अनि कायाकल्प
मल्लिका शाक्य : म्यानपावरदेखि मसलपावरसम्मको यात्रा
भुइँचालो गएपछि अरू काम भएन । घरमा बस्ने, खाने, सुत्ने । महिना दिनमा ज्यान ह्वात्तै बढेर ६५ किलो पुग्यो, मल्लिका शाक्य, २९ को । शरीर भारी र आफ्नै कपडा अटेसमटेस हुन थाल्यो । मल्लिका आत्तिँदै फिटनेस क्लब पुगिन् । त्यतिबेला उद्देश्य एउटै थियो, जसरीतसरी तौल कम गर्ने । तर कहिलेकाहीँ सानो निर्णयले जिन्दगीमा ठूला मोड ल्याइदिन्छन् । मल्लिकाको हकमा त्यही भयो । ४ साउनमा उनले गोल्ड मेडल जितिन्, १२ औँ दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा । यस प्रतियोगिताको वुमन मोडल फिजिक विधातर्फ मल्लिका सर्वोत्कृष्ट ठहरिएकी हुन् । विजयी मुस्कानसहित भन्छिन्, “मोटाउनु त मेरा लागि वरदान पो भयो ।”
सामान्य केटीबाट अन्तर्राष्ट्रिय बडीबिल्डरको पहिचान तब मात्र बनेको हो, जब मल्लिकाले कडा शारीरिक मिहिनेत र खानपानमा अनुशासन आत्मसात् गरिन् ।
जिमबाट शारीरिक अभ्यास सुरु गरे पनि केही समयमै उनले जुम्बा र एरोबिक रोजिन् । तौल घट्यो तर फिटनेसप्रतिको मोह हराएन । तिनताका एक म्यानपावर कम्पनीमा आबद्ध थिइन् । काम सिर्जनशील थिएन । अर्काको काम गर्दा–गर्दा निराश भइसकेकी थिइन् । मल्लिका सम्झिन्छिन्, “त्यही बेला मैले कार्डियोबारे थाहा पाएँ । त्यसपछि आँटै गरेर जागिर छाडेँ, कार्डियोको प्रशिक्षण लिन थालेँ ।” जुम्बा र एरोबिक नियमित गर्ने भएकाले कार्डियो सिक्न समय लागेन । महिना दिनमै पोख्त भइन् र आफैँले सिकेको क्लबमा सिकाउन थालिन् । अरूलाई सिकाउँदा छुट्टै स्फुर्ति आउँथ्यो, अरूले गुरु भनेर सम्मान गर्थे । अगाडि थप्छिन्, “ममा बिस्तारै पैसा कमाउने मात्र होइन, आफ्नो नाम राख्ने काम गर्छु भन्ने प्रण गरेँ । त्यसका लागि म कार्डियो प्रशिक्षणमै दत्तचित्त भएँ ।” नभन्दै तीन महिनाबीच राजधानीका चार फिटनेस क्लबमा प्रशिक्षण दिने मौका मिल्यो, उनलाई ।
अहिले पनि महिला कार्डियो प्रशिक्षक नगन्य छन्, त्यतिबेला मल्लिका एक्लैजस्तै थिइन् । केटाकेटी दुवैलाई सिकाउनुपर्ने । तर कहिल्यै अप्ठेरो मानिनन् । क्लबमा आउने महिला उनीसँग सहज महसुस गर्थे । कति केटी लाज पनि मान्थे तर उनी हौसला दिन्थिन् । महिला सेवाग्राहीको संख्या बढ्दै गयो । छोटै समयमा प्रशिक्षकको रूपमा लोभलाग्दो ख्याति कमाए पनि मल्लिकाको मन भरिएन । त्यस अगाडि उनले अन्तर्राष्ट्रिय महिला दिवसमा हुने स्क्वाड प्रतिस्पर्धामा भाग लिएकी थिइन् तर उपलब्धिमूलक भएन ।
नियमित जुम्बा गरे पनि खानपानमा नियन्त्रण थिएन । फेरि ज्यान मोटो हुँदै गयो । जिम गर्नुको विकल्प भएन । त्यसैले कालीमाटीस्थित डिभाइन फिटनेस क्लब धाउन थालिन् । उनीसँग भेट भएपछि त्यहाँका गुरु रुजेश शाहीले भनेछन्, ‘साउथ एसियन गेम हुँदै छ, बिकिनी लगाएर पर्फम गर्नुपर्छ । कडा मिहिनेत गर्यौ भने उपाधि जित्न सक्छौ । इच्छा छ ?’ अप्रत्यासित प्रस्ताव थियो यो । मल्लिकाले ‘हुन्छ/हुँदैन’ भन्न सकिनन् । रातभर सोचिन् र निष्कर्षमा पुगिन्, ‘जागिर छैन, अरू काम छैन । बरु यसबाटै नाम कमाउने मेरो सपना पूरा हुन्छ । अब दिलो ज्यान दिएर खट्छु ।’
गत वर्ष चैतको कुरा हो यो । प्रतियोगिता आउन चार महिना मात्र बाँकी थियो । त्यसैले गुरु रुजेशको सल्लाहमा भोलिपल्टैबाटै प्रशिक्षण सुरु भयो । नुन, तेल र चामल पूर्ण रूपमा बन्द, चिकेन पनि उमालेर मात्र खान पाउने । नत्र सागपात, काउली, गाजरकै भर । एकातिर दैनिक पाँच घन्टा अभ्यास, अर्कातिर मन लागेको कुरा खान नपाउने । खानाकी सोखिन मल्लिकालाई कठोर सजायजस्तो भयो । भावुक हुँदै भन्छिन्, “ज्यान असाध्यै दुख्थ्यो । रातभर निद्रा लाग्दैनथ्यो । अरूले खाएको देख्दा कत्ति रोएँ, कत्ति ।” तर उनलाई भाग्न मन लागेन, गोल्ड मेडलको सपना जो थियो । दक्षिण एसियाली च्याम्पियनसिपमा भाग लिनुअगाडि राष्ट्रिय प्रतियोगिता मिस्टर हिमालयमा भाग लिनैपर्ने भयो । त्यतिबेला न उनको ज्यान सुगठिलो थियो, न त आत्मविश्वास नै । तैपनि सहभागी भइन्, कत्तिले गिज्याए, ‘ज्यान यति भद्दा छ, के बडीबिल्डर हुन खोज्या ?’ तर हरेश खाइनन् । अझ कडा कसरत गर्न थालिन् ।
बिस्तारै नुनतेलबिनाका खाना पनि मीठो लाग्न थाले, मसल आकर्षक देखिन थाल्यो । कडा अभ्यास र खानपानको अनुशासनमा बस्यो भने तीन महिनामा शरीर चाहेजस्तै बनाउन सकिन्छ । मल्लिकाको हकमा त्यही भयो । त्यसैले त च्याम्पियनसिपका लागि आफ्नो सुगठित शरीर प्रज्ञा भवनका भरिभराउ दर्शकमाझ बिकिनीमा प्रस्तुत गर्दा पनि कुनै धक लागेन । भन्छिन्, “मिस्टर हिमालयमा बिकिनी लगाउँदा अप्ठेरो महसुस भयो । तर यसपालि मैले के लगाएकी छु, मेरो वरपर को–को छन्, ख्यालै भएन । खेलमा मात्र ध्यान गयो ।” उनी फुरुंग किन पनि छिन् भने आफूभन्दा सिनियर प्रतियोगीलाई उछिन्दै उपाधि चुम्न सफल भइन् ।
गोल्ड मेडल उत्साहसँगै ३१ साउनमा थाइल्यान्डमा हुने एसिया प्यासिफिक प्रतियोगिताको तयारीमा जुटेकी छन्, मल्लिका । आत्मविश्वास र ऊर्जा प्रचुर छ । तर समस्या उही, पैसाको । दिनको १० अन्डा, टन्नै फलफूल, आधा केजी चिकेन, प्रोटिन खानुपर्छ । सबै महँगो हुन्छ । कतैबाट सहयोग छैन । दैनिक ६ घन्टा जिम गर्नुपर्ने भएकाले जागिरका लागि समय हुन्न ।
नेपाल बडीबिल्डिङ एसोसिएसनले गोल्ड मेडल विजेतालाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको थियो तर अहिलेसम्म मल्लिकाको हातमा परेको छैन, न त अन्य व्यावसायिक प्रायोजक नै भेटिन्छ । आर्थिक संकटले खेलमा एकाग्र हुनबाट बिथोलिरहेको छ । तैपनि मल्लिका यी अड्चनलाई चिर्ने प्रयास गर्दै छिन् किनभने यो खेलमा भविष्य देखेकी छन् । ननिता महर्जन, शोभा मानन्धर, निर्मला महर्जनले बिहेपछाडि नै बडीबिल्डिङमा नाम कमाए, उनी त अविवाहिता नै । “राष्ट्रिय खेलाडी भनेर चिनिसकेँ, अब देशका लागि खेल्नुपर्छ भन्ने जिम्मेवारीबोध भएको छ, मल्लिकाको मन्त्र छ, “बाधा आउलान् तर म रोकिन्नँ ।”
सम्बन्धित
कोभिड १९ पछि नेपाली खेलकुदलाई पुरानै लयमा फर्काउने चुनौती ...
खेलकुदमा वर्ष ०७६ लाई फर्केर हेर्दा
१ सय २४ वर्षभन्दा लामो इतिहास बोकेको आधुनिक ओलम्पिकमा प्रतियोगिता स्थगित भएको यो दोस्रो घट...
कोरोना संक्रमणको असरले खेल गतिविधिमा कस्तो असर ?
दुई महान् पिताका पुत्रहरू पनि फुटबलप्रति उति नै रुचि राख्ने भएका छन् । रोनाल्डोका छोरा क्र...
रोनाल्डोका छोराका आदर्श मेसी, मेसीका छोरा रोनाल्डोका प्रशंसक
नेपालको थाइल्यान्ड यात्रा नमीठो सम्झना...
एसिया कप खेल्ने सपनामा यसरी लाग्यो तगारो
एक महिना महत्त्वपूर्ण प्रतियोगिता खेल्न नसक्ने स्थितिमा नेपाल ...
महिला भलिबलका तीन हस्ती नै चोटग्रस्त
आर्मीको खेल साँच्चै नै उम्दा थियो, यो सिजनको लिगमा । डिफेन्स र गोलरक्षणमा निकै बलियो । आर्...