विश्वका साथी
अवकाश जीवनलाई सिर्जनशील बनाउँदै साहित्यकर्मी तीर्थराज वन्त
अमेरिकामा प्राय: मानिस अवकाशपछि डिप्रेसनमा जान्छन् अनि चाँडै मर्छन् । ड्याडी, तपाईं अब के गर्नुहुन्छ ?’
हाल पूर्वी टिमोरमा राष्ट्रसंघको कन्ट्री डेपुटी डाइरेक्टर जेठी छोरी लाजिमा भट्टले यसो भन्दा तीर्थराज वन्त, ८१, ले अवकाश जीवनबारे सोचिसकेका थिएनन् । ६० वर्षे उमेरमा नेपाल रेडक्रसको कार्यकारी निर्देशकबाट बिदा लिएपछि वन्तले पाँच–छ महिना खुब टेलिभिजन हेरे, मस्त सुते अनि मात्र छोरी लाजिमाको ‘हाई अलर्ट’ सम्झे । र, अठोट गरे– अब झन् सक्रिय हुुन्छु । बर्सेनि किताब निकाल्छु ।
वन्तको क्रियाशीलताको प्रमाण के भने पोहोर साल तीसौँ किताब आयो, आगो : केही ताप, केही राप । अग्निकाव्यपछि यसपालि दुइटा किताबमा काम गरिरहेका छन् । संस्मरण र बौद्ध ग्रन्थमा प्रयोग हुने हजार शब्दजतिको शब्दकोश । “बौद्ध ग्रन्थमा अर्हत, भिक्षु, तथागत, तथता आदि शब्द आइरहन्छन् । ती शब्दको संकलन गरी अर्थ समेट्ने कोसिसमा छु,” उनी विनम्र छन्, “त्यसका लागि सुहाउँदो विद्वता भने मसित छैन ।”
सालिन्दा किताब प्रकाशन कतिपयलाई निको नलाग्ला पनि । तर वन्तको हकमा त्यो सक्रियताको प्रमाणचिह्न हो । सक्रिय पनि किन नहुनु ? लेख्नका लागि पढ्नैपर्यो । पढेपछि लेख्ने हुटहुटी भइहाल्छ । लेख्ने, पढ्ने अनि समय बिताउने क्रम अब सोखमा बदली भइसक्यो ।
उनका अधिकांश किताबको प्रकाशक हो, मोन्दआमिको ओन्त । एस्पेरान्तो भाषामा यसको अर्थ हुँदो रहेछ, विश्वको साथी वन्त । यी विश्वबन्धु पहिले एक हजार थान किताब छाप्थे, अहिले त्यसलाई पाँच सयमा खुम्चाएका छन् । “किताब पसलेहरु पैसा पनि दिँदैनन्, किताब पनि फिर्ता गर्दैनन्,” उनी भन्छन्, “त्यसैले कवि, लेखक, साथीभाइलाई उपहार दिएर सिध्याउँछु ।”
मदन पुरस्कार गुठीले वन्तलाई प्रवचन दिन बोलायो । कारण थियो, उही एस्पेरान्तो । अंग्रेजी प्रभुत्वको विकल्पमा आएको एस्पेरान्तो खासमा समानताको विश्वभाषा थियो । चाँडै सिकिने र कसैको राजनीति एवं संस्कृतिमा धक्का नदिने यो भाषा सन् १८८७ जुलाई २६ मा जन्मेको थियो ।
डाक्टर एस्पेरान्तो (आशावादी) उपनामले रुसी भाषाबाट पहिलो पुस्तक लेखेका थिए, डा लाजारो लुदोभिक जामेनहोफले । भाषिक न्यायको भाव बोकेको यस भाषाको प्रतीक चिह्न हो, पाँचकुने हरियो तारा । हरियो रङले आशा र ताराको पाँच कुनाले पाँच महाद्वीप जनाउँछ ।
नेपालमा एस्पेरान्तोको प्रचलन भने सन् १९५७ मा मात्रै आयो । काठमाडौँ एस्पेरान्तो समाजका संस्थापक अध्यक्ष तीर्थराज वन्त नै थिए । अन्य संस्थापक श्रीप्रसाद श्रेष्ठ, बैकुण्ठमान मास्के, केशवराम जोशी, गम्भीरमान श्रेष्ठ हुन् । एस्पेरान्तो सिक्ने तीन सय विद्यार्थीमध्ये महाकवि लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण सम पनि रहेछन् । “एस्पेरान्तोको व्याकरणका नियम एकदमै सजिलो,” वन्त भन्छन्, “शब्दको अन्त्यमा ओ आए नाम, आई आए क्रिया अनि ए आए विशेषण ।”
पुर्ख्यौली वंशवृक्ष हेर्ने हो भने वन्त खानदानी लाग्छन् । उनका पुर्खा पाटनका चौबीस कोठी महाजन रहेछन् । पाटने राजा सिद्धिनरसिंह मल्ल र गोरखाली राजा राम शाहबीचको सन्धिपत्रअनुसार उनका पुर्खा गोरखा गएको इतिहास छ । सातौँ पुस्ताका गुणवन्त सिंह भीमसेन थापाका पालामा मुलुकी खरिदार–मेजर (अहिलेका मुख्यसचिवसरह) थिए । नेपाली अड्डाखानामा स्रेस्ता प्रणालीको ढाँचा प्रयोगमा ल्याउने उनै मानिन्छन् ।
रोचक के भने पाटनबाट गोरखा गएका प्राय: चौबीस कोठी महाजन व्यापार–व्यवसायमा लागे तर वन्तका पुर्खा प्रशासनिक सेवामा । यसरी काठमाडौँ र गोरखा दुवैतिर बसोबास रह्यो । वन्तका काका विष्णुराज वन्त न्यायाधीश थिए ।
राजा त्रिभुवनले नारायणहिटी दरबारभित्रै गठन गरेको रक्तपात मण्डलका सदस्य थिए, तीर्थराजका पिता गणेशराज वन्त । त्यही राज्यविप्लवको निहुँमा राणा शासकले उनलाई १२ वर्ष जेल ठेके । तर जुद्धशमशेर राजपाठ छाडेर रिडी जाने बेला उनी मुक्त भए ।
पछि प्रजापरिषद्मा लागेका गणेशराज ००७ को क्रान्तिताका गोरखा कब्जामा सक्रिय थिए । राजा त्रिभुवनले बाहिरी नेतासित सम्पर्क गर्नेमा कम्पाउन्डर चन्द्रमान सैँजु र उनी पर्थे । तीर्थका भाइ रघुराज वन्त ओलम्पियन धावक हुन् ।
काठमाडौँको ठमेलमा जन्मेका हुन्, तीर्थराज । मरुटोलको शान्ति निकुञ्ज स्कुल पढ्दापढ्दै उनी ००४ मा गोरखाको बगुवा गए । त्यहाँको स्याउले स्कुल धाएको चार वर्षपछि फर्किए, शान्ति निकुञ्जमै । राणाशाहीविरुद्ध लागेको त्यो स्कुललाई क्रान्ति निकुञ्ज पनि भन्ने गरिएको थियो ।
कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर वन्त सुरुमै राजदरबारमा पिताजीको पहुँच र प्रिन्सेप शाहसितको सम्बन्धका कारण नेपाल रेडक्रसमा छिरे । तर पछि निवेदन लिई जाँचबुझपछि जागिर पक्का गरिएको वन्तको भनाइ छ । यसैबीचमा केही वर्ष सरस्वती कलेज र बाल्मीकि संस्कृत महाविद्यालयमा प्राध्यापन गरे, उनले । सरस्वती कलेजमा रामचन्द्र पौडेल, अर्जुननरसिंह केसीलगायत नेता उनका विद्यार्थी थिए । उनका अरु पनि थुुप्रै विद्यार्थी सचिव र मन्त्री भए ।
वन्तको स्थायी मुकाम भने घुमीफिरी रेडक्रस नै भयो । रेडक्रसमा उनको जिम्मेवारी थियो, फन्ड रेजिङ अफिसर । तर त्यहाँ उनले एकाउन्टबाहेक सबै टेबलमा काम गरे । ३० वर्ष कार्यकारी निर्देशक रहेर दुई–तीन सय कर्मचारीको नेतृत्व लिए । एक वर्ष अवैतनिक सल्लाहकारसहित कुल ३८ वर्ष सेवा गरे ।
उनलाई नेपाली र संस्कृतका स्कुले शिक्षकले साहित्य लेखनमा चस्का लगाइदिएका रहेछन् । वन्तका लागि एक कविताको रचना ध्यानबराबर लाग्छ । उनका लागि कविता स्वान्त सुखायको स्रोत हो । “कवितामा म मनको भाव पोख्नुलाई महफ्व दिन्छु, अरुलाई मजा आउला कि नआउला, त्यो पछिको कुरा हो,” उनी भन्छन्, “बाहिरका राम्रा कविता पढ्दा अनुवाद गर्ने रहर जागिहाल्छ ।”
वन्तसित नेपालीसहित नेवारी, हिन्दी, अंग्रेजी, फ्रेन्च, बंगाली आदि धेरै भाषाको ज्ञान छ । उनको नेवारी भाषाको कवितासंग्रह हो, न्हू मखुगु मिखाय् नहू ज: (पुरानो आँखामा नयाँ ज्योति) । उनको घरमा आमा र पत्नी मात्र नेवारी बोल्छन् ।
गीताकृष्ण खरेल र आफूले संयुक्त रुपमा लेखेको कथासंग्रह तुहेको साँझ ०२४ मा अञ्चलाधीश कार्यालयले प्रेसबाटै जफत गरेको प्रसंग उनलाई स्मरणीय लाग्छ । धन्न एक प्रति प्रेसमै बचेको रहेछ र ५० वर्षपछि उनले प्रकाशन गर्न पाए । त्यसको विशेषता के भने १० वटा कथा कसले लेख्यो भनेर छुट्याइएको छैन । “कथा सामान्य थियो तर केहीमा पञ्चायतविरुद्ध व्यंग्य थिए,” उनी सम्झिन्छन्, “किताब जफत भए पनि प्रहरी कारबाहीबाट बालबाल बँचियो ।”
वन्तले गरेको पहिलो अनुवाद भने तुफूका कविता हुन् । सातौँ शताब्दीका चिनियाँ कवि तुफूले त्यतिबेलै हतियार र युद्धको विरोध गरेका रहेछन् । हतियारलाई पगाली कुटो, कोदालो बनाई बाँझा पाटा आवाद गर्नुपर्ने शान्तिवादी विचार छ, उनको ।
०२३ तिर कम्युनिस्ट पार्टीका संस्थापक निरञ्जनगोविन्द श्रेष्ठको किताब पसलमा भेटेको त्यो कविता अनुवाद गरेर सुरुमा हिमानी पत्रिकामा छापेका थिए, उनले । ०२७ मा नेपाल (राजकीय) प्रज्ञाप्रतिष्ठानले कविता अनुवाद छाप्यो, तुफूका केही कविता । एकेडेमीका सदस्यसचिव हुँदा चीन गएका सत्यमोहन जोशीले उनलाई भने रे, ‘तीर्थ, तिमीले एकेडेमीको नाकै राखिदियौ ।’
रेडक्रसको जागिरका कारण पनि अनुवाद अनिवार्य भयो, उनका लागि । उनले हेनरी ड्युनाको सल्फेरिनोको सम्झना, रेडक्रस र मेरो देशलगायत जेनेभा महासन्धि, तिनका सन्धिपत्र, मानव अधिकार तथा अन्तर्राष्ट्रिय मानवीय कानुनबारे थुप्रै पुस्तकलाई नेपालीमा उल्था गरेका छन् ।
“रेडक्रसमा भएका बेला सेना र प्रहरीका विद्यालयमा व्याख्यान दिन जानुपथ्र्यो, अनुवाद नगरी सुखै थिएन,” वन्त सुनाउँछन्, “अन्तर्राष्ट्रिय मानवीय कानुनको आधार हाम्रा धर्मशास्त्र हुन् । महाभारत, रामायण, दुर्गासप्तशती, पुराण, स्मृतिहरुबारे शोध गर्न चाहेको छु । लेख्न सक्छु भन्ने छ तर भ्याउँछु कि भ्याउँदिनँ, यसै भन्न सक्दिनँ ।”
वन्तले अनुवाद गरेको तमिल महाकाव्य हो, तिरुक्कुुरल । तमिल भाषामा तिरुको अर्थ सानो र क्कुरलको अर्थ बीज बुझिन्छ । अर्थात्, बीजभित्रको विशालता । सन्तश्री कवि तिरुवल्लुवरको यो महाकाव्यलाई दुई हजार वर्ष पुरानो मानिएको छ । तमिलको गीता मानिने यो महाकाव्य विश्वका ९२–९३ भाषामा अनुवाद भएको छ । यसका १ सय ३३ अध्यायमा १ हजार ३ सय ३० श्लोक छन् । प्रत्येक अध्यायले एउटा महत्त्वपूर्ण कुरा बोल्छन् ।
तिनताका भारतबाट धेरै शिक्षार्थी प्राइभेट जाँच दिन आउँथे । वन्तको सहयोग पाएका मद्रासका एक विद्यार्थीले अंग्रेजीमा अनुवाद गरिएको तमिल भाषाको किताब ल्याइदिएका थिए । तमिलभाषी चार्टर्ड एकाउन्टेन्ट कृष्ण स्वामीको सहयोगमा उनले त्यसलाई पाँच पटकसम्म अनुवाद गरे । र, त्यो ०६८ मा आएर मुद्रण भयो ।
लेखन उनको रगतमै छ । अझ भन्ने हो भने उनको तीन पुस्ता लेखनमा छन् । उनी, पिता र पुत्र । बुबा गणेशराजका तीन भजन संग्रह प्रकाशित छन् । पुत्र प्रत्यूषका पनि इतिहास र अनुसन्धानसम्बन्धी थुप्रै किताब आइसकेका छन् ।
शास्त्रीय गायक बुबालाई ठहिँटीको प्रदीप्त पुस्तकालय गएर किताब ल्याइदिनु वन्तको काम हुन्थ्यो । त्यसपछि उनलाई किताब अध्ययन र संकलनको लत लाग्यो । किताब पढ्ने क्रममा सन्दर्भ सामग्री पनि आउँछन् । त्यो आउनेबित्तिकै उनी किताब खोज्न हिँडिहाल्छन् ।
काव्यपारखी भएकाले उनको संकलनमा २ हजार ५ सयभन्दा ज्यादा नेपालीका काव्य किताब छन् । नेपालसम्बन्धी किताब संकलन पनि उनको सोखमा पर्छ । अहिले त्यसको बिँडो पुत्रले थामिरहेका छन् ।
“मदन पुरस्कार पाएका मात्र होइनन्, पाएसम्म नोबेल साहित्य पुरस्कार विजेता किताबलाई पनि संकलनमा समेटेको छु,” उनी भन्छन्, “मैले पढेका किताबमा धर्का, चिह्न र नोट धेरै हुन्छन् र त्यसैले अरुलाई दिन्नँ ।”
वन्त अहिले पुस्तकालय अभियानमा लागेका छन् । उनीलगायतको नेतृत्वमा काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय पनि खुल्यो । उनी आफैँ पढेको स्कुलमा पुस्तकालय स्थापना गर्न लागिपरेका छन् । वन्त एक दशकयताका विद्यालय व्यवस्थापन समिति अध्यक्ष पनि हुन् । “म पुस्तक प्राय: मागेर होइन, किनेरै पढ्छु, नपाएका किताब पुस्तकालयबाट ल्याउँछु,” उनी भन्छन्, “हरेक विद्यालय र गाउँमा पुस्तकालय खोल्नमा तन, मन र धनले सघाउन चाहन्छु ।”
तीन छोरी र एक छोराका पिता वन्त नेपाल अपांग संघ, अन्धाकल्याण संघ, विश्व सम्बन्ध परिषद् आदि सामाजिक संस्थासित लामो समय आबद्ध रहे । तिनका कारण आठ दशकको उमेरमा पनि अत्यन्त सक्रिय छन् । १४ कवितासंग्रह र दुई कथासंग्रहका यी लेखकलाई पुरस्कारले भने कहिल्यै पछ्याएनन् । तैपनि उनले कसैसित गुनासो गरेनन् । मिस्टर एस्पेरान्तो न परे ।
सम्बन्धित
भृकुटी राई र इतिशा गिरीले नारीवादी कोणबाट चलाइरहेको पोडकास्ट बोजुबजै हाम्रोमा चल्ने एकतर्फ...
बोजुबजै, वर्ष ४
ईशान केही समयदेखि डुंगालाई क्यानभासमा उतारिरहेका छन् भने सविता काइँयोलाई ।...
कलाको डुंगामा सवार जोडी
बुबाआमाको नाममा चिठी लेखेर झोलामा राख्दाराख्दै लेखक बनिसकिछन्, दुर्गा । ...
नयाँ जमानाको कथा खजाना
मदनकृष्ण श्रेष्ठ, बुबाको नाम नै काफी थियो उनलाई । तर उनले यो सजिलो बाटो रोजिनन् । ...
बुबाको प्रेरणाले अघि बढेको सरानाको संगीत यात्रा
नरेन्द्र श्रेष्ठ २४ वर्षदेखि क्यामेराको बाटो हिँडिरहेका छन् । स्वयम्भूको सिरिजदेखि भूकम्पम...
क्यामेराको बाटो
प्रचण्ड, बाबुराम भट्टराईजस्ता नेताहरू कर्नाली दख्खिन बग्दो छ नाटक हेर्दा रोएको देखेका थिए,...