निश्चल किन अलमलमा ?

  • फिल्म

- गोकर्ण गौतम

लुट त्यतिबेला रिलिज भयो, जतिबेला चलचित्र विकास बोर्ड नेपाली फिल्ममा संकटकाल लगाउने तयारीमा थियो । फिल्म भटाभट फ्लप भइरहेका थिए, नवीन प्रयोग र कलात्मक कथावाचन शून्य नजिक पुगेको थियो । मल्टिप्लेक्स खुलिरहेका थिए तर नेपाली फिल्मको उपस्थिति फितलो थियो, दर्शक हल जानै अनकनाउँथे ।

यो निराशालाई जादूयी पारामा चिरेको थियो, लुटले । नेपाली फिल्ममा स्थापित हिरोको परम्परागत मानकमा पटक्कै नअटाउने दयाहाङ राई, सौगात मल्लजस्ता कलाकारलाई समेत हरेक उमेर समूहका दर्शकले रुचाए । व्यापारमा कीर्तिमान राख्यो । स्थानीय कथा, पात्र र लबजप्रति प्रेम जागृत गर्‍यो । नेपाली फिल्म निर्माणमा लुट कोशेढुंगा साबित भयो । प्रतिभाशाली नयाँ फिल्मकर्मीको लहर आयो । यसमा पहिलो र बलियो हकदार हुन्, निर्देशक निश्चल बस्नेत ।

डेब्यु फिल्मकै यति जगजगी भएपछि निश्चलप्रति स्वाभाविक रूपमा आशा चुलियो । तिनताका प्राय: मिडियाले उनलाई ‘नेपाली फिल्मका उज्यालो भविष्य’ का रूपमा चित्रण गरे । उनीसँग काम गर्न चाहने कलाकार र निर्माताको ओइरो लाग्यो ।

तर लुट प्रदर्शनयताको सात वर्षमा निश्चलले आफूप्रतिको अपेक्षा पूरा गरे त ?

यतिबेला नेपाली फिल्म शुभेच्छुकमाझ यो प्रश्नले ज्यादातर स्थान पाउन थालेको छ । नयाँ धारका आलोचकलाई त मसला मिलेको छ । निश्चल स्वयं आफ्नो करिअर कसरी समीक्षा गर्छन् ? उनको प्रस्टीकरण छ, “म निर्देशक मात्र नभएर फिल्ममेकर बनेको छु । अभिनय, नाच्ने र गाउने पनि गर्छु । हरेक काममा भिन्न दृष्टिकोण राख्छु तैपनि सोचेजस्तो भइरहेको छैन ।” उनलाई कहिलेकाहीँ लाग्दो रहेछ, अरू एक–दुई, तीन हुँदै सयसम्म पुग्छन् तर उनी सुरुमै सयमा पुगे । त्यसलाई जोगाउन मुस्किल भएको छ । 

निश्चलका आफ्नै बाध्यता होलान् तर लुटपछिको करिअर नियाल्दा उनी आफ्नो स्टारडम क्यास गर्न ज्यादा मग्न भएको देखिन्छ । भन्छन्, “म निर्देशनमै अब्बल छु ।” उनका कामले देखाएको पनि त्यही छ । तर निर्देशनमै उनको दिलचस्पी देखिन्न, जुन विरोधाभासपूर्ण छ । लुटपछि उनी निर्देशित टलकजंग भर्सेज टुल्केलुट २ मात्र रिलिज भएका छन् । कारण यसरी खुलाउँछन्, “स्क्रिप्ट चित्तबुझ्दो नभएपछि निर्देशन गर्न उचित देखिनँ । अन्य कामभन्दा निर्देशनमा संवेदनशील हुन्छु ।” तर निश्चललाई निर्देशकभन्दा गायक र आइटम डान्सरको छविले छोप्न थालेको छ । फिल्म खेल्न अन्य निर्माता–निर्देशकबाट चर्को डिमान्ड भए पनि उनको अभिनय अक्सर आलोचनाकै लायक भइदिन्छ । 

पछिल्लो उदाहरण हो, घामड शेरे । पत्नी स्वस्तिमा खड्कासँगै खेलेको यस फिल्मले न पैसा कमायो, न त निश्चलको अभिनयले प्रशंसा । बरु उनको साख र सिर्जनशीलतामा ह्रास आएको चर्चा चल्न थालेको छ । उनी आफैँले दुई वर्षअगाडि भनेका थिए, ‘मेरो शक्ति बढ्नुपर्नेमा घटिरहेको छ । म आफैँलाई आफ्नो काम चित्त बुझेको छैन । अब परिवर्तन भइनँ भने झन् ओरालो लाग्छु ।’ तीतो सत्य के भने त्यसयता उनमा उल्लेखनीय बदलाव देखिएको छैन । बरु घामड शेरेमा अभिनय सुधारिएको भनेर दंग छन् । दुई नयाँ फिल्म खेल्दै छन्, दिमाग खराबपारस

नेपालका सम्भवत: सबैभन्दा धेरै फ्यान भएका निर्देशक हुन्, निश्चल । यसले उनलाई ‘स्टार डाइरेक्टर’ का उपमा दियो । वितरक र निर्माताले फुक्र्याउन थाले, ‘तिमी फिल्म खेल, बम्पर ओपेनिङ गर्छ ।’ गिनेचुनेका निर्देशक नै उनलाई ‘केमियो’ गराउन मरिहत्ते गर्न थाले । ओस्कार इन्टरनेसनल फिल्म कलेजका निश्चलका सहपाठीहरू सुरुबाटै उनको चाहना अभिनयभन्दा निर्देशनमा रहेको र अभिनयमा भनेजस्तो मौका नमिलेपछि आफैँ निर्देशनमा कस्सिएको बताउँछन् । तर यसलाई निश्चल नकार्छन् । उनको भनाइमा लुटको उद्देश्य एउटै थियो, “आफूले हेर्न चाहेको तर नपाएको जस्तो फिल्म बनाउने ।” 

अभिनयको लोभ थिएन तर बुझ्दै गए निर्देशकले त्यसको तौरतरिका पनि सिक्यो भने अभिनेताबाट काम लिन सहज हुन्छ । त्यही बेला अनुप बरालले फिटकिरीमा अफर गरे, सिक्न पाइने लालसाले खेले । त्यही ताका कबड्डीमा उनको भूमिका र अभिनयले थोरबहुत तारिफ पायो, जसले अभिनयप्रतिको लगाव गाढा बनायो । उनी निर्देशित दोस्रो फिल्म आयो, टलकजंग भर्सेस टुल्के । बक्स अफिसमा अपेक्षाकृत नचम्किए पनि निर्देशकका रूपमा इमानदार प्रयास सराहनीय थियो । यहाँसम्म पनि निश्चल सही मार्गमै थिए तर लुट २ पछि उनमा धरमर सुरु भयो ।

लुट कालजयी फिल्म हो । व्यावसायिक लोभमा यसको सिक्वेल बनाउनु नै आफैँमा घातक निर्णय थियो । तर निश्चलले साख बचाउँछन् भन्ने अपेक्षा पनि उत्तिकै । महँगो बजेटमा धेरै प्रचार–प्रसारसहित फिल्म बन्यो । केही नाफा पनि कमायो तर फिल्मले आलोचना खेप्यो । अरूको के कुरा, निश्चलकै चित्त बुझेन । “लुट २ लाई ब्रान्डको भारले थिच्यो, कम्तीमा नाक जोगाओस् भन्ने थियो,” उनको मूल्यांकन छ, “तर लुटमा जुन पक्ष बलियो थियो र दर्शकले मन पराएका थिए, सिक्वेलमा कमजोर भयो । त्यसपछि म सोच्न बाध्य भएँ ।” कति हतोत्साहित भए भने अढाई वर्ष बित्यो, उनका नयाँ फिल्म आएका छैनन् र तत्काल आउने छाँट पनि छैन । दिमाग खराब र डामाडोल बनाउन लागिपरे तर बीचमै छाडिदिए ।

निर्देशनप्रतिको यही विरक्तिले निश्चल अभिनय, गायन र आइटम डान्समा रमाउन थाले । उनले नाचेको पहिलो गीत थियो, लुट २ को ‘ठमेल बजार...’ । भन्छन्, “प्रमोसनमा फाइदा पुगोस् भन्नेबाहेक नाच्नुको अर्को ध्येय थिएन तर त्यसपछि मलाई डान्सरजस्तै बनाइयो ।” उनी आफैँले गाएको, नाचेको पर्वको ‘काले दाइ...’ पनि हिट भयो । त्यसपछि दुई रुपैयाँमा अभिनय गरे । उनले मुख्य भूमिकामा अभिनय गरेको पहिलो फिल्म यही हो । 

निश्चलकै शब्दमा, यहाँसम्म आइपुग्दा हावादारी शैलीमा अभिनय गरिरहेका थिए । उनलाई थाहा थियो, लेखेको बोल्नु मात्र अभिनय होइन तर यस फिल्ममा यही शैली अपनाए । लुक्स र हल्काफुल्का चर्चाले चलिहाल्छ भन्ने सोचले काम गरे । यो फिल्म हिट पनि भयो तर आफ्नो अभिनय हेर्दा आपैँmलाई असहज भएछ । भन्छन्, “अभिनय नै गर्ने भएपछि अलि गम्भीर भएर गर्नुपर्छजस्तो लाग्यो । सौगात (मल्ल) दाइ, दयाहाङ (राई) दाइ र विपिन कार्कीसँग अनौपचारिक रूपमा सिक्न थालेँ ।” 

यही परिपक्वता आएपछि निश्चलले खेलेको फिल्म हो, प्रसाद । नि:सन्तान दम्पतीको कथा भनिएको फिल्ममा उनको नकारात्मक भूमिका थियो । फिल्मले ‘हाइप’ पायो तर निश्चलले चाहिँ आलोचना सहनुपर्‍यो, उनकै भूमिका र अभिनयले मूलकथाको लय बिथोलेको भन्दै । उनको स्पष्टीकरण यस्तो छ, “प्रसादमा क्यारेक्टरको औचित्य पुष्टि गर्न धेरै प्रयास गरे पनि ढंग पुगेन । निर्देशक (दिनेश राउत) ले दायरा तोकिदिएका थिए । निर्देशकले जस्तो चाह्यो, त्यस्तै गर्नुपर्‍यो ।” घामड शेरेको हकमा पनि उनको अभिनय त फितलो छ नै, पात्र पनि सतही लाग्छ । सोही कारण दर्शकले पात्र र उसको भोगाइलाई आत्मसात गर्नै सकेनन् ।

निश्चल मात्र होइन, आशा राखिएका प्राय: सबै निर्देशकको हालत यस्तै छ । अहिले कि बजारु कमेडीको लहड छ, कि बासी प्रेमकथाको घनचक्कर । नवीन विषय र शैली पछ्याएर सर्जकका रूपमा इमानदार प्रयास गर्नेको खडेरी छ । त्यसैले लुट रिलिजताकाकै नियति दोहोरिएला भन्ने चिन्ता बढ्न थालेको निश्चल स्वयंलाई हेक्का छ । र, बल्ल उनलाई लाग्न थालेछ, गीत गाएर, नाचेर र फिल्म खेलेर पो समय खेर फालेछु कि † तर दु:खेसो उही छ उनको, सबै जनराको स्क्रिप्ट लेख्न सक्दिनँ, राम्रो लेख्न पाइँदैन । त्यसैले निर्देशनबाट पछि हटिरहनुपरेको छ । लेखक बुद्धिसागरले उनका लागि लेखिरहेको स्क्रिप्टसँग चाहिँ उत्साही रहेछन् । क्राइम–थ्रिलरको एउटा कथा आफैँ लेख्दै छन् । “कम होस् तर स्तरीय फिल्म मात्र निर्देशन गर्छु । गर्नका लागि मात्र गर्दिनँ,” उनी भन्छन्, “दर्शकलाई चित्त बुझ्ने फिल्म बनाएर पैसा कमाउने हो, पैसा कमाउने मात्र उद्देश्य होइन । तर समस्या उही, लुटको बेन्चमार्क पुग्नै हम्मेहम्मे छ ।” 

प्रकाशित: मंसिर ९, २०७६

×