कुबेलाको बहिर्गमन

- पवन आचार्य

नेपाली क्रिकेटले एउटा खुसी र अर्को विस्मयको सामना गर्‍यो, असोजको अन्तिम साता । साढे तीन वर्षभन्दा बढी समयदेखि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को निलम्बनमा रहेको नेपाल क्रिकेट संघ -क्यान) माथिको निलम्बन २७ असोजमा ससर्त फुकुवा भयो । क्यानमाथिको निलम्बनले नेपालमा क्रिकेट उपस्थित भए पनि नभएसरह थियो । त्यसैले निलम्बन फुकुवामा क्रिकेट समर्थकले खुसी नमनाउने कुरै भएन । तर यो खुसीमा नेपाली समर्थक धेरै बेर रमाउन पाएनन् ।

क्यानमाथिको निलम्बन फुकुवाको २४ घन्टा नबित्दै नेपाली क्रिकेटलाई पछिल्लो एक दशकदेखि नेतृत्व प्रदान गर्दै आएका राष्ट्रिय टोलीका कप्तान पारस खड्काले कप्तानको जिम्मेवारीबाट अलग हुने घोषणा गरे । क्यान नहुँदा नेपाली क्रिकेट भनेकै पारसजस्ता थिए । उनी नेपाली क्रिकेटको टिमको कप्तान, टिम छनोट समिति, मेन्टर आदि सबै खाले भूमिकामा थिए । त्यसैले पनि क्रिकेट समर्थकहरू उनको निर्णयबाट अचम्मित हुनु स्वाभाविक थियो ।

अर्को संयोग के पनि पर्‍यो भने क्यानमा नयाँ नेतृत्व चयन हुनु र पारसको राजीनामा आउनु एकै समय भयो । काठमाडौँमा हालै भएको साधारणसभाबाट चतुरबहादुर चन्द नेतृत्वमा क्यानको कार्यसमिति निर्वाचित भएर आउनु र पारसको राजीनामा एकै समयजस्तो हुन गयो ।

त्यसो त, अघिल्लो कार्यकालमा क्यानमा आर्थिक अनियमितताको अभियोग लगाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्ने भनेर चन्द समूहले पारसमाथि आरोप लगाएको थियो । उनकै कारण आफूहरू बयानका लागि अख्तियार पुग्नुपरेको भन्ने बुझाइ तत्कालीन नेतृत्वमा रहेकाहरूको थियो । अधिवेशनमा पारसले लबिइङ गरेका र सहयोग गरेकाहरूले चुनाव हार्नुले पनि उनको राजीनामालाई टि्रगर गरेको बुझाइ धेरैको छ ।

पारस स्वयंले पनि क्यानमा नयाँ नेतृत्व आइसकेपछि काम गर्न सहज नहुने अनुमान लगाइसकेका थिए । निकटहरूसँग उनले सिंगापुर र ओमान भ्रमणपछि क्रिकेटबाट विश्राम लिने संकेत गरिसकेका थिए । टिममा एक दशकयता नेतृत्व प्रदान गरे पनि पछिल्लो समय नेपाली टिममा विभिन्न गुट बन्न थालिसकेका थिए । केही नयाँ र चर्चित क्रिकेटरले पारसविरुद्ध मोर्चाबन्दी सुरु गरिसकेका थिए । यस्तोमा काम गर्न र नतिजा ल्याउन अप्ठेरो पर्ने अनुमान लगाउन पारसलाई खासै गाह्रो भएन । पारसले नेपाली क्रिकेटलाई जुन स्तरमा पुर्‍याए, अब यहाँभन्दा माथि लैजान निकै मिहिनेत र लगानी आवश्यक पर्नेमा कुनै शंका छैन । यस्तोमा क्यानको नेतृत्व आफूअनुकूलको नआउनु र पछिल्लो समय नतिजाले पनि साथ नदिएपछि पारस कप्तानीको जस र अपजसको भारी बिसाउने मनस्थितिमा पुगिसकेका थिए ।

हतारमा राजीनामा

पारसले कप्तानबाट राजीनामा दिइसकेपछि धेरैले भने, "विकल्प तयार नभई राजीनामा दिनु राम्रो भएन । पारसको विकल्प को त ?" नेपाली टोलीका पूर्वकप्तान पवन अग्रवालको बुझाइमा पारसले हतारमा निर्णय गरे । उनी भन्छन्, "प्रशासनिक हिसाबले नेपाली क्रिकेट बिस्तारै लिकमा आउने क्रममा थियो । यही बेला पारसको राजीनामा आयो । टिम र समग्र नेपाली क्रिकेटकै लागि पारसले अझै धेरै योगदान दिन बाँकी छ भन्ने मेरो बुझाइ हो ।"

सन् २००९ मा विनोद दासलाई विस्थापित गरेर कप्तानको जिम्मेवारीमा आएका पारसले एक दशक एकछत्र राज गरे । उपलब्धि र नतिजाकै हिसाबले पनि पारसको कप्तानीको विकल्प नेपालले कहिल्यै खोजेन । तर अब उनको विकल्पबारे सोच्नुपर्ने बेला आएको छ, यतिबेला भन्न थालिएको छ, "पारसको निर्णय सही होला तर समय ठीक भएन ।"

क्यान अध्यक्ष चतुरबहादुर चन्द स्वयं पनि पारसको निर्णय उपयुक्त नभएको टिप्पणी गर्छन् । आधिकारिक रूपमा आफूलाई राजीनामाबारे जानकारी नआएको भन्दै उनी थप्छन्, "बल्लबल्ल निलम्बन फुकुवा भएर नेपाली क्रिकेटमा खुसी सञ्चार भएका बेला पारसको राजीनामा सुन्नमा आयो । यसबेला उनले यस्तो ठूलो निर्णय नलिएको भए हुन्थ्यो ।"

चन्दका अनुसार पारसको राजीनामाले क्यानको निलम्बन फुकुवा भए पनि आन्तरिक विवाद भने कायमै रहेको भन्ने सन्देश प्रवाह हुन गएको छ । नयाँ कार्यसमितिसँगको मतभेदका कारण राजीनामा प्रकरणको विकास नभएको उनको तर्क छ । "विगतका कुरा बिर्सेर हामीसँग छलफल गरेर क्रिकेटको विकासका लागि अघि बढ्नुपर्ने हो । उहाँले हामीसँग केही छलफल गर्नुभएको छैन," उनले भने, "तर मानिसका लागि क्यानसँगको विवादका कारण राजीनामा दिएको भनेर अनर्गल प्रचार गर्ने बहाना भएको छ ।"

राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल भने पारसको व्यक्तिगत निर्णयको सबैले सम्मान गर्नुपर्ने तर्क गर्छन् । पारसले हतारमा निर्णय नगरेको भन्दै उनले राजीनामाजस्तो गम्भीर विषयमा धेरै सोचेर र सम्झेर नै निर्णयमा पुगेको हुनुपर्ने बताए । राजीनामाबारे जानकारी लिन आयोजित पत्रकार सम्मेलनमा पारसले ज्ञानेन्द्र आफ्नो विकल्प हुन सक्ने बताएका थिए । पारसको अनुपस्थितिमा धेरै पटक नेपाली टोलीको नेतृत्व गरिसकेका ज्ञानेन्द्र कप्तानीको जिम्मेवारी नौलो नभएको र संघले विश्वास गरे सम्हाल्न तयार रहेको बताउँछन् । तर उनलाई पनि लागेको छ, पारसको राजीनामा सही भए पनि समयचाहिँ त्यति गतिलो भएन ।

जीतका पर्याय

नेपाली क्रिकेटले पछिल्लो एक दशकमा मारेको छलाङका साक्षी मात्रै होइनन्, कर्ता पनि हुन्, पारस । त्यसैले पनि नेपाली क्रिकेटको 'गोल्डन एरा' को नेतृत्व गरेका अलराउन्डर पारसलाई 'मिस' गर्नेहरू धेरै छन् ।

सन् २००६ मा यू-१९ को प्लेट च्याम्पियनसिप जित्दा पारस उपकप्तानको जिम्मेवारीमा थिए । कप्तान थिए कनिष्क चौगाईं । तर चौगाईं धेरैजसो मैदानबाहिर नै हुन्थे र नेतृत्वको जिम्मेवारी पारसकै काँधमा आउँथ्यो । टोली नेता बनेर जित्ने र जिताउने टक पारसलाई त्यहीँबाट बस्यो ।

सन् २००७ बाटै नेपाली टोलीको उपकप्तान बनिसकेका पारसको पहिलो कप्तानी भने सम्झनलायक रहेन । २००९ को एसीसी ट्वान्टी-२० कपमा पहिलो कप्तानी गरेका पारस नेतृत्वको नेपाली टोली समूह चरणबाटै बाहिरियो । अर्को वर्ष पारसको कप्तानीमा नेपालले विश्व क्रिकेट लिग डिभिजन-५ को उपाधि जित्यो । त्यो नै आईसीसीको आयोजनामा भएको नेपालको पहिलो उपाधि थियो । सन् २०१० मै कुवेतमा भएको एसीसी ट्रफी एलिटमा नेपाली टोली ८ वर्षपछि फाइनलमा पुग्यो । फाइनलमा अफगानिस्तानसँग पराजित भए पनि पारसले नेपाली टोलीमा आशा र विश्वास सञ्चार गराए ।

२०११ मा काठमाडौँमै भएको एसीसी ट्वान्टी-२० को सेमिफाइनलमा पुगेपछि नेपालको ट्वान्टी-२० विश्वकप छनोट प्रतियोगिता खेल्ने ढोका खुल्यो । सन् २०१२ मा डिभिजन-४ को उपाधि जितेको नेपाल त्यही वर्ष ट्वान्टी-२० विश्वकप छनोटमा सहभागी १६ टोलीमध्ये सातौँ स्थानमा उक्लिन सफल भयो ।

नेपाली क्रिकेटका लागि सबैभन्दा सफल वर्ष रह्यो, सन् २०१३ । नेपालले त्यतिबेला बर्मुडामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन-३ को उपाधि र एसीसी ट्वाटी-२० कपको फाइनलमा स्थान बनायो । नामिबियामा भएको ट्वान्टी-२० विश्वकप छनोटमा तेस्रो भएको नेपालले २०१४ मा बंगलादेशमा सम्पन्न ट्वान्टी-२० विश्वकपको टिकट काट्यो । प्रतियोगितामा नेपालले अफगानिस्तान र हङकङलाई पराजित गरे पनि बंगलादेशसँगको हारले समूह चरणबाटै बाहिरिनुपर्‍यो । पारसको नेतृत्वमा नेपाली टोलीले अनेकन उतारचढाव बेहोरेको छ । जीतको गाथासँगै हारको पीडाको अनुभव पनि उनीसँग छ । नेपाली खेलकुदमा पारसले क्वाइन गरेको एउटा ब्रह्म-वाक्य छ, "जितेको खेलमा गल्ती देखिँदैन । हारले गल्ती देखाउँछ, खेलाडीको मिहिनेत र परिश्रम देखिँदैन ।" वर्ष सन् २०१४ मा पनि नेपाली टोलीले त्यही नियति भोग्यो ।

न्युजिल्यान्डमा आयोजित एकदिवसीय विश्वकप छनोटमा सहभागी १० टोलीमध्ये नवौँ भएपछि नेपाल डिभिजन-२ बाट रेलिगेसनमा प‍र्‍यो । तर सोही वर्ष डिभिजन-३ को विजेता बन्दै नेपाल दोस्रो डिभिजनमा पुनः उक्लियो । सन् २०१५ मा नेपालले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा स्थान बनायो । उक्त प्रतियोगितामा सहभागिता निश्चित भएपछि नेपालले स्वतः डिभिजन-१ को मान्यता पायो ।

२०१७ मै डिभिजन-२ को फाइनलमा पुगेर नेपालले डिभिजन-१ को यात्रा तय गर्दै एकदिवसीय विश्वकप छनोटमा पनि स्थान बनायो । सन् २०१८ मा जिम्बाबेमा भएको एकदिवसीय विश्वकप छनोटमार्फत नेपालले मान्यता पाएको हो । यो पनि नेपाली क्रिकेटको अर्को ऐतिहासिक सफलता हो, जसको नेतृत्व उनै अलराउन्डर पारसले गरेका थिए । तर २०१९ मा ट्वान्टी-२० विश्वकपको एसियाली छनोटमा सिंगापुरसँग पराजित भएपछि नेपाल ग्लोबल छनोटमा पुग्न भने असफल रह्यो ।

कीर्तिमानी क्रिकेटर

यो वर्ष पारस ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने पहिलो नेपाली ब्याट्सम्यान बने । यसअघि २८ असारमा मलेसियासँगको मैत्रीपूर्ण शृंखलामा पारसले सर्वाधिक ८६ रनको इनिङ्स खेलेका थिए । ट्वान्टी-२० क्रिकेटमा यसअघि सो कीर्तिमान महबुब आलमको नाममा थियो । महबुबले सन् २०११ को एसीसी ट्वान्टी-२० कपमा साउदी अरेबियाविरुद्ध ८८ रनको इनिङ्स खेलेका थिए ।

६ फिट २ इन्च अग्ला पारसले एकदिवसीय खेलमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान पनि आफ्नै नाममा लेखाएका छन् । युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलअघि पारसले भनेका थिए, 'एकदिवसीय खेलमा नेपालको तर्फबाट शतक भएको छैन । शतक भएको हेर्ने मन छ, के थाहा अर्को खेलमा हुन्छ कि ?'

नभन्दै शतक हेर्ने पारसको इच्छा पूरा भयो र त्यो अरूले होइन, पारस आफैँले हाने । पारसले ९६ बलमा १३ चौका र एक छक्काको मद्दतमा शतक प्रहार गरे । पारस ३८ ओभर ५ बलमा एक सय १५ रन बनाउँदै एलबीडब्लु आउट भए । पारसको नाममा अर्को कीर्तिमान पनि छ । उनी एकदिवसीयमा दुई अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी पनि हुन् ।

यो पनि पढ्नुहोस् : कप्तानमा फर्किन्नँ

प्रकाशित: कार्तिक ४, २०७६