पढ्नुहोस्, ‘पति पत्नी और वो’ को समीक्षा

- गोकर्ण गौतम

घरमा माया गर्ने पत्नी छिन्, परिवार खुसीसँग चलिरहेको छ तर पतिलाई त्यतिले पुग्दैन । बाहिर मन डुलाउँछन् । यही स्वभावले सम्बन्धमा विग्रह आउँछ । आधुनिक भनिएको अहिलेको पुस्ताले झेलिरहेको नियति हो, यो । बर्सेनि डिभोर्स बढिरहेको खबरले यसलाई पुष्टि गर्छ । बलिउडका निर्देशक मुदस्सर अजिजले यो उल्झनमाथि फिल्म बनाएका छन्, पति पत्नी और वो । यही नाममा चार दशकअगाडि बनेको फिल्मको रिमेक हो, यो । रिमेक फिल्ममा हुनुपर्ने आधारभूत मान्यताअनुसार निर्देशकले वर्तमान समयसँग सर्लक्कै ‘एडेप्टेसन’ गरेका छन् । त्यसैले त विवाहित जोकोहीले फिल्ममा कहीँ न कहीँ आफूलाई पाउँछ । पात्र र तिनका भोगाइ आत्मीय लाग्छ, प्रस्तुति रोचक ।

उत्तरप्रदेशका अभिनव सिंह उर्फ चिन्टु (कार्तिक आर्यन)शालीन छन् । उनी इन्जिनियर हुन्, पत्नी वेदिका (भूमी पेड्नेकर)चाहिँ शिक्षिका । वेदिका नयाँ दिल्ली सिफ्ट हुन्छिन्, चिन्टुलाई कानपुर नै प्यारो छ । विवाह गरेको तीन वर्ष बितिसकेकाले बच्चा पाउन परिवारले दबाब दिइरहेको छ । तर पनि उनीहरुको सम्बन्ध प्रेमपूर्ण छ । रुपवती तपस्या (अनन्या पान्डेय)सँग चिनजान भएपछि भने चिन्टुको पत्नीव्रता गुण तोडिन्छ । तपस्यासँग नजिक हुन वेदिकाको आनीबानीबारे झुट बोल्छन् । यो क्रम बढ्दै गएपछि तीनैजनाको जीवनमा आउने उतारचढावमै केन्द्रित छ, फिल्म । क्लाईमेक्स लगभग अन्दाज लगाउन सकिन्छ ।

बलिउडमा यतिबेला दुई खेमा स्पष्ट देखिन्छ । एउटा, ठूलो बजेटमा ठूला स्टारलाई लिएर ‘भव्य’ देखिने फिल्म बनाउने । अर्को, सानो वा मध्यम बजेटमा मझौला कलाकारलाई लिएर गतिलो फिल्म बनाउने । पति पत्नी और वो दोस्रो प्रकृतिको फिल्म हो, जसमा तामझाम छैन, महँगो सेट र भीएफएक्स छैन, ‘लार्जर देन लाइफ’ केही छैन । छ त केवल, समाजकै पात्र र प्रवृत्ति अनि त्यसको सुन्दर कथावाचन । फिल्म जति अगाडि बढ्छ, कौतूहलता उति थपिन्छ । पात्रहरुबीचको समीकरण खँदिलो छ । चिन्टुको साथी फहिम (अपारशक्ति खुराना) परम्परागत पात्र नै हो तर निर्देशकले उनको औचित्य वजनदार बनाएका छन् । 

दैनिक जीवनका स–साना भोगाइलाई प्रभावकारी ढंगले उनिएको छ । चिन्टुको आर्थिक उन्नतिको रफ्तार पस्कने मामलामाचाहिँ हत्तारिएझैँ लाग्छ । सुरुआती दृश्यमै मूलपात्र स्थापित गराइन्छ । जस्तो: केटी माग्न जाँदा सोध्नुपर्ने प्रश्नावली लेखेर लगेका छन्, चिन्टुले । अनि, आफ्नो हुनेवाला पतिले के मन पर्छ भनेर सोध्दा वेदिका निर्धक्क भनिदिन्छिन्, ‘सेक्स’ । उनीहरुको विवाह हुनासाथ फिल्म मूलकथातिर लागिहाल्छ, पात्र र लोकेसनअनुरुप गति लिनु प्रशंसनीय हो । यसका लागि अजिजलाई ‘डबल’ बधाई दिनुपर्छ किनभने फिल्मको लेखक पनि उनै हुन् ।

समाजमा जस्तै सिनेमाका महिला पात्र ‘बोल्ड’ हुनथालेका छन् । त्यसको उदाहरण हुन्, वेदिका, जसलाई आफ्नो पतिसँग पूर्वप्रेमीबारे भन्न धक छैन, न पतिको बाहिर सम्बन्ध छ भन्ने थाहा पाएपछि सहेर बस्छिन् । तर स्वतन्त्रताको नाममा पारिवारिक दायित्व र इमानदारी कुल्चेकी छैनन् अनि चिन्टुचाहिँ त्यस्तो प्रतिनिधि पात्र हो, जो थाहै नपाई परस्त्रीको प्रेममा फस्छ र पत्नीप्रति दूरी राख्छ । यो सम्बन्धलाई हास्यरसमा पस्किएकाले कतै झर्को लाग्दैन । तर हँसाउनकै खातिर पात्र र कथाको परिधिलाई नाघिएको छैन ।

दृश्य आफैँमा बलिया छन्, संवादले अझ सशक्त बनाएको छ । नेपाली फिल्ममेकरहरु बजेट कम भयो भन्दै रोइलो मच्चाउँछन् अनि हँसाउने बहानामा कथामाथि अन्याय गर्छन् । यो फिल्मबाट सिक्न खोज्ने हो भने उनीहरुको बुझाइको नयाँ ढोका खुल्न सक्छ ।

मध्यान्तरपछि डोगा (सन्नी सिंह) को उदयले रोचकता वृद्धि गर्छ । सम्झनलायक अर्को पात्र हो, वेदिकालाई मन पराउने उनकै विद्यार्थी राकेश यादव (सुभम कुमार) । तर चिन्टु र वेदिकाको ‘ब्रेकअप’झैँ पुनर्मिलन स्वाभाविक लाग्दैन । ‘ह्याप्पी इन्डिङ’को चक्करमा पात्रहरुको अविश्वसनीय चालढाल देखाइन्छ । फेरि हिन्दी फिल्मका नियमित दर्शकलाई क्याइमेक्सको ‘ट्वीस्ट’ नयाँ पनि लाग्दैन । त्यस्तै, चिन्टु र वेदिकाझैँ तपस्याको चरित्र दमदार छैन, जबकि अन्य दुई पात्रको बुझाइमा परिवर्तन ल्याउन उनकै भूमिका हुन्छ । मध्यमवर्गीय पुरुषको निरीहपनलाई अतिरन्जित गरिएको भान हुन्छ । रिमेक भएकाले यस फिल्म नयाँ आइडियाचाहिँ होइन । 

प्यारका पञ्चनामाबाट चम्किएका कार्तिक आर्यनको करिअर निरन्तर उकालो लागिरहेको छ । चरित्रलाई आत्मसात् गर्दै अभिनय कुशलता पस्कन सफल छन् । बलिउडमा उनलाई ‘नेक्स्ट सुपरस्टार’को रुपमा हेर्न थालिएको त्यतिकै होइन । भूमी पेड्नेकर यस्तो कलाकार हुन्, जसले ‘हिरोइन’को मानक भत्काइदिइन् । महिलाप्रधान चरित्रमा देखिनु र त्यसलाई जीवन्तता दिनु उनको विशेषता हो । वेदिकामा त्यसकै झल्को पाइन्छ । भूमिका र अभिनय दुवै हिसाबमा डेब्यु फिल्म स्टुडेन्ट अफ द इयर २ भन्दा यस फिल्म अनन्या पाण्डेका लागि गर्वलायक छ । कानपुरको जीवनशैली र वस्तुस्थितिलाई प्राकृतिक शैलीमा खिचिएको छ । ‘धीमे धीमे...’, ‘अखियों से...’जस्ता गीत सुमधुर छन् । मध्यम बजेटमा मध्यम सहरको शानदार कथा भन्ने मामलामा निर्देशक अजिजले आफ्नो अब्बलता पस्किएका छन् । 

रमाइलो र चोटिलो फिल्म हेर्न चाहने जोकोहीलाई पति पत्नी और वो प्रिय लाग्छ । विवाहित पुरुषलाई त विशेष खुराक भइहाल्यो । 

फिल्म : पति पत्नी और वो

लेखक/निर्देशक : मुदस्सर अजिज

कलाकार : कार्तिक आर्यन, भूमी पेड्नेकर, अनन्या पान्डेय आदि ।

विधा : रोमान्टिक–कमेडी

समय : २ घन्टा ५ मिनेट ।

रेटिङ : ३/५

प्रकाशित: मंसिर २७, २०७६

×