महामारी उन्मूलनमा विज्ञान, नीति र समाज
खुकुलो यात्राको एउटा आधार सायद कोभिड–१९ को खोप हुनेछ । खोप निर्माणको प्रक्रिया जारी छ तर तयार भइसकेपछि खोपको उपलब्धता, खर्च र वितरण चुनौतीका विषय हुनेछन् ।
अहिले विश्वभर कोभिड–१९ को महामारी फैलिएको छ । हामी घरभित्रै बन्दाबन्दीमा रहेका छौँ । लाखौँ जहाँ छन्, त्यही अड्किएका छन् । मास्क लगाउनु, साबुनपानीले मिचीमिची हात धुनु, हातमा स्यानिटाइजर लगाउनु, एकअर्काबाट ४–५ फिट टाढा बस्नु, आँखा, नाकलाई हातले नछोई राख्नू भन्ने सुझाइएको छ, संक्रमण नबढाउन सहयोगी ।।
हामी सबैको चाहना छ, महामारीबाट सुरक्षित रहँदै, व्यवस्थित र उपयुक्त हिसाबले बन्दाबन्दी खुकुलो पारियोस् । प्रकृतिसित संवेदनशील र सद्भावको मान्यताले डोर्याइएको मानव यात्रा सुरु होस् । हरेक बिहान तत्अनुरूप व्यक्तिगत प्रयास, चिने/जानेका र मित्रहरूलाई त्यही बाटो लिन प्रोत्साहन गर्ने संकल्प गरेको छु ।
जिम्मा लिएकाले ‘धैर्य गरौँ, हामी प्रयास गर्दै छौँ’ भनिदिए मात्र पनि चित्त बुझ्थ्यो, भन्दैनन् । करुणा र सद्भावका भाष्य हराएसरह छन् । हामी यस्तै हौँ कि, महामारीले बनाएको हो ? सामाजिक सञ्जालका सूचना हल्लासरह छन्, हराउने गरेको छु । कर्मकाण्डीय सूचनामा सिमटिएको लाचार, असहाय र असमर्थ भएको अनुभूति हुन्छ ।
खुकुलो यात्रा र खोप
खुकुलो यात्राको एउटा आधार सायद कोभिड–१९ को खोप हुनेछ । बुझ्न प्रयासरत छु । केही दिनअघिका खबर थिए, खोप तयार हुन १२ देखि १८ महिना लाग्नेछ । औषधी कम्पनीहरू छिटोछिटो खोप निर्माणको क्रममा छन् ।
न्युयोर्क टाइम्स (२७ अप्रिल) र सीएनएन (२९ अप्रिल) का पछिल्ला खबरअनुसार अमेरिका, जर्मनी र अक्सफोर्डका कम्पनीले मान्छेमा परीक्षण सुरु गरिसकेका छन् । अनुमानअनुसार प्रक्रिया चले आउँदो सेप्टेम्बरसम्म खोपको पहिलो खेप उपलब्ध हुनेछ । चिकित्सक, जनस्वास्थ्यविज्ञ र एपिडिमियोलोजिस्टहरूले बताउने, सुझाव दिने नै छन् ।
तयार भइसकेपछि खोपको उपलब्धता, खर्च र वितरण चुनौतीका विषय हुनेछन् ।
एकातिर विश्वका सबैलाई बिनाशुल्क खोप उपलब्ध हुनुपर्छ भन्ने तर्क आउनेछ भने अर्कातिर खोप निर्माण, बौद्धिक सम्पत्ति अधिकार, लगानी र मूल्यका प्रश्नहरू उठ्नेछन् । मुलुकहरू अन्तरमुखी हुँदै गरेको विश्व व्यवस्थामा सरकारहरूबीच सहकार्य कसरी प्रत्याभूत होला ? उत्तर भविष्यको गर्भमा रहेको छ ।
उन्मूलन र खोप
विगतमा भएका महामारी उन्मूलन गर्न खोप उपयोगी भएको थियो । तर प्रयासहरूमा इतिहास, राजनीति, वैचारिक भिन्नता र शक्तिशाली गुटका चासो हावी भएका थिए । सन् १९८८ मा सुरु भएको पोलियो उन्मूलनको अनुभव थमस अब्राह्मको पुस्तक पोलियो, द ओडसी अफ इराडिकेसन, २०१८ ले प्रस्तुत गरेको छ ।
पोलियो उन्मूलनको सिलसिला सन् १९३८ मा अमेरिकामा सुरु भएको हो । खोप तयार पार्न एक दशकभन्दा बढी लागेको थियो । जोनाथन सफरान फोएरका अनुसार (वीआर द वेदर सेभिङ द प्लानेट बिगिन्स एट ब्रेकफास्ट, २०१९), उन्मूलनमा राजनीतिक नेतृत्व, विज्ञान, सार्वजनिक नीति, सहभागिता र सामाजिक परिवेश रहेको थियो ।
बीसौँ शताब्दी सुरु भएपछि अमेरिकामा पोलियो डरलाग्दो रोगको रूपमा देखापर्यो । पोलियोका कारण सन् १९२१ मा राजनीतिज्ञ फ्रांकलिन डिलानो रुजवेल्टको कम्मरदेखि तल चल्ने भएन । राजनीतिज्ञको रूपमा जीवन बिताउने ध्येय राखेका रुजवेल्टले हिम्मत हारेनन्, आफ्नो उद्देश्यमा निरन्तर डटिरहे ।
सन् १९३३ मा डेमोक्र्याटिक पार्टीका तर्फबाट रुजवेल्ट अमेरिकाको राष्ट्रपति पदमा चुनिए । सन् १९३८ मा पोलियोबाट संक्रमितहरूको पुनर्स्थापना र रोग उन्मूलनका लागि खोप तयार गर्न राष्ट्रपति रुजवेल्टले पहल गरेका थिए । अनुसन्धानका लागि रकम चाहियो ।
त्यसै वर्ष उनले ‘नेसनल फाउन्डेसन फर इन्फान्नटाइल प्यारालिसिस’ नामक संगठन स्थापना गराए । पछि संगठनलाई ‘मार्च इन डाइम’ भन्न थालिएको थियो । अमेरिकामा दस सेन्टलाई डाइम भनिन्छ । संगठनले एउटा ठूलो दाताबाट पैसा नलिएर हजारौँ स–साना दाताबाट संकलन गर्यो ।
अनुसन्धानका लागि रकम प्राप्त गर्ने वैज्ञानिक थिए, जोनस सल्क । बाँदरमा खोपको प्रयोग गरेपछि सल्कले सन् १९५२ मा आफू, आफ्नी पत्नी र छोराहरूमा परीक्षण सुरु गरे । दुई वर्षपछि मान्छेहरूमा व्यापक परीक्षण सुरु भयो । खोपले फाइदा हुन्छ वा हँुदैन भन्ने स्पष्ट भइसकेको थिएन तर पनि परीक्षणमा लाखौँ मान्छेहरू सहभागी भएका थिए ।
अमेरिकी स्वास्थ्य क्षेत्रको इतिहासमा एउटा ठूलो प्रयोग थियो, उक्त परीक्षण । सन् १९५५ अप्रिलमा परीक्षणको नतिजा सार्वजनिक गरियो । खोप इन्जेक्सन सुरक्षित, प्रभावकारी र उपयुक्त देखियो । स्वीकृत भएको केही महिनामा धेरैजसो केटाकेटीलाई खोप लगाइयो ।
फोएरका अनुसार रोगले केटाकेटीलाई मात्रै असर गर्छ, तन्नेरीलाई गर्दैन भन्ने मान्यता थियो । तन्नेरीहरू खोप लिन राजी भएनन् । युवालाई प्रेरित गर्न त्यसबेलाका प्रख्यात गायक एल्विस प्रेस्लीको सहयोग लिइयो । खोप लिँदै गरेको एल्विसको फोटो अमेरिकाका मुख्य अखबारहरूमा छापिएपछि खोप लिनेको संख्या ह्वात्तै बढ्यो ।
पोलियो उन्मूलन गर्न एल्विसले ठूलो भूमिका वहन गरे भनिए पनि इतिहासविद् स्टिफेन मडउसलीलाई उद्धृत गर्दै फोएर भन्छन्– एल्विसको सहभागिताले युवालाई खोप लिन प्रेरणा पुगेको थियो तर युवाहरू आफैँ पनि परिवर्तनका संवाहक भएका थिए ।
उनीहरूले पोलियोविरुद्धमा युवा समूह खडा गरे, ढोकाढोकामै गएर युवालाई खोप लिन पैरवी गरे । पहिलोपल्ट युवाशक्ति आफ्नो समूहसित जोडिने र आफैँलाई बुझ्ने प्रयासमा समर्पित भएको थियो ।
सबैको योगदान
सफरानका अनुसार अमेरिकामा पोलियो रोग उन्मूलनमा सबैको योगदान रह्यो । राष्ट्रपतिले सुरु गरेको रकम जुटाउन १० सेन्ट पठाउने दाताहरू सहभागी भए । जोनस सल्कलाई अनुसन्धान गर्न रकम उपलब्ध भयो ।
उनका आफ्नै परिवार र लाखौँ ट्रायलमा सहभागी भए । अन्यथा खोप आउने थिएन । युवामा खोप लिनेको संख्या बढाउन सेलिब्रिटी गायकको सहयोग लिइयो । अखबारहरू प्रयोग गरिए । युवाहरूले थप पैरवी गरे । सबैको सहभागिता र योगदानले अमेरिकामा पोलियो उन्मूलन भयो ।
पोलियो खोप पत्ता लगाउने आधार विज्ञान थियो । त्यही समय एल्बर्ट सविन नामका अर्का वैज्ञानिकले पनि ‘मार्च इन डाइम’ बाट खोप निर्माणका लागि सहयोग रकम प्राप्त गरेका थिए । सविनले सस्तो खोप बनाए, खान हुने (ओरल पोलियो भ्याक्सिन) ।
पूर्वसोभियत युनियन, पूर्वीयुरोप र जापानमा सविनको खोप प्रयोग भयो । भारत र नेपालमा पनि खाने खोप नै प्रयोग भएको थियो ।
सात दशकको विकास
तर यी मुलुकहरूमा खानेपानी र सरसफाइको आपूर्ति शतप्रतिशत हुन सकेको छैन । सहस्राब्दी लक्ष्यको वेबसाइटले भन्छ, ‘सन् २०१७ मा विश्वका ६० प्रतिशत मुलुकका ३८ प्रतिशतलाई मात्रै घरमा साबुन र सफापानीले हात धुने सुविधा उपलब्ध थियो । अर्थात्, करिब तीन अर्बलाई घरघरमा यो सुविधा पुर्याउन सकिएको छैन ।’ जवाफ खोज्दै परिवर्तन गर्नुपर्ने एउटा वास्तविकता हो, यो ।
पोलियो निवारणको अमेरिकी अनुभवलाई सन् १९५० तिरको सिलसिला मान्ने हो भने आज ७० वर्ष भएको छ । विगत सात दशक विकासको कालखण्ड थियो । यस अवधिमा रोगव्याधि एवं वातावरणीय ह्रास कम गर्न प्रयास नगरिएका होइनन् ।
त्यसो गर्नुपर्छ भन्ने सरकारहरू र अन्तर्राष्ट्रिय समुदायको स्वीकारोक्ति पनि थियो । सन् १९९० पछि विश्व राजनीतिक फाँटमा जलवायु परिवर्तन संकथन सुरु भयो । यद्यपि वैज्ञानिकहरूले निकै अगाडि परिवर्तनको जोखिम औँल्याइसकेका थिए ।
सन्तुलित वातावरण, सामाजिक समता, उत्थानशीलता, सबल सार्वजनिक स्वास्थ्य, गरिबी निवारण र अन्य चुनौतीबारे कुराकानी भएका थिए । तर चुनौतीहरू कायमै रहेका छन् । मूलधार, सरकारहरू र कर्पोरेसनहरू वित्तीय फाइदाले निर्देशित भएका रहेछन् । खोप निर्माण कम्पनीहरू पनि मुनाफा निर्देशित हुन्छन् ।
सन् २०१६ को जनवरीमा प्रकाशित अक्सफामको एक प्रतिवेदनले आर्थिक हिसाबले सबभन्दा तल रहेको विश्व जनसंख्याको (३ अर्ब ६० करोड) आधाभन्दा बढी सम्पत्ति ६२ जना व्यक्तिको हातमा थुप्रिएको आँकडा प्रस्तुत गरेको थियो ।
सन् २०१४ मा यो संख्या ८० थियो भने सन् २०१० मा ३ सय ८८ ।
वैज्ञानिक आधार
विगतका महामारीजस्तै कोभिड–१९ लाई तह लगाउने एउटा आधार विज्ञान हुनेछ । विज्ञानले खास विधि र सिद्धान्तको आधारमा निष्कर्ष निकाल्छ तर कसले केका लागि, कुन मान्यताले निर्देशित भई निष्कर्ष निकालेको हो, बुझ्न जरुरी हुन्छ ।
प्रयोगशालाबाट निस्किएको भन्दैमा निष्कर्षलाई सबैले मान्नु जरुरी छैन, तत्काल विश्वास पनि गरी हाल्दैनन् । हरेक व्यक्तिको अनुभूति, मान्यता जोखिमका धारणा फरक हुन्छन् । निष्कर्ष लिने कि नलिने भने विषयमा सामाजिक व्यवहार र राजनीति प्रतिविम्बित हुन्छन् ।
वैज्ञानिक विधिमा दीक्षित चिकित्सकहरू संक्रमण निदानको अग्रपंक्तिमा हुनुपर्छ । महामारीमा जीवन बचाउने जिम्मा छ । ट्रेसिङ, टेस्टिङ, ट्रिटमेन्ट वैज्ञानिक विधि हुन् । महामारीले ल्याएको मानवीय, सामाजिक र जनजीविका विषयको निदान जिम्मा राजनीतिक नेतृत्व, अन्य विधाका विश्लेषकहरू, मिडिया, शिक्षक, व्यापारी, समुदायका अगुवा र नागरिकको पनि हो । खानपिन, आहार व्यायाम, योग, मेडिटेसन, मानसिक शान्तिको खोजी व्यक्तिले आफ्नो प्रतिरोध बढाउने आधार हुन् ।
नीति र सिर्जना
नीति कार्यान्वयनमा विज्ञान मात्रै पूर्ण हुँदैन । ७० वर्षअघिको अमेरिकामा पोलियो निवारणको इतिहासले यही बताएको छ । सोचेजस्तो हुँदैन, गल्ती हुन्छ र सच्याउनु जरुरी छ । बिग्रिएको खोप लगाइएका कारण २ सय केटाकेटीहरू असक्त भएका थिए, १० जनाको मृत्यु भएको थियो ।
कोभिड–१९ महामारीमा वैज्ञानिक आधार र नीतिशास्त्रका अगुवा औद्योगिक मुलुकहरू किन यस्तो स्थितिमा पुगे ? यस प्रश्नको जवाफका साथै कसरी तंग्रिए भन्ने गाथा लेखिने नै छन् । हाम्रा गाथा पनि लेखिनुपर्छ । त्यस गाथामा नेपाली समाजको वैज्ञानिक संस्कारको विवेचना पनि गर्नुपर्नेछ ।
अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयमा कार्यरत दिनेश न्यौपाने र सन्तोष ढकालले १६ वैशाख ०७७ को कान्तिपुरमा आफ्नो लेखमा प्रस्ताव गरेका छन्, ‘भविष्यमा कोभिड–१९ मात्रै नभई अन्य रोगको खोप निर्माण तथा अनुसन्धान नेपालमै गर्न सकिने गरी हाम्रा विश्वविद्यालय र अनुसन्धान केन्द्रहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने देखिन्छ ।’
वैज्ञानिक सिर्जनाका लागि अध्येताहरूले आफ्ना सफलता र गल्ती एकआपसमा आदानप्रदान गर्नुपर्ने हुन्छ । हाम्रा विश्वविद्यालय, अनुसन्धान केन्द्रहरू र युवा पुस्ताका विश्लेषकहरू सिर्जनात्मक एवं सक्षम बन्न नेपालमा विज्ञान र वैज्ञानिकहरूको के–कस्तो भूमिका छ, कता छौँ, मन्थन जरुरी छ ।
मन्थनमा राज्य र समाजले दिने मौका, सहयोग एवं प्रोत्साहनका सन्दर्भ संलग्न हुनुपर्नेछ । धरातलीय परिवेश, शासन प्रणाली एवं विज्ञान र प्रविधिका अन्तरसम्बन्ध पनि मन्थनका विषयहरू हुन् ।
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...