होम ट्युसनमा जाँदा फैलिएको संक्रमण
कोरोना फैलिएर तेस्रो चरणमा पुगेको सहरमा ‘कन्ट्याक्ट ट्रेसिङ’ भने पहिलो संक्रमित वरपरै सीमित
गर्भवती आमा र बुबासँगै कोरोना अस्पतालमा २० दिन बिताउँदा उनका साथी र साक्षी भए, चित्रहरू ।
२० दिनको अस्पताल बसाइपछि घर फर्किंदा सात वर्षीया यी बालिका फुरुंग थिइन् । कोरोना संक्रमणलाई जितेकामा स्वास्थ्यकर्मीले उनलाई बधाई दिए । हातमा पुष्पगुच्छा र घाँटीमा खादा लगाइदिए । मुखमा मास्क र काँधमा झोला भिरेर उनी खजुरास्थित कोरोना विशेष अस्पतालबाट अभिभावकसँगै बाहिरिइन् ।
उनले प्रेमपूर्वक भिरेको त्यही झोलामा थिए, उनले अस्पतालमा बस्दा बनाएका चित्रहरू । जो उनको अस्पताल बसाइका साथी र साक्षी बने ।
बालिकासँगै उनकी गर्भवती आमा र बुबाले पनि कोरोनालाई जिते । ९ जेठमा एकैसाथ २१ संक्रमित सन्चो भएर घर फर्किएका छन् । एउटै टोलबस्तीका उनीहरू सँगै अस्पताल बसे, सँगै फर्किए । ठूलालाई त कुनै गाह्रो भएन, उनी भने साथीहरूसँग खेल्न नपाएर पिरोलिइन् । “अस्पतालमा सबैले माया गर्नुभयो तर कोही साथी थिएन,” उनी भन्छिन्, “नर्सले ड्रोइङ कपी र कलर ल्याइदिनुभयो । मैले चित्र बनाएँ ।”
डिस्चार्ज भए पनि अझै केही दिन उनी घरमै बस्नुपर्नेछ । तर घर फर्किएपछि उनको मुहार खुसीले चम्केको छ ।
१९ वैशाखमा कोरोना पोजेटिभ भएर अस्पताल जाँदा उनी रोएकी थिइन् । बुबा पनि पोजेटिभ भएर सँगै थिए तर आमा थिइनन् । दुई दिनपछिको परीक्षणमा उनकी आमा पनि पोजेटिभ देखिइन् । अरू दु:खी भए, उनी भने आमासँगै बस्न पाउने भएर खुसी भइन् ।
आमा पाँच महिनाकी गर्भवती छिन् । त्यसैले परिवारको चिन्ता दोब्बर भएको थियो । “दुई दिनसम्म त धेरै नै पीर लाग्यो । अब के हुने हो भन्ने चिन्ता भयो,” आमा भन्छिन्, “डाक्टरहरूले केही हुन्न भनेपछि बल्ल ढुक्क भएँ ।” उनले गर्भ जाँच गराइरहेका चिकित्सकले आइरन र क्याल्सियम नियमित खान र धैर्य गर्न भनेका थिए । केही दिन उकुसमुकुस लागेपछि विस्तारै बानी परेको उनी बताउँछिन् ।
यी बालिका अस्पतालको वार्डमा यताउता गर्थिन् । मोबाइल गेम खेल्थिन् । चित्र बनाउँथिन् । उनको चित्रमा पहाडको सूर्योदयदेखि नदी किनारको नरिवलको रुखसम्म छ । फूल, माछा, घर र रुखका चित्र छन् । आइसोलेसनमा बसुन्जेल उनले थुप्रै चित्र बनाइन् । तर मन परेका पाँच वटा मात्र घर ल्याएकी छन् ।
“मलाई चित्र मन पर्छ । साथीहरू नभेट्दासम्म अरू पनि चित्र बनाउँछु,” उनी भन्छिन् ।
यो पनि पढ्नुस
कोरोना फैलिएर तेस्रो चरणमा पुगेको सहरमा ‘कन्ट्याक्ट ट्रेसिङ’ भने पहिलो संक्रमित वरपरै सीमित
नेपालगन्जका पहिलो संक्रमित स्थानीय मदरसा इस्लामिया फैजुल उलुमका शिक्षक थिए । वडा– ८ को जोलहनपुर्वाको अन्सारियन मस्जिदमा नमाज पढ्थे । घरघरै पुगेर उर्दू ट्युसन पढाउँथे । उनैबाट टोलमा कोरोना फैलिएको अनुमान छ ।
स्थानीय प्रशासनले मन्दिर गएर पूजा गर्न र मस्जिदमा प्रार्थना गर्न रोकेको थियो । तर अन्सारियन मस्जिदमा नमाज रोकिएन । त्यहीबाट संक्रमण फैलिएको ठानिएको छ । “लकडाउनमा बाहिर निस्केकै थिएनौँ । नमाज पढ्न मस्जिद जाँदा फैलियो कि जस्तो लाग्छ,” आमा भन्छिन् ।
रमजानको महिना भएकाले अधिकांश संक्रमित रोजा व्रतमा थिए । न उनीहरूलाई कोरोनाको कुनै लक्षण थियो, न त शंका नै । स्थानीय प्रशासनले रोके पनि धार्मिक स्थलहरूमा लकडाउन उल्लंघन भएपछि ७ वैशाखमा शान्ति–सुरक्षा र धार्मिक सद्भावका लागि बैठक बस्यो । मन्दिर र मस्जिदमा आश्रय लिई बसेका र दैनिक पूजापाठ गर्ने धर्मगुरु, पुजारी र मौलानाको परीक्षण गर्ने निर्णय पनि गरियो ।
सोही क्रममा गरिएको परीक्षणमा जोलहनपुर्वा टोलको अन्सारियन मस्जिदका ६० वर्षीय इमाममा कोरोना पोजेटिभ देखिएको थियो ।
यो पनि पढ्नुस
कोरोना संक्रमितको ग्राफ उकालो लाग्दा पनि अनुदान र स्वदेशी/विदेशी हितचिन्तकहरूले ‘दान’ दिएका स्वास्थ्य सामग्रीकै भरमा परीक्षण गर्नुपर्ने बाध्यता
अस्वस्थताको कुनै महसुस नगरेपछि अस्पताल पुगेपछि पनि संक्रमितहरूले रोजा बसिरहेका थिए । तर चिकित्सकले रोग प्रतिरोधात्मक क्षमता बढाउनुपर्ने भनेपछि उनीहरूले व्रत तोडे । मुस्लिम धर्मगुरुका अनुसार बिरामी, बालबालिका, वृद्ध, अशक्त र गर्भवतीले रोजा व्रत बस्नु पर्दैन । उनीहरूले अस्पतालमै प्रार्थना गरे, कुरान र नमाज पढे ।
विशेष कोरोना अस्पताल बनाइएको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालले बिरामीको खानपिन व्यवस्था गरेको थियो । बिहान नास्ता, मध्याह्न खाना, दिउँसो खाजा र साँझ खाना दिइएको सन्चो भएर फर्किएका बिरामीले बताएका छन् । “अस्पतालमा धेरै राम्रो व्यवस्था थियो । डाक्टर र नर्सले टाढै बसेर हेरचाह गर्नुभयो । स्वास्थ्य सल्लाह दिनुभयो,” आमा भन्छिन् ।
बिरामीहरू आफैँ रक्तचाप र ज्वरो नापेर रेकर्डमा चढाउँथे । सो रेकर्ड डाक्टरलाई ह्वाट्सएपमा पठाउँथे । परीक्षणका लागि नमुना संकलनमा मात्र स्वास्थ्यकर्मी प्रत्यक्ष संलग्न हुन्थे । बिरामीको स्वास्थ्यस्थिति सामान्य रहेकाले कसैले गुनासो गरेनन् ।
कल्पनै नगरिएको संक्रमण एकाएक फैलिएपछि उनको परिवार मात्र होइन, पूरै अन्सारियन टोल अत्तालियो । त्यहाँका बासिन्दालाई हेर्ने दृष्टिकोणसमेत फेरियो । रोग लाग्नेलाई अपराध गरेझैँ अमानवीय व्यवहार गरिएको उनी सम्झिन्छिन् । नेपालगन्जका पहिलो संक्रमितमाथि रोग फैलाएको आरोप लाग्यो । संक्रमितका परिवार चिन्तित थिए । यस्तोमा नगरप्रमुख धबलशमशेर राणा, उपप्रमुख उमा थापा मगर र पूर्वउपमेयर समशुद्धिन सिद्दीकीले घरघरै पुगेर ढाडस दिएका थिए । कन्ट्याक्ट ट्रेसिङमा परेका परिवारलाई परीक्षणका लागि सम्झाएका पूर्वउपमेयर सिद्दीकी भन्छन्, “अहिले कोरोना संसारभर फैलिएको छ । जसलाई पनि लाग्न सक्छ । रोग फैलायो भनेर कुनै एक व्यक्ति वा समुदायलाई लान्छना लगाउनु अमानवीय काम हो ।”
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...