सञ्जीवको अर्कै खेती
१२ वर्षपछि सञ्जीव उप्रेती, ५६, को दोस्रो उपन्यास आउँदै छ, हंस । दोस्रो किताब लेखकका लागि चुनौतीपूर्ण हुन्छ ।
१२ वर्षपछि सञ्जीव उप्रेती, ५६, को दोस्रो उपन्यास आउँदै छ, हंस । दोस्रो किताब लेखकका लागि चुनौतीपूर्ण हुन्छ । पहिलेको दोहोर्याउनु पनि भएन । विषयवस्तु, भाषा अनि आख्यानको संरचनामा फरक स्वाद दिन कठिनै । "मेरो दोस्रो किताब सिद्धान्तका कुरा भयो, तेस्रो किताब मकैको अर्कै खेती," उनी भन्छन्, "ती समालोचना र नाटक थिए ।"
सञ्जीवको नयाँ उपन्यासमा हाँसको कथा मात्र छैन, मानवको पनि छ । उनले यथार्थ र स्वैरकल्पनाको मिश्रणमार्फत आप्रवासी अनुभव, पर्यावरणीय संकट, भाषाको सीमितता, पुंसत्व र नारीत्वबारे चलिआएका भाष्य तथा प्रेम, विछोड, ईष्र्या र हिंसासँग जोडिएका मानवीय अनुभवलाई केलाएका छन् ।
"संसारमा किसिम-किसिमका जीव छन्, मानवभन्दा पहिले आएका जीव पनि," उनी भन्छन्, "आख्यानको संरचनामार्फत चरा, सर्प र अन्य मानवेत्तर प्राणीका कथा मानवीकरण गर्दै मानवकेन्दि्रत विश्वदृष्टिलाई केही हदसम्म विस्थापन गर्ने कोसिस गरेको छु ।"
१२ अध्यायका शीर्षकले नै उपन्यासप्रति उत्सुकता जगाउँछन्, जारको घाँटी, टौदहका कथा, सिमसारमा झ्याँगिएको प्रेम, किचेनभित्र सेन्ट्रल पार्क, समुद्रमा बूढो मान्छे, जीवनको लटरी, न्युयोर्कका मुसा, हाँसको कथा, पोखरीको पीँध, लुआ नलाउनेको कथा र अन्तिम उडान ।
खासमा टौदहले लेखाएको हो, सञ्जीवलाई हंस । पहिलो उपन्यास घनचक्कर पुनर्लेखनका लागि हिउँदमा उनी टौदह पुगेका थिए । त्यहाँ उनले लोकल हाँस पनि देखे, बाहिरबाट आएका उडन्ते हाँस पनि । र, ती हाँसको उडान र डुबानले उनको मस्तिष्कमा उपन्यासको गर्भाधान भयो ।
त्रिभुवन विश्वविद्यालयको प्राध्यापन, अल्जाइमर्सपीडित आमाको हेरचाह आदि व्यस्तताबीच उनी नयाँ उपन्यासमा सक्रिय हुन पाएनन् । साँच्चै भन्ने हो भने यी अध्याय अलगअलग समय तर पानीको छेउमा बसेर लेखिए ।
सुरुआत टौदहमा भइहाल्यो । केही भाग इन्डोनेसियाको बालीस्थित हिन्द र प्रशान्त महासागर जोडिने ठाउँमा लेखे, केही भाग झापाको मेची, विरिङखोला किनारमा । पानीले कति प्रभाव पारेछ भने उनले मानसरोवरलाई 'मन-सरोवर’ बनाएका छन् । आखिर उड्ने भनेको पनि मनमै हो, डुब्ने भनेको पनि मनमै ।
नयाँ उपन्यास लेख्दा उनले चराबारे धेरै नै अनुसन्धान गरे । कुन चराले के खान्छन् ? कुन चरा कहाँ गएर बस्छन् ? कुन चरा कतिखेर कराउँछन् ? चराको संसार नियाल्न उनी काठमाडौँ छेउछाउका रानीबारी, नागार्जुन, शिवपुरी, गोदावरीसम्म पुगेछन् ।
नेपालीमा सम्भवतः चरालाई समर्पण गरिएको यो पहिलो उपन्यास हो । "प्रकृति मूर्त छ तर मैले अमूर्त रूपमा बुझेको रहेछु," उनी भन्छन्, "अब मूर्त रूपमा बुझ्नुपर्यो भनेर चरा र मान्छेका सम्बन्धको कथा लेखेको हुँ ।"
उपन्यासमा चराले यसरी बोल्छ, 'हो नि ! लुआ लाउनेको सोच अरूले हत्तपत्त पढ्न सक्दैनन् । मनमा एउटा कुरा सोच्छन्, बोल्दा अर्कै कुरो गर्छन् । त्यसैले त तिनलाई आखन्डी भनेको नि !'
घनचक्करले धेरैजसो पाठकको दिमाग चक्कराएन मात्र, उनलाई 'घनचक्कर बाबा’ नै बनाइदियो । पाठकलाई सम्मान गर्दै दोस्रो संस्करणमा उनले उपन्यासको भाषा केही सजिलो पारिदिए । हाँस र आत्मा जनाउने द्विअर्थी हंसको के हाल होला ? "यसको विषय, भाषा र प्रस्तुति बिलकुलै फरक छ," उनी भन्छन्, "पहिलो उपन्यासबाट मैले केही सिकेको पनि छु ।"
धेरैजसो लेखक पहिलो मस्यौदा लेखेपछि ९० प्रतिशत काम सकियो भन्छन् । सञ्जीव पहिलो मस्यौदालाई १० प्रतिशत काम मात्रै मान्छन् । धेरैजसो लेखक सपाट लेखनमा हुरुक्कै हुन्छन् भने सञ्जीव तहगत लेखनमा । सलल बगेको भाषा पढ्न जति नै मजा आए पनि उनी त्यसलाई दोहोर्याएर पढ्दैनन् । यद्यपि सचेत भएर उनी तहगत लेखन गर्दैनन् ।
सञ्जीवका सबैजसो किताब अक्षर क्रिएसनबाट छापिए । पत्नी अर्चना थापाको त्यो प्रकाशनगृह छाडेर उनी यस पटक बुकहिलतिर लागे । प्रश्न पनि उठे, घरको रोयल्टी नपाएर त होइन ? एउटै घरमा लेखक-प्रकाशकबीच मनोमालिन्य त छैन ? अर्चना स्पष्ट छिन्, "प्रकाशक छान्न लेखक स्वतन्त्र छ ।"
सञ्जीव आफ्नो अवकाश जीवनलाई अर्थपूर्ण बनाउने जोसमा छन् । कस्मोलोजी र फ्युचरोलोजीमा अपडेट भइरहेका छन् । विज्ञ हुन होइन, रमाइलो र खुसीका लागि । नयाँ रुचि खोज्ने क्रममा रूख र चरालाई पनि पछ्याइरहेका छन् ।
यी सब उनी केका लागि गरिरहेका छन् त ? जवाफ छ, सिर्फ खुसीको खोजी । अर्थात्, अरूलाई दुःख नदिईकन खुसी हुनु नै उनको जीवनको बटमलाइन हो । उनलाई विश्वास छ, "स-साना कुरामा पनि खुसी हुन सकिन्छ ।"
कर्ली कपालको ब्रान्ड बनाएका सञ्जीव आफैँमा रमाउने मस्तमौला हुन् । अतीव प्रचारप्रसारमा उनलाई संकोच लाग्छ । "मैले जीवनमा कमै लेखेको छु तर जे लेखेँ, त्यसलाई पाठकले मन पराइदिए । नाटक खेल्दा पनि धेरैले हेरिदिए," उनी भन्छन्, "यस्तै हो, यो उपन्यास पाठकले मन पराउन पनि सक्छन्, मन नपराउन पनि । म त्यसलाई सहर्ष स्वीकार्छु ।"
सम्बन्धित
भृकुटी राई र इतिशा गिरीले नारीवादी कोणबाट चलाइरहेको पोडकास्ट बोजुबजै हाम्रोमा चल्ने एकतर्फ...
बोजुबजै, वर्ष ४
ईशान केही समयदेखि डुंगालाई क्यानभासमा उतारिरहेका छन् भने सविता काइँयोलाई ।...
कलाको डुंगामा सवार जोडी
बुबाआमाको नाममा चिठी लेखेर झोलामा राख्दाराख्दै लेखक बनिसकिछन्, दुर्गा । ...
नयाँ जमानाको कथा खजाना
मदनकृष्ण श्रेष्ठ, बुबाको नाम नै काफी थियो उनलाई । तर उनले यो सजिलो बाटो रोजिनन् । ...
बुबाको प्रेरणाले अघि बढेको सरानाको संगीत यात्रा
नरेन्द्र श्रेष्ठ २४ वर्षदेखि क्यामेराको बाटो हिँडिरहेका छन् । स्वयम्भूको सिरिजदेखि भूकम्पम...
क्यामेराको बाटो
प्रचण्ड, बाबुराम भट्टराईजस्ता नेताहरू कर्नाली दख्खिन बग्दो छ नाटक हेर्दा रोएको देखेका थिए,...