बिस्तारै विश्वमञ्चमा
आधा शताब्दीको इतिहास बनाइसक्दा पनि संसारमा हाम्रो सिनेमाको स्वतन्त्र अस्तित्व निर्माण हुन सकेन । न त मौलिक कथा, पात्र, परिवेश र शैली नै पस्कन सक्यौँ । तर अवस्था केही बदलिएको छ ।
एसियाको प्रतिष्ठित बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको एसियन प्रोजेक्ट मार्केटमा यस वर्ष ३ सय ८९ स्क्रिप्टबीच प्रतिस्पर्धा भयो । त्यसमा छानिएका २२ मध्ये दुइटा नेपालका छन्, विनोद पौडेलको एक्रोन इन्टरनेसनल र राजेश खत्रीको श्यामश्वेत तस्बिर । बुसानमा आउने फिल्म निर्माता, प्रदर्शक र वितरकबाट आफ्नो स्क्रिप्टमा लगानी जुटाउन विनोद र राजेश दक्षिण कोरिया पुगे ।
टोरन्टो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल संसारकै फिल्ममेकरको 'ड्रिम' हो । यही फेस्टिभलमा आफ्नो सर्ट फिल्म बेयर टि्रज इन द मिस्टको वल्र्ड पि्रमियर गरेर निर्देशक राजन कठेत क्यानडाबाट फर्किए, भदौ अन्तिम साता । टोरन्टोमा स्क्रिनिङ भएसँगै राजनको फिल्म विश्वका अन्य ख्यातिप्राप्त महोत्सवमा चयन हुने पक्कापक्की छ । विदेशी सिनेकर्मीको प्रतिक्रियाले दंग छन् ।
नयाँ फिचर फिल्म चिसो वर्षको अन्तरक्रिया र फन्ड संकलनका लागि मीन भाम विभिन्न देश दौडाहामा छन् । स्क्रिप्ट तयार छ । बहुपति प्रथाको पृष्ठभूमिमा लामा र युवतीको प्रेमकथा बोल्ने यस फिल्मको अनुमानित बजेट ५ करोड रुपैयाँ छ । दीपक रौनियार न्युयोर्कमा छन्, सम्पूर्ण ध्यानचाहिँ मधेस आन्दोलनको पृष्ठभूमिमा आफूले बनाउन लागेको पोलिटिकल थि्रलरको तयारीमा खर्चिरहेका छन् । ठूल्ठूला फेस्टिभल र फन्डिङ प्रोजेक्टमा सहभागी हुँदै छन् ।
नेपालमा फिल्म निर्माणको इतिहास ५५ वर्ष पुग्यो । सुरुमा बलिउडको मसलेदार सूत्रबाट प्रताडित भइयो, सारमा अहिलेको दुर्दशा पनि त्यस्तै छ । नेपालभित्रै फिल्मको व्यापार चौपट छ, बर्सेनि करिब सय फिल्म बन्छन् तर जेनतेन आधा दर्जनले मात्र नाफा कमाउँछन्, बहुसंख्यक फिल्मले प्रमोसनको खर्चसमेत उठाउँदैनन् । विभिन्न अनौपचारिक अध्ययनले कुल जनसंख्याको २ देखि ३ प्रतिशत मात्र हल पुग्ने देखाएका छन् । सिनेमा साक्षरता निर्धो छ । 'फिल्म हेर्नु भनेको बिग्रनु हो' भन्ने मनोदशा फेरिएको छैन । देशभित्र सिनेमाले सानदार उपस्थिति जनाउन सकेको छैन भने विश्व सिनेमञ्चमा हाम्रो हालत के होला ? के सिनेमाको दायरा नेपाल र नेपालीभाषीमाझ मात्र हो त ? सिनेमाको दृश्यभाषा विश्वव्यापी हुन्छ ।
तीतो सत्य हो, आधा शताब्दीको इतिहास बनाइसक्दा पनि संसारमा हाम्रो सिनेमाको स्वतन्त्र अस्तित्व निर्माण हुन सकेन । न त मौलिक कथा, पात्र, परिवेश र शैली नै पस्कन सक्यौँ । तर अवस्था केही बदलिएको छ । सुरुआतै सही, हाम्रा सिनेमा संसारका प्रतिष्ठित फेस्टिभलमा छानिन थालेका छन्, लगानीकर्ताको चासो बढेको छ, फिल्मकर्मीले 'एक्स्पोजर' पाइरहेका छन् । माथिका उदाहरणले त्यस्तै ठूलो सपना देखेर सोहीअनुरुपको संघर्ष गरिरहेका फिल्मकर्मीलाई प्रतिनिधित्व गर्छ, जो नेपाल र नेपाली डायस्पोराभन्दा माथि उठेर मौलिक सिनेमालाई कलात्मक ढंगले अन्तर्राष्ट्रियकरण गर्दै छन्, व्यापार विस्तार गर्दै छन् ।
यो उज्यालो अभियानको एउटा दरिलो खम्बा हुन्, मीन । ओस्कार इन्टरनेसनल फिल्म कलेज पढेका मीनले सर्ट फिल्म बाँसुल्लीबाट बाहिरी दुनियाँमा आशाको दियो बालेका थिए । भेनिस अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको होराइजन सर्ट फिल्म सेक्सनमा छानिएको थियो, यस फिल्म । मीन भन्छन्, "कलाको बजार फराकिलो छ । मन लागेको कथा इमानदार भएर भनियो भने बजारको चिन्ता गर्नु पर्दैन । संसारभर आफ्नो सिनेमा देखाउन सकिन्छ ।" मीन आफैँ यसको प्रमाण हुन् ।
बाँसुल्लीपछि मीनले कालो पोथी बनाए । उनको करिअर मात्र होइन, नेपाली फिल्मवृत्तकै लागि यो 'कालो हिरा' झैँ भयो । ३ करोड ४५ लाखमा बनेको यस फिल्ममा फ्रेन्च सरकार, बर्लिन फेस्टिभल र स्वीस सरकारको ८० प्रतिशत लगानी थियो भने नेपाली निर्माताको २० प्रतिशत । फिल्ममा माओवादी विद्रोहका दौरान कथित तल्लो र उपल्लो जातका दुई बच्चाको मित्रताको कारुणिक कथा भनिएको थियो । भेनिस फेस्टिभलमा क्रिटिक्स विकको विजेता मात्र बनेन, पाराग्वेको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा स्पेसल मेन्सनमा पर्यो, बुसानमा स्क्रिनिङ भयो अनि अन्य नब्बे फेस्टिभलमा सहभागी । युरोप, जापान, अमेरिका, दक्षिण कोरियालगायत मुलुकमा सार्वजनिक प्रदर्शन भयो भने अझ कति देशमा यसको प्रदर्शन अधिकार बिक्री भइरहेको छ । नयाँ फिल्म चिसो वर्षका लागि कान्स र लोकार्नोमा फन्ड जितिसकेका छन् ।
मीनजस्तै सफलता चुमेका अर्का फिल्मकर्मी हुन्, दीपक रौनियार । उनका सर्ट फिल्म थ्रेसहोल्ड कान्सको सर्ट कर्नरमा पुगेको थियो । फिचर फिल्म हाइवे बर्लिनमा पि्रमियर भयो, उत्कृष्ट फिचर फिल्ममा नोमिनेसन पर्यो । सेतो सूर्यको उपलब्धि अझ उल्लेखनीय छ । भेनिसमा इन्टरफिल्म अवार्ड चुम्यो, टोरेन्टो फेस्टिभलमा पिपुल्स च्वाइस अवार्डमा मनोनयनमा पर्यो, प्लाम स्पि्रङ अन्तर्राष्ट्रिय फेस्टिभलमा न्यु भिजन ग्रान्ड जुरी पुरस्कार जित्यो भने लोकार्नो, सिड्नी र बुसानजस्ता प्रतिष्ठित फेस्टिभलमा आधिकारिक चयन भयो । त्यसपछि न्युयोर्क टाइम्सले संसारका उत्कृष्ट ९ नवनिर्देशकको सूचीमा दीपकलाई राख्यो ।
हाइवे र सेतो सूर्य दर्जनौँ देशमा सार्वजनिक प्रदर्शन भए । कति मुलुकमा राइट बिक्री जारी छ । मीन र दीपकको यहाँ विशेष चर्चा किन गरिएको हो भने विश्व सिनेमञ्चमा नेपाली सिनेमाको पहिचान बनाउन मात्र होइन, नयाँ प्रतिभाशाली फिल्मकर्मीलाई सपना देखाउन र प्रोत्साहित गर्न पनि उनीहरुको गहकिलो योगदान छ । लेखक-निर्देशक राजन कठेत भन्छन्, "मीन र दीपक दाइको सफलताले हामीजस्ता युवा पुस्तामा उत्साह सञ्चार भएको छ । फेस्टिभल र फन्ड प्रोजेक्टमा सहभागीको लहर छाउनुमा उहाँहरुको भूमिका छ ।"
हो पनि, जसरी लुटले आन्तरिक बजारलाई बढावा दिएको थियो, त्यसैगरी मीन र दीपकका फिल्मले विदेशी बजारको ढोका खोलेका छन् । सँगै विश्वमञ्चमा हामी हाम्रो कथा शक्तिशाली ढंगले भन्ने तहमा पुगेको संकेत गरेको छ । बिर्सन नहुने अर्को तथ्यचाहिँ मीन र दीपकभन्दा पहिल्यै विदेशी फेस्टिभलमा नेपालले सहभागिता जनाइसकेको थियो, त्यो पनि डेढ दशकअगावै । ती फिल्मकर्मी हुन्, नवीन सुब्बा र छिरिङरितार शेर्पा । सन् १९९६ मा नवीन निर्देशित खांग्री इटालीको ट्रयान्टो फिल्म फेस्टिभलमा स्पेसल मेन्सनका साथै अमेरिकाको ट्रेलरोइट र अस्टि्रयाको गाँज अन्तर्राष्ट्रिय फेस्टिभलमा चयन भएको थियो । इटालीको अर्काइभ र होम भिडियोमा समेत बिक्री भयो । सन् २००० मा छिरिङरितारको मुकुन्डो टोकियो, फुकुओका र अमेरिकाको गोल्डन गेट फिल्म फेस्टिभलमा छानियो ।
लगत्तै नवीनको नुमाफुङले अर्को इँटा थप्यो । लिम्बू समुदायको सुनौली-रुपौली प्रथामाथि बनाइएको यस फिल्म फिनिस आदिवासी फिल्म महोत्सवका साथै फुकुओका, गोटेवर्ग र सन्फ्रान्सिस्कोजस्ता अन्तर्राष्ट्रिय फेस्टिभलमा पुग्यो । फ्रान्सको भिजुअल फिल्म फेस्टिभलमा पब्लिक च्वाइस अवार्ड जित्यो । यसलाई स्वीट्जरल्यान्डको टि्रगन फिल्मले वितरण गरेको थियो । नवीनका अनुसार विदेशी कम्पनीले नेपाली फिल्मको आधिकारिक वितरण गरेको पहिलो अवसर सम्भवतः त्यही हो ।
विदेशी फेस्टिभलमा गएर मात्र खांग्री, मुकुन्डो र नुमाफुङ हाम्रा लागि कालजयी भएका होइनन् । यिनले बम्बैया शैली र संरचनाविरुद्ध 'विद्रोह' गरेर मौलिकता आत्मसात् गर्नुचाहिँ विशेष थियो । तर विडम्बना ! न यी फिल्मले नेपालका हलमा कमाइ गरे, न त त्यसपछि यसको 'लिगेसी' ले निरन्तरता पायो । खांग्री हलमा चल्दै चलेन, मुकुन्डो हिरारत्न सिनेमाघरमा सीमित भयो । नवीन र छिरिङरितारले समेत सोही रुपरेखाका फिल्म निर्माणलाई निरन्तरता दिन सकेनन् । फलतः त्यसपछिको झन्डै १५ वर्ष नेपाली फिक्सन फिल्मले विदेशमा गर्वलायक उपलब्धि हासिल गरेनन् । एकै पटक सन् २०१२ मा सुवर्ण थापाको सुनगाभा मोन्टि्रयल, हम्बर्ग, प्लाम स्पि्रङजस्ता फेस्टिभलमा पुग्यो ।
नवीन र छिरिङरितारको आफ्नै कथा छ । मुकुन्डोलाई जापानको एनएचके टेलिभिजनले फन्डिङ गरेको थियो, त्यसपछिको प्रोजेक्टमा विदेशी फन्ड हात लागेन । छिरिङरितार भन्छन्, "मुकुन्डोको पाँच वर्षपछि कर्मा बनाएँ तर नेपालमा रिलिज भएन । मुस्ताङको भाषामा बनेकाले वितरकले बेवास्ता गरे । एक-दुई फेस्टिभलमै चित्त बुझाउनुपर्यो ।"
नवीनचाहिँ 'एक्टिभिजम' तिर लागे । भन्छन्, "एक-दुई जनाले मात्र केही गर्न नसकिँदो रहेछ । त्यसैले फिल्म नीति सुधार्न मौलिकताको पैरवीमा लागेँ । फिल्ममेकिङमा अल्मलिएँ ।" नवीनले केही समयपछि गुडबाई काठमाडौँ बनाए तर त्यत्तिकै थन्कियो । बल्ल अघिल्लो वर्ष बुसानमा गयो ।
छिरिङरितारले उमा बनाए पनि नेपालमा मात्र रिलिज गरे । बरु कालो पोथी र सेतो सूर्यको कार्यकारी निर्माता बने । नुमाफुङपछि जस्तै सुस्तता छाउला भन्ने चिन्ता छ, उनलाई । भन्छन्, "मौलिक र कलात्मक सिनेमा निर्माणले तीव्रता पाएन, विदेशी बजार र फेस्टिभलमा सहभागिता जनाएन भने हामी फेरि पछाडि धकेलिने छौँ ।"
यो चिन्ता जायज हो तर तत्कालका लागि सकारात्मक संकेत देखापरिरहेका छन् । जस्तोः मीन र दीपक नै फिल्म बनाउँदै छन् । सर्ट फिल्म दद्या भेनिस, सनडान्स र टोरन्टो फेस्टिभलमा छनोट भएपछि पूजा गुरुङ र विभूषण बस्नेत फिचर फिल्म बनाउँदै छन्, द होल टाइमर्स । जेरुसेलम अन्तर्राष्ट्रिय फिल्म ल्याबअन्तर्गत बनेको यस फिल्म क्यान्स सिनेफाउन्डेसन र लोकार्नो ओपन डुअर्स ल्याबमा चयन भएको छ भने सीएनसी प्रोडक्सन फन्ड र हर्बट बल्स फन्ड पाएको छ ।
विनोद पौडेलको एक्रोन इन्टरनेसनल र राजेश खत्रीको श्यामश्वेत तस्बिरलाई पनि यही लहरमा राख्न सकिन्छ । मीनसँग कालो पोथी लेखेका अविनाशविक्रम शाह झ्यालिन्चाको तयारीमा छन् । आरके पोखरेलले भुटानी कम्पनीसँग सहकार्य गरेर बनाएको द रेड फालस बुसान र बर्लिनमा गएको छ । उनकै लगानीको ह्वेयर इज द स्टोरी कान्सको सर्ट फिल्म कर्नरमा पुगेको थियो । तर सरकारी अनुदान र अन्य सहयोगबिना व्यक्तिगत तबरबाट मात्र नेपाली सिनेमाले विश्वमञ्चमा उल्लेख्य प्रगति हासिल गर्न नसक्ने फिल्मकर्मीको भनाइ छ ।
निर्देशकको ध्यान फन्ड जुटाउनेतिर मात्र भएपछि सिर्जनशीलतामा ह्रास आउँछ, अनावश्यक समय खर्च हुन्छ । दीपक भन्छन्, "कम्तीमा पटकथा लेखनका लागि सरकारले आर्थिक सहयोग गर्ने हो भने राहत हुन्थ्यो तर विकास शुल्कबाट टन्न पैसा असुले पनि गुणस्तरीय सिनेमा बनाउन राज्यले पूरै बेवास्ता गरेको छ ।"
छिमेकी भारत र चीन मात्र होइन, ताइवान, दक्षिण कोरियाजस्ता देशमा पनि आर्टहाउस फिल्मका लागि राज्यले ठूलो रकम अनुदान दिन्छ । सरकारको संग्लनता भएपछि विदेशी फेस्टिभलले पनि प्राथमिकतामा राख्छन् । गिनेचुनेका फेस्टिभल वा अवार्डमा फिल्म चयन भएपछि फिल्मकर्मी जाने, बस्ने र र्फकने खर्च सरकारले नै बेहोर्छ, जसले वितरक, प्रदर्शक र लगानीकर्तासँग फिल्मकर्मीको सम्पर्क बढाउँछ । भोलि बजार विस्तार गर्न सहज हुन्छ । तर नेपालमा न पटकथा लेखनमा सरकारको साथ छ, न त फेस्टिभल जान ।
राजन कठेतको बेयर टि्रज इन द मिस्ट टोरन्टोमा पि्रमियर हुने भयो तर उनले कतैबाट सहयोग पाएनन् । अन्त्यमा आफ्नै खर्चले क्यानडा गएर फर्किए । त्यहाँ बस्ने बन्दोबस्तचाहिँ नेपाली समुदायले गरिदियो । कठेत भन्छन्, "मजस्तै छानिने अन्य देशका निर्देशक सरकारी खर्चमा फेस्टिभल आएका थिए, मैलेचाहिँ व्यक्तिगत खर्चमा जानुपर्यो । बडो सकस हुँदो रहेछ ।" एकातिर पैसाको चिन्ता, अर्कातिर उक्त फेस्टिभलमा आएका सिनेमा हेरेपछि राजनले चाल पाए, हाम्रो कथावाचनको असली औकात । भन्छन्, "हामी देखिने सामाजिक कथा मात्र भनिरहेका छौँ, त्यसमाथि कथावाचन सतही र निर्बल छ । तर दुनियाँ व्यक्तिको अन्तरद्वन्द्व र पहिचानको संकटमाथि फिल्म बनाइरहेको छ । त्यहाँसम्म पुग्न हामीलाई अझ समय लाग्छ ।"
सरकारको लगानीजस्तै हामीकहाँ फिल्म बुझेका निर्माताको उस्तै अभाव छ । अहिलेसम्म निर्देशकले नै निर्माताको काम गरिरहेका छन् । जसको असर पनि फिल्मको गुणस्तरमा पर्छ । नवीन सुब्बा भन्छन्, "सबै निर्देशक बन्न खोज्छन् तर निर्माता छैनन् । जबकि निर्माता बलिया भए भने फेस्टिभल र फन्डिङ एजेन्टमा पुर्याउँछन् । हामीकहाँ त्यो लेभलमा काम भएको छैन ।" यही कारण हुनुपर्छ, बुसान र भेनिसबाहेक अन्य फेस्टिभलमा नेपाली फिल्मकर्मीले दर्बिलो नेटवर्क सिर्जना गर्न सकेका छैनन् ।
हाम्रा फिल्मको अन्तर्राष्ट्रिय मञ्चको 'एकेडेमिक डिस्कोर्स' पनि खासै हुन्न । त्यसमाथि विदेशी बजार र फेस्टिभल लक्षित गर्ने फिल्मकर्मीमा एउटा घातक प्रवृत्ति देखा पर्दैछ, बाहिरी मुलुकले नेपाललाई जुन ढंगले हेर्न चाहन्छन्, त्यही तरिकाले देखाउने । "बाहिर त जानुपर्छ, त्योभन्दा महत्वपूर्णचाहिँ आर्टहाउस सिनेमा यहीँ बन्नुपर्छ, यहाँ पनि हेरिनुपर्छ । तब मात्र टिकाउ हुन्छ," अविनाशविक्रम शाह भन्छन्, "फिल्मकर्मीमा विदेशी फेस्टिभल होइन, मेरो समाजमा प्रभावकारी हुने कथा कलात्मक ढंगले भन्छु भन्ने लोभ हुनुपर्छ । विदेशीलाई जस्तो मन पर्छ, त्यस्तै बनाउने होड हुनुहुन्न ।"
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...