट भाग्न मरिहत्ते गर्दैछन् ।
इन्टरनेटको सहज पहुँच वरदान मात्र होइन, अभिशाप पनि बन्दैछ । हिजो टाढा–टाढा भएका आफन्तसँग जोड्ने इन्टरनेट आज नजिककै आफन्तलाई पराई बनाउँदैछ । इन्टरनेटकै अत्यधिक प्रयोगले मनोवैज्ञानिक समस्याको सिकार भएका छन्, खासगरी तन्नेरी पुस्ता । तैपनि वास्तविकभन्दा भर्चुअल संसारमै लीन हुन खोज्छन् । यही नियतिको प्रतिविम्ब हो– बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक गुम्फन, जसका पात्रहरु वास्तविक दुनियाँबाट भाग्न मरिहत्ते गर्दैछन् । एलिसा सालोको फिनिस नाटक रयादेस्सवाराको अंग्रेजी अनुवाद फलिङलाई जिवेश रायमाझीले नेपाली भावानुवाद गरेका हुन् । दिलीप रानाभाटनिर्देशित यस नाटककापात्र र घटनाक्रमलाई यथासक्य हाम्रै वास्तविकतासँग नजिक गराइएको छ ।
कलेजमा साथीसँग घुलमिल नगर्ने मुख्य पात्र आयान एकोहोरो पारोका छन् । बुबाले औधी माया गर्छन् तर आयान झर्को मान्छन् । डिजिटल गार्डेनमा भने खुब रमाउँछन् । त्यहाँ ‘डार्क फ्लो’ नामले परिचितसँग च्याट गर्छन्, जसका लागि उनी पढाइ, निद्रा, परिवार सबथोक त्याग्न तयार हुन्छन् । त्यही गार्डेनमा उनी ज्यास्मिनसँग नजिक हुन्छन् । कलेजमा आफ्नो प्रेमी भए पनि च्याटरुपमा डार्क फ्लो र अरु केटासँग कुराकानी गरेर रमाइरहेका हुन्छिन् । उनीहरुको बीचमा आइपुग्छिन्, एलिना । मोटो भएकै कारण चिन्तित उनी आफ्नो असलीयत लुकाएर इन्टरनेटमै मग्न हुन्छिन् तर जति खुसी भए पनि यो वास्तविक सम्बन्ध र सामीप्य होइन । त्यसैले उनीहरु मानसिक रुपमा विक्षिप्त हुँदै जान्छन् ।
विभिन्न अध्ययनले इन्टरनेटलाई मनोवैज्ञानिक विचलनको जड मानेका छन्, जसले मान्छेलाई वास्तविकताबाट अलग राखेर भ्रमतिर धकेन्छ । इन्टरनेट र मोबाइलकै अति प्रयोगका कारण एक्लोपनले गाँज्छ, परिवारका सदस्य र साथीभाइसँग दूरी बढ्छ । हामी कहीँ न कहीँ यही नियतिबाट गुज्रिरहेका छौँ । त्यसैले नाटकका हरेक पात्रमा आफैँलाई भेट्न सकिन्छ । वरपरको सम्बन्धबाट आत्मीयता नपाएपछि मान्छेहरु इन्टरनेटको सहारा लिन्छन् तर त्यहाँ सजीव भावनाको झन् संकट हुन्छ । खासमा गुम्फन हाम्रो सम्बन्धहरु कति कृत्रिम हुँदैछन् भन्ने फेहरिस्त पनि हो ।
नाटकमा लुडोको प्रयोग प्रतीकात्मक छ । एक पात्र भन्छ, ‘लुडो त बौद्धिक खेले हो रे !’ तर विडम्बना लुडो पनि भर्चुअल बनेको छ । सँगै बसेर होइन, मोबाइलमै खेलिन्छ । निर्देशक रानाभाटले नाटकका पात्रलाई लुडोका गोटीझैँ बनाएका छन् । अर्थात्, अरुकै इसारामा चल्नुपर्छ । हार्ने र जित्ने पनि अरु नै । पात्रलाई साइबर संसारमा लैजान एप्रोन र भित्ते बत्तीको प्रयोग गरिएको छ । एकातिर इन्टेरनेटविनाको दैनिकी कल्पनै गर्न सकिन्न । अर्कातिर, यही इन्टरनेट घातक बन्दैछ, मानवीयता हराउँदै छ । यसलाई बेलैमा नसम्हाले कस्तो स्थिति आइलाग्छ ?नाटकमा यसको झल्को दिन खोजिएको छ ।
गुम्फनका अधिकांश कलाकार नयाँ हुन् । त्यसैले कतिपय दृश्यमा अपरिपक्वता झल्कन्छ । आयान बनेका अभिषेक गैरेको भामभंगिमाबाट उनीभित्रको एक्लोपना र छटपटी बुझ्न सकिन्छ । आयुश्ना गिरी चुलबले र बिन्दास ज्यास्मिन बनेकी छन् भने संगीता थापाचाहिँ‘मोटी’ एलिना । यी तीन पात्रको सम्बन्ध र उल्झनमा नाटक केन्द्रित छ । अन्य कलाकारमा इष्टु कार्की, एचके अधिकारी, प्रमोद खड्का, गुगल लामा, अद्धवेत अकेलालगायत छन् । मञ्च तथा प्रकाश परिकल्पना विमल सुवेदीले गरेका हुन् । यसअघि सिंहदरबारको टेन्डर र झिमिक झिमिक झ्याप्प निर्देशन गरेका रानाभाटले यसपटक आफ्नै उमेरका युवायुवतीको वेदनाउतारेका छन् । विषयवस्तु र कलात्मक प्रस्तुतिले गुम्फनलाई विशेष बनाएको छ । साइबर संसारमा रुमलिएका अहिलेको तन्नेरी पुस्ताले नाटकमा थप अपनत्वबोध गर्छन् र आफैँसँग सवाल गर्न बाध्य हुन्छन् ।
नाटक मंगलबारबाहेक २९ भदौसम्म मञ्चन हुनेछ ।
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...