स्वास्थ्यमन्त्रीको कमजोर कमान्ड
कोरोना संक्रमणसँग जुध्न जनशक्ति व्यवस्थापन, स्वास्थ्य सामग्री आपूर्ति तथा अस्पतालको स्तरोन्नतिमा लाग्नुको सट्टा विवादमा किन अल्झिए स्वास्थ्यमन्त्री ?
कोरोना फैलिएर तेस्रो चरणमा पुगेको सहरमा ‘कन्ट्याक्ट ट्रेसिङ’ भने पहिलो संक्रमित वरपरै सीमित
नेपालगन्जका पहिलो संक्रमित परिवारका सदस्यहरूमा कोरोना देखिएन । सम्पर्कका २२ व्यक्तिमा पोजेटिभ देखियो, जो उनका होम ट्युसन विद्यार्थी र तिनका अभिभावक थिए ।
भारतले सहमति जनाएको भए नेपाल सरकारले ९ चैतअघि नै सीमानाका बन्द गर्न चाहेको थियो । तर भारत तत्कालै तयार नभएपछि कडाइका साथ स्वास्थ्य जाँच गरेर नेपाल प्रवेश गराउने नीति लिइयो । १४ दिन क्वारेन्टाइन बस्नुपर्ने सर्तमा एकै दिन ४ सय ६० व्यक्ति स्वदेश फर्किए । उनीहरूका लागि जमुनाह नाकाको दुई किमि दूरीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा क्वारेन्टाइन व्यवस्था गरियो ।
तर उनीहरू त्यहाँ एक दिन नबसेरै प्रहरी र प्रशासनको आँखा छलेर क्याम्पसको पर्खाल नाघेर भागे । त्यसरी भाग्नेमा नेपालगन्जका पहिलो संक्रमित पनि थिए ।
क्वारेन्टाइनबाट भागे पनि उनी आफैँ ढुक्क थिएनन् । त्यसैले उनी घरमा बसेनन् । उनको बास मस्जिदमै भयो । रोजीरोटीका लागि बिहान–साँझ उर्दू होम ट्युसन पढाउन भने छाडेनन् । उनी कोरोना संक्रमित भेटिएपछि गरिएको ‘कन्ट्याक्ट ट्रेसिङ’ मा तिनै होम ट्युसनका विद्यार्थी र अभिभावक थिए । परिवारका सदस्यमा कोरोना नेगेटिभ र सम्पर्कका व्यक्तिमा पोजेटिभ देखिनुको कारण त्यसैलाई मानिएको छ ।
“आफूलाई शंका लागेर घरमा नबसेको व्यक्तिले अरूप्रति पनि त्यस्तै व्यवहार गर्नुपर्थ्यो । उनको हेलचेक्र्याइँले समुदायमा फैलियो,” कोरोना सरेका परिवारका एक सदस्य भन्छन्, “लकडाउनमा होम ट्युसन पढाउनु हाम्रो गल्ती भयो ।” उनका दुई आफन्त कोरोना संक्रमित भई उपचारार्थ भर्ना छन् ।
मुस्लिम समुदायका मध्यम र उच्च वर्गले आफ्ना छोराछोरीलाई बोर्डिङ स्कुल भर्ना गरे पनि विभिन्न माध्यमबाट उर्दू र फारसी सँगै पढाउने गरेका छन् । मस्जिदका मौलाना र मौलवीलाई घरमै बोलाएर ती भाषाको ट्युसन पढाउने गर्छन् ।
कोरोना संक्रमण फैलिइरहँदा धार्मिक स्थलमा भने चहलपहल रोकिएन । मन्दिरमा पूजा गर्ने र चर्च तथा मस्जिदमा प्रार्थना भइरहे । धार्मिक स्थलहरूमा लकडाउन उल्लंघन भएपछि ७ वैशाखमा प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको संयोजकत्वमा शान्ति–सुरक्षा, धार्मिक सद्भाव कायम गर्न धर्मगुरुहरूसँग बैठक बस्यो ।
सो बैठकले कोरोना नियन्त्रणका लागि मन्दिर, मस्जिद, मदरसा, गुम्बा, चर्चलगायत धार्मिक स्थलमा नित्यपूजाबाहेक सर्वसाधारणका लागि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरियो ।
रमजानमा पनि मस्जिद नगई आ–आफ्ना घरमा रोजा ब्रत बस्ने र प्रार्थना गर्ने भनियो । त्यस्तै, मन्दिर र मस्जिदमा आश्रय लिई बसेका र दैनिक पूजापाठ गर्ने धर्मगुरु, पुजारी र मौलानाको र्यापिड टेस्ट गर्ने निर्णय पनि गरियो ।
सोही निर्णयअनुसार धार्मिक संस्थाहरूले दुई दिनभित्र स्थानीय प्रशासनलाई बुझाए । बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी, मौलानाहरूलगायतले कोरोना जाँच गराए । सोही क्रममा जोलहनपुर्वा टोलको अन्सारियन मस्जिदका यी ६० वर्षीय इमामको पनि परीक्षण गरिएको थियो । १९ वैशाखमा रिपोर्ट आउँदा उनी कोरोना पोजेटिभ भेटिए ।
उनको भारतको बहराइच र नानपारामा बाक्लै आउजाउ थियो । उनको पुस्तैनी घर पनि त्यही छ । दिल्लीको निजामुद्दीनमा १३–२४ मार्चमा भएको तब्लिगी जमातीको सम्मेलनमा १६ हजार ५ सय सहभागी थिए । तीमध्ये बहराइच र नानपाराका पनि थुप्रै मौलाना थिए । उनीहरूको सम्पर्कबाट आफूमा कोरोना सरेको हुन सक्ने उनका आफन्तको अनुमान छ । नेपालगन्जकै केही व्यक्ति पनि सो सम्मेलनमा सहभागी थिए तर उनीहरूमा भने कोरोना पोजेटिभ देखिएन ।
स्थानीय मस्जिदका इमाममा कोरोना संक्रमण देखिएपछि महेन्द्रपार्क क्षेत्रको जोलहनपुर्वा टोल मात्र होइन, सिंगो नगरमा डरत्रास फैलियो । ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परीक्षण गर्नुपर्ने परिवारलाई थ्रोट स्वाब जाँच गर्न भनियो । प्रहरी र स्वास्थ्यकर्मीको अनुरोध स्वीकारेर जाँचका लागि आउने संख्या भने अति न्यून रह्यो ।
केही व्यक्तिले मुस्लिम समुदायको रोजा ब्रत चलिरहेकाले नमुना संकलनमा हिच्किचाएको पनि पाइयो । नेपालगन्ज मेडिकल कलेजका डा आसिम किदवई रोजाले कोरोना परीक्षणमा कुनै फरक नगर्ने भएकाले ढुक्क भएर जाँच गराउन आह्वान गरेका छन् । लक्षण नदेखिएका व्यक्तिमा पनि कोरोना पोजेटिभ देखिएको भन्दै स्थानीयले परीक्षणप्रति नै आशंका गरेका छन् ।
यो पनि पढ्नुस
कोरोना संक्रमणसँग जुध्न जनशक्ति व्यवस्थापन, स्वास्थ्य सामग्री आपूर्ति तथा अस्पतालको स्तरोन्नतिमा लाग्नुको सट्टा विवादमा किन अल्झिए स्वास्थ्यमन्त्री ?
डा किदवाई भन्छन्, “कोरोनाका सबै बिरामीमा लक्षण नदेखिन सक्छ । लक्षण नहुनुले कोरोना धेरै कडा किसिमको होइन भन्ने संकेत गर्छ । त्यसैले शंका र नकारात्मक तरिकाले नसोचौँ ।” स्थानीय नेता, धर्मगुरु र सामाजिक अगुवाले कोरोना परीक्षणमा सघाइरहेका छन् । नेपालगन्जका पूर्वउपमेयर समसुद्दीन सिद्धिकीले स्वाब परीक्षणका लागि शंकास्पद परिवारलाई राजी बनाए । कोरोना संक्रमण फैलिएको उनकै टोल हो ।
“कोरोना जाँच गराएर आफू र आफ्नो समुदायलाई बचाउन आह्वान गरिरहेका छौँ,” उनी भन्छन्, “पहिलो संक्रमितको सम्पर्कमा रहेका करिब सबैको परीक्षण भइसकेको छ । अरूको पनि हुँदै छ ।” शंकास्पद परिवारलाई स्वाब परीक्षणका लागि वडा– ८ का वडाध्यक्ष सुरेन्द्र गुप्ता पनि खटिएका छन् । अघिल्ला दिन परीक्षणका लागि तयार नहुने बस्तीमा २४ वैशाखमा भने नाम लेखाउनेहरूको लाम लागेको थियो ।
पहिलो संक्रमितको सम्पर्कमा रहेका ९४ व्यक्तिको परीक्षणमा २२ जना संक्रमित भेटिए । उनीहरूलाई खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालमा खुलेको विशेष कोरोना अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । संक्रमतिमध्ये दुई बालबालिका र सात महिनाकी एक गर्भवती पनि छन् । सबैको स्वास्थ्य स्थिति सामान्य रहेको भेरी प्रादेशिक अस्पतालका प्रमुख डा प्रकाश थापा बताउँछन् ।
कोरोना विशेष अस्पतालको पनि संयोजन गरिरहेका डा थापा पहिलो संक्रमितबाट कोरोना समुदायमा सरेको देखिए पनि अहिलेसम्म उनीहरूबाट फैलिएको पुष्टि नभएको बताउँछन् । स्वास्थ्य मन्त्रालय, प्रहरी र स्थानीय प्रशासनले कन्ट्याक ट्रेसिङ गरिरहेका छन् ।
“अहिलेसम्म पहिलो संक्रमितबाट मात्र समुदायमा सरेको देखिन्छ,” उनी भन्छन्, “अरू संक्रमितको पनि कन्ट्याक ट्रेसिङ हुँदै छ । सुरुका ५४ परीक्षणमा फैलिएको देखिएन ।” पहिलो संक्रमित वडा– ८ को जोलहनपुर्वाको अन्सारियन मस्जिदमा नमाज पढ्थे । स्थानीय मदरसा इस्लामिया फैजुल उलुमका शिक्षक रहेका उनले वडा– ७ र ८ का विभिन्न घरमै पुगेर ट्युसन पढाउँथे ।
उनीसँग ट्युसन पढ्ने ७ र ९ वर्षका बालबालिकासहित परिवारका सदस्यमा संक्रमण फैलिएको थियो । उनको घर भने वडा– ५ र ७ को बीचमा छ । त्यसैले उनको सम्पर्क रहेका वडा– ५, ७ र ८ मा व्यापक ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिएको स्थानीय प्रशासनको दाबी छ । तर २४ बैशाखसम्म परीक्षणको संख्या २ सय पनि पुगेको छैन ।
समुदायमा कोरोना संक्रमण फैलिएर तेस्रो चरणमा पुगेको सहरमा ‘कन्ट्याक्ट ट्रेसिङ’ भने पहिलो संक्रमित वरपरै सीमित छ । पहिलो संक्रमित भेटिएपछि अहिलेसम्म १ सय ४८ जनाको पीसीआर परीक्षण गरिएको छ । १ सय ३६ को परीक्षणकै क्रममा छ ।
संक्रमितको संख्या एकाएक वृद्धि भइसक्दा पनि लकडाउनको उल्लंघन नरोकिएपछि स्थानीय प्रशासनले तीन दिन निषेधाज्ञा जारी गर्यो । संक्रमण फैलिन नदिन र कन्ट्याक्ट ट्रेसिङ तथा स्वाब परीक्षणलाई प्रभावकारी बनाउन नेपालगन्जमा निषेधाज्ञा जारी गरिएको स्थानीय प्रशासनको दाबी छ ।
जोलहनपुर्वा टोललाई सुरक्षाकर्मीको घेराबन्दीमा राखियो । पहिलो संक्रमितको सम्पर्क रहेका एकलैनी, डीएसपी रोड र धम्बोझी क्षेत्रलाई पनि सिल गरियो । पहिलो संक्रमितको सम्पर्कका ५४ व्यक्तिको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि स्थानीय सरकारले थोरै भए पनि सन्तोषको सास फेरेको छ ।
उपमेयर उमा थापा मगर लक्षण नदेखिएरै संक्रमण फैलिएकाले नगरमा भयको स्थिति बनेको बताउँछिन् । “जतिसक्दो छिटो र धेरै शंकास्पद व्यक्तिको परीक्षणको खाँचो छ तर परीक्षण किटको कमी छ,” उनी भन्छिन्, “परीक्षणका लागि आवश्यक किट र जनशक्ति छिटोभन्दा छिटो पठाउन अनुरोध गरेका छौँ ।”
यो पनि पढ्नुस
महिना दिन नाघिसक्दा पनि कोरोना उपचार स्वास्थ्य सामग्री ल्याउन नसक्दा जंगी अड्डा अप्ठेरोमा परेको हो
संक्रमण समुदायमा फैलिएलगत्तै प्रदेश सरकारले २ सय ५० परीक्षण किट पठाएको थियो । तर २३ संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरूको परीक्षणका लागि अपुग छ ।
प्रदेश ५ सरकारको कोरोना संकट व्यवस्थापन केन्द्रले २४ वैशाखमा विभिन्न १२ निर्णय गर्यो । कोरोना उपचारका लागि क्षमता विस्तार गर्नुपर्ने देखिएकाले बाँकेको नेपालगन्जस्थित नेपाली सेनाको अस्पताल र नेपाल प्रहरीको अस्पताललाई समेत आवश्यकताअनुसार प्रयोग गर्ने, परीक्षणको दायरा बढाउन आवश्यक किट, स्वास्थ्य सामग्री, पीपीई, औषधी उपलब्ध गराउन सामाजिक विकास मन्त्रालयले संयोजन गर्ने निर्णय गरिएको छ ।
त्यस्तै, कोरोना विशेष अस्पतालका लागि आवश्यक सबै खर्च कोरोना भाइरस रोकथाम तथा उपचार कोषबाट नियमानुसार गर्ने निर्णय गरिएको छ । भारतबाट आउनेका हकमा आइसोलेसन वार्ड भएका अस्पतालमा राखी स्वाब परीक्षण गर्ने भनिएको छ । तर खुला सीमाका कारण नेपाल भित्रिनेको यकिन संख्या सरकारी निकायसँग छैन ।
नेपाल–भारत सीमा क्षेत्रको सुरक्षासम्बन्धी जनशक्ति, आवश्यक सामग्री र आवासलगायतको समस्याका सम्बन्धमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गृह मन्त्रालयसँग समन्वय गरी कार्ययोजना तयार गर्ने निर्णय गरिएको छ । नेपालगन्जको कोरोना रोकथाम र नियन्त्रणमा खुला सिमाना सबभन्दा ठूलो चुनौती बनेको उपमेयर थापा मगर बताउँछिन् ।
अहिले सीमा क्षेत्रमा प्रत्येक पाँच सय मिटरको दूरीमा सशस्त्र प्रहरीको टोली खटाइएको छ तैपनि लुकीछिपी आउजाउ रोकिएको छैन ।
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...