राष्ट्रियता, राष्ट्रभक्ति र राष्ट्रवाद
राष्ट्रियता जातिहरुको सभ्यताविशेष अस्तित्वलाई पहिचान दिने आधार हो । यसको दायरालाई देशहरुको राजनीतिक र भौगोलिक सीमाले बाँधेर राख्दैन ।

दुई साताअघि पुस्तौँदेखि म्यानमारमा बस्दै आएका नेपालीहरूले आफ्ना समस्या समाधान गरिदिन नेपाल सरकारसँग आग्रह गरे । गतसाता पूर्वी नेपालको शरणर्थी क्याम्पमा रहेका नेपालीभाषी भुटानीले आफूलाई स्वदेश फर्काइदिन नेपालसँग पुन: आग्रह गरेका छन् । सन् १९९० देखि नेपालमा रहेका भण्डै एक लाख भुटानीमध्ये छानीछानी तेस्रो मुलुकमा बसोबास गराउने आधुनिक युगको दास किनबेचलाई नेपालको सरकार र हामी नेपालीले टुलुटुलु हेरेर मात्र बस्यौँ, मानौँ त्यो कुनै पुण्यकर्म भइरहेको होस् ।
चार पुस्ता अघिदेखि थाइल्याण्डमा बसोबास गरिरहेका नेपाली भाषीहरूले आफू त्यहाँको वैधानिक नागरिक बन्नका लागि कुटनीतिक पहल गरिदिन नेपाल सरकारलाई अनुरोध गर्न थालेको पनि तीन दशक भयो । तर, यी सबै मुद्दामा सिङ्गो नेपाली राष्ट्रियता (नेशनालिटी) प्रतिक्रयाविहीन, राज्य किंकर्तव्यविमुढ र नागरिकहरू संवेदनाशून्य भएर प्रस्तुत भए । भइरहेका छन् ।
राष्ट्रियता जातिहरुको सभ्यताविशेष अस्तित्वलाई पहिचान दिने आधार हो । यसको दायरालाई देशहरुको राजनीतिक र भौगोलिक सीमाले बाँधेर राख्दैन । नेपालभित्रका जाति जनजातिहरु (नेशनालिटिज) आफ्नो अधिकार सुनिश्चित गर्ने मूल आधारका रुपमा यही पहिचानलाई स्थापित गराउन लागिपरेका छन् । तर, त्यही वृहद् राष्ट्रिय पहिचानका आधारमा नेपाली राष्ट्रियताको मूल थलो नेपालतर्फ फर्केर ती नेपाली जातिले सहयोगका लागि हात फैलाएका हुन् ।
भुटानी शरणर्थीदेखि, म्यानमार र थाइल्याण्ड एवम् असम, मणिपुर र नागाल्याण्डसम्मका नेपालीभाषीहरूका पीडा, समस्या र आग्रहप्रति यो मुलुक र यहाँका नागरिकको संवेदनशीलता अचम्मै लाग्दोगरीे निमिट्यान्न हुँदै गएको छ । मानौँ, हामी चेतना र भावनाशून्य यन्त्रवत् र निरिह भएका छौँ ।
मुलुकभित्रको राष्ट्रियताको भावलाई बलियो र एकीकृत बनाउन नसक्नु यो निरिहताको मूल कारण हो । संस्कृति, भाषा र मूल्यहरूले निर्माण गर्ने हो राष्ट्रियता । यसका परमार्थक संरचना (हाइरार्कियल स्टेट्स) हुन्छन् । उदाहरणका लागि, हामी पूर्वीय संस्कृति भन्छौँ, जुन सबभन्दा माथि छ । त्यसपछि दक्षिण एसियाली, नेपाली, जातीय हुँदै समुदायको पहिचानसम्म आइपुग्छौँ ।
धर्म, भाषा र उद्भवका ठूलोदेखि सानो आकारका पहिचानका छातामुनि राष्ट्रियताका तहतह रहन्छन् । तर, नेपाल यी हाइरार्कियल फैलावटलाई तिनको प्रभावअनुरूपको पहिचन दिएर मुलुकको साझा राष्ट्रिय व्यक्तित्व निर्माण गर्न सर्वथा असफल भएको छ । ती पहिचानलाई तिनको हाइरार्कियल अवस्थितिअनुसार सम्बोधन गर्न नसकेका कारण न नेपाली राष्ट्रियता सुदृढ भयो नत त्यो भन्दा तल्लो तहका पहिचानहरूको सम्वद्र्धन हुनसक्यो ।
अहिले जातीय रूप लिँदै गएको प्रतिरोधको स्वरूपले त साना साम्प्रदायिक पहिचानहरू प्रधान र मूल राष्ट्रिय पहिचान गौणजस्तो देखिन थालेको छ । जबकि, मुलुकबाहिरबाट सहायता खोज्ने भुटानी, बर्मेली वा थाई नेपाली भाषीमा पहिलो सिङ्गो नेपाली पहिचान अखण्डित छ, त्यसपछिमात्रै जातीय, उपजातीय पहिचानका कुरा छन् ।
तर, यतिखेर मूलभूमिमै राष्ट्रियताको सिङ्गो पहिचान संकटमा परेको बेला छ । वृहत् एकल नेपाली राष्ट्रियतालाई आधार मानेर मुलुकबाहिरका नेपालीले गरेको सहयोगको अपेक्षालाई सम्बोधन गर्ने ऊर्जा र संयन्त्र हामीले विकसित गरेका छैनौँ । त्यसैले राष्ट्रियताको पहिचानलाई राष्ट्रभक्ति (पेट्रियोटिज्म)मा रूपान्तरण गर्ने चरणमा प्रवेश नै नगरी नेपाली राष्ट्रियता संकुचनको चेपुवामा परेको छ ।
मुलुकलाई संकट पर्दा जोगाउने र अखण्ड मुलुकको एकताको आधार राष्ट्रभाव वा राष्ट्रभक्ति हो । जे गर्दा राष्ट्रको सर्वाधिक हित हुन्छ त्यही गर्ने र त्यस्तो निर्णय सरकार वा नागरिकले पूर्णसूचनाका आधारमा लिने शैली राष्ट्रभाव हो । यसमा निस्वार्थ त्यागको भावना हुन्छ । मुलुकको हित सर्वोपरि र व्यक्तिगत हितलाई सबभन्दा तल राख्ने मात्रै होइन, आवश्यक पर्दा असल उद्देश्यका लागि जीवन उत्सर्ग गर्नेसम्मको तागत राष्ट्रभावमा हुन्छ ।
मृत्यु, जीवन उत्सर्ग र त्याग त यान्त्रिक समर्पण (मर्सिनरी फिलिङ)मा पनि हुन्छ । तर राष्ट्रभावमा हुने सबभन्दा बलवान तत्व नैतिक सर्वोपरिता हो । अहिले भइरहेका विभिन्न खालका, कतिपय एकआपसमा बाझिने, अधिकार प्राप्तिका मागहरूमा कति हदसम्म राष्ट्रियता वा पहिचानको हाइरार्किलाई ख्याल गरिएको छ र नैतिक कसीमा ती कति प्याट्रिओटिक छन् भन्ने कुराले नेपालको अक्षुणता र संवैधानिक भविश्य निक्र्यौल गर्नेछ । वृहत् नेपाली राष्ट्रियतालाई माया गर्ने नेपाली क्षमता निर्धारण गर्नेछ ।
जब राष्ट्रियता र राष्ट्रभाव दुवै ओझेलमा पर्छन् तव खोक्रो राष्ट्रवाद (नेश्नालिज्म) राजनीतिको मूल आधार बन्छ । शक्तिशाली, खासगरी सत्तासिन र शक्तिशालीहरूले जे गर्छन् र भन्छन् त्यो मात्रै राष्ट्रहित हो, अरू सबै राष्ट्रघात भन्ने मान्यता यो नेश्नालिष्टिक चिन्तनले राख्छ । नागरिकहरूको आफ्नो पहिचान वा राष्ट्रियता र राष्ट्रभक्तिको स्वभाविक अभिव्यक्तिलाई यसले अस्वीकार गर्छ । के कुराले मुलुकको हित वा अहित गर्छ भन्ने आलोचनात्मक मूल्यांकनले ‘स्पेस’ दिँदैन ।
नागरिकको राज्यसँगको सम्वन्धलाई राजनीतिक हतियारका रूपमा प्रयोग गर्छ । त्यो नै, खासगरी अन्धो र राजनीतिले दुरुपयोग गरेको राष्ट्रवादको परिभाषा हो । पञ्चायतकालमा त्यो एकदलीय व्यवस्थालाई ‘प्रजा’ले निशर्त समर्थन गर्नुमात्र राष्ट्रवाद थियो । २०६३ सालको परिवर्तनपछि संविधानसभाको औचित्यमाथि बहस गर्न खोज्ने र संघीयताका चुनौतीबारे प्रश्न गर्नेहरू गैह्रराष्ट्रवादीको कोटीमा परे । राष्ट्रियताका अवयवहरूको ‘हाइरार्की’ व्यवस्थापन र त्यसका आधारमा राष्ट्रभक्तिका आयामहरुको प्रवद्र्धन गर्ने ठाउँ छोडिएन ।
आममानिसमा खण्डित राष्ट्रवादका अन्धोपन प्रत्यारोपण गर्ने कार्य तीव्र गतिमा भयो । संविधान लेखन प्रक्रिया सुरु भएपछि संघीयतामा राष्ट्रियताको मुद्दा कसरी सम्बोधित हुन्छ र राष्ट्रभावको साझा भावनालाई कसरी क्षय हुन नदिने भन्ने कार्ययोजना बनेन । राष्ट्रियताको भावना र राष्ट्रभक्तिलाई राष्ट्रवादले निल्यो ।
राष्ट्रियताका विविध तहलाई तिनको हैसियत र फैलावट अनुरूप प्राथमिकीकरण गर्ने र त्यही अनुरूप अधिकारहरू विकेन्द्रीत गर्ने सम्भावनाहरूको खोजी गरिएन । पहिचानको खोजी गर्दा राष्ट्रभक्ति कमजोर हुन नदिने कुनै रणनीति बनेन । परिणामत: राष्ट्रभाव कमजोर मात्र भएन अब पहिचान स्थापनाको अश्त्रले मलुक नै विखण्डन हुने खतरा बढेको छ । विखण्डनको माग नै पनि अलोकतान्त्रिक होइन, जबसम्म त्यसलाई लोकतान्त्रिक विधि र नतिजाका आधारमा निर्णय गरिन्छ ।
गतवर्ष मात्र स्कटल्याण्डले संयुक्त अधिाराज्यबाट छुट्टिने वा नछुट्टिने भन्ने निर्णय जनमत संग्रहबाट गर्यो । तर, नेपालको वर्तमान राजनीतिक द्वन्द्वभित्रको मूल समस्या के हो भने यो लोकतन्त्ररहित अन्ध राष्ट्रवादको भुमरीमा परेको छ । अहिले तराईमा भइरहेको आन्दोलन, जनजातिका माग, धर्मसापेक्ष वा निरपेक्षता वा माओवादी मूलधारबाट छुट्टिएका किरण वा विप्लवका नारामा राष्ट्रवादको चर्को स्वर छ । राष्ट्रियता र राष्ट्रभक्तिको अनुप्राण छैन । तिनलाई जागृत नगरी राजनीतिक संघीयता सफल हुँदैन । मुलुकबाहिरका नेपालीलाई सघाउने त धेरै परको विषय भयो ।