पढ्नुहोस्, ‘छपाक’ को समीक्षा 

समाजबाट सिनेमा पर–पर भाग्दै गइरहेको समयममा छपाकको उपस्थितिले विशेष अर्थ राख्छ । यो कोटीको फिल्म बिरलै बन्छन्, कम्तीमा बलिउडमा ।

- गोकर्ण गौतम

वीरगन्जकी मुस्कान खातुन एसिडको रापबाट मुक्ति पाउन चार महिनादेखि अस्पतालमा संघर्ष गर्दै छिन् । निरन्तर उपचार पाए शारीरिक पीडा त मत्थर हुँदै जाला तर त्योभन्दा कठोर हुनेछ, पहिलेजस्तै सामान्य दैनिकीमा फर्कन । प्रेमको आडम्बर देखाउनु एउटा कुरा, यथार्थमा हाम्रो समाज पीडितमैत्री छैन । सहानुभूति होला तर साथ हुन्न । झिनो सजाय भोगेर अपराधीले उन्मुक्ति पाउँछ । खुसीको कुराचाहिँ अस्पतालको बेडबाटै मुस्कानले आफ्नो अदम्य साहस देखाइरहेकी छन् । मुस्कानको प्रसंग यहाँ किन उल्लेख गरिएको छ भने उनीजस्तै एसिडपीडित पात्रमाथि बनेको फिल्म छपाक प्रदर्शनरत छ । 

सन् २००५ मा भारतको नयाँ दिल्लीमा मुस्कानझैँ एसिड आक्रमणको सिकार भएकी थिइन्, लक्ष्मी अग्रवाल । त्यति बेला लक्ष्मी १५ वर्षकी थिइन् । त्यसपछि उनले भोगेको अथाह सन्ताप र निरन्तरको संघर्षले प्राप्त सफलता देख्न पाइन्छ, छपाकमा । लक्ष्मीको भूमिकामा छिन्, दीपिका पादुकोण । विषयको संवेदनशीलता अनुरुप निकै सशक्त र प्रभावशाली शैलीमा कथा भनेकी छन्, निर्देशक मेघना गुलजारले । न अतिरञ्जित छ, न त निरस । मेघना र अतिका चौहान मिलेर लेखेको पटकथा चुस्त छ ।

स्टेसनरीमा जागिर खाएर पढ्दै छिन्, मालती अग्रवाल (दीपिका) । बुबाआमाको नाम चम्काउने सपना बुनेकी छन् । नजिकैको स्कुलमा पढ्ने एक केटासँग उनको प्रेम बीजारोपण हुँदै छ । एक दिन त्यो केटासँग हिँडेको उनले दाइ मान्ने बब्बु (विशाल दहिया) ले देख्छ, हप्कीदप्की पार्छ । मालतीलाई थाहै हुन्न, १०–१२ वर्ष जेठो बब्बुले आफूलाई मन पराउँछ भन्ने । मालतीले प्रेम प्रस्ताव बेवास्ता गरेपछि सुरुमा मानसिक तनाव दिन्छ । त्यतिले पनि उसको रिस मर्दैन । र, बीच सडकमा एसिड फ्याँकेर भाग्छ । एक्कासि आइपरेको यो बज्रपातलाई मालतीले कसरी सामना गर्छिन् ? उनको शारीरिक, सामाजिक र कानुनी लडाइँको फेहरिस्त हो, यो फिल्म ।

भारतमा बर्सेनि सरदर ३ सय एसिड आक्रमणका केस आधिकारिक रूपमा दर्ता हुन्छन् । यत्तिकै संख्याका घटनाचाहिँ प्रहरीकहाँ नआई गुपचुप पारिने विभिन्न अध्ययनले देखाएका छन् । जबकि सन् २०१३ मा एसिडको बिक्री वितरणमा नियमन लगाइएको थियो । यही उपलब्धि पनि लक्ष्मीकै निरन्तरको कानुनी संघर्षको परिणाम थियो । खासमा उनकै कारण हो, भारतमा एसिडपीडितले राष्ट्रिय चासो पाउन थालेको । नत्र न मिडियाले वास्ता गर्थ्यो, न त प्रशासनले । त्यसैले भारत मात्र नभई संसारभर लक्ष्मी ‘आदर्श’ मानिन्छिन् तर उनी आफैँले कस्तो परिस्थितिसँग पौठाजोरी खेल्नुपर्‍यो ? यसबारे धेरै बेखबर थिए । छपाकले त्यही अभाव पूर्ति गरेको छ तर यो मालती अर्थात् लक्ष्मी मात्र होइन, यसले हाम्रो सामाजिक संरचना, सोच र महिला हिंसाको अन्तर्यलाई समेत पहिल्याउने प्रयास गरेको छ । हरेक घटनालाई मानवीय कोणबाट प्रस्तुत गर्नु मेघनाको बुद्धिमतापूर्ण निर्णय हो ।

दिल्लीको बलात्कारविरोधी आन्दोलन देखाइएको पहिलो दृश्य सान्दर्भिक र प्रभावकारी लाग्दैन । एसिड आक्रमणको कम विरोध हुन्छ, बलात्कारको ज्यादा भन्ने कथन आफैँमा दुराशययुक्त छ । हरेक प्रकारका हिंसा अन्त्यका लागि बुलन्द दबाबको खाँचो छ । तर मालतीको प्रवेशसम्म घटनाक्रम विकास गर्ने शैलीले दर्शकलाई तान्दै लान्छ । यसका लागि निर्देशकले मिडिया, वकिल, अधिकारकर्मी र पीडितपरिवारको ‘नेक्सस’ लाई उधिन्दै लगेकी छन् ।

पीडितको न्यायको लागि चर्को भाषणबाजी हुन्छ तर उसको जीवन कसरी गुज्रिरहेको हुन्छ भन्ने व्यावहारिक पक्षतिर ध्यान जाँदैन । अदालती प्रक्रिया लम्बेतान र तनावपूर्ण । चारैतिरबाट हन्डर खाएपछि पीडितलाई न्याय होइन, बाँच्ने आधार चाहिएको हुन्छ । मालती त्यस्तै अवस्थामा पुगिसकेकी हुन्छिन् । यसले हाम्रो समाज पीडितप्रति कति अनुदार छ भन्ने देखाउँछ तर अधिकारकर्मी अमोल (विक्रान्त मास्से) को संस्थासँग जोडिएपछि मालतीको जीवनको अर्को चरण सुरु हुन्छ– आत्मविश्वास र सपनाले भरिपूर्ण । 

छपाकले एउटी पीडितमार्फत समाजभित्रको ढोङ, विभेद, प्रशासनको रुखोपना, कानुनी कमजोरीजस्ता समाजका तीतो–सत्य उजागर गरेको छ । मालतीको मोबाइलमा केटाहरूको नम्बर भएकै कारण प्रहरी उनको ‘चरित्र’ माथि प्रश्न उठाउँछ, यसैलाई घटनाको प्रादुर्भाव ठान्छ । अस्पतालमा चिकित्सक, नर्ससमेत असहिष्णु छन् । पीडितले अनेक साहस जुटाएर सीप सिक्छिन् तर उनको दागैदाग भएको अनुहारकै कारण जागिर दिन अन्कनाइन्छ अनि शारीरिक र कानुनी लडाइँबाट थलिएकी पीडितलाई मिडिया सोध्छ, ‘तपाइँको त केटासँग प्रेमसम्बन्ध थियो रे ?’, ‘बिहे कहिले गर्नुहुन्छ ?’ यसो भन्दा उचित हुन्छ, अपराधी जन्माउने र पीडितप्रति असंवेदनशील हुने समाजप्रति निर्देशकले प्रहार गरेको तीर हो, यो फिल्म । 

मालतीको निर्दोषपनाले उनीप्रति दर्शकको प्रेम पैदा हुन्छ । उनीमाथि एसिड प्रहार हुँदा दर्शकलाई पनि पोल्छ । उनको संघर्षलाई दर्शकले अनुभूत गर्छन् । उनको मुस्कानमा दर्शकले आफूलाई पाउँछन् । यसको एउटै कारण हो, एसिड आक्रमण अघि र पछि मालतीको चरित्र जीवन्त शैलीमा स्थापित गरिनु । चाहे उनको उपचार प्रक्रिया होस् वा कानुनी संघर्ष, सूक्ष्म रूपमा देखाइन्छ । अनुहारको दाग पनि उपचारसँगै बदलिँदै जान्छ, यसले पात्रप्रति विश्वसनीयता जाग्छ । नत्र मालतीसँगसँगै कसरी यात्रा गर्न सकिन्थ्यो र ? अमोलसँगको प्रेम अंकुरण मोहक लाग्छ, यसले पीडाको मरुभूमिझैँ लाग्ने कथामा शीतल आभास गराउँछ । मालतीलाई सुरुआतबाटै साथ दिने अधिकारकर्मी महिला र वकिल पनि प्रेरणादायी छन् ।

दीपिका पादुकोण करोडौँ फलोअर्स भएकी मूलधारकी हिरोइन हुन् । उनीजस्तो ‘स्टार’ ले सुन्दरताको परम्परागत मानकभन्दा विपरीत लाग्ने पात्र रोज्नु नै प्रशंसनीय छ । त्यसमाथि उनले पात्रको आवरण र आत्मा दुवैलाई आत्मसात गरेकी छन् । पर्दामा हेरिरहँदा कहीँ कतै ‘दीपिका पादुकोण’ को झल्कोसमेत आउँदै छ । पात्रको प्रकृति र अभिनय कुशलताले उनलाई यो वर्ष राष्ट्रिय अवार्डको बलियो हकदार बनाएको छ । व्यक्तित्व र साख थप शानदार हुनेछ । अन्तर्मुखी चरित्रमा विक्रान्त मास्से स्वाभाविक लाग्छन् ।

तलवारराजीपछि निर्देशक मेघना गुलजारले विषय चयन मात्र होइन, त्यसको गहकिलो वाचनमा पनि आफूलाई विशिष्ट कोटीमा दर्ज गरेकी छन् । फिल्मका अधिकांश दृश्यले सोच्न बाध्य पार्छ । एकोहोरो दु:ख–वेदना देखाएर ‘सस्तो सहानुभूति’ आर्जनतिर होइन, पात्रलाई भावनात्मक रूपमै दर्शकको समीपमा पुर्‍याउन सफल छिन् । उनका बुबा गुलजारका गीत कथावाचनका अहं हिस्सा हुन् । 

समाजबाट सिनेमा पर–पर भाग्दै गइरहेको यो समयममा छपाकको उपस्थितिले विशेष अर्थ राख्छ । कोरा मनोरञ्जन र सन्देशको धङधङीमा फसेको छैन । सिनेमाको असली शक्ति र स्वाद अनुभूत गर्न पनि छपाक हेर्नु उपयुक्त हुन्छ । यो कोटीको फिल्म बिरलै बन्छन्, कम्तीमा बलिउडमा ।


फिल्म : छपाक

निर्देशक : मेघना गुलजार

लेखक : मेघना गुलजार र अतिका चौहान 

कलाकारहरू : दीपिका पादुकोण, विकान्त मास्से आदि ।

विधा : सोसल–ड्रामा

समय : २ घन्टा ३ मिनेट । 

रेटिङ : ३.५/५

प्रकाशित: पुस २५, २०७६

×