१५ प्रश्नोत्तरबाट बुझ्नुस् कोभिड १९ को एन्टिबडी परीक्षणसहित पछिल्लो प्रगति
कोरोनासँग जुध्न समाजलाई संक्रमणविहीन र चलायमान बनाएर अघि बढ्नु नै उत्तम उपाय हो । अब लकडाउनको निर्धो र पश्चगामी नीति लिएर पुराना गल्तीलाई प्रत्येक २–२ सातामा नवीकरण गर्नुको कुनै उपादेयता छैन
बुलबुल : हैन हो, के छ हालखबर कोरोना भाइरस संक्रमणको ? हाम्रा प्रधानमन्त्रीले त भारततिरको भाइरस कडा रहेछ भने भनेर ठूलै हल्लीखल्ली भएको छ रे नि त उता छिमेकतिर ? फेरि डोनाल्ड ट्रम्पले यसलाई चिनियाँ भाइरस भनिदिएर राजनीतिक विवादको विषय बनाइदिए भन्नेहरू पनि छन् नि ?
सिमसिम : राजनीति गर्नेहरूको भाषा त उनीहरू नै जानून् । तर कुनै भाइरस सामान्य अथवा कडा रोग लगाउने खालको छ भन्ने कुरा हाम्रो स्वास्थ्यमा यसले कस्तो असर पारिराखेको छ र कति चाँडो समुदायमा फैलिन्छ आदि कुरालाई आधार बनाएर भनिने हो । जहाँसम्म कुनै रोग, सूक्ष्म जीव अथवा भाइरसको नाम राख्ने कुरा हुन्छ । एक त पूरा वैज्ञानिक वर्गीकरणका आधारमा हुन्छ भने अर्को सजिलोका लागि उक्त रोग अथवा जीवको उत्पत्ति स्थलका आधारमा राख्ने गरिन्छ । न कि कुनै देशको राष्ट्रियताका आधारमा ।
अहिलेको कोरोना भाइरसलाई यसको उत्पत्ति स्थलका आधारमा वुहान भाइरस भनिएको खण्डमा चीन पनि रिसाउन पाउने आधार रहन्न । तर चिनियाँ भाइरस भनिदियो भने उनीहरूमा भावनात्मक चोट पुग्न सक्छ ।
बुलबुल : भाइरस त आखिर एउटै हैन र ? किन उत्तरतिरको नरम, दक्षिणतिरको कडा, पूर्वको यस्तो अनि पश्चिमतिरको त्यस्तो भनेर थरीथरीको ट्याग लगाउनु परेको होला ?
सिमसिम : पानी एक निर्जीव यौगिक भएर त ठाउँअनुसार अन्य मिश्रणका कारणले यसको गुण र स्वाद फरक हुन जान्छ भने भाइरस त आफ्नो जनसंख्या वृद्धि गर्न सक्ने, उत्परिवर्तन भएर विषाणु (डीएनए) एवं प्रोटिनका गुणमा परिवर्तन ल्याउने, विभिन्न माध्यमबाट फैलिएर वंश विस्तार गर्न सक्ने सजीवीय चरित्र भएको पदार्थ हो । यस कारण समयक्रमसँगै यसमा उत्परिवर्तन भई थरीथरीका नश्लहरूमा विकसित र विस्तारित हुँदै जान सक्छ भन्ने कुरा वैज्ञानिक तथ्य हुन् ।
बुलबुल : त्यसो भए नेपाललगायत संसारका विभिन्न देशहरूमा चीनको वुहान सहरमा उत्पन्न भएको भाइरसभन्दा फरक थरीथरी नश्लका कोरोना भाइरस फैलिरहेका छन् त ?
सिमसिम : नेपालमा पहिलो पटक कोरोना भाइरस प्रमाणित रूपमा भित्रिएको तथ्य १३ जनवरी २०२० हो । वुहानमा अध्यनरत विद्यार्थी नेपाल फर्किएको अवस्थामा निजको शरीरबाट परीक्षणका लागि निकालिएको भाइरसको नमुना हङकङ विश्वविद्यालयको प्रयोगशालामा आरटी पीसीआर प्रविधिबाट यसको डीएनए परीक्षण गर्दा यो भाइरस सार्स–कोभ–२ हो भनी प्रमाणित गरिएको हो । विश्वकै लागि पहिले केसचाहिँ यसको उत्पत्ति स्थल चीनको वुहान सहरमा नोभेम्बर १७, २०१९ मा ५५ वर्षीय मानिसमा संक्रमण भएको भन्ने चिनियाँ समाचार साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ । त्यसपछि उक्त भाइरसको विभिन्न मुलुकबाट नमुना संकलन गरी पूर्ण वंशाणु परीक्षण (जिनोम सेकेन्सिङ) गरी हेर्दा उत्पत्ति स्थल वुहानको मूल नमुना भाइरसको जिनोमभन्दा त्यसपछि फैलिएका भाइरसका कम्तीमा ५ वटा जीनमा उत्परिवर्तन (म्युटेसन) का कारणले सुरुको नश्लभन्दा केही फरक भएको पाइएको छ ।
बुलबुल : ए, त्यसो भए नेपालभर पनि त्यही उत्परिवर्तन भएको भाइरस नै फैलिइराखेको होला है ? अनि, हामीकहाँ भेटिएको भाइरस वुहानको मूल नमुना भाइरसभन्दा फरक हुन सक्ने हुनाले यसले गर्ने सक्ने संक्रमण, रोग प्रकृति र मृत्युको जोखिम त्यहाँको भन्दा फरक अथवा ज्यादै न्यून होला है ।
सिमसिम : जीवको उत्परिवर्तन संयोगको खेला हो र कसैप्रति प्रत्यक्ष लक्षित हुँदैन । यसले आफैँलाई वा अरू कसैलाई फाइदा अथवा हानि गराउँछु भनेर उत्परिवर्तित हुने होइन । तर त्यो उत्परिवर्तन भइसकेपछि भने सम्बन्धित जीव आफैँ अथवा यदि उक्त जीव परजीवी छ भने यसले सम्पर्क गर्ने र आफ्नो बास बनाउने वनस्पति वा प्राणीलाई भने खराब असर गर्ने, केही असर नदेखाउने अथवा अझ फाइदा गराउने पनि हुन सक्छ । नेपालको हकमा उक्त सार्स–कोभ–२ वैज्ञानिक नाम दिइएको भाइरसको नेपालमा संकलन गरिएको नमुनालाई सार्स–कोभ–२/ह्युमन/एनपीएल/६१–टीडब्लु/२०२० नाम दिइएको छ । यस भाइरसको ६ वटा म्युटेसन पाइसकिएको छ ।
नेपालमा कोभिड– १९ को प्रथम केस देखिएबाट सुरुको २ महिनासम्म अन्य केस नगन्य मात्रामा देखिएको अवस्थामा के हल्ला अथवा अनुमानहरू हुन्थे भने यहाँको भाइरस कमजोर छ, नेपालीको रोग प्रतिरोधी क्षमता धरै बलियो छ, यहाँको हावापानी र रहनसहनमा भाइरस टिक्न सक्दैन आदि वैज्ञानिक तथ्यले पुष्टि नगरेका तर अनुमानका भरमा हल्ला चलाउनेहरू थिए । कहिलेकाहीँ त यस्ता खाले तर्क स्वास्थ्यविज्ञहरूले समेत राखेको पाइन्थ्यो ।
बुलबुल : मैले सोधेभन्दा कुरा अन्तै लम्बिएजस्तो छ । कोभिड– १९ को उद्गम स्रोत वुहानबाट सोझै नेपाल फर्किएका बिरामीमा पाइएको कोरोना भाइरसको म्युटेसनले के कुरा इंगित गर्छ । यो सुखद कि दु:खद पक्ष हो हाम्रा लागि ? नेपालभरि एउटै भाइरस फैलिएको कारणले सबैतिर उस्तै खाले अति सामान्य लक्षणहरू देखिने अथवा कुनै लक्षण नै नदेखिने भएको हो त ?
सिमसिम : वुहानपछि नेपालमा दोस्रो केस बेल्जियमबाट फर्किएको व्यक्तिमा देखा परेको हो । तर उक्त केसको भाइरसको जिनोम सिकेन्सिङ गरिएको रिपोर्ट अहिलेसम्म थाहा छैन । त्यसपछिका केसहरू पनि सबै तेस्रो मुलुकबाट फर्किएका मानिसहरूबाट मात्रै आएको थियो । धेरै पछि छिमेकी भारतबाट फर्किएकामा कोभिड–१९ का केसहरू रेकर्ड हुन थालेका हुन् । नेपालमा कोभिड– १९ बाट हालसम्म ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।
तर यहाँ विचारणीय के भने कोभिड– १९ को उत्पत्ति स्थल वुहानमा पहिलो केस भेटिएको दिन १७ नोभेम्बर २०१९ र पहिलो नेपाली केस त्यही बसिराखेर उताबाट १३ जनवरी २०२० मा नेपाल फर्किएका मानिसमा उतै हुँदा ३ जनवरी २०२० मा कोभिड– १९ का लक्षणहरू देखा परिसकेको विख्यात स्वास्थ्य अनुसन्धान पत्रिका द लान्सेटको १० फेब्रुअरी २०२० को प्रकाशनमा उल्लेख छ ।
यसरी बिरामीले रोगको लक्षण अनुभव गरेको र पहिलो कोभिड–१९ प्रमाणित रूपमा देखा परेको दिनको अन्तर बढीमा ७ हप्ताको देखिन्छ । यसबीचमै उक्त भाइरसको नश्लमा उत्परिवर्तन आइसकेको प्रमाणसमेत आइसकेको छ । यसै बेला नेपालमा विभिन्न देशहरूबाट मानिस आइरहेका छन् र भारतबाट नेपाल भित्रिनेहरू पनि त्यहाँका विभिन्न राज्यहरूबाट आएका छन् । भारतमै पनि विभिन्न देशबाट त्यहाँ भित्रिनेहरूले कोरोना सल्काएको संक्रमणका अध्ययनहरूले पुष्टि गरेका छन् ।
यसकारण नेपालभरि फैलिइरहेको कोरोना भाइरस एउटै नश्लको हो भन्न सकिने आधारहरू छैनन् र व्यापक मात्रामा जिनोम सिकेन्सिङ नगरी कुन तथा कति थरी नश्लका भाइरस यहाँ फैलिएका छन्, यकिनसाथ भन्न गाह्रो छ ।
बुलबुल : यसको मतलव कोरोना भाइरस यस्तो चाँडो म्युटेसन हुने रहेछ है । यसरी म्युटेसन भएर आफैँ सखाप भए त क्या मज्जा हुन्थ्यो हगि ?
सिमसिम : हामीले चाहेकै अथावा इच्छाएअनुसार त म्युटेसन के हुन्थ्यो र । वंशाणुका हिसाबले भाइरसहरू मूल रूपमा डीएनए तथा आरएनए गरी २ थरी भाइरसमा वर्गीकरण गरिएका छन् । तर ती अन्य प्रकारका वर्गीकरण गरिएका विभिन्न भाइरसहरूको म्युटेसन दर फरक–फरक छ । यो नोबेल कोरोना– २०१९ एक आरएनए भाइरस हो । भाइरसका वंशाणु डीएनए तथा आरएनए चार थरी न्युक्लियोटाइडहरूले बनेका हुन्छन् र उत्परिवर्तन हुने यिनै क्षारीय यौगिकहरूमा हो । यो सार्स–कोभ–२ मा करिब ३० हजार न्युक्लियोटाइड रहेका छन् । यो एक हिसाबले एकदमै सानो जिनोम हो ।
म्युटेसनको कुरा गर्दा सामान्यतया डीएनए भाइरसमा प्रतिन्युक्लियोटाइडमा १०–८ देखि १०–६ का दरले प्रतिसंक्रमित कोष उत्परिवर्तन हुने भेटिएको छ भने आरएनए भाइरसको हकमा उत्परिवर्तन धेरै नै बढी पाइन्छ । यसको दर १०–६ देखि १०–४ प्रतिन्युक्लियोटाइड प्रतिसंक्रमित कोष पाइएको छ । सार्स–कोभ जिनोमको उत्परिवर्तन दर ०.८०–२.३८ गुणा १०–३ प्रतिन्युक्लियोटाइड प्रतिवर्ष हुने अनुमान छ । यसको उत्परिवर्तन दर अन्य आरएनए भाइरससरहकै हुने अनुमान गरिएको छ । मौन उत्परिवर्तन र सक्रिय उत्परिवर्तनको हकमा भने क्रमश: १.१६–३.३० गुणा १०–३ र १.६७–४.६७ गुणा १०–३ प्रतिन्युक्लियोटाइड प्रतिवर्षका दरले हुने अनुमान छ ।
बुलबुल : अनि अहिलेसम्म कति किसिमका म्युटेसन देखा परेका छन् त सार्स–कोभ–२ भाइरसको ? म्युटेसन नै सबभन्दा ठूलो अवसर र चुनौती हो त त्यसो भए ?
सिमसिम : सार्स कोभ–२ भाइरसको म्युटेसन हुनु यसको पूर्ण जैविक गुणका हिसाबले धरै महत्त्वपूर्ण हो । तथापि इम्युनोलोजीका हिसाबले म्युटेसनले ल्याउने परिवर्तनले भाइरसले आफूलाई अन्य जीव तथा कोषहरूमा स्थापित गर्न सक्छ कि सक्दैन र संक्रमण फैलाउन यो कति सक्षम छ भन्ने महत्त्वपूर्ण हुन्छ । चाइना एकेडेमी अफ सेन्सेजको अध्यनलाई आधार मान्दा अहिलेसम्म सार्स–कोभ–२ भाइरसको मूल रूपमा २ खाले म्युटेसन देखा परेका छन्, जसलाई एल नश्ल र एस नश्लमा वर्गीकरण गरिएको छ ।
चीनमा सुरुमा पाइएको नश्ल एल समूह भएको र एस नश्ल समूह चीनबाहिर फैलिएको हो भनिन्छ ।
अध्ययन र अनुभवका आधारमा नश्ल एल समूह एस नश्ल समूहको तुलनामा धेरै नै आक्रामक रूपमा फैलन सक्ने गुण भएको पाइएको छ । यसो हुनुमा उक्त भाइरसमा दुइटा अनुवांशिक परिवर्तन आएर पहिलको एल समूहभन्दा नयाँ एस नश्ल फरक तरिकाले विकास भएको भन्ने भनाइ छ । म्युटेसनले ल्याउने परिवर्तनबारे विस्तृतमा पछि अरू कुनै प्रसंगमा कुरा गरौँला ।
बुलबुल : यस्तो चाँडो म्युटेसन हुने रहेछ । अब त्यो वुहानबाट नेपाल भित्रिएको एनकोभ– १९ भाइरसको म्युटेसन भइसकेको हुनाले उक्त संवाहक व्यक्तिलाई कुनै गम्भीर असर गरेनछ र बाहिर अरूलाई पनि सरेनजस्तो छ है ।
सिमसिम : नेपालको प्रथम केस काठमाडौँमा देखिएको र त्यसपछि नुमना संकलन गरेर बिरामी घर पठाइएको । तर पछि उक्त व्यक्तिलाई रोगले केही च्यापेर अस्पताल भर्ना भएर उपचार गरिएको पाइएको छ । यहाँ विचारणीय के भने उक्त बिरामीमा वुहानका कोभिड– १९ बिरामीहरूमा देखा परेका सुरुका लक्षणहरू सबै मिल्दाजुल्दा थिए । झन् महत्त्वपूर्ण कुरा त के भने वुहानको रेफरेन्स भाइरसभन्दा फरक तरिकाले केही म्युटेसन पाइएको छ । उक्त भाइरसको मुख्य संक्रमण कारक मानिने एस–स्पाइक प्रोटिन बनाउने जीनमा मौन उत्परिवर्तन भेटिएको छ, जसलाई सामान्य तरिकाले लिँदा मूल नुमना र यसमा कुनै गुणात्मक असर नहुन हो ।
तर विश्व विख्यात अनुसन्धान जर्नल साइन्स र इलसीभीरमा हालै प्रकाशित अनुसन्धान लेखहरूले के औँल्याएका छन् भने मौन उत्परिवर्तनले पनि आरएनएको बनाबट र जीनबाट प्रोटिन बन्ने प्रक्रियामा समेत प्रत्यक्ष असर पार्ने गर्छ । निजको शरीरबाट नमुना संकलन गरेर सिनेन्सिङ गरिएको जिनोममा उक्त भाइरसले मानिसलाई संक्रमण गर्नका लागि मुख्य आवश्यक कारक स्पाइक प्रोटिन बनाउने जीनमा मौन म्युटेसन पाइएको छ । यसलगायत अन्य ५ जीन अथवा स्थानहरूमध्ये ३ वटामा मौन उत्परिवर्तन र २ वटामा सक्रिय उत्परिवर्तन भएको पाइएको छ । अब यस अवस्थामा यो भाइरस वुहानकै जस्तो दुरुस्त नभएर केही फरक त अवश्य भयो । यस कारण पनि उक्त बिरामी नेपाल भित्रिएको त्यति लामो अवधिसम्म अरू मानिसमा उक्त भाइरस संक्रमण हुन नपाएको एउटा कारण हुन सक्छ । उक्त बिरामी अरूको संसर्गमा नगएका कारणले पनि नफैलिएको हुन सक्छ ।
बुलबुल : यसरी उत्परिवर्तन हुँदा हामीलाई पुग्न सक्ने फाइदा र बेफाइदा के हुन सक्छन् ? भ्याक्सिन र औषधी बनाउनमा भाइरस जिनोम र म्युटेसन दरको कुनै प्रत्यक्ष सम्बन्ध हुन्छ कि हुन्न ?
सिमसिम : विभिन्न भ्याक्सिनको काम भनेको शरीरमा परजीवी ब्याक्टेरिया अथवा भाइरसको संक्रमण रोक्न सक्ने परजीवी प्रतिरोधी क्षमताको विकास गराउने हो । यसबाट उक्त सम्भावित संक्रामक परजीवी भाइरसलाई शरीरमा बाँच्न नदिएर निर्मूल गर्ने विशिष्ट एन्टीबडीको निर्माण हुन्छ । एन्टीबडी पनि कस्तो परजीवीलाई परास्त गर्न सक्ने र शरीरमा कति लामो समयसम्म बस्छ भन्ने आ–आफ्नै विशिष्ट गुणअनुसारका हुन्छन् ।
शरीरमा विषाणु भाइरस अथवा ब्याक्टेरिया छिरेपछि उसले पनि गर्ने भनेको आफ्नो डीएनएको आधारमा मानव शरीरमा संक्रमणका लागि योग्य वातावरण तयार गरेर आफ्नो संख्या बढाई होस्टको कोष, तन्तु तथा अंगहरू र पूर्ण शरीरसमेतलाई कज्याएर अन्त्यमा होस्टकै मृत्युसमेत गराउनु हो । कोरोना भाइरसको हकमा यसले आफूमा भएको एस–प्रोटिनको कारणले मानव शरीरका कोषहरूको एन्जोटेन्सिन परिवर्तन गराउने एन्जाइम (एसीई–२) रिसेप्टर प्रोटिनलाई समाती आफूलाई मानव कोषमा सर्न, बाँच्न र पछि उक्त कोषका विभिन्न संयन्त्रहरूको आफू अनुकूल उपयोग गरी आफ्नै संख्या वृद्धि गर्न थाल्छ । छिटोछिटो म्युटेसन हुने भाइरसले पहिलाभन्दा बढी तरिकाले नयाँनयाँ विषाणु प्रोटिनहरू उत्पादन गरेर होस्टको प्रतिरोधी प्रणालीलाई छक्याउन र आफ्नो अनुकूल बनाउने गर्दछ ।
यसो हुनुमा भाइरसको डीएनएको म्युटेसन हुनु नै उसका लागि पहिलो आवश्यकता हुन जान्छ । केही सौभाग्यले नै भन्नुपर्छ, सार्स–कोभ–२ भाइरसको म्युटेसन दर परम्परगत रुघा मर्की गराउने इन्फ्लुएन्जा भाइरसको म्युटेसन दरभन्दा आधा नै कम रहेको छ । तर एचआईभी भाइरसको म्युटेसन दरको हिसाब त ४ गुणा× १०.३ प्रतिजोडा न्युक्लियोटाइड रहेको छ, जुन सम्पूर्ण जैविक विकासको इतिहासमा अहिलेसम्म थाहा पाइएको सबभन्दा उच्च म्युटेसन दर हो । यसै कारण एचआईभी भाइरसको खोप बनाउन गाह्रो भएको हो । अर्को कुरा, सार्स–कोभ–२ भाइरसको म्युटेसनले फाइदा/बेफाइदा के गराउँछ भन्ने भवितव्यमा मात्रै भर पर्ने हो । यसले जति सुखद कुरा ल्याउने सम्भावना हुन सक्छ, दु:खद अवस्था निम्ताउन सक्ने सम्भावना पनि उत्तिकै रहिरहन्छ ।
बुलबुल : अनि त्यसो भए हामी सबै कहिले भ्याक्सिन बन्छ अथवा यसको उपचारको औषधी बन्छ भनी सारा देश समाज, शिक्षा, पर्यटन, उद्यम, व्यापार कृषि आदि सबलाई बन्द गरेर, घरमै थुनिएर, क्वारेन्टाइनमा र अस्पताल धाएर बसिराख्ने त ?
सिमसिम : सामान्य तवरमा एउटा भ्याक्सिन अथवा औषधीको विकासदेखि सुरक्षित रूपले प्रयोगमा आउन ६–७ वर्ष लाग्ने यसको निर्माण विधि छ । तर अहिलेको विश्वव्यापी महामारीका कारणले शीघ्रताशीघ्र बाटो अपनाए पनि १–२ वर्षजस्तो लाग्ने जानकारहरूको भनाइ छ । अहिले करिब १ सयभन्दा सम्भावित भ्याक्सिनहरू अनुसन्धान, यसपछिको चिकित्सकीय परीक्षण, सुरक्षादेखि उत्पादन एवं खोप प्रयोग र प्रभावकारिताका परीक्षणका चरणमा समेत गइसकेका छन् । तैपनि स्वास्थ्य सुरक्षा र खोपको प्रभावकारितामा ढुक्क हुनका लागि कम्तीमा १–२ वर्षलाई खोप र औषधी कुरेर बस्नुपर्ने एउटा बाध्यता छ । उता लकडाउन खुला हुन दियो भने समुदायमा संक्रमणको बाढी आउन सक्ने भयावह स्थिति अर्को समस्या छ । प्रत्येक नागरिक घरमै कैदीजस्तो भएर बस्नु पर्दा आर्थिक, सामाजिक, मानसिक आदि विभिन्न समस्यासमेत हामी नेपालीलगायत संसारभरका मानव समुदायले झेल्नुपरेको छ ।
बुलबुल : यसरी बन्दी भएर रहनुभन्दा त स्वीडेनले अवलम्बन गरेको सामुदायिक प्रतिरोध प्रणाली (हर्ड इम्युनिटी) मोडलको अनुकरण गरे कसो होला ?
सिमसिम : आखिर कोभिड– १९ को संक्रमण सामान्य लक्षणका ९८ प्रतिशत, गम्भीर प्रकृतिका बाँकी २ प्रतिशत, विश्व मृत्युदर पनि ६.१२ प्रतिशत छ र अझ कुनै देश एवं क्षेत्रमा त ०.१ प्रतिशसम्मको कम मृत्युदर छ ।
हाम्रोमा प्रमाणित २ हजार संक्रमितमा मृत्युदर ०.४२ प्रतिशत हुन गएको छ । फेरि लकडाउन खुकुलो गर्दा अथवा सामाजिक शारीरिक दूरी कायम राख्न वास्ता नगरिदिँदा स्पेन, इटाली र अमेरिकामा कसरी भयावह अवस्था सिर्जना भयो, त्यो हाम्रासामु २१ औँ शताब्दीकै डरलाग्दो मानव महामारीको नमुना भएर देखा परेको छ । भारत र नेपालकै हकमा वुहानमा केस देखा परेको करिब २ महिनामै लकडाउन गर्दा सुरु–सुरुमा नगन्य केसहरू देखिए पनि हालका साताहरूमा दैनिक नयाँनयाँ संक्रमणका तथ्यांकहरू र उच्च वृद्धिदर आइरहेका छन् ।
बुलबुल : यसका लागि केही सुरक्षात्मक, लाभकारी र चलायमान हुन सक्ने एउटा बाटो ननिकाली त अब सुखै छैन । यस अवस्थामा के हुन सक्लान्, कोभिड–१९ नियन्त्रन तथा उन्मूलनका उपायहरू ?
सिमसिम : कोभिड– १९ बिल्कुल नयाँ रोग भएकाले यससँग सम्बन्धित स्वास्थ्यकर्मी, विशेषज्ञ, वैज्ञानिकहरू, अनुसन्धान प्रतिष्ठानहरू र विश्व स्वास्थ्य संगठनसमेत हायलकायल भएका छन् र दैनिकजसो नयाँनयाँ कुराहरू बाहिर आइरहेका छन् । विश्व स्वास्थ्य संगठन र सम्बन्धित विशेषज्ञ वैज्ञानिकहरूको भनाइअनुसार पनि कोरोना भाइरस यति सजिलै उन्मूलन हुन्न र अरू महामारीका भाइरसहरू जस्तै, इन्फ्लुएन्जा, हेपाटाइटिस, दादुरा आदि समुदायमा बसिरहन्छ भन्ने कुरा आइरहेको छ । यस अवस्थामा हालका लागि गर्न सकिने भनेको चलाखीपूर्ण तरिकाले सामुदायिक रोग प्रतिरोधात्मक क्षमताको विकास गर्दै जाने एवं खोप अनि औषधीको पर्खाइमा बस्नु हो ।
बुलबुल : यो सामुदायिक रोग प्रतिरोधात्मक क्षमताको विकास र खुला समाज कसरी बनाउन सकिन्छ होला र ?
सिमसिम : यसका लागि सम्बन्धित विशेषज्ञ वैज्ञानिकहरूले यही नै सही उपाय र समाधान त भनेका छैनन् । तर अहिलेको हामीसँग उपलब्ध ज्ञान, सूचना एवं प्रविधिमा आधारित भएर भन्ने हो भने रोग प्रतिरोधी क्षमता र उपलब्ध परीक्षण विधिको उपयोग गरेर मध्यमार्गी बाटो निकाल्न सकिन्छ कि । अहिले आरएनए/ डीएनएमा आधारित आरटी पिसीआर र एन्टीबडीमा आधारित दु्रुत एन्टीबडी परीक्षण गरी दुई किसिमका परीक्षण विधिहरू चल्तीमा छन् । आरटी पिसीआरले कोही व्यक्ति संक्रमित छ/छैन भन्ने थाहा हुन्छ भने एन्टीबडीमा आधारित परीक्षणबाट कुनै व्यक्तिमा कोभिड लागिसकेपछि रोग प्रतिरोधी एन्टीबडी विकास भएको छ/छैन भन्ने थाहा हुन्छ ।
परीक्षणबाट शरीरमा सार्स–कोभ– २ विरुद्धको एन्टीबडी देखाएका व्यक्तिहरूले त झन् अप्रत्यक्ष खोपको काम गर्न सक्छन् । उनीहरू त कोरोना भाइरस संक्रमणका वाहक र कोरोनाले नछोएकाहरूको बीचमा तगारोको काम गरेर संक्रमण रोक्ने जैविक खोपजस्तो बन्न जान्छन् । अर्कातिर उनीहरूलाई दैनिक कार्य गर्न छुट दियो भने समाज चलायमान हुन थाल्छ र ढिलोचाँडो पुरानै लयमा फर्किन मद्दत पुर्याउँछ ।
बुलबुल : अब यो एन्टीबडी परीक्षण पनि नेपालमा कसरी होला । करिब ५ महिना हुन लागेको अवधिमा बल्ल ७५ हजार ३४३ जनाको जनाको परीक्षण गरिएको छ नेपालमा भने मानिसहरूलाई एन्टीबडी परीक्षण गराएर काममा पठाउन सकिने कुरा कति व्यावहारिक होला र ?
सिमसिम : यस कार्यलाई व्यवहारमा ल्याउन विभिन्न सरकारी, गैरसरकारी, निजी तथा सामुदायिक संघसंस्था, शिक्षण तथा व्यापारिक प्रतिष्ठानहरूलाई आफ्ना कर्मचारीलाई एन्टिबडी परीक्षण गर्न प्रोत्साहन गराउनुपर्छ । जहाँसम्म एन्टीबडी परीक्षणको कुरा छ, यो पीसीआरभन्दा द्रुत, सस्तो र प्रविधि पनि धेरै सजिलो छ । यो कामका लागि निजी क्षेत्रलाई पनि सहभागी गराउनु जरुरी हुन्छ । परीक्षणको दायरा र क्षमता बढाउनका लागि निजी/सामुदायिक/सरकारी सहकारिताको कार्यविधि विकास गर्न सकिन्छ । यस परीक्षणमा लाग्ने खर्च निजी/व्यापारिक प्रतिष्ठानहरूले बेहोर्ने व्यवस्था गराउन सकिन्छ ।
यति सानो लगानीबाट घरमा कैद भएका कामदारलाई उद्योगी व्यापारीले आफ्नो व्यवसाय चलाउनका लागि उपयोग गर्न पाउँछन् भने उनीहरू त्यसका लागि खर्च गर्न तयार नै हुनेछन् ।
बुलबुल : तर विश्व स्वास्थ्य संगठनले त शरीरमा सार्स–कोभ–२ विरुद्धको एन्टीबडी सुरुमा देखिए पनि यो कति लामो समयसम्म दिगो भएर रहन्छ र पुन:संक्रमण हुनबाट रोक्छ भन्नेमा पूर्ण रूपमा ढुक्क भएर बस्न सक्ने स्थिति छैन भन्छ नि ?
सिमसिम : सार्स–कोभ– २ भाइरसका कारणबाट भएको कोभिड–१९ बिल्कुल नयाँ रोग हो र विश्व स्वास्थ्य संगठनले पनि अहिलेसम्मको अध्ययन र अनुभवको आधारमा भन्ने हो । कोभिड–१९ बाट निको भएका बिरामीहरूमा केही अपवादलाई छाडेर कसैमा पनि भाइरस पुन: संक्रमण भएको नपाइएको, कोभिड–(१९ बाट निको भएका व्यक्तिको शरीरबाट निकालिएको प्लाज्मा संक्रमित रोगीको उपचारका लागि प्रयोग गरेर सकारात्मक नतिजाहरू आइरहेको अवस्था छ । त्यस्तै, प्लाज्मामा आधारित भ्याक्सिनहरूसमेत अन्तिम चरणमा पुग्न लागेको अवस्थामा कोभिड– १९ लागेर निको भई एन्टीबडी विकास गरेकाहरूलाई उक्त रोगविरुद्धको अभियानमा रोग प्रतिरोधी सिपाहीका रूपमा अगाडि ल्याएर समाजलाई संक्रमणविहीन र चलायमान बनाएर अघि बढ्नु नै उत्तम उपाय हो । अब लकडाउनको निर्धो र पश्चगामी नीति लिएर पुरानो गल्तीलाई प्रत्येक २–२ सातामा नवीकरण गर्नुको कुनै उपादेयता छैन ।
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...