हेरुन्जेलको रमाइलो मात्र (फिल्म समीक्षा : कबड्डी कबड्डी कबड्डी )​​​​​​​

फिल्म : कबड्डी कबड्डी कबड्डी | रेटिङ : २/५ |

- गोकर्ण गौतम

'मर्दको जीवनमा प्रेम एकपटक मात्र हुन्छ, त्यो मैले मैयालाई गरिसकेँ,' छाडेर गएकी मैया (रिस्मा गुरुङ) प्रति काजी (दयाहाङ राई) यतिविघ्न दत्तचित्त छ । सपनामा मैया देखे पनि उनको खोजखबर छैन । त्यहीबेला गाउँमा नयाँ सोल्टिनी काशी (उपासनासिंह ठकुरी) को उदय हुन्छ । विस्तारै काजीको सिद्धान्त डगमगाउँछ ।

काजीले मैयालाई बिर्सेला - नबिर्सेला तर कबड्डी  र कबड्डी कबड्डी  हेरेकाले काजीको एकोहोरो प्रेम बिर्सिएका छैनन् । शैलीमा समस्या भए पनि काजीको प्रेम चोखो छ । तर कबड्डी कबड्डी कबड्डीमा आइपुग्दा काजीको मन नयाँ सोल्टिनीतिर भुल्न थाल्छ । त्यसैले काजी अब आदर्श प्रेमी भइराखेन ।

मौलिक पात्र र परिवेशको कथा पस्किएको कबड्डी अनेक कोणबाट नेपाली फिल्मको आदर्श थियो । नाम र दाम कमाउने थोरै फिल्ममा दर्ज भयो । कबड्डी कबड्डीमा पनि यसले धर्म छाडेन । जस जान्छ, निर्देशक रामबाबु गुरुङलाई । तर यसपटक नयाँ सोल्टिनीले काजी बिग्रिएझैँ कबड्डीको 'ब्रान्ड भ्यालु' बाट फाइदा लिने एकोहोरो नियतले निर्देशक विचलित भएका छन् । त्यसैले अघिल्ला दुई भागझैँ कबड्डी कबड्डी कबड्डी आदर्श फिल्म हुनसकेको छैन । नयाँपनकै अभाव छ । यति हुँदाहुँदै कलाकार, मीठा संवाद र मुस्ताङ, पोखराका मनोरम दृश्यले यसलाई 'वान टाइम वाच'चाहिँ बनाएको छ ।

फिल्मको सुरुआत हुन्छ, उही काजीको बेचैनीबाट । छन्त्याल (बुद्धि तामाङ) त पत्नीका साथ गाउँबाट भागिहाल्यो तर बिके (विजय बराल) काजीकै साथमा छ । मैयाको वियोगबाट मुक्ति पाउन प्रेरित गरिरहन्छ । काजीको घाउमा मल्हमपट्टी लगाएझैँ गर्छिन्, काशी । तर जब माया बस्न थाल्छ, तब काशीका अरु सोल्टीहरु बाधक बनिदिन्छन् । काशीको प्रेमी म्याकी (कर्मा) पनि थपिन्छ । काशी पाउने घम्साघम्सीमै केन्दि्रत छ, फिल्म ।

अघिल्ला दुई भागमा पनि काजी सोल्टिनीकै पछि लाग्ने हो तर सहायक पात्र र उपकथाले मूल कथालाई वजनदार बनाएको थियो । कबड्डीमा वैदेशिक रोजगारीमा हुने ठगी थियो, कबड्डी कबड्डीमा फोहोरी स्थानीय राजनीति र झाँक्रीको अन्धविश्वास घुसेको थियो । तर यसपटक उल्लेखनीय केही छैन । उही सोल्टिनीको पछि सोल्टीहरु दौडिएका छन् । अन्तरजातीय विवाह र सम्बन्ध विच्छेदलाई उजागर गर्न त खोजिएको छ तर सोल्टीहरुको रस्साकस्सीमा पूरापूर ओझेल परेको छ ।चरित्रकरणदेखि कथाको उठान, विकासक्रम र बैठानमा पटकथाकारद्वय गुरुङ र उपेन्द्र सुब्बाको कुशलता देखिँदैन । द्वन्द्वको निर्माण र त्यसबाट कथाप्रति कौतूहलपैदा नहुनु विडम्बना हो । लाग्छ, काशी पाउनुबाहेक म्याकी र धनकाजीको कुनै उद्देश्य छैन । उनीहरुका जीवन भोगाइका अरु आयाम समेट्न नसक्दा पात्रप्रति आत्मीयता आभास हुन्न ।

मध्यान्तरसम्म मनग्ये हँसाइन्छ । पात्र र सन्दर्भअनुकूलका पन्चलाइनले 'रिफ्रेस' गराउँछ । काजी र काशीबीचको प्रेम अंकुरण गराउने शैली रोचक छ । काजी र बिकेको दोस्ती प्रेमपूर्ण लाग्छ । तर यसपटक बिकेको व्यक्तिगत जीवनमा उतारचढाव हुँदैन । दर्शकलाईझैँ काजी र बिकेलाई छन्त्याल 'मिस' भएजस्तोलाग्दैन । दृश्य खास वजनदार नभए पनि तिनलाई परिपक्व शैलीमा खिच्ने र सिलसिला मिलाएर बुन्ने मामलामाचाहिँ गुरुङ प्रभावी देखिन्छन् । पात्रको बोलीचाली, भेषभूषा र जीवनशैलीमा मुस्ताङको स्थानीय स्वादलाई निरन्तरता दिइएको छ । धनकाजीको गाउँ घान्द्रुकको जीवनशैली भने बेवास्ता गरिएको छ । संवादजस्तै पटकथामा मिहिनेत गरेको भए कुरा अर्कै हुनसक्थ्यो ।

भनिहालियो, कबड्डी नेपाली सिनेमाका लागि अनेक कोणबाट नवीन खुराकको प्याकेज थियो । सिर्जनात्मक माध्यम भएकाले दर्शकले हरेक फिल्ममा नयाँपन आशा राख्नु स्वाभाविक हो भने फिल्ममेकरको दायित्व । तर कबड्डी सिरिजमात्र होइन, निर्देशक गुरुङका हरेक फिल्ममा धेरैहदसम्म कबड्डीकै पुनरावृत्ति भइरहेका छन् । कलात्मक छलाङ नहानी पुरानै पकवानमा रुमल्लिनुले शोभा दिँदैन । जे बिक्छ, त्यो दिनेलाई सर्जक होइन, व्यापारी भनिन्छ । सिर्जनशील भनिएका निर्देशक गुरुङले बजारको हाइ-हाइको आत्मरतिमा नअल्झिई आफ्ना फिल्म र ध्येयप्रति आत्मालोचना गर्नु आवश्यक भइसकेको छ । घुमाइफिराई जसरी हुन्छ, केटीको पछाडि केटा दौडाउने रबैयालाई सधैँ मौलिकताको नाममा स्वीकार्न सकिँदैन । यद्यपि फिल्मलाई एक तहको मनोरञ्जनात्मक बनाउन उनी अझैं काबिल देखिन्छन् । 

काशीको हात बाँधेर डोर्‍याएको दृश्य स्त्रीदेषी छ । अन्त्यमा मैयाको उदय नाटकीय लाग्छ । न त काशीको आमाबाबुको हठात मिलन नै विश्वसनीय छ । कथ्य संरचनाझैँ प्राविधिक पक्षमा खेलाँची गरिएको छैन । शैलेन्द्र डी कार्कीले दृश्यभावअनुसार क्यामेरा चलाएका छन् । मुस्ताङ, घान्द्रुकको मनमोहक सुन्दरताले आँखा तानिरहन्छ । 'दुबो फुल्यो...' र 'माया पिरती...' गीत श्रुतिमधुर छन् ।

कबड्डी कबड्डी कबड्डीको सशक्त पक्ष भनेकै कलाकारको अभिनय हो । काजीको चरित्रमा दयाहाङ पहिलेझैँस्वाभाविक लाग्छन् । लुटको गोफ्लेपछि काजीले उनलाई अभिनेताका रुपमा जीवन्त राख्नेछ । उनको चरित्रलाई पीडा भएपनि दर्शकलाई हँसाइरहन्छन् । क्याप्टेनमा फिक्का लागेकी उपासनाको अभिनय निखारिएको छ । कर्मा र विल्सनविक्रमले पात्र आत्मसात् गरेका छन् । चरित्रको वजन घट्न नदिएका अर्का कलाकार हुन्, विजय बराल । सुरुमा हँसाइरहने विजयले अन्त्यमा दर्शकको मन भारी बनाइदिन्छन् । बुद्धि तामाङ, माओत्से गुरुङ, कविता आले, पुष्कर कार्की, लुनिभा तुलाधरलगायतका कलाकार पनि उत्तिकै प्रिय लाग्छन् ।

भन्नैपर्ने कुरा, यतिविघ्न निपुणकलाकारको डफ्फा र कबड्डीको 'ब्रान्ड भ्यालु'लाई सदुपयोग गर्दै अर्को सानदार सिनेमा बनाउने अवसर गुरुङले गुमाए । गृहकार्यबिनै फिल्म बनाउने हतारो हानिकारक हुन्छ । धन्न, अहिले बनिरहेका प्रायः फिल्मझैँ दुई घन्टा बिताउनै धौ-धौ पर्दैन ।

प्रकाशित: आश्विन ५, २०७६