अमेरिका आफैँले छानोस् : अमेरिका फर्स्ट कि मानवता
कोरोनाले संसारभर स्वास्थ्य संकट निम्त्याएका बेला विश्व स्वास्थ्य संगठनको बजेट कटौती गरेर अमेरिकाले के सन्देश दिन खोजेको हो ? आज विश्व जनमतले अमेरिकामाथि प्रश्न गरिरहेको छ ।
प्रथम विश्वयुद्धको चौथो वर्ष सुरु हुनै लाग्दा अमेरिकी राष्ट्रपति विड्रो विल्सनले शान्तिको पहिलो प्रस्ताव राखे । १८ डिसेम्बर १९१६ मा अमेरिकी कूटनीतिज्ञहरूलाई सम्बोधन गर्दै उनले यो प्रस्ताव अघि सारेका थिए । युद्धमा भिडिरहेका देशहरू उनको प्रस्तावप्रति सकारात्मक देखिएनन् ।
शान्ति प्रस्ताव पेस गरेको अमेरिका ५ जुनमा आइनपुग्दै ३४ वटा सामुद्रिक विध्वंसात्मक लडाकु जहाज प्रशान्त महासागरमा उतारेर विश्वयुद्धमा प्रत्यक्ष सहभागी भयो ।
युद्धमा हारको नजिक पुगेपछि जर्मनीले १९१८ अक्टुबर ३ मा अमेरिकालाई शान्ति प्रस्ताव पठायो । त्यसको जवाफमा अमेरिकाले जर्मनीसँग दुई सर्त राख्यो । पहिलो– वार्ता गर्नका लागि जर्मनीले विड्रो विल्सनले अघि सारेका सिद्धान्तलाई पूर्ण रूपले पालना गर्नुपर्ने । दास्रो– जर्मनीले आफ्ना सेना गठबन्धन राष्ट्रबाट हटाउनुपर्ने । पटक–पटकका पत्रसंवादपछि अन्तत: जर्मनीले अमेरिका (गठबन्धन देशहरूको राय सम्मिलित) को प्रस्ताव स्वीकार गर्यो । तिनै प्रस्तावको जगमा टेकेर भर्सेलिज सन्धि भयो । उक्त सन्धिको खण्ड १ मा थियो, लिग अफ नेसन्सको गठन गर्ने प्रावधान ।
लिग अफ नेसन्सको धारणा अमेरिकी राष्ट्रपति विड्रो विल्सनले नै अगाडि सारेका हुन् । तर जब लिग अफ नेसन्स गठन गर्ने समय आयो, त्यतिबेला अमेरिकाले हात झिक्यो । संस्थापक ४३ देशमा अमेरिका सामेल भएन । १९३७ मा यसको सदस्य संख्या बढेर ६४ पुग्दा पनि अमेरिका सदस्य बनेन । विड्रो विल्सनले रोपेको बिरुवारूपी लिग अफ नेसन्स अन्तत: अलपत्र पर्यो ।
भर्सेलिजको सन्धिमा जर्मनीले आफू अपमानित भएको निष्कर्ष निकाल्यो । उसले ६५ लाख जनता, २७ हजार वर्गमाइल जमिन मित्रराष्ट्रहरूलाई सुम्पनुपर्यो भने ६ सय ५० करोड पाउन्ड बराबरको क्षतिपूर्तिसमेत तिर्नुपर्यो । एक हिसाबले भन्दा प्रथम विश्वयुद्धको आगो निभ्दै निभेन । त्यो नयाँ रूपमा प्रकट हुँदै थियो । भर्सेलिजको सन्धि नै दोस्रो विश्वयुद्धको कारक बन्यो । यसले उल्टै बारुदको थुप्रोमाथि आगोको झिल्का थपिदियो ।
दोस्रो विश्वयुद्धको प्रारम्भ १९३९ मा पोल्यान्डमाथि जर्मनीको आक्रमणबाट भए पनि यो युद्ध केही वर्षको युद्धविरामपछिको प्रथम विश्वयुद्धकै निरन्तरता थियो । भलै, नाम दोस्रो विश्वयुद्ध भनिएको किन नहोस् । युद्ध चलिरहेकै समय ५ नोभेम्बर १९४० मा अमेरिकामा राष्ट्रपतिको निर्वाचन भयो । फ्र्याङ्क्लिन डी रुजवेल्ट तेस्रो पटक अमेरिकी राष्ट्रपति चुनिए । चालू युद्धमा अमेरिकाको सहभागिताबारे तीन थरी मत थिए । बहुसंख्यक अमेरिकी यस युद्धमा सामेल हुनुहुन्न भन्थे । केही मित्रराष्ट्रहरूलाई सहयोगमा मात्र सीमित हुनुपर्छ भन्थे भने केही सुरक्षाको कारणले युद्धमा सहभागी हुनुपर्ने मत राख्थे ।
पर्ल हार्वरको लडाइँ सुरु हुनुभन्दा अगाडिसम्म अमेरिकाले ऋण र भाडामा सैनिक पठाएर अप्रत्यक्ष रूपमा मात्रै सहभागी भयो । उक्त घटनापछि युद्धले नयाँ मोड लियो ।
आरामका लागि बिदामा बस्ने निहुँ पारेर गोप्य तवरले रुजवेल्टले विस्टर्न चर्चिलसँग एटलान्टिक महासागरमा भेटेको सन्दर्भ होस् वा हतियार बेच्ने नीतिको बदला ‘नगद देऊ, सामान लेऊको’ नीति अख्तियार गरेको प्रसंग होस् वा ‘मुनरो डक्ट्रिन’ अस्त्र नै किन नहोस् । यी सबै अमेरिका प्रत्यक्ष त युद्धमा सहभागी हुन तयार गरिएका खुड्किला थिए । लोकतन्त्र रक्षाको नाममा हातहतियार भण्डारण गर्ने तथा कयौँ गुणा बढी विमान र युद्धपोतहरू निर्माणमा अमेरिकाले नेतृत्व लियो । युद्धभन्दा पहिले प्रतिवर्ष १ हजारदेखि १ हजार २ सय विमान उत्पादन गर्ने उसको क्षमतामा बढोत्तरी भएर युद्ध समाप्त हुँदासम्म प्रतिवर्ष ६० हजारभन्दा बढी विमान उत्पादन गर्ने तहमा पुग्यो ।
युद्ध उत्कर्षउन्मुख भइरहेको समय २८ नोभेम्बर १९४३ मा रुजवेल्ट, चर्चिल र स्टालिनको संयुक्त बैठक तेहरानमा भयो । यसले तीन निर्णय गर्यो । पहिलो– जर्मनीविरुद्ध संयुक्त रणनीतिक योजना तयार पार्ने । दोस्रो– युरोपभित्रका राजनीतिक मुद्दा सुल्झाउने । तेस्रो– मानवीय र राष्ट्रिय सुरक्षाका लागि अन्तर्राष्ट्रिय स्तरको संगठन निर्माण गर्ने । रुजवेल्टले नै एउटा महासभासहित कार्यकारिणी र अनुगमन समितिसहितको संयुक्त राष्ट्रसंघ स्थापना गर्ने प्रस्ताव प्रस्तुत गरे । विश्वयुद्ध समाप्त भएपछि यही जगमा टेकेर संयुक्त राष्ट्रसंघको स्थापना भयो ।
प्रथम विश्वयुद्ध सुरु हुनुपूर्व अमेरिका ३ सय करोड डलरको ऋणी थियो तर युद्ध समाप्त हुने चरणमा पुग्दा २ सय करोड पाउन्डको महाजन नै बन्न पुग्यो । आफ्नो भूमिमा एक थोपा रगत नबगाई अमेरिकाले जसरी फाइदा उठायो, त्यसरी अरू देशले फाइदा उठाउन पाएनन् । त्यसैगरी दोस्रो युद्धमा उसले जम्मा १ सय २६ करोड डलर नोक्सान बेहोरेको आकलन छ, जबकि रुसले १२ हजार ८ सय करोड, बेलायतले ६ सय ३८ करोड र फ्रान्सले २ सय ११ करोड डलर क्षति बेहोरेको आकलन गरिएको छ । त्यस युद्धमा युगोस्लाभिया, हल्यान्ड र चेकोस्लोभाकियाजस्ता साना देशहरूले समेत क्रमश: ९ सय १४ करोड, ४ सय ४७ करोड र ४ सय २० करोड क्षति बेहोरेको अनुमान छ । यसरी हरेक युद्धलाई उपयोग गर्दै अमेरिकाले आर्थिक सम्पन्नताको बाटो समात्यो ।
बीसौँ शताब्दीको मध्यदेखि २१ औं शताब्दीको पूर्वाद्र्धसम्मका अनेकौँ विश्व घटनामा अमेरिकाको भूमिका कस्तो रह्यो ? उसले विश्व शान्तिको पक्षमा कति योगदान दियो ? घटनाहरू छिपेका छैनन् । शीतयुद्धमा समाजवादी कित्ता कमजोर बनाउन उसले चालेका अनेकौँ रणनीति, मध्यपूर्वको अशान्तिमा उसको उपस्थिति, इन्डो–चीन क्षेत्रमा चलाएका प्रोक्सी वारलगायतका सन्दर्भले उसको असली नियत थाहा नभएको भने होइन । हरेक मुद्दालाई फाइदा र घाटामा वर्गीकरण गर्ने, फाइदा हुने ठाउँमा मात्र आँखा लगाउने र घाटा हुने देखिए हात झिक्ने उसको नीति सदियौँदेखिकै हो ।
सोभियत संघको विघटनपछि विश्वमा एकछत्र प्रभुत्व जमाएको महाशक्ति राष्ट्र अमेरिकालाई कोभिड– १९ को महामारीले सबभन्दा बढी क्षति पुर्याएको छ । यस आलेख तयार पार्दासम्म ५२ हजार २ सय १७ जनाको मृत्यु भएको छ भने ९ लाख २५ हजार ७ सय ५८ संक्रमित देखिएका छन् । उपचारपछि निको हुने ६८ प्रतिशत छन् भने मृत्यु हुने ३२ प्रतिशत । कोभिड– १९ का अनेकौँ सवालमा अमेरिकाको भूमिकाप्रति घरेलु र विश्व जनमत असन्तुष्ट हुने क्रम बढ्दो छ । यहाँ चर्चा गर्न खोजिएको विषय विश्व स्वास्थ्य संगठनको बजेट रोक्ने अमेरिकी हठात् कदमको असरबारे हो ।
जति–जतिबेला विश्वमा संकटहरू पैदा हुन्छन्, त्यति–त्यतिबेला विश्वलाई नेतृत्व गर्ने साझा संगठन झनै आवश्यक पर्ने शिक्षा विगतले दिएको छ । त्यस्ता संगठन गठनमा अमेरिकाले विगतमा खेलेको भूमिकाबाट पनि त्यो झल्कन्छ । तर आज ऊ आफ्नो इतिहास किन मेट्दै छ ? किन उल्टो बाटो हिँड्दै छ ? प्रश्न खडा भएको छ । कोरोनाले मानव जातिविरुद्ध युद्ध छेडेर संसारभरि स्वास्थ्य संकट आएका बेला त्यससँग जुझ्ने अग्र भागमा रहेको विश्व स्वास्थ्य संगठनको बजेट कटौती गरेर उसले के सन्देश दिन खोजेको हो ? आज विश्व जनमतले अमेरिकामाथि प्रश्न गरिरहेको छ ।
देशभित्र कारोना नियन्त्रणको प्रभावकारी कदम चाल्न नसकेको अवस्थालाई विषयान्तर गर्न वा हजारौँ नागरिकको मृत्युलाई छोप्न उसले यो कदम चालेको हो भने त्योभन्दा निरीहता अरू केही हुनै सक्दैन । रुसले अमेरिकाको यो निर्णयलाई स्वार्थले भरिएको कदम भनेको छ भने अस्ट्रेलियाले समेत विश्व स्वास्थ्य संगठनको कदम प्रश्न गर्नलायक भए पनि सहयोग रोक्न नहुने बताएको छ ।
विश्वभर अमेरिकाको यो कदमको निन्दा भएको छ । यो कदमका कारण अमेरिकाले पहिरिँदै आएको विश्व महाशक्तिको ताजमाथि आफैँले तरबार झुन्ड्याइदिएको छ । के महाशक्ति राष्ट्रले विश्वमाथि संकट परेका बेला गर्ने काम यस्तै हो र ?
नजिकिँदै गरेको राष्ट्रपति चुनावको अंकगणितलाई हेरेर यदि ट्रम्प प्रशासनले यो उपाय चालेको हो भने यो स्वार्थले विषाक्त कदम हो । उसले बुझ्नुपर्छ, कोभिड– १९ को आगो घरेलु विषयभन्दा कयौँ गुणा माथिल्लो तहको मानवतासँग प्रत्यक्ष जाडिएको छ भनेर । यो त, ‘अमेरिका फस्ट’ नीति लिएर आएका ट्रम्पलाई त्यसभन्दा माथि ‘मानवता फस्ट’ हुन्छ है ! भनेर आँखा खोलिदिने विषद् विषय हो । विल्सन र रुजवेल्टले परिकल्पना गरेका साझा अवधारणाहरू कार्यान्वयन गर्ने उपयुक्त समय हो । के अमेरिका यो युगीन दायित्वबाट पछाडि हटेकै हो ? के उसले विश्वभन्दा पृथक बाटो हिँड्न खोजेको हो ?के अमेरिकाको दायित्व युद्धमा हतियार बेच्ने मात्रै हो ? यो महासंकटमा मानव जातिको रक्षार्थ उसको पहलकदमी के ? जवाफ नदिई उसलाई धरै छैन ।
विश्व स्वास्थ्य संगठनको१५ प्रतिशत बजेट अमेरिकाले बेहोर्दै आएको थियो । यो रोकेर, थुनेर वा संकट खडा गरेर अरूलाई ठेगानमा ल्याउँछु भन्ने उसको चिन्तन ढुंगे युगीन रवाफको पुन: प्रकटीकरण हो । वैश्विक धारणामा देखिएको दरिद्रता हो । पुँजीवादीहरूले जनस्वास्थ्यलाई कसरी हेर्दा रहेछन् भन्ने एक नमुना हो । पुँजीका अगाडि सबै लत्रनुपर्छ, अन्यथा यसले डन्डा बर्साउँछ भनी विश्व जनमतलाई तर्साउन चालेको रणनीतिक अस्त्र हो । जति तर्क गरे पनि यो कुनै कोणबाट पनि पुष्ट गर्न कठिन पर्ने अमानवीय हर्कत हो । सम्भवत: ट्रम्प प्रशासनको यो कदम बहुसंख्यक अमेरिकीको भावनाविरुद्धको कदम हो ।
चीनसँग केही समय पहिलादेखि नै व्यापार युद्ध चलिरहेकै थियो । कोभिड– १९ त्यसका कारणले सिर्जित समस्या होइन । संसारभरि आगो लागेको वर्तमान समयमा व्यापार युद्धको बदला लिने वा चीनसँगको झोक फेर्ने अथवा विश्व स्वास्थ्य संगठनलाई पाठ पढाउने यो समय होइन भन्ने सच्याइ अमेरिकाले अविलम्ब बुझ्नैपर्छ ।
स्वास्थ्य संकट सुरक्षा
संकटभन्दा बलशाली बनेर प्रकट भएको छ । यसर्थ, यो बेला पुराना घटनाक्रम थप्दै जाने समय होइन । बरु विवादहरू थाँती राखेर नयाँ जगमा एक हुने समय हो । तसर्थ, अमेरिकाले मानव जातिप्रति योगदान दिनुपर्ने समय आएको निष्कर्ष निकाल्न अब रत्तिभर ढिलाइ गर्नु हुँदैन । अमेरिका आफँैले छानोस्– अमेरिका फस्ट कि मानवता ?
किनकि मानव जातिकै अस्तित्व संकटमा परेका बेला हिजो पानी आइरहेका मुहान थुन्नु भनेको के हो ? विश्वले समीक्षा गर्ला नै ।
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...