सिमानापारि सिने-क्रेज

- गोकर्ण गौतम

नेपालमा कबड्डी कबड्डी प्रदर्शन भएको केही महिना मात्र बितेको थियो, कालिङपोङको एउटै पसलबाट दैनिक २ हजार जनाले यो फिल्म पेनड्राइभमा सारेको देखे, अनमोल गुरुङले । कालिङपोङमै फिल्म र सांगीतिक कर्ममा सक्रिय अनमोलले नेपाली फिल्मको क्रेजको छनक पाए ।

कबड्डी त युट्युबमा आउनुपहिल्यै त्यहाँ पुगिसकेको थियो । यसैगरी पेनड्राइभमा सार्न मारामार भएको थियो । नेपाली फिल्म पूर्व र पश्चिमका हलबाट पाइरेसी भएर सिक्किम-दार्जिलिङ क्षेत्र पुग्छन् । नयाँ फिल्म पुगेको थाहा पाउनसाथ पसलमा भीड लाग्छ । अनमोल निश्चिन्त भए, नेपाली फिल्म हलमै रिलिज भए हल प्रिन्ट र युट्युबमा हेर्नुपर्ने बाध्यता हट्छ र व्यापार पनि बढ्छ । तर नेपाली फिल्म ल्याउने पो कसरी ?

चार वर्षपछि अनमोलले 'बोल्ड' निर्णय गरे, आफैँ नेपाली फिल्म बनाउने, नेपाली कम्पनीसँग सहकार्य गर्ने । त्यसो गर्दा सेन्सर गरेर भारतमा चलाउन पनि सहज । त्यसकै नतिजा हो, आप्पा । नेपालमा यस फिल्मको व्यापार औसत रह्यो । तर नेपालीभाषी बाहुल्य रहेका भारतीय सहरमा व्यापारका रेकर्डै रेकर्ड । निर्माता-निर्देशक तथा वितरक अनमोलका अनुसार आप्पा सिक्किम, कालिङपोङ, डुबर्स, कोलकाता, आसाम, खर्साङ, जलपाइगुढीका हलमा नियमित प्रदर्शन भयो । कोलकाताको आइनोक्स साउथ सिटी मलमा लगातार दुई साता चल्यो, जबकि त्यतिबेला शाहिद कपुरको कबिर सिंह पनि प्रदर्शनरत थियो । दार्जिलिङ र सिलिगुढी क्षेत्रमा लगातार ५१ दिन मनायो । "दार्जिलिङको आइनोक्समा त अहिलेसम्मकै उच्च कलेक्सन गर्‍यो । बाहुबलीलाई पनि जित्यो," अनमोल खुसी साटछन्, "१ करोड ६० लाख भारु लगानी भएको थियो । सुरुआती दुई-तीन सातामै उठ्यो । त्यसपछिको नाफा हो ।"

अनमोल यो व्यापारको पहिलो जस आप्पाका मुख्य अभिनेता दयाहाङ राईलाई दिन्छन् । किनभने लुट, कबड्डी, कबड्डी कबड्डी, वीरविक्रमजस्ता फिल्मले त्यहाँका नेपालीभाषीमाझ दयाहाङ लोकपि्रय छन् । उनका हरेक गतिविधि र फिल्मलाई त्यहाँका फ्यानले उत्सुकतासाथ पछ्याउँछन् । तर समस्या उही, हलमा उनका फिल्म हेर्न नपाउने । अनमोलले सुनाए, "मलाई दया दाइको अभिनय राम्रो लाग्छ नै । सँगै उहाँको लोकपि्रयता देखेको छु । त्यसैले व्यापारमा सघाउ पुग्ने लोभले उहाँसँग काम गरेँ ।"

आप्पाको चरित्र र कथावस्तु मन पर्‍यो दयाहाङलाई । त्योभन्दा ज्यादा क्रेज र सम्भावित व्यापारले आकषिर्त भए उनी । निर्माता पनि बनिसकेका दयाहाङ भन्छन्, "हाम्रा सिनेमाको लगानी बढे पनि कमाइको स्रोत बढ्न सकेको छैन । घाटैघाटा भएका बेला नयाँ बजार पहिल्याउनु अभिनेताको रूपमा मेरो दायित्व पनि हो ।"

निर्माणको आधा शताब्दी नाघिसक्दासमेत नेपाली फिल्मको गुणात्मक पक्ष अपेक्षाकृत उकासिएको छैन । बजेट अभाव पनि यसको कारण हो । नेपाली फिल्मको औसत बजेट २ करोड पुग्नै लाग्दा पनि बजार विस्तार हुन सकेको छैन । दयाहाङकै लुटले नेपाली डायस्पोरामा उपस्थिति जनायो । कबड्डीले अर्को इँटा थप्यो । तर अस्वस्थ प्रतिस्पर्धा र फिल्मको गुणस्तर अब्बल हुन नसक्दा डायस्पोरा फेरि शिथिल भएको छ । ओभरसिजमा नेपाली फिल्म नियमित प्रदर्शन गर्न लागिपरेका हाइलाइट्स नेपालका सञ्चालक ओम गुरुङ आफैँ नियमित अस्ट्रेलियामा बस्न थालेका छन् । च्यारिटी र सामुदायिक सोबाहेक अस्ट्रेलिया, अमेरिका, बेलायत, हङकङजस्ता देशमा नेपाली फिल्म हलमै नियमित प्रदर्शन शून्यप्रायः छ । देशभित्रकै हलको व्यापार उस्तै डामाडोल छ । वर्षमा झन्डै सय सिनेमा बने पनि घरेलु बजारबाटै लगानी उठाउने सिनेमाको संख्या पाँच पुग्दैन । दयाहाङ भन्छन्, "अब सिक्किमको बजार नेपाली फिल्मका लागि ठूलो ढाडस बन्न सक्छ । त्यहाँ नेपाली फिल्म र कलाकारप्रतिको माया साँच्चै अद्भुत रहेछ ।"

आप्पाको सुटिङकै लागि पहिलोपल्ट दयाहाङ दार्जिलिङ, कालिङपोङ र सिक्किम पुगेका थिए । जहाँ पुग्थे, त्यहीँ शुभेच्छुकको भीड लाग्थ्यो । भन्छन्, "त्यतिविघ्न प्रेम पाइएला भनेर सोचेकै थिइनँ । हरेक नेपाली कलाकारलाई उत्तिकै माया गर्दा रहेछन् ।" अनमोलका अनुसार सिक्किम-दार्जिलिङ क्षेत्रमा ७० लाख नेपालीभाषी छन् । आसाम, दार्जिलिङ, सिलिगुढी, उत्तरबंगालमा नेपाली एकत्रित भएर बसेका छन् भने अन्यत्र छरिएर । अधिकांशको पहुँच मल्टिप्लेक्समा छ, जो नियमित हल पुग्न सक्छन् । उनी भन्छन्, "मातृभाषी फिल्मको भोक छ । यहाँ नेपाली सिनेमा मन पराउने जमात ठूलो छ ।" त्यहाँका दर्शक छिटो र हलमै फिल्म हेर्न आतुर रहेको उनको बुझाइ छ ।

कुनै समय उक्त क्षेत्रले नेपाली फिल्म बजारको ठूलो हिस्सा ओगटेको थियो । दर्पणछायाले सय दिन मनाएको थियो । नेपाली फिल्म उकास्न तुलसी घिमिरे, निरुता सिंह, शम्भु प्रधान, उत्तम प्रधानजस्ता उताका फिल्मकर्मीको भूमिका उल्लेखनीय छ । तर बिस्तारै त्यहाँका हलमा नेपाली फिल्म लाग्नै छाडे । यसको पछाडि तीन कारण औँल्याउँछन्, अनमोल । पहिलो, त्यता र यताका फिल्म वितरकबीच हिसाब पारदर्शी नहुँदा पैदा भएको अविश्वास । दोस्रो, सिक्किम-दार्जिलिङले अपनत्वबोध गर्ने र बुझ्ने कथा अभाव । महत्त्वपूर्ण र तेस्रो, नेपाली फिल्मकर्मी अमेरिका र अस्ट्रेलिया धाउन थाले तर छेवैको सिक्किम-दार्जिलिङलाई वास्तै गरेनन् । जबकि ती देशभन्दा भारतमै नेपालीभाषी बढी बस्छन् । अनमोल भन्छन्, "हिजो जे भयो, भयो । अब नेपाली फिल्म र यस क्षेत्रको सान्निध्य हुनुपर्छ । यहाँका दर्शकलाई नेपाली फिल्म हेर्नु छ, नेपाली फिल्ममेकरलाई व्यापारको नयाँ थलो चाहिएको छ । यो समीकरण मिलाइयो भने दुवै पक्षलाई फाइदा हुन्छ ।"

भारतका विभिन्न सहरमा आक्कलझुक्कल पुग्ने नेपाली फिल्म प्रोजेक्टर राखेर देखाइन्छ, हलमै देखाइयो भने एक-दुई सोमै सीमित हुन्छ । दयाहाङकै शब्दमा प्रोजेक्टरमा देखाउँदा फिल्मकै अपमान हुन्छ, न त दर्शकै सन्तुष्ट हुन्छन् । उनी थप्छन्, "नेपाली निर्माताले व्यापार भएन भनेर रोइलो गर्नुभन्दा सम्भावनासम्म पुग्न सक्नुपर्छ । भारतको नेपालीभाषी क्षेत्र हाम्रा लागि उर्बर हुन्छ ।" नियमित फिल्म चल्दा व्यापार फराकिलो हुनुका साथै नेपालीभाषीबीचको सामीप्य प्रगाढ बनाउने र सांस्कृतिक आदान-प्रदानमा भूमिका खेल्ने उनको बुझाइ छ ।

आप्पापछि अनमोलको टिमले दयाहाङकै कबड्डी कबड्डी कबड्डी उक्त क्षेत्रमा प्रदर्शन गर्दै छ । भारत प्रदर्शन राइट्सको १४ लाख भारु छ । नेपालमा ३ असोजमा प्रदर्शन हुनेछ भने भारतमा त्यसको एक सातापछि । प्रमोसनका लागि कलाकार चाहिने भएकाले एक साता ढिला हुने अनमोलले जानकारी दिए । इन्टु मिन्टु लन्डनमा रि-रिलिज हुँदै छ । नेपाली फिल्म भारत प्रदर्शनका लागि सेन्सरको झमेला चर्कै छ । सेन्सरका लागि समय पाउन घटीमा सय दिन कुर्नुपर्छ भने एक लाख हाराहारी खर्च हुन्छ । अनमोलको सुझाव छ, "भारतीय कम्पनीसँग को-प्रोडक्सन भयो भने सेन्सर प्रक्रिया सहज हुन्छ । यतातिर पनि हामीले सोच्नुपर्छ ।"

 

प्रकाशित: भाद्र २४, २०७६