महामारीमा चिनियाँ समर्पणबाट के सिक्ने ?
महामारीले जरो गाडेको ठाउँमा चीनले चहकिलो 'टर्चलाइट' बाल्यो। अहिले वुहान उज्यालोतर्फ लम्किँदैछ।
जनवरी २३ तारिखदेखि लकडाउन भएको चीनको वुहान सहर अप्रिल ८ तारिखदेखि खुल्यो। कोभिड १९ को महामारीलाई दोहोरिन नदिनका लागि हुबेइ प्रान्त र सहरहरूले वुहानबाट बाहिरिँदा 'स्वास्थ्य कोड' लिनैपर्ने र रेलको प्लेटफर्ममा छिर्दा ज्वरो मापन तथा परिचयपत्र अनिवार्य गरेका छन्।
चिनियाँ रेलवे, वुहान ब्यूरोका अनुसार लकडाउन खुलेकै दिन २७६ वटा रेल वुहानबाट शाङ्हाई, शनचन, छङ्तु लगायत गन्तव्यतर्फ गएका थिए भने पहिलो दिनमै ५५ हजार यात्रुहरू वुहानबाट बाह्य गन्तव्य निस्के। हुबेइ सहित चीनभरका उत्पादन उद्योगहरू सुरक्षा मापदण्ड पच्छ्याउँदै यतिखेर सञ्चालनमा आइसकेका छन्। ७६ दिनसम्ममा कमजोर हुँदै गरेको कोरोना भाइरसलाई सावधानीपूर्वक परास्त गर्ने अठोटका साथ वुहान खुल्यो। भाइरसको स्थिति कमजोर भएर चीन विजयको नजीक पुगे पनि अदृश्य शक्तिबाट सदैव सावधान रहनुपर्ने एउटा सन्देश भने दिइरहेको छ। त्यति मात्रै नभएर चीनले महामारीका अवधिमा विश्वलाई 'समर्पण'का केही मन्त्रहरू पनि सिकाएको छ।
वुहान खुलेपछि राष्ट्रपति सी चिनफिङले चिठी पठाएर महामारी विरूद्धको लडाइँ अन्तिम विजय नहोउञ्जेलसम्म कायम राख्न निर्देशन दिएका छन्। सामाजिक सञ्जालमा उनको चिठीप्रति अनगिन्ती प्रतिक्रियाहरू देखिन्थे जसबाट नेतामाथिको जनविश्वास कतिसम्म टिकेको हुन्छ भन्ने पुष्टि हुन्छ।
विपत्तिको बेलामा कुनै पनि देशका नागरिकले अभिभावकविहीनताको अनुभव गर्छ भने उस्ले पक्कै पनि नेतालाई सराप्छ, सराप्छ। त्यसमाथि जनता अत्तालिएका बेलामा ढाडसयुक्त बोली दिन नसक्ने, साधनश्रोत जुटाउन नसक्ने, आसेपासेले ब्रम्हलुट गर्दा अनदेखा गर्ने, आफ्नो र पराईको भेद राख्ने वा संकीर्णता पालिराख्ने, एकैछिनमा सर्वज्ञानीजस्तो बन्ने र केहीबेरमै अनाडीजस्तो बन्ने नेता त कहिल्यै पनि जनताको आशिर्वाद लायक हुँदैन। नेतै नेताको धनी मुलुक नेपालले यो विपत्तिका बेला नेपाली माटो सुँघेको नेता नपाउनु एउटा उदेकलाग्दो विषय हो।
चीनमा भाइरस प्रकोप चलुञ्जेलसम्म नेतृत्वबाट देखाइएको अभूतपूर्व समर्पण सिक्न लायकको कुरा हो। त्यसमाथि कार्यकारी भएको हैसियतले सी चिनफिङको दैनिकी बिरामीको रेखदेखमै बितिरहेको जस्तो देखिन्छ। दैनिक रूपमा उनी घरेलु मामिलामा निर्देशनहरू दिइरहने, विदेशी राजनेताहरूसँग टेलिफोन संवाद गरिरहने, विभिन्न प्रान्तका जनताले पठाएका चिठीको जवाफ लेखिरहने, स्थलगल भ्रमण र वुहानका स्वास्थ्यकर्मी र बिरामीहरूसँग भिडियो कन्फ्रेन्समार्फत् देखापरिरहने गर्दछन्।
चिनियाँ कम्युनिष्ट पार्टीका ९ करोड सदस्य छन्। उनीहरूलाई दिइएको जिम्मेवारी भनेको 'जनसेवक' बन्नु हो। विपत्तिका बेलामा पार्टीले सर्वत्र सदस्यहरूलाई परिचालन गर्यो। सत्तासीन वा विपक्ष जो भएपनि उनीहरू इमान्दार भैदिएको भए यतिखेर लकडाउन नेपालीका लागि यति पीडादायक हुने थिएन।
दोश्रो कुरा हो, स्वास्थ्यकर्मीको लगनशीलता। वुहानमा चीनभरिका ३४० वटा चिकित्सा टोलीबाट करीब ४२ हजार स्वास्थ्यकर्मीहरू खटिए। आफ्नो ६ महिने गर्भवती श्रीमतीबाट कहिल्यै नफर्किने गरी विदा लिएका २९ वर्षीय फङ् यिन्ह्वा लगायत १४ जना चिकित्सकहरू गत अप्रिल ४ तारिख अर्थात् चीनको राष्ट्रिय शोकदिवसमा पहिलो खेपको सहिद घोषित भए। महामारी विरूद्ध लड्दालड्दै कैयन् स्वास्थ्यकर्मीहरू आफैं ढलेका छन्।
चीनमा पनि निजी स्वास्थ्य संस्था छन् तर तिनीहरूले न्यूनतम साधनश्रोत जुटाएर मात्रै सेवा दिने गर्दछन्। सरकारी स्वास्थ्य सेवा सबैभन्दा लोकप्रिय र अधिकांश बिमाले ढाकिएको छ। आफ्नो ज्यानको बाजी लगाएर बिरामीको जीवन बचाउने स्वास्थ्यकर्मीको समर्पण गहिरो छ। महामारीका बेला कुनै पनि अस्पतालले आफ्नो ढोका बन्द गरेनन्, बरू गेटमै बिरामीको ज्वरो स्क्रिनिङ गरेर कुन कोठातर्फ जानुपर्छ भनेर भित्र्याए। डाक्टरको विदा वा कर्तव्य पलायनको कुरा सुन्नुपरेन। त्यसमाथि माथिको निर्देशन डटेर सामना गर्ने यिनीहरूको शैली हुन्छ।
हाम्रोजस्तो मुलुकमा मृत्यु भैसकेका बिरामीबाट त शूल्क उठाइरहने, सरकारी अस्पतालबाट आफ्नो निजी क्लिनिकतर्फ सिफारिस गर्नेहरूबाट के अपेक्षा गर्न सकिएला र? बिरामी देख्ने बित्तिकै अस्पताल पुर्याउनुपर्नेमा उल्टै स्टेरिङ छोडेर भाग्ने एम्बुलेन्स चालकबाट के अपेक्षा गर्ने होला? हुन त यो सबै भएको महामारी प्रतिरोधी सामग्रीको अभावले थियो। यति निम्छरो तरीकाले चल्ने निजी स्वास्थ्य संस्था र चाहिएको सामान दिलाउन नसक्ने सरकार दुवै आलोच्य छन्। महामारीको बेलामा चिनियाँ स्वास्थ्यकर्मीहरूले ज्यान फालेर लडेको दृश्य विश्वभरका सम्बन्धित व्यक्ति र निकायका लागि प्रेरणास्पद हो।
तेश्रो समर्पणमा अब्बल पक्ष हुन् बजारकर्मीहरू। विपत्तिका बेलामा उल्टोसुल्टो गरेर निमुखा सर्वसाधारणबाट बढी पैसा लिने, सामान लुकाउने साना ठूला सबै व्यापारीहरू पापी हुन् र त्यस्तो उपद्रोलाई टुलुटुलु हेरिबस्ने राज्य संयन्त्र त त्यो भन्दा पनि ठूलो। बजार, पेशा व्यवसायसँग सम्बन्धित व्यक्तिहरूको परीक्षा पनि यस्तै बेलामा हुन्छ। इमानको कमाइ गर्न नसक्ने यस्ता कालो बजारियालाई तह लगाउने पसल खोल्न नसक्नु, देखावटी रूपमा दुईचार वटा सामान बेचेजस्तो गर्नु एउटा शासकीय ढोंग मात्रै देखिन्छ। वुहानमा लकडाउनको बेलामा होस् वा सारा चीनभरि बजारकर्मीहरूले गरेको आपूर्तिको कर्म प्रेरक छ। होटलमा ग्राहक नआएर वा कम व्यापार भएर उनीहरूले विकल्परहित हुनुपरेन। 'गुडविल' कमाएका सानातिना होटलहरूले पनि प्याकिङ खाना, घर घरमा पुर्याउने शैलीबाट ग्राहकहरू पालिरहे।
व्यापार नै गर्ने सोच भएकाहरूले क्षणिक लाटलुटको लघुसोच राख्दैन। राज्यले प्रतिष्ठित पदमा पुर्याएको व्यक्तिको लुटको व्यवसाय छताछुल्ल भएको पनि हाम्रैमा हो। सुपरमार्केटसम्म खाद्यान्न आपूर्ति गर्ने जिम्मा राज्यको, वा राज्यको समन्वयमा कुनै निकायको। तर त्यहाँबाट सुरक्षित रूपमा ग्राहकका हातहातमा पुर्याउने जिम्मा त्यसमुनिका जिम्मेवारहरूको थियो चीनमा। महामारीका बेलामा आपूर्ति श्रृंखला ठप्प हुनुपरेन, कसैले भोकको चिन्ता लिनुपरेन। यसबीचमा अनलाइनदेखि व्यापारिक वर्गले संयमित भएर सामना गरे। सेवाग्राहीप्रतिको यो समर्पण पनि पछ्याउन सकिने विषय हो।
चीनको महामारी हेरेका जो कोही विदेशीले अहिले भन्ने गर्छ, वुहानको लकडाउन, एउटा 'बोल्ड' कदम। पछिल्ला दशकमा निरन्तर चमत्कार गर्दै आएको चीनले यो महामारीका बेला दोषारोपण गरिबस्ने पश्चिमा जगतलाई झण्डै मुखतोड जवाफ दिन खोज्दैछ। अहिले चीन निर्विकल्प मुख बनेको छ, जसलाई धेरै मुलुकहरूले ताकिरहेछन्।
महामारीले जरो गाडेको सबैभन्दा अँध्यारो ठाउँमा चीनले चहकिलो 'टर्चलाइट' बाल्यो। अहिले वुहान उज्यालोतर्फ लम्किँदैछ। यदि चीनले स्थितिलाई नियन्त्रणमा लिन नसकेको भए सारा विश्व नै 'होपलेस' हुने थियो। अब चीनले सिकाउँदै जानेछ। अलिकति समय लिएर भएपनि विश्व फेरि लयमा फर्कन सक्नेछ, त्यसमा चीनको योगदान प्रमुख हुनेछ।
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...