पढ्नुहोस्, ‘घामड शेरे’ को समीक्षा
फिल्ममेकर नवीन कथा भन्न होइन, जसरी पनि दर्शक हँसाउन मरिहत्ते गर्दै छन् । घामड शेरेले हँसाउने चक्करमा कथा, पात्र र प्रवृत्तिमाथि मजाक गरेको छैन ।
‘घुस हैन, यहाँ (मालपोत) को रीत हो ।’
जग्गा नामसारीको सबै प्रक्रिया पुर्याउँदा पनि अनेक झमेला भोग्नुपर्ने, त्यसबाट मुक्ति पाउन मालपोतका हाकिमलाई दाम चढाउनुपर्ने हाम्रो कठोर नियति हो । फिल्म घामड शेरेमा यसैलाई प्रतिबिम्वित गरिएको छ र माथिको संवाद बोल्ने पात्र अरु होइनन्, स्थानीय नेता हुन् । धेरथोर मात्र हो, मालपोतझैँ हरेक सरकारी निकाय घुसको भाइरसले ग्रस्त छन्, जानेबुझेकै भनिएकाहरुबाट संरक्षण र स्वीकार भएपछि निमुखाहरुको के जोर चल्नु ? हाम्रो राज्य प्रणालीका यिनै उल्झनलाई घामड शेरेमा बुनिएको छ । समाज र भुइँमान्छेको भोगाइबाट सिनेमा टाढा भइरहेको आरोपलाई यसले थोरै चिर्न खोजेको छ तर समस्या के भने विषयको गाम्भीर्य अनुरुप प्रस्तुति विश्वसनीय छैन । यो फिल्मको निर्देशक तथा पटकथाकार हुन्, हेमराज बिसी ।
हामीकहाँ कमेडी फिल्मको अप्राकृतिक लहर छ । फिल्ममेकर नवीन कथा भन्न होइन, जसरी पनि दर्शक हँसाउन मरिहत्ते गर्दै छन् । घामड शेरे पनि मूलत: कमेडी फिल्म नै हो तर यसले हँसाउने चक्करमा कथा, पात्र र प्रवृत्तिमाथि मजाक गरेको छैन । मूर्त नहोला तर धेरै हदसम्म इमानदार प्रयास देखिन्छ, निर्देशकको । जहाँ खोलाले जग्गा बगाएपछि मूल पात्रले खोलालाई नै मुद्दा हाल्छ ।
तरकारी खेती गर्ने उद्देश्य बोकेर स्वदेश फर्किएका छन्, शेरबहादुर । जग्गा किन्छन् । तरकारी लगाउँछन् तर त्यही साल बाढीले खेतलाई बगर बनाउँछ । बुझ्दै जाँदा त पहिल्यै बगर बनेको जग्गामा माटो थपेर उनलाई बेचिएको हुन्छ । जग्गा बेच्नेविरुद्ध प्रहरीकहाँ रिपोर्ट गर्छन् तर माखो मर्दैन । केही सीप नलागेपछि स्थानीय निकायको न्यायिक समितिमा खोलाविरुद्ध मुद्दा दिन्छन् । उनको डुबेको रकम खोलाबाट असुलउपर होला ? यो लफडासँगै शेरबहादुरको वैवाहिक जीवनको उतारचढावमा केन्द्रित छ, फिल्म । क्लाइमेक्स अनुमान अनुरुप नै भए पनि रोचक लाग्छ ।
पाइला–पाइलामा ठगिन विवश हुने नेपालीको प्रतिनिधि हो, शेरबहादुर । ठगिएको थाहा पाएर विरोध गरे पनि अन्तिममा ठगिनै पर्छ, अरु विकल्पै हुन्न । पहिलो दृश्यबाटै शेरबहादुरको घामड चरित्रको झल्को पाइन्छ, त्यसको केही बेरमै फिल्म मूलकथामा प्रवेश हुन्छ तर खेत खोलाले बगाउँदै छ, शेरबहादुर साली गौरी (स्वस्तिमा खड्का) को सान्निध्यमा छ भन्ने छनक सहजै पाइने भएकाले कथाविकासमै पैदा हुनुपर्ने रोचकतामा कट्टी हुन्छ । त्यही बेला साली–भेनाको चक्कर र शेरबहादुरकी पत्नी पार्वती (सुष्मा निरौला) को कचकच थपिन्छ, जसले मूलकथाको बहाब बिथोल्छ । पति घर छिर्न नपाउँदै फेरि विदेश जानुपर्छ भनेर पार्वती कुर्लिएको दृश्य बिझाउँछ । उनीहरुको सानो छोराको चरित्रचित्रण अतिरञ्जित छ । द्वन्द्वको निर्माणका लागि सिर्जिएका घटनाक्रम अनुभूत नहुँदा वितृष्णा जाग्छ, घामड शेरेमा पटक–पटक यस्तो परिस्थिति सामना गर्नुपर्छ ।
देश संघीय प्रणालीमा गएपछि स्थानीय तहको अधिकार वृद्धि भएको छ तर न्याय वा सरकारी सुविधा उपभोगका मामलामा नागरिकको पहुँच समान छैन, बरु स्रोत साधनमा नेताहरुको हालीमुहाली छ, बाँडीचुँडी खान सिपालु छन् । नेपाली समाजको यो पछिल्लो परिदृश्य समेट्न निर्देशक बिसी सफल छन् । गुन्डा पाल्ने ठेकदार नेता, फरक पार्टीका मेयर–उपममेयरबीचको खिचातानी, स्थानीय सरकारका कर्मचारीलाई जनप्रतिनिधिको रुष्ट व्यवहार, कर्मचारीको घुस्याहा शैली, निमुखालाई उकासेर फाइदा लुट्ने कानुनी परामर्शदातादेखि प्राकृतिक प्रकोप पीडितप्रतिको राज्यको उदासिनतासम्म अटाएको छ । पात्रको भोगाइ, चालढाल र बातचितले बरोबर हसाउँछ तर त्यो जबर्जस्ती हुलिएको छैन, स्वाभाविक लाग्छ । ‘साली मन पर्यो...’ गीत कुठाउँमा घुसाइएको छ । सुन्दा रमाइलो लाग्ने यस गीतले कथाको गति अल्मल्याएको छ । बजारलाई रिझाउनेबाहेक यसको अर्को उपादेयता छैन ।
शेरबहादुरको वैवाहिक जीवनको संकटले मध्यान्तरपछि धेरै समय खाएको छ, जग्गा विवाद भुलेर पत्नी खोज्ने उपक्रम सुरु हुन्छ, निर्देशकमा चारैतिरबाट ठगिएको ‘बिचरो’ पात्र बनाउने लहड देखिन्छ । तर रक्सी पिउँदैमा पात्रको पीडाले दर्शकलाई छुँदैन, त्यसका लागि पहिल्यै पात्रप्रति प्रेम पैदा भएको हुनुपर्छ । यस मामलामा शेरबहारदुर फिक्का लाग्छ । बरु सालीसँगको सामीप्य मायालु पारामा देखाइएको छ । आमाले छोडेर जाँदा सानो छोरामा सुर्ता हुँदैन, न माइती पक्षकै केही भूमिका देखिन्छ, गौरीलाई सालीका रुपमा स्थापित गराउन संवादको सहारा लिइएको छ, दृश्य छैन । तर यी सब कुरालाई शेरबहादुरको निर्दोषपना र न्यायप्रतिको भोकले ढाक्छ । बरु उसलाई ‘हिरो’ बनाउने लहडमा गुन्डाको ग्याङलाई भकुरेको पच्दैन, त्यसमाथि फाइट सुरु हुनासाथ एक्कासि पानी पर्छ । पतिपत्नीको रासलीलाले आमाबुबाको निद्रा खल्बलिन्छ । यस्तो ‘क्लिसे’ हर्कतबाट नेपाली फिल्म कहिले मुक्त होला ?
प्राविधिक पक्षमा प्रशस्त हेलचेक्राइँ गरिएको छ । ध्वनिमा झनै समस्या छ । मध्यान्तरपछि साली–भेनाको प्रेम दर्शाउने र शेरबहादुरले पीडा पोख्ने उस्तै आशयका दृश्यहरु दोहोरिएका छन् । पात्रका हिसाबले शेरबहादुर अर्थात् निश्चल यो फिल्मको मेरुदण्ड हुन् । विडम्बना ! उनै कमसल छन् । लुटबाट निर्देशकको रुपमा वाहवाही कमाएपछि निश्चल अभिनयको रहर गरे तर पात्रलाई जीवन्तता दिलाउन यसअघिझैँ यसपटक पनि अनुत्तीर्ण भएका छन्, उनलाई पर्दामा देख्दा अभिनय नै गरिरहेको भान हुन्छ । मुख्य भूमिकामा देखिनु नै पात्र अभिनेताको सफलता हो र ?
स्वस्तिमाको उपस्थिति स्वाभाविक लाग्छ । हुलिया, हाउभाउ र बोल्ने शैलीमार्फत चरित्र आत्मसात् गरेकी छन् तर राष्ट्रिय अवार्ड जितिसकेकी अभिनेत्री यही स्तरका चरित्रमा रमाउनु प्रीतिकर हुन्न । छुच्ची पत्नीका रुपमा सुष्मा निरौला फिट छिन् । गौरी मल्लको लवजमा फेरबदल हुनु शोभनीय होइन । बरु बादल भट्ट, रोयदीप, लोकेन्द्र लेखकजस्ता सहायक कलाकारले तारिफयोग्य काम गरेका छन् । हेमराज बिसीका अघिल्ला फिल्मभन्दा कथाको प्रकृति र प्रस्तुतिमा घामड शेरे अलग छ । सम्भवत: यो उनको करिअरको उम्दा कोसेली हो तर सातौँ फिल्मसम्म आइपुग्दा पनि निर्देशकमा परिपक्वता देखिँदैन ।
फिल्म : घामड शेरे
लेखक/निर्देशक : हेमराज बिसी
कलाकार : निश्चल बस्नेत, स्वस्तिमा खड्का, सुष्मा निरौला आदि ।
विद्या : सोसल ड्रामा, कमेडी
समय : २ घन्टा १५ मिनेट
रेटिङ : २.५/५
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...