विदेशी फेस्टिभलहरूमा वाहवाही लुटिरहेको एउटा सिनेमा, जसको नेपालमा चर्चा छैन

  • रंग

- गोकर्ण गौतम

एसियाको प्रतिष्ठित बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको २४ औँ संस्करणमा एउटा नेपाली फिल्मको ‘वर्ल्ड प्रिमियर’ भयो, आमा खान्डो । यही फिल्म इन्टरनेसनल फिल्म फेस्टिभल अफ इन्डिया, गोवामा स्क्रिनिङ भयो । काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) को १७ औँ संस्करणका लागि छानिएको छ । संसारका अन्य ख्यातिप्राप्त सिने–महोत्सवबाट पनि फिल्म युनिटले निम्तो पाइरहेको छ । तर न फिल्मवृत्तमा चर्चा छ, न त मिडियामा ।

गोवा महोत्सवमा वाहवाही पाएपछि पुलकित भएका फिल्म निर्देशक दुन्डुप छिरिङ १७ मसिंरमा नेपालसँग भन्दै थिए, “हामीले खुरुखुरु फिल्म बनायौँ, फेस्टिभलतिर पठायौँ, अरू यताउता गर्ने ध्यानै भएन ।” काठमाडौँ सिफलमा भेटिएका छिरिङका साथमा थिइन्, फिल्मकी मुख्य कलाकार पेमा ढोका गुरुङ । बौद्ध दर्शनमा स्नातकोत्तर छिरिङ अनि मुस्ताङ कागबेनीमा रेस्टुराँ चलाएर जीविकोपार्जन गरिरहेकी पेमाको सपनामा समेत फिल्म थिएन । तर आफ्नो पहिलो फिल्मबाटै यी दुवैले राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रसिद्धि पाउँदै छन् । पेमाले सुनाइन्, “गोवामा समुद्र देखेँ, खुसी लाग्यो तर पहिलो पटक हलमा आफ्नो फिल्म हेर्दा रोएछु, पर्दामा देखिने मान्छे मै हुँ भन्ने नै भुलेछु ।” आमा खान्डोकी आमा हुन्, पेमा । 

आमा खान्डोको कथा यसरी सुरु हुन्छ ।

निर्देशक दुन्डुप छिरिङ र अभिनेत्री पेमा ढोका गुरुङ । तस्बिरः महेश प्रधान


छिरिङका एक सिनेमाटोग्राफर साथी थिए, आली रसिद । माल्दिभ्सका रसिदले नेपाली फिल्म शेर्ढाक खिचेका थिए । तर मुस्ताङको जीवनशैली दृश्यचित्रमा पोख्ने प्यास मेटिएन । रसिदलाई थाहा थियो, मुस्ताङको भाषा, संस्कृति, रहनसहन, व्यवहारमा भिजेकाले मात्र जीवन्त स्क्रिप्ट लेख्न सक्छन् । त्यसका लागि मुस्ताङमै बाल्यकाल बिताएका छिरिङबाहेक अर्को उपयुक्त पात्र भेटेनन्, उनले । समस्या के भने, छिरिङलाई स्क्रिप्टको कखरासमेत थाहा थिएन, हल्काफुल्का फिल्म हेर्ने भए पनि यसको लेखनीबाहेक पूर्ण बेखर । छिरिङ सम्झन्छन्, “जब मलाई स्क्रिप्ट लेख्न आग्रह गरियो, सुरुमा सक्दै–सक्दिनँजस्तो लाग्यो तर म कहिलेकाहीँ ब्लगहरू लेख्थेँ । मुस्ताङकै कथा लेख्नुपर्ने भएपछि थप आत्मविश्वास र लोभ पलायो ।” 

छिरिङ हुर्कंदै गएपछि मुस्ताङसँग दूरी बढ्दै गयो । अध्ययनका सिलसिलामा पोखरा, काठमाडौँ हुँदै भारतसम्म पुगे । तर जहाँ जाँदा पनि मुस्ताङको मौलिक जीवनशैली मासिँदै गएकामा चिन्ता हुन्थ्यो । मुस्ताङको भाषा र आनीबानीलाई सिनेमाले संरक्षण गर्ने आशाले उनमा उत्साह जगायो । त्यसका लागि मुस्ताङका अनेक आयाम समेटिएका सुन्दर कथा लेख्नु थियो । 

यात्रा सुरु भयो, माल्दिभ्सबाट । पटकथा लेखनको औपचारिक अध्ययन गर्न त्यहाँ पुगे । फर्किएपछि युट्युबमा मूर्धन्य पटकथाकारका अनुभव सुने । पटकथाको संरचना र शैलीबारे प्रशस्त ज्ञान बटुलेपछि बल्ल लेख्न थाले । दुई वर्ष लाग्यो, फाइनल ड्राफ्ट तयार हुन । त्यतिबेलासम्म फिल्ममा उनको भूमिका पटकथाकारमा सीमित थियो । निर्माण पक्षले निर्देशनका लागि अरूसँग सल्लाह गर्दै थियो । जब रसिदले स्क्रिप्ट पढे, निर्देशक ‘आउट साइडर’ भएर हुन्न, मुस्ताङकै चाहिन्छ, अन्यथा लेखेको कुरा सजीव शैलीमा पर्दामा आउँदैन भन्ने मत राखे । निर्माता र अन्य प्राविधिक टिम पनि रसिदसँग सहमत भए । सबै निष्कर्षमा पुगे, निर्देशन पनि छिरिङले नै गर्ने ।

छिरिङका लागि यो अवसर र चुनौती दुवै थियो । यसलाई उनले सहर्ष स्वीकारे किनभने स्क्रिप्ट तयार भएपछि आफैंले बनाउनुपर्छ भन्ने चाह पैदा भएको थियो, उनमा । निर्देशन सिक्नका लागि बाहिर जाने समय थिएन । त्यसैले फेरि युट्युबकै सहारा लिए । मन परेका सिनेमाको ‘बिहाइन्ड द सिन’ हेरे । निर्देशकहरूको ‘लेक्चर’ सुने । क्यामेरा एंगलका बारे खोतले । केही महिनाको स्वअध्ययनपछि ‘लोकेसन हन्टिङ’ का लागि मुस्ताङ पुगे । त्यतिबेलासम्म कलाकार छनोट भएका थिएनन् । हुलिया, लवजमा आधिकारिकता चाहिने भएकाले मुस्ताङकै स्थानीयलाई खेलाउनुको विकल्प थिएन । 

मुस्ताङ जाँदा छिरिङको हातमा एउटा फोटो पर्‍यो । आमालाई देखाउँदै भनेछन्, ‘तपाईं जवानीमा यस्तै हुनुहुन्थ्यो ?’ आमाले फोटो देख्नासाथ भनिछन्, ‘हो, यस्तै थिएँ ।’ आमाले यत्ति भनेपछि छिरिङलाई लाग्यो, मैले चाहेको मुख्य पात्र यही हो । त्यो फोटो थियो, पेमाको । मुस्ताङमै सुटिङ भएको शेर्ढाकमा उनले एकदम छोटो भूमिकामा अभिनय गरेकी थिइन् । त्यसकै फोटो छिरिङसम्म पुगेको थियो । जब पेमाले कथा सुनिन्, उनलाई लाग्यो, यो कथा मेरै हो, त्यो पात्र मै हुँ । 

किन ?

किनभने फिल्मकी मुख्य पात्रझैँ पेमा पनि एकल आमा हुन् । उनका दस वर्षे छोरा छन् । उनले जीवनमा जति संघर्ष गरेकी छन्, त्यही छोराको सुखद भविष्यका लागि हो । र, फिल्मकी आमा पनि उसैगरी छोराको सुनौलो भविष्यका खातिर अहोरात्र खट्छिन् । 

बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको रेड कार्पेटमा निर्देशक दुन्डुप छिरिङ (दायाँ) ।


चरित्रमा आफूलाई पाएर हुनुपर्छ, पेमाका दृश्य पहिलो टेकमै ‘ओके’ हुन्थे । भन्छिन्, “मलाई अभिनय गरेजस्तै लागेन । वास्तविक जीवनमा म जे गर्थें, क्यामेरासामु त्यही गरेँ ।” बरु लवजमा थोरै मिहिनेत गर्नुपर्‍यो । उनी तल्लो मुस्ताङकी स्थायी बासिन्दा हुन्, फिल्ममा उनले बाँचेको चरित्र उपल्लो मुस्ताङको । त्यसैले भाषा मुस्ताङी भए पनि भेगअनुसार लवज भिन्न छ । लोमान्थाङ, चाराङ, घरगुम्बा, ढाक्मालगायत क्षेत्रमा सुटिङ गरिएको छ । 

आमा खान्डोको अर्को उल्लेखनीय पक्ष के भने विदेशी फन्ड लिएर यो फिल्म बनाइएको होइन । न त विदेशी वितरक र प्रदर्शकसँग नै सहकार्य गरिएको थियो । त्यसैले बजेट बचाउन निर्देशकसहित जम्मा सात जना थिए, सुटिङ युनिटमा । वर्षाले घरिघरि सुटिङ रोकिन्थ्यो । मौसमसँग लुकामारी गर्दै ४५ दिनमा फिल्म खिचे । यही सिनेमाका लागि आकर्षक तलब–सुविधा भएको गैरसरकारी संस्थाको जागिर छाडेका छिरिङ भन्छन्, “मन छुने कथा भनेर मुस्ताङको लोपोन्मुख परम्परा र जीवन जोगाउने जमर्को गरेका छौँ । पहिले विदेशी फेस्टिभल र थिएटरमा चलाउने, त्यसपछि नेपालमा रिलिज गर्ने योजना छ ।” 


तस्बिरहरू फिल्म युनिटले उपलब्ध गराएको हो । 

प्रकाशित: मंसिर १७, २०७६

×