अर्थात् सुजीव शाक्य
कुनै बेला बढ्तै सकारात्मकतावादी देखिने सुजीवमा अब भने आलोचनात्मक धारणाले बास गर्न थालेको हो त ?
चिनियाँ नयाँ वर्षका दिन भारत पुगेर नेपालसम्बन्धी पुस्तक विमोचन गर्ने मनसुबा छ, सुजीव शाक्यको । काठमाडौँमा अघिल्लो साता विमोचित अनलिसिङ द वज्र : नेपाल्स जर्नी बिटविन इन्डिया एन्ड चाइनालाई उनी पेन्गुइनबाट प्रकाशित अनलिसिङ नेपालको सिक्वेल भन्न रुचाउँछन् । नेपाली अर्थतन्त्रको झन्डै एक सहस्राब्दीलाई सिंहावलोकन गरिएको यो पुस्तक पनि उही पेन्गुइनले बजारमा ल्याएको छ ।
पछिल्ला वर्षहरूमा सुजीवको साथसंगत चिनियाँसित बाक्लिएको थियो । हिमालयन कन्सेन्ससमार्फत उनी सक्रिय हुँदै थिए । भोट पुगेर व्यापार गर्ने नेवार व्यवसायीको कथा खोज्दै जाँदा अनि बेल्ट एन्ड रोड इनिसियटिभजस्तो पुरानो रेशममार्ग ब्युँताउने महत्त्वाकांक्षी चिनियाँ परियोजनाबारे छलफल गर्ने क्रममा सुजीवले नेपाली विकासको प्रक्रियासँग इतिहास र वर्तमानका सम्बन्धलाई कसरी उपयोग गर्न सकिएला भन्नेबारे गम्न थाले । यो पुस्तक लेख्न त्यसले मद्दत पुर्याएको उनको भनाइ छ ।
कसैले बढ्तै सकारात्मकतावादी पनि भनिदिन सक्छ, सुजीवलाई । किनकि यसअघि उनले लेखेको अर्थात् अर्थतन्त्र होस् या अनलिसिङ नेपाल दुवैको उद्देश्य नेपालबारे बाहिरी संसारलाई चहकिला धारणा सुनाउनु थियो । उनी परे शब्दहरूलाई जोडजाड पारेर ‘क्याचफ्रेज बनाउन माहिर । लेख्छन्, ‘यहाँ मापसे शब्द धेरै चल्यो । देशलाई चाहिएको त कृजपसे पो हो– कृषि, जलविद्युत्, पर्यटन र सेवा ।’
कोलम्बिया र बोस्टन युनिभर्सिटी पढेर फर्केका सुजीवले सोल्टी ग्रुपमा प्रभाकरशमशेर राणासित नजिकै बसेर काम गर्ने मौका पाए । भोटेकोसी पावर कम्पनीको व्यवस्थापनमा रहे । अहिले काठमाडौँमा अन्तर्राष्ट्रिय आयतनको व्यवस्थापन परामर्श कम्पनी ‘बिड’ चलाइरहेका छन् । काठमाडौँमा अन्तर्राष्ट्रिय स्तरका सेमिनार चलाउने, अनि यस्तै विषयमा देशविदेश चहार्ने उनको व्यस्तताको अर्को पाटो ।
‘ठूला कुरै धेरै भए क्या, सानो–सानो चीज गरेर देखाउनुपर्यो । सबैले घरआँगन सफा राखे देश राम्रो बनाउन सहयोग पुग्दैन र भन्या !’ होटल हिमालयमा अघिल्लो साता सुजीव आफ्नो पुस्तक अनलिसिङ द वज्रबारे बोल्दै थिए । पुस्तक विमोचनको मञ्चमा मन्त्री, नेताहरू देखिएनन् । उनले मञ्चमा शृंखला खतिवडा, दिभा श्रेष्ठ, पावन माथेमा, तेजस्वी भट्टराई, शब्द ज्ञवालीजस्ता सम्भावना बोकेका युवालाई उतारे । रामशरण महत, गोकर्ण विष्टलगायत नेताहरूचाहिँ दर्शकदीर्घामा ।
यो पुस्तकको अन्तर्राष्ट्रिय विमोचन जयपुर लिटरेचर फेस्टिभलमा हुँदै छ, जहाँ भूराजनीतिक अर्थतन्त्रबारे लेखेर पछिल्लो समय चर्चामा आएका ब्रुनो माकाइस उनीसँग संवादमा हुनेछन् । जयपुर लिटफेस्टकै अर्को सत्रमा उनी शिवशंकर मेनन, श्यामशरणलगायत भारतीय कूटनीतिज्ञसित संवाद गर्नेछन् । थिंकट्ंयाक ब्रुकिन्स इन्डियामा उनको यस्तै अर्को कार्यक्रम छ ।
पहिलेका दुई पुस्तकभन्दा के फरक छ त यो पुस्तकमा ? उनी भन्छन्, “अनलिसिङ नेपाल लेख्दै गर्दा नेपाललाई लगानी र व्यवस्थापन चाहिएको हो, यो नभएर हामी पछि परेको हो भन्ने मेरो निष्कर्ष थियो । अहिले १० वर्षको पछिल्लो परिवर्तन हेर्दा मलाई लाग्यो, हामीसँग अब डिग्री, बुद्धि भएका मानिसको कमी छैन । तर सामाजिक परिवर्तनको सोच अझै पनि बिस्तार हुन बाँकी रहेछ ।”
१० वर्षको गणतान्त्रिक संक्रमण र योसँगै फेरि चलायमान हुन खोजेको अर्थतन्त्रबारे सुजीवका आफ्नै बुझाइ छन्, जसलाई उनले करिब ९ सय वर्षको नेपाली आर्थिक इतिहाससँग तुलना गर्न खोजेका छन् । योबीचमा अभूतपूर्व रूपमा भएको सूचना क्रान्ति, खासगरी इन्टरनेटले ल्याएको परिवर्तन देख्दा उनी आफैँ चकित पर्छन् । “भूपरिवेष्ठित देश हुनुको मनोविज्ञान बाँचेर आयौँ, अब भूजडित छौँ भन्ने नयाँ मनोविज्ञान विकास हुँदै छ,” उनी भन्छन्, “मेरो पुस्तकले ३ करोड जनसंख्या भएको विशाल देशका सम्भावना र अझै पनि समाधान हुन नसकेका समस्याबारे सबिस्तार चर्चा गर्छ ।”
उनले बताएका मुख्य समस्या छन्– यहाँ इन्टरप्रेनरको उपयोगिता कम देख्ने चलन बस्यो । त्यो ठाउँ डोनरप्रेनर र कार्टेलप्रेनरले खाइदिए । उनको भनाइमा एफडीआई (प्रत्यक्ष वैदेशिक लगानी) सहजै आउन नदिने, प्राकृतिक स्रोतको लाइसेन्समा खेल्ने, आफू मिहिनेत नगर्ने, सानोतिनो काम गर्न पनि दातासितै पैसा माग्ने मानिसले रजगज गरे । दु:खचाहिँ देशले बेहोर्नुपर्यो ।
उनको खेद–प्रस्ताव यत्तिमै रोकिँदैन । विदेशमा अध्ययनका लागि भनेर अर्ब रुपैयाँभन्दा बढी गइरहेका पैसा अनि शिक्षितमा डिभी चिठ्ठा पारेर अमेरिका उठ्ने लालसालाई उनले आगामी दिनमा देशले हासिल गर्न बाँकी समृद्धिको बाधकका रूपमा चित्रित गरेका छन् ।
राजाको व्यवस्था हटिसक्दा पनि नेपालीमा सामन्तवादकालीन सोच अझै बाँकी देखिएको उनको तर्क छ । “मञ्चमा टन्न मान्छे राख्ने, खादादेखि सत्कारसम्मका ठाँटबाट त उदाहरण मात्रै हुन्, यस्ता गतिविधिले हामीमा परिवर्तन आइसकेको छैन भन्ने देखाउँछन् । मेरो पुस्तकमा यस्तै विषय लेखिएका छन्,” उनी भन्छन् ।
अर्थात्, कुनै बेला बढ्तै सकारात्मकतावादी देखिने सुजीवमा अब भने आलोचनात्मक धारणाले बास गर्न थालेको हो त ? यो बुझ्नचाहिँ सिंगै पुस्तक पढ्नुपर्ला ।
सम्बन्धित
भृकुटी राई र इतिशा गिरीले नारीवादी कोणबाट चलाइरहेको पोडकास्ट बोजुबजै हाम्रोमा चल्ने एकतर्फ...
बोजुबजै, वर्ष ४
ईशान केही समयदेखि डुंगालाई क्यानभासमा उतारिरहेका छन् भने सविता काइँयोलाई ।...
कलाको डुंगामा सवार जोडी
बुबाआमाको नाममा चिठी लेखेर झोलामा राख्दाराख्दै लेखक बनिसकिछन्, दुर्गा । ...
नयाँ जमानाको कथा खजाना
मदनकृष्ण श्रेष्ठ, बुबाको नाम नै काफी थियो उनलाई । तर उनले यो सजिलो बाटो रोजिनन् । ...
बुबाको प्रेरणाले अघि बढेको सरानाको संगीत यात्रा
नरेन्द्र श्रेष्ठ २४ वर्षदेखि क्यामेराको बाटो हिँडिरहेका छन् । स्वयम्भूको सिरिजदेखि भूकम्पम...
क्यामेराको बाटो
प्रचण्ड, बाबुराम भट्टराईजस्ता नेताहरू कर्नाली दख्खिन बग्दो छ नाटक हेर्दा रोएको देखेका थिए,...