एकताको २० महिना नाघ्दा पनि नेकपाभित्र पूर्वपार्टीको मनोविज्ञान यथावत
एमाले र माओवादीका आ-आफ्नै मोर्चा, एकताको यति लामो समय बित्दासमेत नेता-कार्यकर्ताबीच कटुता यथावत
लामो समय लगाएर नेकपाले केन्द्रीय समिति बैठक सक्यो तर नेतृत्वले केन्द्रीय सदस्यहरूको मनोविज्ञानलाई प्रभाव पार्न सकेन ।
नेकपाको पाँच दिने केन्द्रीय कमिटी बैठक १९ माघमा अन्त्य गर्दै अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले सोही साँझ केन्द्रीय सदस्यहरूलाई सरकारी निवास बालुवाटारमा ‘डिनर’ का लागि आमन्त्रण गरेका थिए । नेकपाबाट विजयी सांसदलाई त एसएमएस गरेर बोलाइएको थियो । वरिष्ठ नेता माधवकुमार नेपाल नै अलि ढिलो बालुवाटार पुगे । अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष वामदेव गौतम र वरिष्ठ नेता झलनाथ खनालसमेत लामो समय बालुवाटार अडिएनन् ।
खासमा केन्द्रीय सदस्य र सांसदहरूको आक्रोशलाई मत्थर बनाउने उपायस्वरूप प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटी बैठक अन्त्य भएलगत्तै उनीहरूलाई बालुवाटार निम्त्याएका थिए । नेकपाका केन्द्रीय सदस्य निरज आचार्यका अनुसार केन्द्रीय कमिटी बैठकमा नेतृत्वको कार्यशैली, विधानको परिपालना, विभेदकारी कार्य विभाजन, अमेरिकी आर्थिक परियोजना (एमसीसी) लगायत विषयमा खुलेरै छलफल भयो । परिणाम, बैठकको उद्घाटन मन्तव्य दिँदा एमसीसी संसद्बाटै पारित भएझैँ गरी प्रस्तुत भएका, सरकारले गरेका कामको तथ्यांकसहित लामो फेहरिस्त पस्किएका प्रधानमन्त्री ओली अन्त्यको मन्तव्यमा आइपुग्दा १ सय ८० डिग्रीको फन्को मार्न बाध्य भए । ओलीको उद्घाटन मन्तव्य र एमसीसीबारे रातारात पुस्तक बनाएरै वितरण गर्दासमेत त्यसले केन्द्रीय सदस्यहरूको मनोविज्ञानलाई प्रभाव पार्न सकेन । फलस्वरूप दुवै अध्यक्षले आगामी दिनमा कमजोरी सच्याएर अघि बढ्ने प्रतिबद्धता गर्नुपर्यो ।
केन्द्रीय सदस्य तथा संघीय सांसद बिन्दा पाण्डेका अनुसार १५–१९ माघको केन्द्रीय कमिटी बैठकको सबैभन्दा ठूलो उपलब्धि नै विधानअनुसार ६ महिनामा हुनुपर्ने बैठक २० महिनामा हुनु हो । उनका अनुसार बैठकले शीर्ष नेताहरूलाई केन्द्रीय कमिटीका सदस्यहरू पनि हामी बराबर नै जान्ने रहेछन्, पार्टी निर्माणमा हामीजत्तिकै चिन्तित रहेछन् भन्ने सबक सिकायो ।
“१५ वटा समूहबाटै विधानमा, कानुनमा लेखिएका विधिलाई अक्षरश: पालना गरौँ भन्ने कुरा आयो,” पाण्डे भन्छिन्, “जसले गर्दा नेताहरू अब विधान, कानुनअनुसार हिँड्नुहोला कि भन्ने आशा सञ्चार गरेको छ ।” प्रतिबद्धता गरेका विषयमा नेताहरू गम्भीर भए–नभएको भने १५ दिनभित्रै प्रमाणित हुने पाण्डे बताउँछिन् । थप्छिन्, “अध्यक्षद्वयले १५ दिनभित्र पार्टी एकताका बाँकी काम सिध्याइसक्ने प्रतिबद्धता व्यक्त गरेका छन् । केन्द्रीय सदस्यहरूले दिएको सुझाव कति सुनुवाइ भयो भन्ने विषय संसदीय दलमै पनि देखिँदै जान्छ । किनभने संसदीय दल अझै दुइटा छन् । उहाँहरू गम्भीर हुनुहुन्छ भने १५ दिनभित्र एउटै बनाउनु होला ।”
केन्द्रीय सदस्य ठाकुर गैरेका अनुसार बैठकमा नेताहरूको जीवनशैलीदेखि उनीहरू बिचौलियाको घेराभित्र परेकोजस्ता विषयसम्म उठान भए । “सरकारको प्राथमिकता के हो भन्ने कुरा स्पष्ट भएन । गरेको कामको पनि नतिजा भएन । पार्टीको आन्तरिक जीवन संस्थागत, सामूहिक भएन भन्ने विषय बैठकमा उठ्यो,” उनी भन्छन्, “नेताहरूले त्यसलाई आत्मसात गरेका छन् । विगतमा जस्तो कमजोरी दोहोर्याउँदैनौँ भनेकाले हामीले विश्वास गरेका छौँ । अब नतिजा कसरी देखाउँछन्, त्यसैमा बैठकको उपलब्धि भर पर्छ ।”
केन्द्रीय सदस्य हेमराज भण्डारीको बुझाइ पनि अरू तीन केन्द्रीय सदस्यसँगै मिल्छ । उनी बैठकको सबैभन्दा ठूलो उपलब्धि महाधिवेशनमा जाने निर्णय गर्नु रहेको बताउँछन् । “बैठकअघि नेताहरूबीचमै अविश्वास देखिन्थ्यो,” भण्डारी भन्छन्, “केन्द्रीय कमिटी बैठकले नेताहरूबीचको अविश्वास एक हदसम्म हटायो । राजनीतिक, वैचारिक अन्योललाई थोरै प्रस्ट पार्यो । बाँकीचाहिँ नेताहरूबाट व्यक्त प्रतिबद्धता कति गम्भीर भएर कार्यान्वयन गर्छन्, त्यसैमा भर पर्छ ।”
यो पनि पढ्नुस
एमाले र माओवादीका आ-आफ्नै मोर्चा, एकताको यति लामो समय बित्दासमेत नेता-कार्यकर्ताबीच कटुता यथावत
रोचक के भने बैठकमा पूर्वएमालेहरू विभाजित अवस्थामै थिए भने पूर्वमाओवादीहरू एकै ठाउँ थिए । १५ वटा समूहबाट नेता छनोट गर्दा यसको असर प्रस्टै देखियो । जस्तो, १५ वटा समूहमध्ये दीनानाथ शर्मा, राम कार्की, पूर्णकुमारी सुवेदी, कमला रोका, लेखनाथ न्यौपाने, हिमाल शर्मा, युवराज चौलागाईं र रेणु दाहाल गरी आठ पूर्वमाओवादीबाट चुनिए भने आनन्द पोखरेल, खिमलाल भट्टराई, बिन्दा पाण्डे र भगवती चौधरी ओली निकट थिए । जगन्नाथ खतिवडा, राजेन्द्र राई र ठाकुर गैरेले माधव नेपाल समूहको प्रतिनिधित्व गरेका थिए । ओली र नेपाल दुवै पक्ष बरु पूर्वमाओवादीलाई टोली नेता बनाउन तयार भए तर पूर्व एमालेभित्रकै अर्को समूहलाई विश्वास गरेनन् ।
जस्तो, २ नम्बर समूहबाट खगराज अधिकारी र केशवलाल श्रेष्ठले टोली नेता दाबी गरेका थिए । तर दुवै एकअर्कालाई छाड्न तयार भएनन् । अन्तिममा केशवलालले पूर्वमाओवादी कमला रोकालाई प्रस्ताव गरिदिए । अधिकारी ओली र श्रेष्ठ वामदेव गौतम निकट छन् । १० नम्बरमा महेश बस्नेतले यज्ञराज सुनुवारलाई छाड्न तयार भएनन् ।
बस्नेतलाई नेता बनाउन इच्छुक नदेखिएका सुनुवारले अन्तिममा पूर्वमाओवादीका युवराज चौलागाईंलाई समर्थन गरे । १२ नम्बरमा रामेश्वर फुयालले रामकुमारी झाँक्रीलाई समर्थन गरेनन् बरु रेणु दाहालको नाम प्रस्ताव गरे । प्रचण्ड निकट ती स्थायी समिति सदस्यका अनुसार केन्द्रीय समिति बैठकमा आफ्नो तीर सही ठाउँमा निशाना लागेकामा प्रचण्ड खुसी छन् । उनी भन्छन्, “खासमा प्रचण्डले बैठकमा पूर्वएमालेहरू नै भिडून्, त्यसबाट फाइदा उठाउनुपर्छ भन्नुभएको थियो । ठ्याक्कै त्यही भयो ।”
अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्ड दुवै लिखित–मौखिक समझदारी पालना नगर्ने, समग्र पार्टी हितभन्दा आफू र आफ्नो गुट अनुकूल मात्र चल्ने नेता हुन् भन्ने बुझाइ नेता/कार्यकर्तापंक्तिमा परेको छ नै, सर्वसाधारणमा पनि उनीहरूको यही छवि स्थापित छ ।
ओलीले शीर्ष नेताहरू सबैलाई आफ्नो अनुुकूल खेलाएका छन् । जस्तो, प्रचण्डसँग प्रधानमन्त्रीको कार्यकाल बाँडफाँट गर्ने लिखित समझदारी सार्वजनिक भयो । तर उनले त्यसलाई पन्छाइदिए । पछिल्ला दिनमा कार्यकारी अध्यक्ष दिएर थान्को लगाएका छन् । सुरुमा माधव नेपाललाई वरिष्ठ नेता दिएनन् । पछि झलनाथ खनाललाई वरिष्ठबाट खसाए । ०७२ देखि नै वामदेव गौतमलाई संसदीय दलको नेता र प्रधानमन्त्री दिने आश्वासनमा अल्मल्याइरहेका छन् ।
अध्यक्षद्वयले १५ दिनभित्र बाँकी काम सिध्याइसक्ने बताएका छन् । केन्द्रीय सदस्यहरूले दिएको सुझाव कति सुनुवाइ भयो भन्ने विषय संसदीय दलमै पनि देखिँदै जान्छ । — बिन्दा पाण्डे, केन्द्रीय सदस्य, नेकपा
“प्रचण्ड, नेपाल, खनाल, गौतमलगायत मिलेर आफूलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाइदिने हुन् कि भन्ने त्रासमा छन्, ओली । गौतम निवास भैँसेपाटी बैठकलाई ओलीले त्यसैको रिहर्सलका रूपमा लिएका छन्,” ती स्थायी समिति सदस्य भन्छन्, “यता प्रचण्डचाहिँ पूर्वएमालेहरू ओली, नेपाल, खनाल, गौतम, ईश्वर पोखरेललगायतको गठबन्धन गरी आफ्नो राजनीतिलाई नै भँड्खालोमा जाकिदिने हुन् कि भन्ने छटपटीमा छन् ।”
वरिष्ठ नेता नेपाल पनि यस्तो त्रासबाट बाहिर छैनन् । उनलाई ओली र प्रचण्ड दुई अध्यक्षले ‘लेनदेन’ गरेर आफूलाई किनारामा धकेलिदिने हुन् कि भन्ने चिन्ता छ । नेपालले पार्टी अध्यक्ष वा प्रधानमन्त्री एउटा पदको सुनिश्चितता चाहेका छन् । ओली–प्रचण्ड गठबन्धन कसिलो भयो भने उनका भागमा यी दुवै पद नपर्न सक्छन् । झलनाथ खनाल वरिष्ठको सूचीमा चढेका छन् । भित्री चाहना राष्ट्रपति हुने रहे पनि उनी ओली, प्रचण्ड, नेपाललगायतबाट ढुक्क हुन सकिरहेका छैनन् ।
योभन्दा ठूलो छटपटीको केन्द्रमा गौतम छन् । उमेरले ७५ छोएका गौतमलाई ओली र प्रचण्ड दुवैले पटक–पटक प्रधानमन्त्रीको ‘ललिपप’ देखाएका थिए । तर त्यो पदमा पुग्न रोक्नकै लागि ओली समूहकै मिलिभगतमा ०७४ मंसिरको निर्वाचनमा आफूलाई हराइएको गौतमको निष्कर्ष छ । त्यसयता उपनिर्वाचन लड्न खोजे पनि उनी सफल भएका छैनन् ।
ओलीको ‘डिजाइन’ मै आफूलाई त्यो सफलता मिल्न नसकेको ठम्याइ गौतमको छ । ०७९ मा निर्वाचन जितेर आए पनि प्रधानमन्त्री बन्ने सम्भावना गौतमका लागि क्षीण छ । त्यसैले उनी यही कार्यकालमा प्रधानमन्त्री हुन चाहन्छन् तर सुनिश्चितता देख्न सकिरहेका छैनन् । त्यसैले उनले कसैलाई पनि विश्वास गर्न सकेका छैनन् ।
नारायणकाजी श्रेष्ठले पुन: उपप्रधान र अर्थमन्त्री चाहेका छन् । आफ्नै वचनविपरीत उनी राष्ट्रिय सभामा जानुको खास कारण नै मन्त्री बन्नु हो । तर श्रेष्ठ आफ्नै भूमरीमा छन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल आगामी महाधिवेशनमा ओलीको उत्तराधिकारी भएर अध्यक्ष बन्नु चाहन्छन् । तर अझैसम्म ओलीले पोखरेललाई विश्वास गरेका छैनन् । प्रचण्ड र नेपाल यसै पनि पोखरेललाई अध्यक्ष बन्न नदिने खेलमै छन् । त्यसैले पोखरेलले कसैलाई विश्वास गर्न सकेका छैनन् ।
नेकपा केन्द्रीय सदस्य तथा संघीय सांसद पाण्डे नेताहरू एकअर्कालाई देख्दा ढुक्क हुनुको साटो त्रासमा रहन्छन् भने उनीहरू आफैँ सकिने बताउँछिन् । “उहाँहरू नै एकअर्कालाई देख्दा त्रासपूर्ण मानसिकतामा रहनुहुन्छ भने धेरै समय नेतृत्व गर्न सक्नुहुन्न,” पाण्डेको कथन छ, “एकले अर्काको विश्वास जिते फेरि नेतृत्वमा आउन पनि सक्नुहुन्छ ।”
अर्का केन्द्रीय सदस्य आचार्य यस्तो अविश्वास शीर्ष नेतादेखि जिल्ला तहका कार्यकर्तासम्मै रहेको सुनाउँछन् । “प्रधानमन्त्री, अध्यक्ष, वरिष्ठ नेताहरूको मनोविज्ञान नियाल्दा उहाँहरूबीचमै एकापसमा विश्वास नभएजस्तो, एकअर्काबाट त्रास महसुस गरिरहेजस्तो देखिन्छ,” आचार्य भन्छन्, “यस्तै अवस्थाका कारण जिल्ला तहका नेता/कार्यकर्ताले समेत आफूलाई सुरक्षित ठान्न सकिरहेका छैनन् ।”
अर्का केन्द्रीय सदस्य भण्डारीसमेत शीर्ष नेतृत्वमा अन्योल र अविश्वास देखिएको बताउँछन् । तर अविश्वास चिर्न केही हदसम्म बैठक सफल भएको उनको तर्क छ ।
विश्वभर महामारीका रूपमा फैलिएको कोरोनाको मनोवैज्ञानिक त्रास सर्वसाधारणदेखि स्वास्थ्यकर्मीस...
महामारीका रुपमा फैलिइरहेको कोभिड-१९ संक्रमण नेपालमा पनि देखिएपछि एक साताका लागि मुलुक लकडा...
२७ खर्ब ३८ अर्ब बराबर को अवैध कारोबार...
रामचन्द्र पौडेल र कृष्ण सिटौला समर्थकहरुलाई पद दिएर महाधिवेशनबाट फेरि सभापति हुने देउवा रण...
प्रहरीले मोस्ट वान्टेड सूचीमा राखेर एक दशकयता खोजिरहेका अभियुक्त कालीबहादुर खामका अपराध–शृ...
पाँच अपराधमा अदालतबाट दोषी ठहरिएका प्रमुख सेनानी भरत गुरुङको अकुत सम्पत्ति सरकारबाटै फिर्त...