तोडौँ मौन संस्कृति
लोकतन्त्रमा कानुनको डरबाहेक अर्को कसैको पनि डर मान्छेलाई हुँदै हुनुहुन्न । तर, हामीकहाँ उल्टो छ, कानुनबाहेक हरेक कुरासँग डराउनुपर्ने ।

लोकतन्त्रोत्तर नेपालका नागरिक आफ्नो हकहितका कुरामा ‘निडर भई बोल्ने भएका’मा पश्चिमा विद्वान्, समीक्षक र ‘एक्सप्याट्रियट’हरू औधि खुसी हुन्छन् । तर, के हामीकहाँ साँच्चै मान्छे निडर भई बोलिरहेका छन् ? लोकतन्त्रको उत्कट चाहनाले त नेपाली आफँैले पनि आन्दोलन, नाराजुलुस गरेकै हुन् । त्यसबाहेक अरू धेरै आन्दोलन गर्न र बोल्न, खास गरी आफ्नै अनुभव, अभीष्ट र एजेन्डाबमोजिम नेपालमा नभएका वा भए पनि नगण्य रहेका विभेद वा अत्याचारलाई बढाइँचढाइ गरी तिनै विदेशीले उक्साएका हुन् । त्यसैले उनीहरू त नेपालीले जति आन्दोलन गरे, जति बोले, त्यति दंग पर्ने नै भए । अधिकारका लागि बोल्न, आन्दोलन गर्न सिकाएजस्तै उनीहरूले कर्तव्यको पालना र काम गर्न पनि सिकाएका भए आज हाम्रो मुलुक अर्कै भइसक्थ्यो । त्योचाहिँ सिकाएनन् ।
हो, बोल्नदेखि सडकमा नाराजुलुस गर्नेसम्मको स्वतन्त्रता असीमित छ, दुरुपयोगकै हदसम्म । सत्तासीनलाई गाली गर्नदेखि भेटे ढुंगा र थप्पड हान्न नडराउने भएका छौँ हामी । यद्यपि, विप्लव माओवादीका कार्यकर्ताले त नेपाल बन्द गराउन ड्राइभरलाई भित्रै थुनेर ट्याक्सीमा आगो लगाउँदाचाहिँ बोल्न डराउँछ यो समाज । ठूला दलका सभा, सम्मेलन स्थलसामु कालो ब्यानर राखेर धर्ना बस्ने मान्छे जातीय/क्षेत्रीय समूहका सभा, सेमिनारमा उपस्थित भएर मनमा उठेको प्रश्न सोध्न डराउँछ । प्रधानमन्त्री, राष्ट्रपति, विपक्षी दलको नेता जोसुकैलाई गाली गर्न नडराउने मान्छे संवैधानिक निकायका पदाधिकारीको अराजकतामा बोल्न डराउँछ । घूस दिन नसकेकैले मुद्दा हारेको भुक्तभोगी पनि मैले न्याय पाइनँ भन्न डराउँछ । छानीछानी बोल्ने र बोल्न डराउने यो संस्कृतिले समाजमा जरा गाड्दै गएको छ । यसलाई यही समाजमा जन्मेहुर्केको मान्छेले मात्र देख्न सक्छ, विदेशी कन्सल्ट्यान्ट वा विज्ञले सक्दैन ।
उदाहरण अरू पनि थुप्रै छन्, सतहमा मुखर देखिने हाम्रो समाजको मौन यथार्थको । तीव्र गतिमा जथाभावी हाँकिने सार्वजनिक यातायातका यात्रु डरले मनमनै भगवान्को पुकारा गर्छन् तर चालकलाई बिस्तारो हाँक्नूस् भन्न डराउँछन्, चालकले रिसाएर जानाजान दुर्घटना गराइदेला र आफूचाहिँ झ्यालबाट हाम्फालेर भाग्ला भन्ने डरले । ठेलमठेल भीडको फाइदा लिँदै त्यहीँभित्र कुनै कामुक पुरुष महिला यात्रुको जीउमा अभद्र तरिकाले ठेलिरहेको देख्नेले पनि त्यस बदमासीप्रति आँखा तर्नेसम्मको आँट गर्दैन । बरू मलाई के मतलब भनेर देखेको नदेख्यै गर्छ ।
जनताको काम पर्ने प्रत्येक कार्यालयमा घूसखोरी, बिचौलियातन्त्र र ढिलासुस्ती खुलेआम चल्छ तर कोही बोल्दैन । अरू त अरू, तारे होटलको सेमिनारदेखि भाषण, पत्रिकाका विचार पृष्ठदेखि पाठकपत्र जताततै मुलुकमा सुशासन नभएकामा चर्को आक्रोश पोख्दै हिँड्नेहरूसमेत जब आफैँ त्यो कार्यालयमा काम परेर जान्छ, बिचौलिया खोज्दै हिँड्छ । दुई–चार पैसा खुवाएर छिटो काम बनाउन बरू उसैलाई हतार हुन्छ । त्यस्तै मञ्चहरूमा छुवाछूतविरुद्ध जोडदार आवाज उठाउने मान्छे आफ्नै गाउँको चियापसलमा दलितविरुद्ध छुवाछूत भएको देख्दा मुन्टो बटार्छ, गाउँठाउँमा किन व्यर्थ विवाद बढाउनु भनेर । जुलुसमा भाग लिँदा अन्यायको विरोधस्वरूप सडकमा तोडफोडै गर्नेले पनि एक्लै हुँदा आफ्नै आँखाअघिल्तिर कुनै अपराधीले निर्दोषलाई, बलवान्ले निर्धोलाई मारकाट, कुटपिट गरिरहेको देख्दा पनि चुइँक्क बोल्दैन, किन शत्रु कमाऊँ भनेर । यसका राजनीतिक, सामाजिक/सांस्कृतिक, आर्थिक, प्राविधिक थुप्रै पक्ष र कारण छन् ।
राजनीतिक र शान्ति सुरक्षाको पक्ष
मौन संस्कृतिको जन्मदाता बिग्रेको राजनीति र यही कारण खस्केको शान्ति सुरक्षाको स्थिति नै हो । पहिले हाम्रो समाज अर्कै थियो । गुहार भन्नासाथ छिमेकीहरू दौडन्थे, चोर आएछ भनेर । अचेल मान्छे मारिरहेको देखे पनि, बलात्कार भइरहेको देखे पनि, बालक अपहरण गर्दै लगिरहेको देखे पनि छिमेकी सहायताका लागि दौडँदैनन्, बरू झ्यालढोका थुनेर लुक्छन् । त्यस्तो समाज आज यस्तो हुनुको आधार र कारणचाहिँ माओवादीको हिंसात्मक संघर्ष नै हो, जसले पूरा एक दशकसम्म भय र त्रासको बितन्डा मच्चायो । माओवादीको हिंसा र सेना/प्रहरीको प्रतिहिंसामा परिने डरले घरैमा लुकेर बस्ने बानी परेका मानिस, शान्तिकालमा पनि मद्दतका लागि दौडन वा हकहितका लागि बोल्न छाडे । माओवादीको त्रासको धङधङी र कैयौँ मानिस आन्तरिक रूपमा विस्थापित हुने गरी भएका त्यसपछिका क्षेत्रीय र जातीय अन्दोलनहरूका कारण पनि मौनताको संस्कृतिले निरन्तरता पायो । पछि त जुलुसले सरोकारै नपरेको मानिसको गुडिरहेको वा अझ सडकछेउ पार्क गरेर राखेको सवारी साधनमा ढुंगामुढा गर्नु सामान्य घटना हुन थाल्यो, जसमा प्रहरीको कर्तव्य भनेको जुलुस आएकातिर गाडी नपठाउनेमा सीमित भयो ।
यसरी लम्बिँदै गएको राजनीतिक संक्रमणसँगै अराजकता मौलाउँदै र शान्ति सुरक्षाको स्तर खस्किँदै गयो । फलत: राजनीतिक शक्ति, संरक्षण, धम्की र घुर्कीका भरमा दण्डहीनता पनि सुनिश्चित र स्थायी हुँदै गयो । यसो भएपछि राज्यले नै सुरक्षा दिन सक्दैन भने हकहितको कुरा बोलेर किन खतरा मोल्नु भन्ने मनोविज्ञान आममानिसको बन्यो । संसद्ले नै तह लगाउन सक्दैन, चाहँदैन भने मैले बोलेर अख्तियार प्रमुखलाई किन चिढ्याऊँ भन्ने मनोविज्ञान बुद्धिजीवीको बन्यो । अदालतबाट न्याय त पाइएन पाइएन, थप भुक्तमान किन पाउनु भन्ने मनोविज्ञान पीडितको बन्यो ।
सामाजिक–सांस्कृतिक पक्ष
पहिले धेरैजसो संयुक्त परिवारको चलन थियो, जहाँ नातागोता, इष्टमित्र, कुटुम्ब, छिमेकीहरू सब आउजाउ गर्थे । एक–अर्काको सोधखोज, मरमद्दत गर्थे । पछिल्लो दौरमा सानो, एकल परिवारको चलन, बाह्य र आन्तरिक आप्रवासन, नयाँ ठाउँका जीविकाको चुनौती, ससाना घर वा ससाना कोठा लिएर बस्ने प्रवृत्ति र बाध्यता, गाउँ बस्तीहरूको बजारीकरण, काँठहरूका उपमहानगरीकरणले सम्बन्धका धागाहरू खुकुलिँदै, छिन्दै गए । मान्छेलाई आत्मकेन्द्रित हुनुको विकल्पै भएन ।
चाहेर पनि आफ्नो र आफ्नो परिवारको आवश्यकताभन्दा पर्तिर सोच्ने वातावरण र परिस्थिति नै रहेन । पश्चिमा संस्कृतिको प्रभावले व्यक्तिगत स्वतन्त्रताको अभ्यास र गोपनीयताको चेत बढेसँगै मानिस पहिलेका तुलनामा अन्तर्मुखी बन्दै गए । समाजमा घुलमिल कम हुँदै गयो । अचेल सहरी क्षेत्रमा साथी वा छिमेकी भएकै नाताले एउटाले निर्धक्क अर्काको बेडरुमसम्म जाने २५ वर्षअगाडिको चलन हराइसक्यो ।
पहिले कृषिमा आधारित अर्थतन्त्र थियो । किसानको व्यस्तता मौसमी हुन्थ्यो । अघिपछि उसको जीवन फुर्सदमय नै हुन्थ्यो । खेती गर्न पर्म लाउने चलन थियो । ज्यालादारी चलन त पछि आएको हो । खेतीदेखि मनोरञ्जनसम्म सबै काम सामूहिकतामा आधारित हुन्थे । जात्रा, मेलापर्वमा आपसमा भेटघाट, सहकार्य हुन्थ्यो । अब त्यो स्थिति छैन । एउटै कोठाभित्र बस्दा पनि मान्छे मोबाइलमा डाउनलोड गरेको एप्सको माध्यमबाट बेग्लै दुनियाँको विचरण गरी बाँकी समूहबाट आफू विच्छेद भइरहेका हुन्छन् ।
राजनीतिक स्वतन्त्रता आएसँगै र सञ्चार एवं इन्टरनेटमा भएको अभूतपूर्व विकासँगै कतिपय हाम्रा पहिलेका मूल्यपद्धति प्रभावित मात्र होइन, विस्थापित नै भएका छन् । अर्काको व्यक्तिगत मामिलामा अनावश्यक चासो नलिने, सरोकार नपरेको पक्षले अरू सम्मिलित विवादमा सहभागी नहुने, अरूको निजत्वको सम्मान गर्ने, व्यक्तिगत स्वतन्त्रताको अधिकतम उपयोग गर्ने आदि राम्रा कुरा हुन् । यिनलाई समयानुकूल परिवर्तन मान्न सकिन्छ । तर, त्यसो भनेर मद्दत वा उपचार नपाएर फत्र्याकफत्र्याक परिरहेको मानिसलाई देख्या नदेख्यै गरेर भाग्ने कुरा मानवीयता र सभ्यता होइन । बरू, पश्चिमा मुलुकमा सहृदयी भावले मद्दत गर्न तम्सन्छन् । छिमेकीहरूसँग आवश्यक बाहेक धेरै अन्तक्र्रिया र मेलजोल नगर्ने उनीहरूले नियमित आपसी छलफल, सरसल्लाह र मद्दतका निम्ति नेबरहुड कमिटी बनाएका हुन्छन् । चोर, अपराधीलाई चिन्न, रोक्न नेबरहुड वाच गठन गरेका हुन्छन् । यस्ता हरेक समाज, सभ्यता र संस्कृतिका आफ्नै सबल पक्ष हुन्छन् । गतिशील समाजले अर्काको संस्कृतिबाट राम्रा कुरा सिक्न सक्नुपर्छ । तर, हामी नराम्रा पक्ष मात्र टिप्छौँ । जस्तो कि, पश्चिमा समाजबाट सामूहिकता सिक्दैनौँ, व्यक्तिवादिता मात्र सिक्छौँ ।
काकाकाकी, ठूलोबाबु–ठूलीआमा सम्मिलित संयुक्त परिवार आज व्यावहारिक नहुने भए तापनि वृद्ध बाबुआमा छोराछोरीसँगै बस्ने हाम्रो पूर्वीय संस्कृतिको सुन्दर पक्ष हो । दक्षिण एसियामा मात्र होइन, चीनमा पनि बाबुआमा छोराछोरीसँगै बसेर नातिनातिना स्याहार्ने चलन छ । जुन चलन पश्चिमा संस्कृतिमा छैन । आजको यो मौनता न हाम्रो संस्कृति हो, न त राम्रो संस्कृति नै । त्यसैले पहिलेबाट, यो अपसंस्कृतिलाई जन्म दिने, हुर्काउने दण्डहीनताको हालको संस्कृतिको अन्त्य हुनैपर्छ । त्यसका लागि राजनीतिज्ञ, न्यायकर्मी, सुरक्षाकर्मी, अधिकारकर्मी र प्रशासक सबैले आ–आफ्नो ठाउँबाट जुर्मुराउनु जरुरी छ । नागरिक समाज तात्नुपर्छ । विद्यालय तहदेखि नै नागरिक शिक्षा अनिवार्य गरी सचेत बनाउनुपर्छ । समाजमा अभियान चलाउनुपर्छ ।
लोकतन्त्रमा कानुनको डरबाहेक अर्को कसैको पनि डर मान्छेलाई हुँदै हुनुहुन्न । तर, हामीकहाँ उल्टो छ, कानुनबाहेक हरेक कुरासँग डराउनुपर्ने । अझ कानुनकै दुरुपयोगको डर छ । यहाँ लोकतन्त्रको आवरणमा अराजकतन्त्र छ, जो अन्त्यहीन राजनीतिक संक्रमणका आडमा स्थायी र स्वीकार्य हुँदै छ । यो अराजकतन्त्रलाई अराजक समूहहरूले मात्र होइन, भ्रष्ट र कमजोर राजनीतिज्ञहरूका घात–प्रतिघातमा खेल्दै राज्यकै अंगहरूले समेत मलजल गरिरहेका छन् । र, त्यसबाट जवाफदेहिताबिनाको असीमित अधिकार उपभोग गरिरहेका छन् । कानुनसँग डराउने निर्धा, निमुखा र असंगठित जमातले मात्रै हो ।
संगठित र शक्तिशाली हुन सक्यो भने कानुन नै पराजित हुन्छ, जस्तो कि यातायातका सिन्डीकेट । त्यसमाथि त्यो संगठित समूहले आफू भूमिगत पनि भएको घोषणा गरिदियो भने त झन् भित्ताको पनि कान हुन्छ भन्दै मान्छे झ्यालढोका थुनेर लुक्छ । आँखा, कान, मुख थुनेर बस्छ ।