बाँसुरीमा औंला नचाउँदै ग्रामी अवार्डमा मनोनित मनोजसिंह नेवा को हुन् ?

बौद्धमा जन्मे-हुर्केका मनोज बाँसुरीको धुनसँगै कसरी ग्रामीसम्म पुगे ? यात्रा रोचक छ । 

- गोकर्ण गौतम

बाँसुरीवादक मनोजसिंह नेवाले, ४ मंसिरमा फेसबुकमा लेखे, ‘प्रिय देवा र मिटेनले मलाई फोन गरेर चकित पार्ने समाचार सुनाए, हामी ग्रामी मनोनयनमा परेछौं । यो हामी सबैका लागि सुखद समाचार हो ।’

संगीतका लागि विश्वकै सर्वोच्च पुरस्कार मानिने ग्रामी अवार्डमा नेपाली संलग्न संगीत सिर्जना मनोनयनमा परेको यो पहिलो अवसर हो । अमेरिकाको सानफ्रान्सिस्कोमा बस्दै आएका मनोज, जर्मनीकी देवा प्रेमल र बेलायतका मिटेनको संयुक्त एल्बम ‘देवा’ ग्रामीको ६२ औं संस्करणको 'बेस्ट न्यु एज एल्बम' विधामा छानिएको हो ।

गायत्री मन्त्रको भक्ति संगीतको यस एल्बममा ४१ वर्षे मनोजले बाँसुरीका असाधारण धुन त प्रस्तुत गरेकै छन्, गायन र कम्पोजिसनमा पनि उनको भूमिका छ ।

अमेरिकाबाट मनोजले खुसी बाँडे, “सात एल्बममा ग्रामीमा आइपुग्यौं, यसले हामीलाई औधी आनन्द र उर्जा दिएको छ ।” पश्चिमा दुनियाँमा उनी ‘मनोसे’ नामबाट परिचित छन्, स्टेज नेम यही हो । पासपोर्टमा अंग्रेजी हिज्जे लेख्न गडबड भएपछि मनोजबाट मनोसे भएका रहेछन् उनी। उक्त नामबाट जति ख्याती कमाए पनि उनलाई मनोजसिंह नै प्यारो लाग्दोरहेछ ।

बौद्धमा जन्मे-हुर्केका मनोज बाँसुरीको धुनसँगै कसरी ग्रामीसम्म पुगे ? यात्रा रोचक छ । 

मनोज ८ वर्षका थिए, बाँसुरी हातमा पर्दा । सुरुमै बाँसुरी र यसको धुनले विछट्टै प्रेम जगायो । भन्छन्, “भगवान श्रीकृष्णको कृपाले बाँसुरीप्रति लगन पैदा भयो । बौद्ध स्तुपाभित्र र पशुपतिद्वार पुगेर बजाउन थालें ।” धेरैका लागि संगीत मनोरञ्जनको माध्यम हो, बाँसुरी बजाउनुभित्र यस्तै चाह लुकेको हुन्छ तर मनोज बाँसुरीसँग अध्यात्मिक हिसाबले नजिक भए, अन्तरमनको खुसीका लागि बाँसुरीसँग खेल्न थाले ।

पशुपतिको किराँतेश्वरमा गएर बजाउन थालेपछि उनले थाहा पाए, त्यहाँ किराँतेश्वर संगीत आश्रम छ । त्यहाँ उनको भेट भयो, गुरु मदनदेव भट्टसँग । यो सामिप्यले उनको बाँसुरी वादनकलामा निखार ल्याउन भूमिका खेल्यो । मदन गुरुसँग सिकेपछि शास्त्रीय संगीतको बालप्रतियोगितामा प्रथम भए । त्यसपछि अन्य स्वनामधन्य कलाकारसँग सिक्ने र संगत गर्ने माहोल जुर्‍यो । रेडियो नेपाल र नेपाल टेलिभिजनमा बजाउने मौका पाए । 

मनोजले आफूलाई भाग्यमानी ठान्ने कारण अनेक छन् । तीमध्ये एक हो, १६–१७ वर्षकै उमेरमा उनले नेपालको प्रतिनिधित्व गर्दै विदेशमा बाँसुरी बजाउन पाए । 

झन्डै दुई दशक अगाडिको कुरा हो, होमनाथ उपाध्याय, ध्रुवेशचन्द्र रेग्मी, अतुल गौतम, प्रमोद उपाध्याय र मनोजको समूह थियो, प्रस्तार । यो समूह नेपालको मौलिक र परम्परागत संगीत पस्कँदै जर्मनी, स्वीट्जरल्यान्ड, अमेरिकालगायत धेरै देश पुग्यो । यसबाट मनोजले पश्चिमा दुनियाँको पूर्वीय दर्शन र संस्कृतिप्रतिको आकर्षण नियाल्न पाए । ध्रुवेश र अतुलसँग मिलेर सुकर्म ब्यान्ड खोले । 

त्यसबेला भर्खरै खुलेको १९७४ एडी ब्यान्डले सुरुमै वाहवाही पाउन थालिसकेको थियो । मनोज यसको सुरुवाती सफलतामै जोडिन पुगेका थिए । उनका अनुसार आधुनिक संगीत लिएर विदेश जाने क्रम १९७४ एडीबाटै सुरु भएको हो । त्यसअगाडि विदेशमा परम्परागत संगीत मात्र जान्थ्यो । भन्छन्, “यस ब्यान्डमार्फत मैले लोक र शास्त्रीय संगीतलाई ज्याज र रकमा अन्तरघुलित बनाएँ, बाँसुरीको सहारामा ।” ब्यान्डको 'पिँजडाको सुँगा...', 'सम्झी बस्छु...' लगायतका लोकप्रिय गीतमा मनोजको यो फ्युजन सुन्न पाइन्छ ।  

बाँसुरी बजाउँदै अमेरिका पुगेपछि मनोजलाई हेक्का भएछ, यहाँ दर्शक/श्रोताको आयतन निकै फराकिलो छ । आप्रवासीको देश भएकाले अमेरिकामा सबै देशका संस्कृति छन्, तिनलाई सम्मान पनि गरिन्छ । भारतका ठूला  कलाकारहरू जाकिर हुसैन, रविशंकरले पनि अमेरिकाबाटै संघर्ष गरे । भन्छन्, “अमेरिका ‘क्याटलिस्ट’ रहेछ । यहाँ जे रुचाइयो, संसारले त्यही रुचाउने रहेछ भनेर बुझें ।”

देवा प्रेमल र मिटेनका साथमा मनोज । 


यसपछि मनोज अमेरिकाकै स्थायी बासिन्दा भए । उनलाई थाहा थियो, नेपाल भौगोलिक रुपमा सानो छ तर संस्कृतिले भरिपूर्ण । त्यसैले अमेरिका बसाईको सुरुबाटै उनी नेपाल, बौद्ध र हिन्दु धर्म फैलाउन अग्रसर भइराखे । त्यतिबेला उनलाई लागेको थियो रे, नेपाल भन्दा यहाँ बस्दा नेपाली धर्म–संस्कृति र संगीतको विस्तारमा योगदान गर्न सक्छु । यो बुझाईले पूर्णता पाउँदै गयो ।ग्रामी मनोनयन त्यसको पछिल्लो कडी हो । 

मनोजले आफूलाई भाग्यमानी मान्ने अर्को कारण पनि छ । उनी अमेरिकामा बस्न थाल्नु र योग अनि पूर्वीय दर्शनप्रति उत्साह चुलिनु एकै समयमा भयो । बाँसुरी बजाउन कति माहिर भने विदेशीलाई विदेशी पारामै बजाउँथे, नेपालीलाई नेपाली शैलीमा । यही गुणले विदेशीलाई पनि उनको धुनले छिट्टै मन्त्रमुग्ध बनायो । सान फ्रान्सिस्कोका धेरै ठाउँबाट बाँसुरी बजाउन निम्तो आउन थाल्यो । त्यही बेला भेट भयो, देवा र मिटेनसँग । पूर्वीय दर्शनप्रति उनीहरूको प्रेम थियो, आध्यामिक भावले गाएको गीत र मन्त्रले मनोजलाई तान्यो ।

उनी सम्झन्छन्, “उहाँहरूले चाहिँ मेरो बाँसुरी सुनेपछि कृष्णको धुनजस्तो मिठो भन्न थाल्नुभयो । सँगै काम गर्दा पशुपति र बौद्ध चिनाउन पनि सहज हुन्छ भन्ने लाग्यो । मेरा लागि देश भनेकै धर्म र संस्कृति हो ।” १५ वर्ष बित्यो उनीहरुको सहकार्य भएको । देवा र मिटेनको भेटचाहिँ भारतमा भएको रहेछ, पछि उनीहरूले विवाह गरे ।

बाँसुरी बजाउनुमा मनोजको स्वार्थ र महत्त्वाकांक्षा थिएन । कसैको लागि होइन, साधना र पूजाको रुपमा आफ्नै लागि बजाउँथे । सुन्ने जति सबैलाई उनको विलक्षण बाँसुरी वादनकलाले मोहित बनाउँदै लग्यो । तर उनले आफ्नो जरा अर्थात बौद्ध–हिन्दु धर्म संस्कृतिलाई पटक्कै भुलेका छैनन् । अघिल्लो वर्ष काठमाडौं हाडीगाउँ बस्ने फुपूलाई अमेरिका बोलाए । फुपू सानैबाट भजन गाउँथिन्, पशुपति कुञ्जमासमेत उनका स्वर गुन्जिएका छन् ।

अमेरिका जाँदा जब मनोजले फुपूबाट ‘हरे राम...’ भजन सुने, उनलाई लाग्यो, यो एल्बममा राख्नुपर्छ । मिटेन र देवासँगको छलफलपछि यो भजन ‘देवा’ एल्बममा अटाएको छ । देवा र मनोजले मिलेर गाएका छन् । मनोजको कम्पोजिसनमा रविशंकरकी छोरी अनुष्काशंकरले सितारा बजाएकी छन् । भन्छन्, “भजन भनेको संस्कृतिको अमूल्य गहना हो । हाम्रो भजनलाई संसारभरका मान्छेले सुनेर मन पराउनु भयो, यो ठूलो सफलता हो ।” 

मनोजका अनुसार उनीहरूको समूहले संगीत मात्र होइन, अध्यात्मको पनि प्रचार गरिरहेको छ । पूर्वीय दर्शनका भोका धेरै छन्, संगीतमा ढालेर प्रस्तुत गर्दा उनीहरूलाई बुझाउन सजिलो हुन्छ । बाँसुरीको आवाजमा यस्तो जादु हुन्छ, जसबाट सुन्नेको हृदय खुलिसकेको छ ।

दक्षिण अमेरिकी मुलुक चिलीमा मनोजको समूहको कन्सर्टका दर्शक ।


यही स‌ंगीतको झंकार लिएर मनोजको समूहले युरोप, अमेरिका, दक्षिण अमेरिका, क्यानडासहित धेरै मुलुकमा सांगीतिक यात्रा गरिसकेको छ । रुसको मस्कोमा त एकै पटक ६ हजार दर्शक मनोजको धुनसँग लठ्ठिए । रुसमा मात्र बाँसुरी बजाउन ११ पटक पुगिसके । सन् २०११ मा भारतमा मनोजको समूहले प्रस्तुति दियो ।

नेपालमा भने अहिलेसम्म त्यो मौका जुरेको छैन । तर अर्को वर्ष नेपालमा कार्यक्रम गर्ने योजना बुनेका छन् उनले । भन्छन्, “पशुपतिको किराँतेश्वरमा बसेर बाग्मतीसामु बाँसुरी बजाउनु जत्तिको आनन्द अन्त कतै आउँदैन ।”

आशा गरौं, टिम मनोजले ग्रामी जित्नेछ । त्यसपछि त किराँतेश्वरमा बाँसुरी बजाउँदाको आनन्द झनै दोब्बर होला ! 


सबै तस्बिरहरू मनोजसिंह नेवाले उपलब्ध गराएका हुन् ।

प्रकाशित: मंसिर १०, २०७६

×