विश्वकप छनोट : शीर्ष ३ मा अटाउन नेपालले सुध्रार्नुपर्ने कुरा
शीर्ष ३ मा अटाएर विश्वकप छनोट खेल्न धेरै सुध्रनुपर्ने अवस्थामा नेपाली टोली
क्रिकेट विश्वकप लिग २ को तीन वर्षे चरण घरेलु मैदानबाट सुरु गर्न पाउँदा नेपाली टोली उत्साही हुनु स्वाभाविकै थियो । नेपालको प्लेइङ कन्डिसनमा खेल्न पाहुना टोलीलाई निकै गाह्रो हुने गर्छ । त्यसमाथि १२ औँ खेलाडीका रूपमा रहेका घरेलु समर्थकको साथको त कुरै गर्नु परेन । त्यसैले पनि ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजमा ८ अंक बटुल्ने लक्ष्य नेपालको थियो ।
कप्तान ज्ञानेन्द्र मल्ल पनि त्यही भन्थे तर नतिजा ठीक विपरीत आइदियो । पहिलो खेलमा ओमानलाई १८ रन अन्तरको संघर्षपूर्ण नतिजा सुम्पिएको नेपालले रोमाञ्चक खेलमा अमेरिकालाई ३५ रनले पराजित गर्यो । तर वान डे क्रिकेटमै अहिलेसम्मकै ठूलो स्कोर गर्दै २ सय ५० रनको लक्ष्य दिएको नेपाल ओमानसँग तेस्रो खेलमा ८ विकेटले पराजित भयो ।
सान्त्वना जित दर्ता गर्ने क्रममा नेपालले चौथो खेलमा अमेरिकामाथि कीर्तिमानी जित निकाल्यो । अमेरिकालाई २ पटक हराएको नेपालले ४ अंक जोड्न भ्यायो । ओमानले सबै ४ खेल जित्दै आफूलाई लिग २ को शीर्ष स्थानमा उकाल्ने क्रममा १६ अंक पुर्यायो । ओमानभन्दा २ खेल बढी खेलेको अमेरिका १२ अंकमा तालिकाको दोस्रो स्थानमा चिप्लियो । ७ राष्ट्र सम्मिलित लिग २ मा ४ अंकसहित नेपाल खाता नै नखोलेको पपुवा न्युगिनीभन्दा १ स्थान माथि अर्थात् छैटौँमा छ ।
लिग २ मा नेपालको प्रदर्शन औसत रह्यो । शीर्ष ३ मा अटाएर विश्वकप छनोट खेल्नका लागि नेपाली टोलीले धेरै सुधार गर्नुपर्ने खाँचो छ । यस्तोमा घरेलु मैदानमा भएको सिरिजमा नेपालले ८ अंक बटुल्न सकेको भए राम्रै भरथेग हुन्थ्यो । तर ओमानसँगको खेलमा बलिङ र ब्याटिङ दुवैमा नेपालले आत्मसमर्पण गरेजस्तो देखिन्थ्यो ।
कप्तान ज्ञानेन्द्र पनि ओमानसँगको खेलमा अपेक्षाअनुसारको प्रदर्शन हुन नसकेको स्वीकार्छन् । “पहिलो खेलमा बलिङ चल्दा ब्याटिङ चलेन । पछि ब्याटिङ राम्रो भयो । २ सय ५० रनको टार्गेट दिँदा पनि बलिङ चलेन र हार्नुपर्यो,” उनी सुनाउँछन् । तर सिरिजमा अझै धेरै खेल बाँकी रहेकाले अहिले नै केही भन्न नमिल्ने मल्लको भनाइ थियो ।
ड्रिम डेब्यु
कुनै पनि खेलाडीका लागि राष्ट्रिय टिमबाट डेब्यु गर्न पाउनु महत्त्वपूर्ण त हुन्छ नै । अझ डेब्यु म्याचमै राम्रो प्रदर्शन गर्न सकिए सुनमा सुगन्ध भइहाल्यो । लिग २ मा यस पटक राष्ट्रिय टोलीबाट ४ जनाको डेब्यु भयो । सुशन भारी, कुशल मल्ल, कमलसिंह ऐरी र अविनाश बोहरा । यीमध्ये कुशल र सुशनको डेब्यु यादगार भयो । भनौँ, ड्रिम डेब्यु गर्न पाए, यी दुई खेलाडीले ।
कुशलले रोहितकुमार पौडेलको स्थानमा डेब्यु गरेका थिए । गजबको संयोग त के भने रोहितको स्थानमा खेल्दै उनले रोहितकै विश्व कीर्तिमान तोडे । अमेरिकाविरुद्ध एक दिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका कुशलले कीर्तिमानी अर्धशतक बनाए । कुशलले ४९ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । उनी एक दिवसीय अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गर्ने सर्वाधिक कम उमेरका खेलाडी बने । कुशलले १५ वर्ष ३ सय ४० दिनमा अर्धशतक बनाएका हुन् ।
यसअघि रोहितले १६ वर्ष १ सय ४६ दिनको उमेरको कीर्तिमान बनाएका थिए । ४९ रन बनाउँदा ५ विकेट गुमेको नेपालका लागि छैटौँ स्थानमा ब्याटिङ गर्न आएका कुशलले विनोद भण्डारीसँग उत्कृष्ट साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए । उनले आफ्नो दोस्रो खेलमा ओमानविरुद्ध समेत राम्रो प्रदर्शन गरे । सिरिजमा कुशलले नेपालका लागि तेस्रो सर्वाधिक रन जोडे । ३ खेलमा ७८ रन बनाएका उनको १ सय ४ को स्ट्राइक रेट छ । लिगमा ६५ रनभन्दा माथि बनाउने खेलाडीको स्ट्राइक रेटमध्ये कुशल दोस्रो स्थानमा छन्।
त्यस्तै, बायाँ हाते स्पिनर सुशन भारीको डेब्यु पनि उत्कृष्ट भयो । सिरिजअघि धेरैले अनुभवी स्पिनर वसन्त रेग्मीलाई नेपाली टोलीले मिस गर्ने लख काटेका थिए । तर सिरिजपछि अवस्था बदलियो र अब धेरैले सुशनलाई सम्झिन थालेका छन् । ओमानविरुद्धको पहिलो खेलमा डेब्यु गरेका सुशनले सिरिजमा तारिफयोग्य प्रदर्शन गरे । उनले डेब्यु खेलमै ३ विकेट हात पारेका थिए । सुशनले डेब्यु बलमै ओमानको विकेट लिएका थिए । आफ्नो पहिलो ओभरमा जसन मसुद र सुरार कुमारलाई आउट गर्दै सुशनले ओमानको इनिङ धरापमा पारेका थिए ।
अमेरिकाविरुद्ध पनि आफ्नो स्पेलको पहिलो बलमा सुशनले विकेट लिए । लिग २ को ४ खेलमा उनले ११ विकेटमा आफ्नो नाम लेखाए । उनी नेपालका लागि सर्वाधिक विकेट लिने खेलाडी पनि बने । त्यस्तै, ४ खेल मात्रै खेल्दा सुशन लिग २ को सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष १० भित्र परिसकेका छन् । यसैबाट उनले खेलकौशल स्तरको परिचय दिइसकेका छन् । डेब्यु सिरिजमै यस्तो प्रदर्शन गर्ने सौभाग्य धेरै कम खेलाडीको मात्रै हुन्छ ।
सन्दीपको त्यो स्पेल
नेपाली क्रिकेटका ग्लोबल आइकन बनेका सन्दीप लामिछानेले लिग २ अघि घोषणा गरे– सिरिजमा लिने प्रत्येक विकेटबापत चितवनमा बन्ने क्रिकेट रंगशालालाई ८ हजार ८ सय ४८ रुपैयाँ सहयोग गर्छु । तर ओमानविरुद्धको पहिलो खेलमा विकेटविहीन भए, सन्दीप । दोस्रो खेलमा उनले अमेरिकाविरुद्ध २ विकेट लिए पनि ओमानसँगको खेलमा फेरि विकेटविहीन भए । तर अन्तिम खेलमा अमेरिकालाई जम्मा ३५ रनमा अलआउट गर्ने क्रममा नेपालले १२ ओभर मात्र बलिङ गर्दा सन्दीपले ६ तथा सुशनले ४ विकेट लिए । नेपालका लागि एक दिवसीय अन्तर्राष्ट्रियमा ५ विकेट लिने दोस्रो खेलाडी बन्दै हालसम्मकै उत्कृष्ट बलिङ प्रदर्शन गरेका सन्दीप खेलको म्यान अफ द म्याच भए ।
एसोसिएट राष्ट्रमध्ये यो दोस्रो उत्कृष्ट बलिङ प्रदर्शन हो । यसअघि अफगानिस्तानका राशिद खानले वेस्ट इन्डिजविरुद्ध एकै खेलमा ७ विकेट लिएका थिए । तर सन्दीपले त्यसबारे ठट्यौली पारामा भने, “राशिद टेस्ट खेलाडी भइसके । अब त मै नम्बर वान हो ।”
सिरिजमा राम्रो प्रदर्शन गर्न नसकिएको र विशेषत: ओमानविरुद्ध विकेट लिन नसकिएकामा उनलाई पछुतो छ । भन्छन्, “दुर्भाग्य भन्नुपर्छ, ओमानसँग विकेट लिन सकिएन । खेलाडीको जीवनमा यस्तो भइरहन्छ । ओमानसँग अट्याकिङ बलिङ सायद कसैले गर्न सक्दैन होला ।” ओमानविरुद्धको दोस्रो खेलमा नेपालले २ सय ४९ रन बनाए पनि पराजित भएको थियो । सोही खेलमा सन्दीपले १० ओभरमा बिना कुनै विकेट ६५ रन खर्चेका थिए ।
कीर्तिमानको ओइरो
लिग २ को अन्तिम खेलमा नेपालले अमेरिकालाई ३५ रनमै समेट्दै ८ विकेटको जित दर्ता गर्दा थुप्रै कीर्तिमान बन्यो । टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले नेपाली स्पिनरसामु घुँडा टेक्यो । अमेरिका १२ ओभरमा ३५ रनमै अलआउट भयो । नेपालले अमेरिकालाई एक दिवसीय अन्तर्राष्ट्रियकै न्यून स्कोरमा समेटिदियो । श्रीलंकाले सन् २००४ मा जिम्बाबेलाई ३५ रनमै अलआउट गरेको थियो ।
सो खेलमा एक दिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा कम बल खेल्ने कीर्तिमान अमेरिकाको नाममा बन्यो । सन् २०१७ मा अफगानिस्तानसँग ५४ रनमा अलआउट हुँदा जिम्बाबेले १३ दशमलव ५ ओभर खेलेको थियो । नेपालसँग अमेरिका त्योभन्दा ११ बलअगावै अलआउट भयो । जवाफमा नेपालले ५ दशमलव २ ओभरमै जित हात पार्यो । ६ सय बलको खेलको नतिजा मात्रै १ सय ४ बलमै आयो ।
नेपालले एक दिवसीय अन्तर्राष्ट्रियमा तेस्रो चाँडो लक्ष्य पछ्याउने कीर्तिमान पनि सोही खेलमा बनायो । यसअघि श्रीलंकाले जिम्बाबेलाई २००१ मा कोलम्बोमा हराउँदा लक्ष्य ४ दशमलव २ ओभरमा हात पारेको थियो । सोही खेलमा ६ ओभरमा एक मेडन राख्दै ६ रन खर्चेर ६ विकेट लिएका सन्दीपले एक दिवसीय क्रिकेटमा नेपाली बलरमध्येबाट सर्वोत्कृष्ट प्रदर्शन गरे । सोमपाल कामीले गत वर्ष दुबईमा संयुक्त अरब इमिरेट्स युएईविरुद्ध ३३ रन खर्चेर ५ विकेट लिनु नेपाली बलरले यसअघि एक दिवसीयमा लिएको सर्वाधिक विकेट थियो ।
सम्बन्धित
कोभिड १९ पछि नेपाली खेलकुदलाई पुरानै लयमा फर्काउने चुनौती ...
खेलकुदमा वर्ष ०७६ लाई फर्केर हेर्दा
१ सय २४ वर्षभन्दा लामो इतिहास बोकेको आधुनिक ओलम्पिकमा प्रतियोगिता स्थगित भएको यो दोस्रो घट...
कोरोना संक्रमणको असरले खेल गतिविधिमा कस्तो असर ?
दुई महान् पिताका पुत्रहरू पनि फुटबलप्रति उति नै रुचि राख्ने भएका छन् । रोनाल्डोका छोरा क्र...
रोनाल्डोका छोराका आदर्श मेसी, मेसीका छोरा रोनाल्डोका प्रशंसक
नेपालको थाइल्यान्ड यात्रा नमीठो सम्झना...
एसिया कप खेल्ने सपनामा यसरी लाग्यो तगारो
एक महिना महत्त्वपूर्ण प्रतियोगिता खेल्न नसक्ने स्थितिमा नेपाल ...
महिला भलिबलका तीन हस्ती नै चोटग्रस्त
आर्मीको खेल साँच्चै नै उम्दा थियो, यो सिजनको लिगमा । डिफेन्स र गोलरक्षणमा निकै बलियो । आर्...