ए डिभिजन लिग : आकर्षक अफरले पनि तानेन दर्शकलाई
राष्ट्रिय टोलीको जर्सी, विदेश भ्रमण, विश्वकप छनोटको टिकटलगायत आकर्षक अफर राख्दा पनि दर्शकको बेवास्ता

- २३ पुसमा दशरथ रंगशालामा च्यासल युथ र नेपाल पुलिस क्लबबीचको खेल थियो । च्यासलका सन्तोष साहुखल ए डिभिजन लिगमा १ सय गोलको कोशेढुंगा पूरा गर्नबाट मात्रै एक गोलले टाढा थिए । कुनै पनि खेलाडीले ए डिभिजन लिगमा एक सय गोल पूरा नगरेकाले सो खेलमा दर्शकको बाक्लै उपस्थिति हुने अनुमान अस्वाभाविक थिएन । सन्तोषले सो खेलमा दुई गोल गरे र व्यक्तिगत गोल संख्या १ सय १ पुर्याए पनि । तर, चिसिँदो मौसममा घटेको तापमान र दर्शक संख्या उस्तै भयो । सन्तोषले लिगमा १ सय गोलको कीर्तिमान कायम गरेको क्षणको साक्षी जम्माजम्मी ९ सय ९० दर्शक मात्रै भए ।
- २१ पुसमा रंगशालामै लिगको महत्त्वपूर्ण मानिएको खेल थियो, मनाङ मर्स्याङ्दी र मच्छिन्द्र क्लबबीच । जितले दुबै क्लबलाई अंकतालिकामा तीन अंकको अग्रता मात्रै होइन, लिगको सम्भावित विजेताको रूपमा समेत उभ्याउँथ्यो । सीक्स प्वोइन्टर म्याचको रूपमा हेरिएको सो खेलमा अहिलेसम्मकै सर्वाधिक दर्शकको उपस्थित रह्यो । ३ हजार दर्शक ए डिभिजन लिग हेर्न रंगशाला पुगे । जारी सिजनको लिगमा यो नै सबैभन्दा बढी दर्शकको उपस्थिति हुन पुग्यो । त्यसअघि ४–५ हजार दर्शक त मनाङका समर्थक नै हुन्थे, पहिलेका लिगमा ।
यी दुई उदाहरणलाई बल पुग्ने अभिव्यक्ति फुटबलका लिजेन्ड राजुकाजी शाक्यले दिए, ‘राष्ट्रिय टोलीको मेरुदण्ड भनेकै लिग हो । तर, हामीकहाँ लिग व्यवस्थित र स्तरीय नहुँदा खेलाडी उत्पादनसँगै दर्शकको उपस्थिति पनि घट्न थालेको छ ।’ हाल न्युरोड टिम एनआरटीका प्रशिक्षक शाक्य दर्शक बढाउने काम अखिल नेपाल फुटबल संघ एन्फाको नभएको बताउँछन् । भन्छन्, “लिगमा दर्शकको कम उपस्थिति भयो भनेर एन्फाले चिन्ता जनाउनु स्वाभाविक हो । तर, दर्शक बढाउने काम क्लबको हो । क्लबले आफ्ना समर्थकलाई खेल मैदानसम्म डोर्याउन सकेका छैनन् ।”
नेपाल पुलिसविरुद्ध गोल गरेपछि रमाउँदै थ्री स्टारका सुशील राई । तस्बिरः केशव थापा
ए डिभिजन लिगमा दर्शकको नगण्य उपस्थितिबाट निराश एन्फाले संख्या बढाउन पुरस्कारको समेत घोषणा गर्यो । टिकट काटेर फुटबल हेर्न आउने दर्शकका लागि राष्ट्रिय टोलीको जर्सी, विश्वकप छनोटको टिकट, राष्ट्रिय टोलीसँग विदेश भ्रमणलगायत आकर्षक अफर पनि सार्वजनिक गर्यो । तर, त्यसले दर्शकको उपस्थिति बढाउन सकेको छैन ।
२१ पुसमा मनाङ र मच्छिन्द्रबीचको निर्धारित समयको खेल सकिएपछि मनाङका जगजित श्रेष्ठले मच्छिन्द्रका दीपक राईसँग घम्साघम्सी गरे । खेलस्थल केहीबेर रणभूमिजस्तै बन्यो । त्यसपछि दर्शकदीर्घामा रहेका एक जनाले भने, ‘यस्तै खाले घम्साघम्सी भइराख्यो भने बरु दर्शकचाहिँ बढ्छन् कि ? फुटबलको टिकटमा बक्सिङ पनि हेर्न पाइने ।’ हुन पनि अहिले लिगको पाँचौँ चरण सकिँदासम्म दर्शकको न्यून उपस्थितिले ए डिभिजन लिगको हुर्मत लिएको छ ।
किन आएनन् दर्शक ?
एकातिर दर्शक खेल हेर्दै छन्, अर्कोतिर रंगशालामा निर्माणको काम पनि चलिरहेकै छ । तस्बिरः केशव थापा
ए डिभिजन लिगमा दर्शकको बेवास्ता पछिल्लो २ सिजनको मात्रै हो । यसअघि नाम चलेका क्लबको खेल हुँदा टिकट लिने लाइन लामो हुँदा प्रहरीले लाठीचार्जसमेत गर्नुपर्ने अवस्था हुन्थ्यो । तर, बीचमा ४ वर्ष लिग नहुँदा समग्र लिगकै चार्म घट्न पुग्यो । गत वर्ष लिग त ब्युँतियो तर रेलिगेसनबिनाको लिग हुँदा दर्शकको ध्यान तान्न सकेन । त्यसमाथि एन्फा कम्प्लेक्स सातदोबाटोको टर्फमा सबै खेल खेलाइँदा दर्शकले रुचि देखाएनन् । अहिले लिग रंगशालामा फर्किएको त छ तर दर्शक भने फर्किन मानिरहेका छैनन् ।
नेपालमा सबैभन्दा बढी प्रशंसक वा फ्यान भएको क्लबको गणना हुँदा मनाङ र थ्रीस्टारको नाम अगाडि आउँछ । उनीहरूकै खेलमा पनि अहिले दर्शक आउन छाडेका छन् । थ्रीस्टारका महासचिव सञ्जीव शिल्पकार लिगको निरन्तरता ब्रेक हुनु र समयमै लिग नहुनुलाई दर्शक घट्नुको मुख्य कारक मान्छन् । एन्फा लिगको संरचनाबारे स्पष्ट नभएकाले धेरै कुराहरू बिग्रिएको उनको ठम्याइ छ । भन्छन्–“लिगको तालिका कहिल्यै पूर्वनिर्धारित हुँदैन । पाँचौँ चरणसम्म आइपुग्दा धेरैपटक खेलतालिका नै परिवर्तन गरिएको छ । कहिले राउन्ड रोबिन लिग हुन्छ । कहिले अर्कै फर्म्याटमा खेलाइन्छ । एकरूपता भए पो दर्शकलाई पनि हेर्न मजा आउँछ ।”
कलेजका केही विद्यार्थीहरू यसरी खेल हेर्न रंगशाला पुगेका भेटिए । तस्बिरः केशव थापा
गत वर्ष रेलिगेसनबिनाको लिग आयोजना गरेको भनेर आरोप खेपेको एन्फाले यसपटक एउटा क्लबलाई रेलिगेसनमा पार्ने नयाँ नियम लगाएको छ । रेलिगेसनमा पर्न नपर्ने भएपछि क्लबहरूले जितमा ध्यान नदिएको र त्यसको असर दर्शकको उपस्थितिमा पर्न गएको फुटबल पण्डितहरू बताउँछन् ।
लिगमा दर्शक तान्नका लागि स्टार खेलाडीको पनि आवश्यकता पर्छ । तर हामीकहाँ स्टार खेलाडी त परको कुरा स्टार स्ट्राइकर पनि छैनन् । नेपाली फुटबलका सेनसेसन रोहित चन्द विदेशी लिगमा व्यस्त छन् ।
गोलकिपर किरण चेम्जोङ पनि विदेशी लिग खेलिरहेका छन् । नाम चलेका खेलाडीमध्ये विमल घर्ती मगर एन्फाको कारबाहीमा छन् । ललितपुरकै क्लब फ्रेन्ड्सको कुरा गर्ने हो भने उसले यो सिजन गोलको खाता खोल्न भारतीय खेलाडीको भर पर्न पर्यो । मनाङविरुद्धको खेलमा भारतीय उत्तम राईले गोल गरेर फ्रेन्ड्सलाई १ अंक दिलाएका थिए ।
दशरथ रङ्गशालामा सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार भएको त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबीचको खेलमा दर्शकदीर्घा यस्तो देखियो । तस्बिरः केशव थापा
लिग पछ्याउनका लागि कुनै पनि खेलमा स्टार खेलाडी वा रोल मोडल हुन जरुरी छ । विदेशमा मात्रै होइन, हामीकहाँ पनि खेलाडी मन परेका कारण क्लबको फ्यान बन्ने दर्शक धेरै छन् । तर, अहिले दर्शकलाई तान्ने खेलाडी नै छैनन् भन्दा पनि हुन्छ । ए डिभिजन लिगको मात्रै होइन, समग्र नेपाली फुटबलमै अहिले रोलमोडल खेलाडीको अभाव छ ।
नेपाली फुटबलमा बेला–कुबेला चल्ने म्याच फिक्सिङको हल्लाले पनि दर्शकलाई रंगशालासम्म पुग्न हतोत्साही तुल्याउँछ । पहिले नै मिलेमतो गरेर खेलिने खेलका लागि दर्शकको रुचि नहुनु अत्यन्त स्वाभाविक हो । अझ पछिल्लो समय राष्ट्रिय टोलीका कप्तानसहित नाम चलेका खेलाडीहरूको म्याच फिक्सिङ प्रकरणले पनि फुटबललाई हेर्ने दर्शकको नजर केही हदसम्म परिवर्तन भएको छ ।
नेपालमा मात्रै होइन, म्याच फिक्सिङले गर्दा समग्र खेलमै पर्ने असर बुझ्न धेरै टाढा जानै पर्दैन । छिमेकी भारतले पनि १९९६ को म्याच फिक्सिङ काण्डपछि क्रिकेटलाई पुन: ब्युँताउन निकै पापड बेल्न परेको उदाहरण नै काफी छ । अनुशासनको परिधिभित्र रहेर खेलिने खेलमा झेल हुँदा त्यसको असर दर्शक संख्या र सो खेलको स्तरमा नै पर्नेमा कुनै शंका छैन ।
हिमालयन शेर्पाका विजय श्रेष्ठ र फ्रेन्ड्सका सुरज गुरुङ बलका लागि प्रतिस्पर्धा गर्दै । तस्बिरः केशव थापा
दर्शक नआउँदा पनि एन्फाले साधारणतर्फ टिकट मूल्य २ सय र भीआईपीतर्फ ५ सय रुपैयाँ तोकेको छ । अहिलेको नेपाली फुटबलको स्तरअनुसार टिकट मूल्य पनि बढी भएको फुटबल जानकार प्रकाश तिमल्सेना बताउँछन् । “खेलको स्तर घटेको छ । रंगशाला खाली–खाली छ । फुटबलमा नयाँ स्टार जन्मिएका छैनन् । तर, टिकट मूल्यमा चाहिँ पुनरावलोकन नगर्ने एन्फाको नीति पनि दर्शकलाई हतोत्साही बनाउन पर्याप्त छ,” उनी भन्छन् ।
ए डिभिजन लिग भनेको कुनै पनि देशको खेलाडी उत्पादन गर्ने मुख्य थलो हो । तर, नेपालको हकमा यो स्तरीय खेलाडी उत्पादन गर्ने थलो कम बसिबियाँलो गर्ने थलोजस्तै भएको छ । च्यासल युथ क्लबका स्ट्राइकर सन्तोष साहुखल पनि नेपालको लिगको स्तर खस्किएको स्वीकार्छन् । जापानमा पनि फुटबलमा सक्रिय रहेका साहुखलले गत वर्षदेखि लिगमा पुनरागमन जनाएका हुन् । तर, उनी दिनप्रतिदिन नेपाली फुटबलको स्तर खस्किएको देख्छन् । भन्छन्, “मैले खेल्न छोड्दाको अवस्थाभन्दा अहिले केही फरक छैन । स्तर कम भएपछि नयाँ खेलाडी पनि उत्पादन हुन्न ।”
एन्फाको भूमिका के ?
लिग कस्तो बनाउने भन्नेमा अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रस्ट योजना छैन । परम्परा धान्नेबाहेक लिगमा दर्शकको आकर्षण बढाउनकै लागि एन्फासँग कार्यक्रम छैन । भारतकै उदाहरण लिने हो भने फुटबलबाहेक कबड्डी, ब्याडमिन्टनलगायत खेलको पनि मार्केटिङ गरेर त्यसलाई ठूलो ब्रान्ड बनाइसकिएको छ तर नेपालमा खेलकुदको पनि मार्केटिङ गर्न पर्छ भन्ने सोच विकसित हुन सकेको छैन । एन्फाका लिग डाइरेक्टर सञ्जीव मिश्र दर्शकको उपस्थिति बढाउनका लागि अनुसन्धान नै आवश्यक भएको बताउँछन् । टेलिभिजनमा फुटबल हेर्ने दर्शकलाई रंगशालामा तान्न अहिलेकै प्रयास पर्याप्त नहुने उनी सुनाउँछन् ।
घरेलु फुटबलमा सानो विवादले लिग रोकिने मात्र होइन, आयोजनामा पनि एकरूपता छैन । एउटा सिजनको लिग सकिएपछि अर्को कहिले सुरु हुन्छ भन्ने अन्योल सधैँ कायम छ । लिग भए पनि फर्म्याट सधैँ परिवर्तन हुन्छ । कहिले राष्ट्रिय लिग, कहिले सुपर एट, कहिले सुपर सिक्स त कहिले विनारेलिगेसनको लिग । लिग पद्धतिमै देखिएको अस्थिरताले लिगमाथि दर्शकहरूको विश्वास र आकर्षण क्रमश: घट्दै गएको छ । एन्फाले बेलैमा यतातिर ध्यान पुर्याउन जरुरी भइसकेको छ ।
सहिद स्मारक ए डिभिजन लिगको बुधबारको खेलमा च्यासल युथ क्लबका अमिर श्रेष्ठलाई घेर्दै न्यू रोड क्लबका खेलाडीहरू । तस्बिरः केशव थापा
जारी लिगलाई लिएर क्लबहरूमा पनि त्यति विधि आकर्षण छैन । खर्च ज्यादा र आम्दानी कमको रूपमा क्लबहरूले लिगमा सहभागिता जनाइरहेका छन् । एन्फाले क्लबलाई लिग तयारीको लागि २० लाख, हरेक खेल जित्दा ५० हजार रुपैयाँ त राखेको छ तर यो पर्याप्त छैन । अहिले पनि क्लबहरूको भनाइ मान्ने हो भने एउटा औसतको टोली बनाउनका लागि १ करोड रुपैयाँ खर्च हुने अवस्था छ । लिग नै जित्ने क्लबले पनि पुरस्कार बापत ५० लाख रुपैयाँ मात्र पाउने अवस्था छ । मच्छिन्द्रले त पत्रकार सम्मेलनमा नै आफ्नो खर्च २ करोड पुग्ने बताएको थियो । उसले खेलाडी अनुबन्धमा मात्रै १ करोड खर्च गरेको दाबी गरेको थियो । लिगको पहिलो, दोस्रो स्थान आउने क्लबले प्रायोजक पाउने अवस्था बनेमा कम्तीमा खर्चसम्म उठाउने अवस्था बन्न सक्छ । बाँकी क्लबले ऋण बोक्नुपर्ने अवस्था छ । ऋण बोकीबोकी खेलिएको फुटबलले न क्लबको हित गर्छ, न त खेलाडीको नै ।
समयमै लिगको तालिका सार्वजनिक गर्ने, क्लबहरूलाई व्यावसायिक बन्न सघाउने, लिगको विकेन्द्रीकरण, टिकट मूल्यमा समायोजन मात्रै गरे पनि दर्शकलाई तान्न सघाउ पुग्ने खेल पत्रकार तिमल्सेना बताउँछन् । अन्यथा लिग केवल सञ्चालनका लागि मात्रै सञ्चालन हुने र बिरालो बाँधेर श्राद्ध गरेजस्तो मात्रै हुनेमा कुनै शंका छैन ।