विषाक्त पुरुषवादबाट मुक्त समाजवादको पक्ष (समाजवाद बहस–३)
अबको संसारमा सैद्धान्तिक जडताबिनाको तर वैचारिक स्पष्टतासहितको प्रणाली चाहिन्छ । नारीवाद र पर्यावरणवाद आत्मसात गरेको समाजवादले नै यस शताब्दीमा निकास दिन्छ ।
मानव इतिहास बीसौँ शताब्दी पार गरेर एक्काइसौँ शताब्दीमा उक्लिँदा यस्तो दृश्य छायो कि यस शताब्दीको सबैभन्दा ठूलो विजेता पुँजीवाद हो । समाजवादको झन्डा बोकेको सोभियत संघ एउटा विशाल विफलता बनेर लम्पसार थियो भने क्युबा, कम्बोडिया र उत्तर कोरिया बिजोग र पतनको नमुना बने । अर्कोतिर सिंगापुर र दक्षिण कोरियाको उदय, अमेरिकाको झन् उदाउँदो सफलता तथा चीन र भारतजस्ता देशहरू, जसले बाहिर–बाहिर आफूलाई समाजवादी उद्घोष गरे पनि भित्रभित्रै नवउदारवादलाई आत्मसात गरे । त्यसले यस्तो देखियो कि साँच्चै अब पुँजीवाद नै विकासको एक मात्र बाटो हो ।
सिंगापुर र मलेसियाका उदाहरणले त झन् के दर्सायो भने– देश विकासका निम्ति बरु लोकतन्त्र बहसको विषय हो तर पुँजीवाद अपरिहार्य हो । समाजवादको बिल्ला बोकेर अझै कोही हिँड्छ भने कि ऊ सैद्धान्तिक धङधङी छाड्न नसकेको अव्यावहारिक हो कि ऊ गरिबका भावनाको फाइदा उठाउन खोज्ने अवसरवादी हो । नवउदारवादी पुँजीवाद नै भविष्य हो र समाजवादका पक्षधारी सबै इतिहासमा छुटेका जोकरहरू हुन् ।
सफलताको दाबी गर्ने हतारमा हामी कति सजिलै इतिहास बिर्सन्छौँ । बीसौँ शताब्दीको पुँजीवादको विजय–यात्रा मानव इतिहासको सन्दर्भमा छोटो अवधि हो । यही संयोगपूर्ण अवधिलाई आधार मानेर सैद्धान्तिक बिट मार्न खोज्नु अनुचित मात्र होइन, गैरइमानदारीपूर्ण पनि हुन्छ ।
नयाँ इतिहास त अहिले नै बन्दै छ । जलवायु परिवर्तन र वन्यजन्तुको उन्मूलनसँगै मानव भविष्यको अस्तित्वमाथि नै प्रश्नचिह्न हुने गरी नयाँ घटनाक्रम देखिँदै छन् । एक्काइसौँ शताब्दी हुर्केर तेस्रो दशकमा पुग्दा विकासका प्रयोगबाट अप्रत्याशित परिणाम आइरहेका छन् र संसार फेरि सैद्धान्तिक अलमलमा होमिएको छ ।
पुँजीवादको चुलिँदो समृद्धिसँग अझ चुलिँदो आशाविपरीत संसार आज भयको भूमरीमा डुबेको छ । पर्यावरण संकट, विश्वव्यापी प्रतिगामी लहर, बढ्दो असमानता र प्रविधिदेखि नै खतरा अहिले जसरी देखिँदै छ । त्यसको दोषपूर्ण औँला पुँजीवादतर्फ नै इंगित छ ।
नवउदारवादी पुँजीवादको सबैभन्दा चरम उदाहरण अमेरिकाको सिंहासनमा डोनाल्ड ट्रम्प विराजमान छन्, यो आफैँमा नवउदारवादी पुँजीवादको दशा र दिशाको एउटा झझल्को हो । अमेरिकाको कुल आय र उत्पादन बढे पनि जनसाधारणमा जीवनस्तर खस्कँदो रह्यो, निराशा मात्र होइन, मृत्युदर नै बढ्न पुग्यो । यसले नवउदारवादी पुँजीवादको अपरिहार्यता र पर्याप्ततामा ठूलो प्रश्नचिह्न खडा गरेको छ ।
हिजोसम्म जहाँ समाजवाद शब्द वर्जितजस्तै थियो र बाराक ओबामाले आफूलाई ‘समाजवादी’ भन्ने गालीबाट बचाउनुपथ्र्याे, आज त्यहाँ बर्नी स्यान्डर्स त्यही समाजवादी नाराको बलमा झन्झन् लोकप्रिय हुँदै छन् । अनि, युवा वर्ग समाजवादको सिद्धान्ततर्फ झन्झन् आकर्षित हुँदै गइरहेका छन् ।
सन् १९९२ मा इतिहासको अन्त्य भन्दै समाजवादमाथि पुँजीवादको नि:सन्देह विजय घोषणा गरेका प्रख्यात अर्थशास्त्री फ्रान्सिस फुकुयामा अहिले समाजवादको सान्दर्भिकताबारे चर्चा गर्न थालेका छन् । अमेरिकाको आक्रामक समृद्धिको विकल्पका रूपमा फिनल्यान्ड र डेनमार्कजस्ता स्कान्डिनेभियाली देशहरूमा लोकतान्त्रिक समाजवादको दिगो र समग्र विकासको नमुना बढी आकर्षक हुँदै गएको छ ।
तर के पुँजीवादविरुद्ध समाजवाद नयाँ विजय यात्रामा छ ? पुँजीवादको चुस्त आलोचक हुनुको बाबजुद समाजवादको आफ्नै उपलब्धि के छ ? विशुद्ध समाजवादबाट उँभो लागेको उदाहरण कहाँ छ ?
स्कान्डिनेभियाली देशहरूका जुन नमुना छन्, तिनीहरू पुँजीवादसँगका मिश्रित प्रणाली हुन् । फेरि जातीय र सांस्कृतिक एकरूपता भएका यी देशहरूको सफलताको कारक समाजवाद हो कि जातीय एकरूपता समाजवादको सफलताको कारक हो ? यो पनि विवाद र विश्लेषणको विषय छ । प्रयोगात्मक भाषामा भन्दा स्कान्डिनेभियाली देशहरूमा सफल प्रयोग भए पनि समाजवाद तिनको सफलताको कारक हो भन्ने किटान गर्ने अवस्था छैन ।
अहिलेको परिस्थितिमा पुँजीवादलाई विकासको मापदण्डमा टक्कर दिने विशुद्ध समाजवादको ‘पोर्टफोलियो’ बनिसकेको छैन । तर पुँजीवाद र समाजवादलाई एउटै रेखाको दुई किनारमा राखेर दाँज्न मिल्दैन । पुँजीको प्रवाह, बजारको प्रकृति र प्रतिफलमा आधारित मानव प्रवृत्तिको विश्लेषण गर्दै नाफा–घाटाका व्यावहारिक तुनाहरूलाई तानतुन गर्दै रचिएको प्रणाली हो, पुँजीवाद । यस अवसरवादी प्रणालीले वृद्धि र नाफालाई बढोत्तरी गरे पनि यो अन्ततोगत्वा मानवताविरोधी हुन्छ भनेर मानव विकासको नयाँ परिभाषा खोज्ने आकांक्षा हो, समाजवाद । पुँजी र नाफाको परिधिभित्र पक्कै पनि पुँजीवाद सबैभन्दा दक्ष र प्रभावकारी हुन सक्छ तर मानव विकासलाई पुँजी तथा नाफाको परिधिभित्र मात्र राख्नु अदूरदर्शी र मानवताविरोधी हुन्छ भन्ने अडान हो, समाजवाद ।
उद्देश्यको क्षेत्र नै यति फरक रहेका यी दुई वादलाई एउटै रेखामा राखेर कसरी मूल्यांकन हुन सक्छ त ? उदाहरणका लागि, हाम्रो शारीरिक प्रणालीमा वजन बढाएर शक्तिशाली हुने लक्ष्यप्राप्ति गर्न जति जटिल छ, स्वस्थ मुटु र रक्त प्रणाली कायम राख्न झन् जटिल छ । समाजवादका थुप्रै प्रयोग धेरै असफल भए तर सामाजिक न्याय तथा समानताको समाजवादी आकांक्षा यति महत्त्वपूर्ण छ कि झन् नयाँ सोच र विवेक प्रयोगबाहेक अरू विकल्प हुन सक्दैन ।
भनिन्छ, पुँजीको वृद्धि पुँजीवादको प्रमुख उद्देश्य भए पनि पुँजीवाद यति विशेष छ कि सामाजिक न्याय र समानताका मुद्दाको समाधान पुँजीवादभित्रै छ । ‘रोटी सबैलाई बाँड्नका निम्ति सुरुमा रोटीको प्रभावकारी उत्पादन नै हुनुपर्यो । रोटी बढाउन आज हामी सबै लाग्यौँ भने त भोलि सबैको भाग लाग्ने निश्चय छ ।’ ट्रिकल डाउन नवउदारवादको यही दाबीको पछाडि हामी लाग्यौँ र रोटी बढाउनमा सबै कुदेको कुदेकै भयौँ । रोटी बढेकै हो र भागमा पनि परेकै हो तर समाजवादले सतर्क गराएजस्तै रोटी बढाउने ९९ प्रतिशतको भागमा १ प्रतिशत पर्यो भने बाँकी ९९ प्रतिशत सबै १ प्रतिशतको भागमा । समस्या रोटीको भाग हुँदै भूभागमा पनि पर्न गयो । ९९ प्रतिशत भाग हत्याउने १ प्रतिशत अर्को खेल के भयो भने १ प्रतिशत भाग पाउने ९९ प्रतिशत लाई कसरी आपसमा जुधाएर आफ्नो ९९ प्रतिशतभाग कायम राख्ने । अहिले जताततै बढ्दो प्रतिगामी लहर यसकै परिणाम हो ।
आखिर के भयो ? तर्क र यथार्थमा आधारित मानिने पुँजीवादले मानव प्रकृति तथा मनोभावको विश्लेषण त गर्यो तर त्यो अपूर्ण विश्लेषण थियो । रोटी बढ्नेबित्तिकै भागमा परेपछि मान्छे खुसी भइहाल्ने होइन रहेछ । जबसम्म ‘स्क्यार्सिटी माइन्डसेट’ रहन्छ, न ठूलो भाग पाउने खुसी हुन सक्दो रहेछ, न त आखिर भाग पाए नि भनेर सानो भाग पाउने नै । अनिश्चितताको डर मनमा भएसम्म, व्यक्तिवादी प्रतिस्पर्धात्मक सोच हावी भएसम्म रोटीको किनारामै जिन्दगी एउटा तुच्छ लडाइँ हुन पुग्छ । दु:खको कुरा, त्यसको दुर्घटना मानवमा मात्र सीमित नभएर सारा वनस्पति र जीवको अस्तित्वसमेत हुन पुगेको छ । असीम उत्पादकत्वको नाममा आज मान्छेले सारा संसारलाई आफ्नो डर र महत्त्वाकांक्षाको बन्दी बनाएको छ ।
फेरि पनि पुँजीवादको जगत र जीवविरुद्धको यस आक्रमणको बचाउमा समाजवादले आलोचनाबाहेक के दिन सकेको छ ? समाजवादको झन्डामुनिको इतिहास हेर्ने हो भने दुर्घटनाको लस्कर छ ।
पुँजीवादले जस्तै समाजवादले पनि मानव प्रकृति र मनोभावको अपूर्ण विश्लेषण गर्यो । समाजवादका जति पनि केन्द्रीकृत प्रयोग भए, ती सबैले नारामा भ्रातृत्वको कुरा गरे पनि डरयुक्त मनोभावलाई नै पक्षपोषण गर्यो र सिर्जना होइन, संहारको मञ्च तयार पार्यो ।
पुँजीवादले त आफ्नो उपलब्धि र सीमा दुवै देखाइसक्यो । समाजवादको प्रयोग भने अझै बाँकी छ । त्यसैले अब यो एक्काइसौँ शताब्दी युवावस्थामा पुगेर वयस्क हुँदै गर्दा हामीले सोच्नुपर्नेछ, कस्तो समाजवाद भनेर । लाग्छ, नारीवाद र पर्यावरणवादलाई आत्मसात गरेको समाजवादले नै यस नयाँ शताब्दीमा निकास र सम्भावना दिन्छ ।
नारीवादले नारीको मात्र होइन, सबै सीमान्तकृत पहिचानको कुरा गर्छ, चाहे त्यो लैंगिक होस्, सांस्कृतिक होस् या शारीरिक र मानसिक । समाजवादको नाममा यस्ता धेरै प्रयोग भए, जहाँ उत्पीडक र उत्पीडितको सतही र पूर्वाग्रही सिमाना कोरेर हिंसाको बलमा उत्पीडनकै अर्को वृत्त रचियो । समाजवादको झन्डा बोक्नेहरू विषाक्त पुरुषवादले मुक्त नभएसम्म, हेपाहा एकाधिकारकै मनोभावना रहेसम्म उत्पीडकको अनुहार मात्र फेरिन्छ र उन्मुक्तिका सबै क्रान्ति उत्पीडनको अर्को अध्यायको सुरुआत मात्र हुनेछ । इतिहासले पटक–पटक यही देखाएको छ । त्यस्तै, अर्कोतिर कर्पोरेट नारीवादले विपन्न वर्गमा पहिचानको आन्दोलनप्रति वितृष्णा पैदा गर्दै प्रतिगामी दक्षिणपन्थी शक्तिको प्रभुत्वका निम्ति ठाउँ दिन्छ । त्यसैले उत्पीडन एवं सीमान्तीकरणको जटिलतालाई जरैदेखि केलाउँदै दिगो तथा गतिशील समाधान दिन नारीवाद र समाजवाद सँगसँगै आउनुपर्छ ।
पर्यावरणवाद समाजवादको अर्को सहयात्री हुनुपर्छ । केन्द्रीकृत अहं र प्रभुत्वको शीतयुद्धमा होमिएको सोभियत संघको समाजवाद गलत उदाहरण हो । अर्थहीन उत्पादन र अन्त्यहीन उपभोगको प्रतिस्पर्धामा गाँजिएको चीनको समाजवाद झुटो समाजवाद हो । न्याय र समानताको कुरा गर्ने समाजवाद यदि साँचो हो भने त्यसले न्यायका निम्ति व्यक्तिगत तथा समूहगत सबै अहंलाई त्याग्न सक्नुपर्छ । दिगो कल्याणका निम्ति भौतिक लोभको मात्र होइन, मानसिक महत्त्वाकांक्षालाई समेत त्याग गर्न सक्नुपर्छ । अनिश्चितताको डरमा जबसम्म हामी आफूलाई असीमित बनाउने बहाना गर्छौं, तबसम्म न्यायको नारा आत्मभ्रम मात्र हुन्छ ।
पुँजी र उद्योगको अभावमा रोजगार नपाएर विश्वभर छरपस्टिनु परेको नेपालमा पुँजीवाद प्रणालीको आवश्यकता कसैले नकार्न सक्दैन । प्रसंग त्यही भएर रोचक छ । पुँजीवादलाई प्रयोग गर्दै कसरी समाजवादले नेतृत्व गर्न सक्छ । हिजोको दिनमा समाजवादका उपयोगी तत्त्व पुँजीवादले प्रयोग गर्दै आएको हो । यस्तो चुस्तता समाजवादमा हुन सक्छ कि सक्दैन ? अबको संसारमा सैद्धान्तिक जडतारहित तर वैचारिक स्पष्टतासहितको प्रणाली चाहिन्छ ।
राजतन्त्रमा एकतन्त्रीय निरंकुशता सहेको, माओवादी गृहयुद्धमा सैद्धान्तिक जडता भोगेको, कांग्रेसको वैचारिक अन्योलमा पतन देखेको, रजौटे साम्प्रदायिक अहं मधेस आन्दोलनले चिरेको र समाजवादी बहुमतमा आएको नेकपाको पुरुषप्रधान रूप राम्रोसँग चिनेको नेपाली जनताले के एउटा नवीन प्रयोग ल्याउला ?
जलवायु परिवर्तन र अमेरिकाको संकटको पृष्ठभूमिमा छिमेकी भारत तथा चीन आर्थिक रूपमा उदाउँदा भए पनि नैतिक रूपमा खस्कँदा छन् ।
यो परिप्रेक्ष्यमा कुनै तयारी घोषणापत्र उतार गर्ने विकल्प छैन हामीसँग । विश्व र आफ्नै इतिहासबाट सिक्दै, विज्ञान तथा समाजबाट सिकेका कुरा लिएर, सुधारात्मक र प्रयोगात्मक रूपमा कसरी अगाडि जान सक्छौँ ? यसमा ठूला चुनौती र सम्भावना छन् । नारीवाद र पर्यावरणवादलाई आत्मसात गरी पुँजीवादलाई प्रयोग गर्दै हामीले समाजवादी प्रणाली स्थापना गर्न सक्यौँ भने नेपाल मानवताको आशा केन्द्र हुनेछ ।
(समाजवाद बहस–४ मा अर्को साता जीवन क्षत्रीको विचार प्रकाशित हुनेछ ।)
सम्बन्धित सामग्रीहरु :
त्यो समाजवाद थिएन (समाजवाद बहस–१)
के समाजवाद, के पुँजीवाद (समाजवाद बहस–२)
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...