पढ्नुहोस्, ‘माछा माछा’ को समीक्षा

- गोकर्ण गौतम

काम छैन, दामको चर्को अभाव छ । खाने, बस्नेसमेत टुंगो छैन । त्यसैले पैसाकै लागि अपराध गर्नुपर्ने बाध्यता आइलाग्छ, हत्या, अपहरण, लुटपाट यस्तै–यस्तै । तर ढंग पुग्दैन, एकपछि अर्को संकटमा फस्नुपर्छ । उज्यालो होला भनेको जीवन झन् अन्धकारतिर धकेलिन्छ ।

यही कथाको आसपासमा दर्जनौँ फिल्म बनेका छन् । नेपाली फिल्मवृत्तका लागि कोसेढुंगा मानिने लुट पनि करिब यस्तै छ । लुटपछि त यस्तै कथा र शैलीमा फिल्म बनाउने होडबाजी नै चल्यो । यसको धङधङी अझ अन्त्य भएको छैन । प्रमाण हो, माछा माछा । बासी कथा नै सही, प्रस्तुति रोचक हुन सक्थ्यो तर निर्देशक सुनील गुरुङ यस मामलामा पनि चुकेका छन् । निर्देशक नयाँ हुन् तर फिल्मका पात्र, कथाउठान, विकासक्रम, अन्त्यसम्म नयाँपन आभास हुन्न । हरेक दृश्य पहिल्यै कतै देखे–देखेझैँ लाग्छ । केही पन्चलाइन र त्यसको टाइमिङले मात्र त फिल्मलाई बचाउँदैन ।

प्रदीप (सौगात मल्ल), बाबुराम (विजय बराल) र किशोर (अनोज पाण्डे) राजधानीमा सँगै बस्छन् । इलम छैन, कोठाभाडा तिर्नै धौधौ छ । खाना पकाउने ग्याससमेत छैन । त्यही बेला उनीहरुलाई मान्छे मार्नुपर्ने, त्यसबापत २० लाख रुपैयाँ पाउने अफर आउँछ तर सम्झौताअनुरुप हत्या गर्न लाग्दा अनेक फसाद आइलाग्छ । त्यसबाट उम्कने हत्कन्डा र तनावसँगै फिल्मअगाडि बढ्छ । क्राइम जनराका औसत पारखीले यसको क्लाइमेक्स सहजै अनुमान लगाउन सक्छन् । 

फिल्ममा प्रधान अर्थ रहन्छ, निर्देशकको मौलिक अवधारणा र त्यसलाई मूर्त बनाउने स्क्रिप्टको । परम्परागत सूत्र र शैलीबाट निर्देशक प्रताडित भयो भने फिल्मको सौन्दर्य लोप हुन्छ । सिनेमाले स्वतन्त्र संसार निर्माण गर्न र त्यसमा दर्शकलाई सयर गराउन चुक्छ । चिया पसलका ग्राहक, उनीहरुको गफ र छेवैको रेडियोमा बजिरहेको समाचारसहितको पहिलो दृश्य नै थोत्रो लाग्छ । यही नियतिलाई निरन्तरता दिन्छ, मुख्य पात्रको प्रवेश, उनीहरुको लथालिंग कोठा, संकटबाट गुज्रेकै बखत आउने ‘सुनौलो प्रस्ताव’ आदि–आदिले । खासमा नयाँ र रोचक दृश्य सिर्जनुभन्दा पुरानैले काम चलाउन खोजेको ध्येय देखिन्छ, लेखकसमेत रहेका निर्देशकमा । 

मुख्य पात्रको चरित्रचित्रणसमेत रोचक र नवीन छैन । प्रदीपको घरबेटीको छोरीसँग लभ परेको छ, पैसा कमाएर बिहे गर्ने योजना छ उसको । ‘पैसा पठाइदेऊ’ भनेर किशोरकी आमाले गाउँबाट फोन गरिरहन्छिन् । उनीहरुलाई सोझा र निर्दोषकै रुपमा देखाइन्छ । तर एक्कासि मान्छे मार्न राजी हुन्छन् । चरित्रमा यस्तो व्यापक रुपान्तरणका लागि चाहिने विश्वसनीय संघर्षचाहिँ देख्न पाइन्न । जबकि उनीहरुको पीडा राजधानीका ‘बाहिरिया’ ले भोग्ने साझा संकटभन्दा खास गहिरो छैन । अनि, पैसा पाउनसाथ डान्सबार दौडने, सम्पत्तिका हरणका लागि युवतीको प्रयोग गर्ने, क्यासिनोमा घरबार सक्ने, अपराधमा गरिब आफन्त संलग्न गराउने, अवैध धन्दामा संलग्नहरुले एकअर्कालाई सिध्याउन खोज्ने दृश्यहरु उस्तै रंगरोगनमा कति हेर्नु ? न मूलकथा ताजा छ, न त त्यसभित्रका उपकथा र पात्रहरु नै ।

कतिपय दृश्य र संवाद हाँसो पैदा गर्न सक्षम छन् । प्राय: दृश्यको पिँधमा हँसाउने नियत छ । मुख्य तीन पात्रमध्ये किशोरले कम ‘स्पेस’ पाएको छ तर उसको आनीबानीले ध्यान तान्छ । आफ्नी प्रेमिकालाई केटा माग्न आउँदा चिया बोकेर जाने दृश्य हसाँउनकै खातिर राखिएको छ, यसले उसको प्रेम र पात्रलाई निम्छरो बनाउँछ । तर हास्यपरक र चोटिला संवाद, दृश्यअनुरुप लोकेसन, पात्रको रहनसहनजस्ता पक्षमा ध्यान पुर्‍याइएको छ । ध्रुव कोइरालाको हुलिया, व्यवहार र बोल्ने शैली हुबहु आम भिलेनभन्दा रत्तिभर अलग छैन । माछा माछाको वजन गिराउन भूमिका खेलेको छ, पाश्र्वसंगीतले । यति कर्कश र लाउड छ कि दृश्यको भावलाई भताभुंग पारिदिन्छ । जबकि दृश्य कमजोर भएपछि त्यसलाई ढाकछोप गर्न ध्वनिको सहारा लिएको प्रतीत हुन्छ । 

अलि गहिरिएर हेर्दा ठ्याक्कै मेसो पाइन्छ, लुट २ र यस फिल्ममा प्रवीण खतिवडाको भूमिका करिब उही हो । लुट २ की एलिसा राईचाहिँ यसकी सरिता गरी अनि नम्रता श्रेष्ठचाहिँ लुटकी ऋचा शर्माझैँ । किशोरमा धमालका जावेद जाफ्रीको झल्को मिल्छ । सौगात मल्लको फिल्म छनोट र अभिनय केही वर्षयता प्रत्युत्पादक बनिरहेको छ तर यसपटक पनि पटकथामा उपलब्ध दायराभित्र चरित्र जीवन्त बनाउन चुकेका छन् । यसो पनि भन्न सकिन्छ, यही स्तरको फिल्म, चरित्र र अभिनयले सौगातप्रतिको अपेक्षा पूरा हुन्न । 

भूमिका सशक्त नभएझैँ विजय बरालको अभिनय विशेष लाग्दैन, औसत मात्र हो । अनोज पाण्डेको प्रस्तुति यही कोटीमा पर्छ । फिल्मकी ‘एक्ली हिरोइन’ भए पनि नम्रता श्रेष्ठको भूमिका असाध्यै खुम्चाइएको छ । प्रवीण खतिवडा, भोलाराज सापकोटा, सरिता गिरीजस्ता सहायक कलाकार आफ्नो भूमिकामा फिट नै छन् । पहिलो प्रयास भए पनि निर्देशक सुनील गुरुङप्रति सहानुभुति राख्न सकिन्न । कारण, यसमा सुनीलको ‘आफ्नोपन’ छँदै छैन । दयाहाङ राई र रामबाबु गुरुङले यस्तो ‘बासी प्याकेज’ मा किन लगानी गरे ? उदेक लाग्छ । 

नाम माछा माछा भए पनि खासमा यो ‘माछा माछा भ्यागुता’ नै हो । थोरै मात्र सिनेचेत भएका र नवीन खुराक खोज्नेलाई यसले रत्याउन सक्दैन । हल्काफुल्का कमेडीमै रमाउनेले चाहिँ हेर्दा हुन्छ । 


फिल्म : माछा माछा

निर्देशक : सुनील गुरुङ

विधा : क्राइम–कमेडी

समय : २ घन्टा ५ मिनेट 

कलाकारहरू : सौगात मल्ल, विजय बराल, अनोज पान्डे, नम्रता श्रेष्ठ आदि ।

रेटिङ : १.५/५

प्रकाशित: मंसिर २०, २०७६

×