पढ्नुहोस्, गुड न्युजको समीक्षा

- गोकर्ण गौतम

हामीकहाँजस्तै भारतमा पनि सिनेमा र समाजको दूरी बढिरहेको छ । राष्ट्रवादको अतिरञ्जित चित्रण र बकम्फुसे कमेडी फिल्मको बाहुल्य छ, बलिउडमा । कोही सस्तो मनोरञ्जनलाई नै सर्वथा मानिरहेका छन् । त्यसैले सिनेमाको मूल चरित्रको अस्तित्वमाथि नै सवाल खडा भएको छ । तर कहिलेकाहीँ यस्ता सिनेमा पनि बन्छन्, जसले सामाजिक प्रवृत्तिलाई रोचक शैलीमा पेस गर्छन् । गुड न्युज यही लहरमा उभिएको छ । यसको केन्द्रमा छन्, सन्तान नभएर तड्पिएका दुई दम्पती । निर्देशक हुन्, राज मेहता । हाउसफुल ४ बाट आलोचित अक्षयकुमार फेरि स्वाभाविक कमेडीतिरै फर्किएका छन् ।

वरुण वत्रा (अक्षयकुमार) र दीप्ति वत्रा (करिना कपुर खान) ले करिअरलाई प्राथमिकतामा राखेका छन् । उमेर ढल्किएपछि दीप्ति आमा बन्न लालायित छिन् तर गर्भ बस्दैन । आफन्तले पनि बच्चा जन्माउन दबाब दिएपछि अस्पताल पुग्छन् । यस्तै समस्याबाट पिल्सिएको अर्को वत्रा दम्पती हन्नी (दिल्जित दोसाँज) र मोनिका (कियरा आडवानी) पनि सोही अस्पताल पुग्छन् । चिकित्सकको गल्तीका कारण वरुण र हन्नीको वीर्य साटिन्छ । अर्थात्, वरुणको वीर्यले मोनिका गर्भवती हुन्छिन्, हन्नीको वीर्यले दीप्ति । अपरिचित र फरक पृष्ठभूमिका यी दुई जोडीको प्रेम, घृणा र आक्रोशसँगै फिल्म अगाडि बढ्छ । 

गुड न्युज किन पनि विशेष लाग्छ भने पर्दामा यस्ता पात्र र कथा देखिएको थिएन । तर ती पात्रजस्तै सन्तान नभएर छटपटिएकाहरु समाजमा धेरै छन्, यसले फिल्मप्रति आत्मीयता पैदा गर्छ । यसका कथाकार ज्योति कपुरले गर्भावस्थामाथि बधाई हो लेखेका थिए । छोराको बिहे गर्ने बेला गर्भवती भएकी आमा मुख्य भूमिकामा थिइन् । बधाई होले नाम र दाम मनग्ये कमायो । गुड न्युजले पनि त्यही सामथ्र्य राख्छ । अक्षयकुमार, करिनाको स्टारडमको बोझले यसको कथा थिचिएको छैन । निर्देशक मेहताले दैनिक जीवनका स–साना उल्झनलाई रसिलो शैलीमा मूलकथामा बुनेका छन् ।

तीव्र सहरीकरण र करिअर बनाउने लहडले पारिवारिक संरचनामाथि नकारात्मक प्रभाव पारेको छ । विवाह ढिला हुन्छ, बच्चा जन्माउन अझ ढिला । अनि, चाहँदा–चाहँदै गर्भ बस्दैन, पतिपत्नीको स्वास्थ्यमा खराबी देखिन्छ । यसले उनीहरुमा मनमुटाव उकास्न भूमिका खेल्छ ।

यस्तै दम्पतीलाई लक्षित गर्दै अनेक प्रविधि आविष्कार भएका छन्, अस्पताल खुलेका छन् तर त्यहाँ संवेदनशीलता हुन्न, व्यापार चम्काउने एकोहोरो होड हुन्छ । यसले फेरि पनि दम्पतीकै सपनामाथि लात मार्छ । गुड न्युजमा यही तीतो–सामाजिक परिवेशलाई विश्वसनीय ढंगले चित्रण गरिएको छ । परिस्थितिजन्य कमेडीले सुगन्ध थपेको छ । हाँस्दा–हाँस्दा रुने र रुँदा–रुँदै हाँस्नुपर्ने दृश्य पनि सिर्जेका छन्, निर्देशकले ।

तुलनात्मक रुपमा मध्यान्तरअघि रमाइलो छ, सन्तान जन्माउन पात्रले गर्ने दौडधुप स्वाभाविक लाग्छ । तर वरुण र दीप्तिको जोडीको झगडालाई अनावश्यक महत्त्‍व दिइएको छ । उनीहरुबीचको टकराव प्रस्ट भइसक्दा पनि उस्तै आशयका दृश्य दोहोर्‍याइन्छ । यही जोडी नाचेको दुई गीतले कथाको वहाब बिगार्छ । हन्नी–मोनिकाको प्रवेशले रोचकता थप्छ, दुईमध्ये दर्शकलाई यो जोडी प्रिय लाग्छ । जति आधुनिक र उदार भए पनि वंशको निरन्तरताका लागि हामी कति मरिहत्ते गर्छौं भन्ने दृष्टान्त हो, यो फिल्म । यसमा व्यक्तिविशेषभन्दा परिवार र समाजकै सोचले काम गरेको हुन्छ । त्यसैले आफ्नो शरीर दाउमा राखेरै सन्तान जन्माउन विवश हुन्छन्, महिला । 

गुड न्युजमा हरेक पात्र ‘कमेडी टाइमिङ’ मा विशिष्ट लाग्छन् । अक्षयकुमार आकषर्णको अग्रभागमा भइहाले । उनको पात्र अलि सन्काहा छ । विषयवस्तु चयनमा उनी आम अभिनेताभन्दा अब्बल देखिँदै छन् । यो फिल्मले उनको लोकप्रियता अझ बढाउनेछ । आमा बन्न नपाउँदाको बेचैनीलाई करिनाले जीवन्त शैलीमा अभिव्यक्त गरेकी छन् । उमेर सुहाउँदो यस्तै भूमिकाले हो, कलाकारलाई जीवन्त बनाउने । दिल्जितचाहिँ फिल्मको सबैभन्दा बिन्दास पात्र हुन् । कियरासँगको उनको ‘केमेस्ट्री’ गजबकै छ । कियराको निर्दोषपना उत्तिकै प्रिय लाग्छ । पहिलो फिल्म नै निर्देशक राज मेहताले सानदार बनाएका छन् । उनीसँग थप सार्थक सिनेमाको अपेक्षा राख्न सकिन्छ । 

अक्षयकुमारका फ्यान मात्र होइन, ‘इन्फोटेन्मेन्ट’ फिल्मपारखी जोकोहीलाई गुड न्युजले दंग बनाउँछ । 

फिल्म : गुड न्युज

निर्देशक : राज मेहता

कलाकारहरु : अक्षयकुमार, करिना कपुर खान, दिल्जित दोसाँझ, कियरा आडवानी आदि ।

विधा : कमेडी–ड्रामा 

समय : २ घन्टा १२ मिनेट 

रेटिङ : ३/५ 

प्रकाशित: पुस १८, २०७६

×