बलुचिस्तानको व्यथा (वेब सिरिज : बार्ड अफ ब्लड)
जासुसी दुनियाँ, बलुचिस्तानको दुर्दशा र भूराजनीतिक खिचातानी बुझ्न चाहनेका लागि बार्ड अफ ब्लड उपयुक्त खुराक हो । तर यसले पनि बेच्न खोजेकोचाहिँ भारतीय राष्ट्रवाद नै हो, जुन पछिल्लो समयमा बलिउडले खुब पछ्याइरहेको छ ।
पाकिस्तानको प्रान्त बलुलिस्तानमा तालिवानद्वारा चार भारतीय जासुस समातिन्छन् । जासुसको सामूहिक हत्या गर्नैलाग्दा पाकिस्तानकी खुफिया एजेन्सी ‘आईएसआई’का अफिसरले तालिवानका नेता मुल्लाह खालिदसँग बिन्ती बिसाउँछन्, ‘यिनीहरुलाई नमार । मसँग एउटा योजना छ, जसले एक सातामै संसारले तालिवानको वर्चस्व र आतंकको अन्दाज पाउनेछ ।’ आईएसआई आफैँ भारत दुश्मन हो तर उसैले किन जासुसलाई बचाउँदैछ ? सशुल्क भिडियो स्ट्रिमिङ साइट नेटफ्लिक्सको नयाँ वेबसिरिज बार्ड अफ ब्लड यही सवालसँगै सुरु हुन्छ ।
भारत–पाक विभाजनसँगै बलुचिस्तानमा तनाव सुरु भयो । यसबीच दर्जनौँ पटक हिंसा भड्किएको छ । भूराजनीतिक हिसाबले अत्यन्त अस्थिर र संवदेनशील छ । पाकिस्तानले यहाँका नागरिकलाई अपनत्वबोध गराउन सकेको छैन । यही असन्तुष्टिमा भारतले खेलिरहेको छ, अमेरिकाको आफ्नै स्वार्थ छ, अफगानिस्तानका तालिवानले जिहादका लागि नयाँ आधारस्तम्भ बनाउँदैछन् र यी अनेक खेलको चेपुवामा परेका बलुचिको ठूलो हिस्सा बलुचिस्तानलाई स्वतन्त्र अस्तित्वका लागि हतियार उठाउन अभिशप्त छन्, जसलाई कहिले भारतले हतियार र फन्डिङ दिन्छ, त कहिले अमेरिकाले । बार्ड अफ ब्लडमा यस्ता यावत पक्ष उजागर गरिएको छ । तापनि यसको केन्द्रमाचाहिँ जासुसको सकुशल रिहाइ गर्ने भारतीय चाल नै छ ।
सात एपिसोडको बार्ड अफ ब्लडका निर्देशक हुन्, रिभु दासगुप्ता । विलाल सिद्धिकीले लेखेको यही नामको उपन्यासमा आधारित छ, सिरिज । उपन्यास लेख्दा सिद्धिकी जम्मा २० वर्षका थिए । सेक्रेड गेम्सबाट प्रचुर सफलता मिलेपछि नेटफ्लिक्सले भारत र हिन्दीभाषी कन्टेन्टमा खुब दिलचस्पी राख्न थालेको छ । ठूला स्टार र ब्यानरसँग सहकार्य गर्दैछ । यो सिरिज नेटफ्लिक्स र शाहरुख खानको प्रोडक्सन कम्पनी रेड चिल्लिज मिलेर निर्माण गरेका हुन् । मुख्य भूमिकाचाहिँ इमरान हासमी छन् ।
भारतीय खुफिया एजेन्सी ‘रअ’का पूर्वएजेन्ट हुन्, कविर आनन्द (इमरान) । बलुचिस्तानको एक मिसनमा आफ्नै साथीको हत्या हुँदा पनि ‘रअ’ मौन बसेपछि कविर विरक्तिएर पढाउन थाल्छन् तर चार एजेन्ट फेरि बलुचिस्तानमै समातिएपछि एजेन्सीले उनैलाई पठाउन खोज्छ । उनी नकार्छन् तर परिस्थिति यस्तो आइलाग्छ कि एजेन्सीलाई छलेरै बलुचिस्तान पुग्नुपर्छ । यसका लागि उनको साथमा हुन्छन्, ‘रअ’की एनालिस्ट इशा (सोविता धुलिपला) र अफगानिस्तानमै भेष बदलेर बसिरहेका जासुस वीर (विनितकुमार) । तनावग्रस्त अर्काको देशबाट आफ्ना एजेन्ट फिर्ता ल्याउने उनीहरुको मिसनकै क्रममा देख्न पाइन्छ, ‘रअ’भित्रको आन्तरिक खिचातानी र स्वार्थको रस्साकस्सी, एजेन्सीले बिर्सिएको जासुसको नियति, मुस्लिम युवालाई भड्काएर युद्धमा होमिरहेका तालिवानी, आफ्नो निहित फाइदाका लागि आतंककारीलाई साथ दिने पाकिस्तान, पाकिस्तानीप्रति चीनको व्यवहार अनि भारतचाहिँ अमेरिकासँग कसरी झुकेर कुरा गर्छ भन्ने यथार्थ । करिब सात घन्टाको सिरिजमा अन्तरदेशीय आतंकका अनेक आयाम खोतलिएको छ ।
यो सिरिजको विशेषता भनेकै बुलन्द चरित्रचित्रण हो । ‘रअ’प्रति कविरको वितृष्णा, देश र जासुसप्रतिको प्रेम, आफ्नो करिअर धरापमा पारेर भएपनि एजेन्टलाई फिर्ता ल्याउन इशाको त्याग अनि अल्जाइमर्स भएको बुबालाई भेट्न आतुर हुँदाहुँदै रेस्क्यु अपरेसनमा खटिएको वीर एकाध दृश्यमै दर्शकसँग नजिक हुन्छन् । उनीहरुबीचको विश्वास, धोका, प्रेम र घृणाले रोचकता थपेको छ तर तालिवान, पाकिस्तानी जासुस र बलुचिस्तानका नागरिकका चरित्रलाई विश्वसनीय चित्रण गरिएको छैन । मुल्लाह जिहाद मात्र गर्दैछैनन्, बालयौन शोषण पनि गर्छन् । बलुचिस्तानका पृथकतावादी स्वचालित छैनन् । बाहिरी ईशारामा चल्दा स्वतन्त्र आन्दोलन मत्थर हुँदै छ । पाकिस्तानचाहिँ आफ्नै नागरिकविरुद्ध तालीवानसँग साँठगाँठ छ । यही कारण हुनुपर्छ, सिरिजको ट्रेलर आउनासाथ पाकिस्तानमा यसको चर्को विरोध भएको थियो ।
बार्ड अफ ब्लडको ट्रेलर
जासुसी हर्कत आफैँमा रहस्यमयी मानिन्छ, यसमा निर्देशकले अझ प्रभावकारी ढंगले बुन्ने चेष्टा गरेका छन् । गोली र बम हानाहान भएको होस् वा तालिवानी लडाकुको भीडको होस्, दृश्यांकन आधिकारिक छ । कथा बलुचिस्तानको भए पनि लद्दाख, राजस्थान र मुम्बईको स्टुडियोमा खिचिएको हो । हिन्दीसँगै उर्दु, अंग्रेजी र पस्तुन भाषाको प्रयोग छ । जासुस कविर र पृथकतावादी लडाइँमा होमिएकी बलुची युवती जन्नत (कीर्ति कुल्हारी) को प्रेम र विछोडको कथा त्यतिकै दर्दनाक छ । सुरुआती एपिसोडमा सुस्त गतिमा कथा अगाडि बढ्छ, कतै–कतै पट्यार पनि लाग्छ तर जब कविरको टिम बलुचिस्तान पुग्छ, हरेक दृश्यसँगै धड्कन बढ्दैजान्छ । क्लाइमेक्सले अनेकौँ सवाल खडा गर्दै दोस्रो सिजनको तीव्र प्रतीक्षा गराउँछ ।
कथावाचनलाई जीवन्त बनाउन कलाकारको पर्फमेन्सले कति अर्थपूर्ण राख्छ भन्ने उदाहरण हो, यो सिरिज । बलिउडमा ‘सिरियल किसर’का रुपमा चिनिने इमरान हासमीको करिअरकै सबैभन्दा चुनौतीपूर्ण चरित्र हो यो, जसमा उनी स्वाभाविक लाग्छन् । पात्रको हुलिया र भावभंगिमामात्र होइन, मनोविज्ञानसमेत पक्डेका छन् । सुन्दरी प्रतियोगिता हुँदै अभिनयमा आइपुगेकी सोविता धुलिपला उत्तिकै निपूणलाग्छिन्, संवेदनशील भूमिकामा उनले देखाएको क्षमताले बलिउडमा प्रचुर भविष्य देखिन्छ । घर फर्कने उत्कट चाहलाई तिलाञ्जली दिँदै खतरनाक मिसनमा सहभागी भएको चरित्रलाई विश्वसनीय बनाउन विनितकुमार सफल छन् । उनको अफगानी लवजले पात्रलाई न्याय गरेको छ । मुल्लाह खालिद बनेको दानिस हुसैनको हुलिया र बोल्ने शैली नै डरलाग्दो छ । कीर्ति, जयदीप अल्वात, रञ्जित कपुरलगायतका कलाकारको काम प्रशंसनीय छ । गम्भीर राजनीतिक विषयलाई सरल तर रसिलो शैलीमा पस्कन रिभु दासगुप्ता दक्ष लाग्छन् ।
जासुसी दुनियाँ, बलुचिस्तानको दुर्दशा र भूराजनीतिक खिचातानी बुझ्न चाहनेका लागि बार्ड अफ ब्लड उपयुक्त खुराक हो । तर यसले पनि बेच्न खोजेकोचाहिँ भारतीय राष्ट्रवाद नै हो, जुन पछिल्लो समयमा बलिउडले खुब पछ्याइरहेको छ ।
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...