गुलाबी कथावाचक
अमर न्यौपानेको नयाँ उपन्यासमा किशोरी मनोविज्ञान
‘तपाईं सुविन भट्टराई बन्न खोजेको हो ?’
फूलबुट्टे गातावाला गुलाबी उमेर आउने खबर पाएपछि आख्यानकार अमर न्यौपाने, ४२, लाई यदाकदा सोध्न थालिएको छ । यसै वर्ष बिहेवारी गरेका अमर त्यसलाई शालीन ढंगले प्रतिवाद गर्छन् । “सुविनका उपन्यास पढ्नुस् त, त्यसका पात्र एमए पढ्दै हुन्छन्, कम्तीमा पनि २३ वर्ष पार गरेका,” उनी भन्छन्, “मैले ७ देखि १२ कक्षा पढ्नेहरुको कथा समेटेको छु । उनले तिनका बारे लेखेका भए त म किन दाहोर्याउँथेँ र ?”
१३ देखि १९ वर्षसम्मको उमेर अर्थात् ‘टिनेज’ । शारीरिक र मानसिक रुपमा छिट्छिटो बदलिने त्यही उमेरलाई विचारेर लेखिएको आख्यान नै पाएनन्, अमरले । अनि त्यो उमेरको नेपाली नाम पनि कतै भेटेनन् । उनको भाषामा गुलाबीको अर्थ गुलाफको फूल होइन । बरु जीवनको रङमा गाढा र फिक्काको मिसावट हो ।
उपन्यासको बीज ०६७ असारमै रोपिएको रहेछ, नेपाल म्यागजिनमा । किशोरी मनोविज्ञान उधिनिएको त्यही ‘अहँ ममी’ शीर्षकको बीजकथालाई नै उपन्यासको रुप दिने सोचेर २०–२५ हजार शब्द भेला पारेछन् । सेतो धरती लेख्न थालेपछि ल्यापटपमा त्यत्तिकै थन्काएछन् । र, नौ वर्ष पुरानो त्यही भ्रुण अहिले अमरको चौथो आख्यानका रुपमा जन्मिएको छ । लेखकले मुख्य पात्र किशोरीको नाम भने गुपचुप नै राखेका छन् ।
ती किशोरीलाई उनले १० कक्षामा भेटेका थिए । उपन्यासको बिर्को लगाउने बेला उनै गुलाबी उमेरमा थिइनन् । अमरको आकांक्षा छ, उपन्यास पढ्दा प्रत्येक किशोरीले कतै न कतै आफूलाई भेटून् । उपन्यासमा उनले उत्तरआधुनिकतावादको ‘रिडर्स रेस्पोन्स थ्यौरी’ प्रयोग गरेका छन् । किशोरीले शिक्षकलाई लेखेको पत्र अनि शिक्षकको प्रतिकथन समेटिएको छ । “सेतो धरती लेख्दा म कलिलै थिएँ तर छिप्पिएको उमेरका कथा लेखेँ । गुलाबी उमेर लेख्दा छिप्पिएँ तर अल्लारे उमेरबारे खोतलेँ,” लजालु स्वभावका यी लेखक भन्छन्, “यो मैले दिएको खुला परीक्षा हो । जाँच्ने काम पाठक र समीक्षकको ।”
खासमा १२ वर्षे मास्टरीको प्रतिफल हो, गुलाबी उमेर । उनी कक्षाकोठामा २० मिनेट पढाउँथे, २० मिनेट स्कुले कथा सुन्थे । “मैले स्कुलेलाई किताबका कुरा पढाएँ, तिनले मलाई जीवनका कुरा पढाए, मैले भनेर गृहकार्य दिएँ, तिनले मलाई नभनेर गृहकार्य दिए,” उनी फर्माउँछन्, “खासमा किताबी कुरा मेरो थिएन । स्कुलेहरुको जीवन भने मौलिक थियो, अनुहार र औँठाछापजस्तै ।”
वैदिककालीन उमेरका मानक छन्, २५ वर्षसम्म ब्रह्मचर्याश्रम, २५ देखि ५० सम्म गृहस्थाश्रम, ५० देखि ७५ सम्म वानप्रस्थाश्रम र ७५ देखि मृत्युसम्म सन्न्यासाश्रम । पेन्टिङलाई निरन्तरता दिन नसकेको क्षतिपूर्ति साहित्यमा लिइरहेका उनलाई झोक चल्यो– जीवन भनेकै रङ हो । रङलाई उमेरको आधुनिक मानक किन नबनाउने ? “उमेरबारे लेखिएका किताब खोजेँ, शब्दकोश खोजेँ, विद्वान्लाई सोधेँ, केही हात लागेन,” उनी सुनाउँछन्, “रङका आधारमा उमेर बाँड्न दुई वर्ष लाग्यो ।”
अमरको रङ–दर्शन छ, १२ वर्षसम्म पल्लवी, १३ देखि १९ गुलाबी, २० देखि ४० मखमली, ४१ देखि ६० बैजनी र ६१ देखि आसमानी । पल्लवी उमेर अर्थात् हरियो पनि नभइसकेको मुना, पालुवा वा पिपिरा । मखमली उमेर अर्थात् गाढा भएको गुलाबी रङ । गुलाबी रङमा थपिएको रातोपन । जीवनको प्राइम टाइम । बैजनी उमेर– मखमली रङमा नीलो रङ थपिएको अवस्था । दिमागले जीवन चलाउने प्रयासमा लागेका मानिस । त्यसपछि आउँछ आसमानी उमेर । आसमान अर्थात् आकाश । जीवनको गहिराइ र अनन्तताको प्रतीक । “यसमा गुलाबी उमेरको कथा मात्रै लेखेको छु,” उनी सिरिजतिर संकेत गर्छन्, “पछि बैजनी, पल्लवी र आसमानी उमेरको कथा लेख्न पनि सक्छु ।”
यो उपन्यास सूक्तिमय छ । जस्तै, ‘आँधीलाई झैँ सम्हाल्न गाह्रो । तर सम्हालिसकेपछि बहारजस्तै सुवासिलो लाग्ने उमेर यही हो । कहिल्यै थकाइ लाग्दैन जस्तो, कहिल्यै रोग लाग्दैन जस्तो, कहिल्यै बुढ्यौली आउँदैन जस्तो र कहिल्यै मर्नुपर्दैन जस्तो लाग्ने उमेर पनि यही हो ।’ ‘संसारको सबैभन्दा महान् चित्रकार उमेर हो । नजानिँदो गरी प्रत्येक दिन उमेरले मानिसको रुप र स्वरुप फरक–फरक बनाउँदै जान्छ ।’ ‘काँचा भए पनि बुद्धिले नजितेका अनुभव साँचा हुन्छन् ।’
भन्नै परोइन, पुरस्कारका हिसाबले यी लेखक ‘लक्की’ छन् । उनको पहिलो आख्यान पानीको घाम (०६६) ले पद्मश्री पाएको थियो भने सेतो धरती (०६८) ले मदन पुरस्कार । करोडौँ कस्तूरी (०७२) को खातामा पनि पुरस्कार छन् नै । “सधैँ राम्रै पुस्तकले पुरस्कार पाउँछन् भन्ने पनि छैन र पुरस्कार नपाउनेहरु राम्रो लेख्दैनन् भन्ने पनि होइन,” उनी भन्छन्, “तर पाउँदा भने राम्रै हो ।”
सुस्ताएको किताबी बजारमा अमरले उपन्यासको प्रचारमा कुनै कन्जुस्याइँ गरेका छैनन् । ‘‘तपाईं अहिले गुलाबी उमेरमा हुन पनि सक्नुहुन्छ, नहुन पनि सक्नुहुन्छ । यदि तपाईंको जीवनमा गुलाबी उमेर आउँदै छ भने कल्पिँदै पढ्नुस्, भोग्दै हुनुहुन्छ भने अनुभव गर्दै पढ्नुस् र बिताइसक्नुभएको छ भने सम्झँदै पढ्नुस् ।” लेखकले यसो भनेपछि किताब कसो नपढिएला !
सम्बन्धित
भृकुटी राई र इतिशा गिरीले नारीवादी कोणबाट चलाइरहेको पोडकास्ट बोजुबजै हाम्रोमा चल्ने एकतर्फ...
बोजुबजै, वर्ष ४
ईशान केही समयदेखि डुंगालाई क्यानभासमा उतारिरहेका छन् भने सविता काइँयोलाई ।...
कलाको डुंगामा सवार जोडी
बुबाआमाको नाममा चिठी लेखेर झोलामा राख्दाराख्दै लेखक बनिसकिछन्, दुर्गा । ...
नयाँ जमानाको कथा खजाना
मदनकृष्ण श्रेष्ठ, बुबाको नाम नै काफी थियो उनलाई । तर उनले यो सजिलो बाटो रोजिनन् । ...
बुबाको प्रेरणाले अघि बढेको सरानाको संगीत यात्रा
नरेन्द्र श्रेष्ठ २४ वर्षदेखि क्यामेराको बाटो हिँडिरहेका छन् । स्वयम्भूको सिरिजदेखि भूकम्पम...
क्यामेराको बाटो
प्रचण्ड, बाबुराम भट्टराईजस्ता नेताहरू कर्नाली दख्खिन बग्दो छ नाटक हेर्दा रोएको देखेका थिए,...