सफलता होइन, जीवन ठूलो (फिल्म : छिछोरे )
छिछोरेमा एकसाथ सन् नब्बेको दशक र अहिलेको समयलाई देखाइन्छ । मुख्य कलाकार सबैका दुई हुलिया छन् ।
छोराले चिकित्सा अध्ययनका लागि प्रवेश परीक्षा दिएका छन् । बाबु रक्सीको बोतल छोराका अगाडि राखेर भन्छन्, 'तिम्रो नाम निस्केपछि सँगै पिउनुपर्छ ।' कदाचित नाम ननिस्के के गर्ने, त्यो भने बताउँदैनन् । नतिजा आउँदा छोरा फेल हुन्छन् । मानसिक दबाब थेग्नै सक्दैनन् । घरको छानाबाट हाम फालेर आत्महत्या प्रयास गर्छन् । नितेश तिवारी निर्देशत फिल्म छिछोरेको मुख्य पात्र बाबुले बल्ल चाल पाउँछन्, कम्तीमा फेल हुँदाको पनि विकल्प राखेको भए छोराले मर्ने कठोर निर्णय गर्दैनथ्यो । दिमागमा गम्भीर चोट लागेको छोरालाई नयाँ जीवन दिन बाबुले के-के गर्छन् ? फिल्म यही सवाल वरपर घुमेको छ । बाबु अनिरुद्ध बनेका छन्, सुशान्तसिंह राजपुत । छोरा राघवचाहिँ मोहम्मद समद ।
दंगलमा दुई छोरीलाई कुस्तीमा गोल्ड मेडल जिताउन मरिमेटेका बाबुको कथा भनेर नितेशले काफी प्रशंसा बटुले । फिल्मले बक्सअफिसमा रेकर्ड राख्यो । दंगलको सशक्त पाटो भनेकै संवदेनशील विषयलाई विश्वसनीय र मनोरञ्जनात्मक ढंगले व्यक्त गरिनु हो । यसलाई 'इन्फोटेनमेन्ट' भन्ने गरिन्छ । छिछोरेमा नितेशले यही गुणलाई निरन्तरता दिएका छन् । किशोर-किशोरीमा पढाइको बोझ, होस्टेल जीवन र सम्बन्धविच्छेदका विविध रुपरेखालाई पटकथामा बुनिएको छ ।
छोराको उपचारमै खटिरहेका बेला अनिरुद्धका कलेज पढ्दाताका साथी अस्पताल आइपुग्छन्, सेक्सा (वरुण शर्मा), डेरेक (ताहिर राज), एसिड (नवीन पोलिसेट्टी) आदि । उनीहरुसँगै पढेकी राघवकी आमा माया (श्रद्धा कपुर) अस्पतालमै हुन्छिन् । तर अनिरुद्धसँग उनको सम्बन्धविच्छेद भएको हुन्छ । होस्टेल 'लुजर्स' का रुपमा चिनिने अनिरुद्धको समूहको दाग हटाएको र अन्य रमाइला पल राघवलाई सुनाउँछन्, जसले 'थेरापी' झैँ काम गर्छ ।
छिछोरेमा एकसाथ सन् नब्बेको दशक र अहिलेको समयलाई देखाइन्छ । मुख्य कलाकार सबैका दुई हुलिया छन् । नितेशले सुन्दर शैलीमा 'फ्ल्यासब्याक' खोतल्दै लगेका छन् । अनिरुद्धको समूहकोविगत मनस्थिति र आजको मनोविज्ञानमार्फत उमेरसँग आउने परिवर्तन अनुभूत हुन्छ । खासमा उनीहरुले आफ्ना अनेक गल्तीमा स्वीकारोक्ति गरिरहेका हुन्छन् । यसले जीवनबाट हरेश खाएर मृत्युको बाटो रोजेको राघवलाई हौसला दिन्छ । जीवनमा सफलता ठूलो कुरो नभई जीवननै ठूलो हो भन्ने बोध गराउनु फिल्मको सशक्त पाटो हो ।
होस्टेल बसाइमा अनिरुद्धको समूहका हर्कतचाहिँ रुचिकर छैनन् । उही नयाँ साथीसँगको लफडा, खिचातानी र झगडा । बलिउडका अन्य फिल्ममा झैँ छिछोरेमा पनि होस्टेल बस्ने विद्यार्थीको ध्यान पढाइभन्दा खेलमा ज्यादा हुन्छ । प्रतियोगिताको उपाधि जित्न मरिहत्ते गर्छन् । होस्टेलमै अर्को झगडिया तर खेलमा अब्बल ग्याङ हुन्छ । यस्तो बासी तफ्वले बेलाबेला मोहभंग गर्छ । कतिपय दृश्यमा घरि थ्री इडिएट्स त घरि जो जिता वो सिकन्दरको झल्को आउँछ । तर कथावाचनमा नितेशको मौलिकपन आभास हुन्छ ।
छिछोरेमा धेरै चरित्र भए पनि हरेक अलग-अलग छन् । साथीबीचको दोस्ती र वैमनस्य देखाउने मामलामा नितेश सफल छन् । त्यस्तै, पढेलेखेका दम्पतीबीच उत्पन्न हुने आपसी असमझदारी र त्यसले सन्तानमा पर्ने नकारात्मक असरको पाटोलाई पनि यथार्थपरकदेखाइएको छ । अनिरुद्ध र मायाबाहेक अन्य पात्रको व्यक्तिगत जीवनलाई भने वास्ता गरिएको छैन । क्लाइमेक्सतिर अनिरुद्धको 'कन्फेसन' उतिविघ्न पत्यारिलो लाग्दैन । फिल्म सकाउन निर्देशकलाई हतारो भएझैँ लाग्छ ।
सुशान्तसिंह राजपुतले आफ्नो अभिनय कुशलता पस्किएका छन् । विद्यार्थी र बुबाको फरक भूमिकामा उनी उत्तिकै स्वाभाविक लाग्छन् । श्रद्धा कपुर, वरुण शर्मा, ताहिर राजको प्राकृतिक अभिनयले फिल्ममा मजबुत बनाएको छ । 'ओ दिन...' र 'कल कि हि वात हे...' जस्ता गीतले फिल्मको मर्म आत्मसात् गरेका छन् । विषय छनोट र वजनदार प्रस्तुतीकरणले निर्देशक नितेशलाई प्रशंसाका हकदार बनाएको छ ।
छिछोरे कालजयी होइन तर सूत्र र बजारु मसलाबाट आंतकित बलिउडमा यसको उपस्थिति सकारात्मक मान्नुपर्छ । कम्तीमा फिल्म हेरिसकेपछि दर्शकमा सवाल पैदा गर्छ, खासगरी हाम्रो शैक्षिक प्रणालीको सम्बन्धमा ।
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...