राष्ट्रप्रति जवाफदेही नहुने सरकार केको राष्ट्रवादी ?
भ्रष्टाचार आफू पनि नगर्ने, अरूलाई पनि गर्न नदिने प्रधानमन्त्री ओलीको प्रतिबद्धताको वास्तविक परीक्षा सुरु भएको छ ।
निजी क्षेत्रलाई पोस्ने नियतले कसरी मौलाइरहेको छ नीतिगत भ्रष्टाचार ?
राहदानी तथा मुद्रा छपाइका लागि उपयोग हुने गरी सरकार सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने तयारीमा थियो । र, त्यसका लागि स्वीस कम्पनीसँग खरिद प्रक्रियाबारे छलफल भइरहेको थियो । स्वीस कम्पनीका नेपाल प्रतिनिधि विजयप्रकाश मिश्र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटासँग समन्वय गर्दै थिए । तर परिस्थिति मिश्रको काबुबाहिर त्यतिबेला पुग्यो, जब यती समूहका आङछिरिङ शेर्पाको लबिइङ सुरु भयो । यती समूहले फ्रान्सको कम्पनीसँग डिल गर्ने वातावरण मिलाएको थियो । १६ फागुन ०७५ मा मन्त्री बाँस्कोटासहित शेर्पा फ्रान्स जानेवाला थिए । विडम्बना, त्यसको अघिल्लो दिन पाथिभरा हेलिकप्टर दुर्घटनामा शेर्पाको निधन भयो ।
त्यसपछि यती समूहकै परिवारको अन्य सदस्यको लबिइङमा बाँस्कोटा फ्रान्सको कम्पनीसँग डिल गर्दै थिए । खासमा सेक्युरिटी प्रेस ११ अर्ब रुपैयाँमा खरिद गर्न सकिने थियो । तर कमिसनको खेलले त्यसको मूल्य २७ अर्बसम्म पुग्यो । अझ बढेर ३८ अर्ब रुपैयाँसम्म पुर्याउने प्रयास भइरहेको थियो । यही बीचमा स्वीस कम्पनीका एजेन्ट मिश्र र मन्त्री बाँस्कोटाको कमिसन संवाद सार्वजनिक भयो । र, ८ फागुन ०७६ मा बाँस्कोटा राजीनामा दिन बाध्य भए ।
सरकारी कार्यक्रममा तय गरेर सेक्युरिटी प्रेस खरिद प्रकरण नीतिगत भ्रष्टाचारको गतिलो नमुना हो । नीतिगत भ्रष्टाचारका लागि चर्चामा रहेका विगतका लाउडा काण्ड, मल काण्ड, वाइडबडी खरिद काण्डलाई बिर्साउने सेक्युरिटी खरिदबाट कमिसन लिन सरकार कसरी लागेको थियो भन्ने अन्तर्य बुझ्न ई–पासपोर्ट छपाइ टेन्डर प्रकरणलाई नियाल्नुपर्छ ।
१० भदौ ०७६ मा सरकारले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्यो, ई–पासपोर्ट छपाइका लागि । तर पर्याप्त प्रस्ताव नआएपछि २७ दिन म्याद थपियो । थपिएको म्याद नसकिँदै २१ कात्तिकमा मन्त्रिपरिषद्ले ई–पासपोर्ट छपाइको टेन्डर रद्द गर्यो । कारण थियो– अहिलेसम्म भएका साढे ७ लाख थान पासपोर्टलाई कृत्रिम अभाव देखाएर महँगोमा सेक्युरिटी प्रेस खरिद गर्नु । ४ अर्बभन्दा बढी कमिसन वितरण भएको वाइडबडी काण्डलाई बिर्साउने गरी खरिद हुन लागेको सेक्युरिटी प्रेस प्रकरण सरकारको नीतिगत भ्रष्टाचारको न पछिल्लो नमुना हो, न त अन्तिम नै ।
सेक्युरिटी प्रिटिङ प्रेस खरिद प्रकरण मात्र होइन, बाँस्कोटासँग दर्जन अरू मुद्दा जेलिएका छन् । सम्पत्ति विवरणमा सामसुङ ब्रान्डको आईफोन उल्लेख गरेर हँसीमजाकको पात्र बनेका बाँस्कोटाको कमिसन दुष्चक्रको सुरुआत भने नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको बर्खास्तीबाट भएको हो । ४ वर्षे कार्यकालका लागि असोज ०७३ मा नियुक्त राजभण्डारीलाई फोरजी सेवा विस्तारमा ढिलो गरेको आरोपमा २९ साउन ०७५ मा हटाइयो । राजभण्डारीलाई हटाए पनि बाँस्कोटाले ल्याएका नयाँ प्रबन्ध निर्देशकले आजसम्म फोरजीको गुणस्तर बढाउन सकेका छैनन् ।
नेपाल दूरसञ्चार प्राधिकरण अध्यक्षमा दिगम्बर झाको पुनर्नियुक्ति, विवादास्पद फ्रान्सेली कम्पनीसँग स्याटेलाइट समझदारी, इन्टरनेट सेवाप्रदायक कम्पनीको अनुकूलतामा दूरसञ्चार नियमावली संशोधन, विरोधी र आलोचकलाई नियन्त्रणमा राख्ने मिडियासम्बन्धी कानुन, सूचना तथा प्रविधि विधेयक र नेपाल मिडिया काउन्सिल विधेयक मस्यौदालगायत घटनाले बाँस्कोटाको वास्तविक चेहरा उदांगो पार्छन् ।
यो पनि पढ्नुस
भ्रष्टाचार आफू पनि नगर्ने, अरूलाई पनि गर्न नदिने प्रधानमन्त्री ओलीको प्रतिबद्धताको वास्तविक परीक्षा सुरु भएको छ ।
आर्थिक लेनदेनको विवादमा फसेकाहरूले सामान्यत: राजीनामापछि उन्मुक्ति पाएका उदाहरण छन् । विगतकै उदाहरण हेर्दा पनि तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै छानबिन गर्यो र बर्खास्त गर्न सिफारिस गर्यो तर थप छानबिनको दायरामा तानेन । राजीनामापछि बाँस्कोटामाथि अख्तियारले छानबिनमा कुनै चासो दिएको छैन । पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यनाथ उपाध्याय विवादमा फसेर बाहिरिए पनि पूर्वमन्त्री अनुसन्धानको दायराबाट उम्किन नसक्ने बताउँछन् । भन्छन्, “पत्रपत्रिकामा आएका समाचारको आधार लिएर सम्बन्धित निकायले अनुसन्धान गर्न सक्छ ।”
पूर्वप्रमुख आयुक्त उपाध्याय अनुसन्धानको दायरा फराकिलो बनाउने र दोषीलाई कारबाही गर्नुपर्ने बताउँछन् । तर सरकार अनुसन्धानको दायरा घटाउन भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐन नै संशोधन गर्दै छ । संघदेखि प्रदेशसम्मका मन्त्रिपरिषद्का निर्णय छानबिनको दायरामा ल्याउन नपाउने अख्तियारको ऐनमा मस्यौदा गरिएको छ । अनि, भ्रष्टाचार निवारण ऐनले सार्वजनिक पदमा बस्ने सबै व्यक्तिले सम्पत्ति सार्वजनिक गर्नु नपर्ने भनेको छ । । पूर्वसचिव शारदाप्रसाद त्रिताल मस्यौदाअनुसार नै ऐन संशोधन भए भ्रष्टाचारले वैधानिकता पाउने दाबी गर्छन् ।
२८ माघ ०७६ मा भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार गरेको भूमिसम्बन्धी ऐन प्रमाणीकरण भयो । ऐनको एउटा बुँदालाई गम्भीर मानिएको थियो किनभने उक्त दफाले नीतिगत भ्रष्टाचारको बाटो खोलिदिने भय छ । भूमि अधिकार मञ्च नामक गैरसरकारी संस्था (एनजीओ) ले मस्यौदा गरेको ऐनमा ‘सुकुम्बासीलाई निरन्तर १० वर्ष बसेको जुनसुकै स्थानको जग्गा उपलब्ध गराउने’ व्यवस्था छ । झट्ट हेर्दा ऐनले सुकुम्बासीको हितमा काम गर्ने देखिए पनि खासमा हुकुमबासीको फाइदाका लागि उक्त बुँदा घुसाइएको छ ।
अधिकांश स्थानमा सुकुम्बासीभन्दा हुकुमबासीले भाडामा राखेका धेरै छन् । त्यही कारण विज्ञले ऐनको मस्यौदामाथि छलफलका बेला ‘वास्तविक सुकुम्बासी’ भन्ने शब्द राख्न आग्रह गरेका थिए । त्यसको सुनुवाइ त भएन नै, अब गठन हुने सुकुम्बासी आयोगमा समेत ऐन मस्यौदा गरेकै व्यक्तिलाई ल्याउने तयारी भइरहेको छ । पूर्वसचिव त्रिताल वास्तविक सुकुम्बासीको पहिचान नभई जग्गा वितरण गर्न नहुने बताउँछन् । भन्छन्, “नेपालमा सुकुम्बासी टोलमा पनि माफियाले सेटिङमा मान्छे राखेका छन् । वास्तविक सुकुम्बासीको अध्ययन नभई जग्गा वितरण गर्नु हुँदैन ।”
नीतिगत निर्णय मूलत: आफूलाई केन्द्रमा राखेर प्रधानमन्त्री वा मन्त्रीबाट हुन्छ । आफूबाहेक दोस्रो पक्ष पार्टी हुन्छ । पार्टीभित्र पनि आफ्नो गुटको पक्षपोषणका लागि निर्णय गरिन्छ । त्यसपछि सोचिन्छ, आफ्ना मतदातालाई खुसी पार्ने चालबाजी । चन्दादातालाई खुसी पार्नुपर्ने बाध्यता पनि छँदै छ । निर्वाचनका बेला होस् वा अन्य सन्दर्भमा आर्थिक सहायता लिनुपर्ने पक्षले दोहोरो फाइदा खोजिरहेको हुन्छ । पूर्वसचिव भोजराज पोखरेल भन्छन्, “पार्टी वा गुट चलाउन पैसा चाहिन्छ । त्यो पैसा विभिन्न व्यापारीबाट लिइन्छ । व्यापारीले आर्थिक सहयोग गरेबापत यति काम गरिदिनू भन्छ । त्यसका लागि नीतिगत निर्णय लिनुपर्ने हुन्छ ।”
भ्रष्टाचारमाथि शोध गर्दै आएका विश्लेषक अजयभद्र खनालको बुझाइमा नीतिगत भ्रष्टाचारमा निजी क्षेत्रको अन्योन्याश्रित सम्बन्ध हुन्छ । चाहेको मौकामा पैसा दिने गरी केही व्यापारिक घरानाले नेताहरूको पैसा चलाइरहेका छन् । शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रमा राजनीतिक व्यक्तिको लगानी छ । निजी क्षेत्रका केही व्यक्तिले राजनीतिक क्षेत्रको पैसा लगानी गर्ने अनि त्यसको प्रतिफल र आवश्यक पर्दा थप रकम उपलब्ध गराउँछन् ।
शक्तिको स्रोत दुरुपयोग कतिसम्म हुन्छ भन्नलाई ८ फागुन ०७६ को संसद्का शिक्षा तथा स्वास्थ्य समितिको बैठक नै काफी छ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले पेस गरेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसम्बन्धी ऐनको मस्यौदामाथिको छलफल थियो, त्यो । मस्यौदामा मदन भण्डारी फाउन्डेसनका अध्यक्ष तथा उनले तोकेका दुई व्यक्ति विश्वविद्यालयको सञ्चालक समितिमा रहने व्यवस्था थियो । यो विश्वविद्यालय पूर्वएमाले (हाल नेकपा) नेताहरूद्वारा सञ्चालित हो भने फाउन्डेसन निजी संस्था । सरकारी विश्वविद्यालयमा निजी क्षेत्र, त्यसमा पनि निश्चित व्यक्तिको पहुँच स्थापित गर्न मस्यौदामा त्यस्तो व्यवस्था गरिएको छ । भलै, समिति बैठकले फाउन्डेसनबाट सिफारिस सदस्य नराख्न सुझाएको छ ।
सरकारले नीतिगत निर्णयबाट व्यापारी पोस्छ भन्ने सूची लामो छ । यती समूह, बैंकर्स चन्द्र ढकाल, ठेकेदार शारदाप्रसाद अधिकारी, विक्रम पाण्डे, जीपछिरिङ लामा, कान्छाराम तामाङदेखि धनबहादुर बुढासम्म राजनीतिक संरक्षणमा हुर्किरहेका छन् । निर्माणसम्बन्धी ठेक्कामा नीतिगत निर्णय गराउने उनीहरूको प्रभाव र दबाबकै कारण ९ महिनाको बीचमा सरकारले सार्वजनिक खरिद ऐन ४ पटक संशोधन गरिसक्यो ।
रोचक त के भने सार्वजनिक खरिद ऐन मस्यौदा भइरहेकै बेला ठेकेदारका वकिल बाबुराम दाहाललाई प्रधानमन्त्रीले कानुन विज्ञमा नियुक्त गरे । पुल र सडक निर्माण ठेक्का लिएर काम नगर्दा करिब २२ सय आयोजनाबाट मात्रै राज्यको २ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी जोखिममा परेको छ । कानुनको अपव्याख्या गरेर संगठित रूपमा समेत नीतिगत भ्रष्टाचार भएका उदाहरण भेटिन्छन् । जस्तो, ०७४ को प्रदेशसभा र प्रतिनिधिसभा चुनावअघि निर्वाचन आयोगका पदाधिकारीले गाडी किन्ने निर्णय गरे । खासमा ती गाडी निजी प्रयोजनका लागि किनिँदै थयो । आयोगले निर्वाचन सामग्रीमा परिभाषित गरेर ती गाडी किन्न चलाखीपूर्वक अर्थ मन्त्रालयको स्वीकृति लिएको थियो ।
अर्थले स्वीकृत गर्नुमा त्यहाँका कर्मचारीको समेत स्वार्थ जोडिएको थियो । आयोगले निर्वाचन आचारसंहिताका नाममा अर्थका कर्मचारीलाई विदेश जान रोकेको थियो । गाडी खरिद स्वीकृति दिए विदेश भ्रमणका लागि अनुमति दिने आयोगको सन्देशपछि अर्थले नाइँ भनेन । पूर्वसचिव त्रितालका अनुसार यो स्वार्थ समूहको मिलेमतोमा भएको नीतिगत भ्रष्टाचार हो ।
यो पनि पढ्नुस
नीति तर्जुमा गर्नु र निर्णय गर्नु एउटै विषय होइनन् । यति सरल र सहज विषयलाई राज्यशक्तिको प्रभावमा अख्तियारले अन्यत्रै मोड्ने दुष्प्रयास गर्यो
निर्वाचनभन्दा अलि अघिको बूढीगण्डकी जलविद्युत् आयोजनाको अर्को प्रसंग हेरौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीबाट राजीनामा दिनु दुई दिनअघि ९ जेठ ०७४ मा बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनी गेजुवा वाटर एन्ड पावर ग्रुपलाई दिने निर्णय गरे । भ्याट छलेर कारबाहीमा परेको विवादास्पद सोही कम्पनीलाई बिनाप्रतिस्पर्धा आयोजना जिम्मा लगाइयो । जबकि लागत, ऋण वा अनुदान तथा त्यसको ब्याजलगायत बुँदामा सहमति नै भएको थिएन ।
पछि प्रचण्डकै समर्थनमा प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले गेजुवाको निर्णय उल्टाए । देउवापछि प्रधानमन्त्री बनेका ओलीले पुन: त्यो निर्णय उल्टाए पनि बूढीगण्डकी निर्माणले अहिलेसम्म गति लिन सकेको छैन । त्यस्तै प्रकरण थियो, व्यापारी चन्द्र ढकालको समूहलाई फाइदा पुग्ने आर्थिक वर्ष ०७१/७२ को बजेट र आर्थिक ऐनको व्यवस्था । त्यसमा केबुलकार सामग्री भन्सार महसुलमा ५० प्रतिशत छूट दिने व्यवस्था थियो । झट्ट हेर्दा यो पर्यटन उद्योगमा लगानी आकर्षित गर्ने नीतिजस्तो देखिन्छ । तर त्यसको भित्री उद्देश्यचाहिँ चन्द्रागिरिमा केबुलकार बनाइरहेका व्यापारी ढकाललाई सहुलियत दिनु थियो ।
ज्ञातव्य रहोस्, यस्तो नीति आउनुभन्दा ४ वर्षपहिला तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले कौडीको भाउमा ढकाललाई चन्द्रागिरि लिजमा दिएका थिए । उक्त आर्थिक ऐनले ढकाल मात्र लाभान्वित हुने थिएनन्, परिस्थितिले साथ दिएको भए यती समूहलाई पनि लाभ मिल्थ्यो । यतीले ताप्लेजुङको पर्यटकीय स्थल पाथिभरा क्षेत्रमा केबुलकार सुरु गर्ने प्रयास गरिरहेको थियो । पुराना कानुनले साथ नदिने देखेपछि शेर्पा परिवारकै प्रभावमा सरकारले गत वर्ष यती समूह लाभान्वित हुने गरी कानुन बनायो ।
राष्ट्रिय निकुञ्ज क्षेत्रमा केबुलकार र रिसोर्ट सञ्चालन अनुमति दिने गरी राष्ट्रिय निकुञ्जसम्बन्धी ऐनको मस्यौदा वन तथा वातावरण मन्त्रालयले गरेको थियो । यती समूहचाहिँ नागार्जुन शिवपुरी राष्ट्रिय निकुञ्जमा रिसोर्ट र केबुलकार चलाउने तयारी गर्दै थियो ।
यती समूहकै निम्ति नेपाल ट्रस्ट ऐन नै संशोधन गरेर दरबारमार्गको जग्गा र गोकर्ण रिसोर्ट सस्तो भाडामा दिएको छ, सरकारले । यसमा प्रधानमन्त्री ओलीको प्रत्यक्ष संलग्नता त थियो नै, त्यसलाई रक्षामन्त्री ईश्वर पोखरेल र निवर्तमान सञ्चारमन्त्री बाँस्कोटाले पनि साथ दिए । कतिसम्म भने ०७२ मा पहिलोपल्ट प्रधानमन्त्री छँदा ओली उडान अनुमति नै पाइनसकेको यती समूहको हिमालय एयरलाइन्स भाडामा लिएर चीनको राजकीय भ्रमणमा निस्के । राष्ट्रिय ध्वजावाहक विमान छाडेर उनी हिमालय एयरलाइन्समा उडे । त्यति मात्र होइन, हवाई कम्पनीलाई कारोबार सुरु गरेको ५ वर्षसम्म पूर्ण र त्यसपछि तीन वर्ष आधा आयकर छूटको व्यवस्था बजेटमै गरियो, हिमालय एयरलाइन्सलाई नै पोस्ने गरी ।
विश्लेषक खनालका अनुसार नेताहरू आफैँ संलग्न संस्थाहरूको फाइदाका लागि नीतिगत निर्णय गराउन तम्सिन्छन् । सरकारले गरेका निर्णयले बारम्बार हिमालय एयरलाइन्स वा यती समूहलाई लाभ पुग्नुलाई संयोग मात्रै मान्न सकिन्न । कतिसम्म भने शेर्पा समूहले भनेको नमान्दा पर्यटनमन्त्री दीपक अमात्यको पद नै गएको थियो ।
पछिल्लो समय पर्यटन मन्त्रालयले ल्याउन लागेको हवाई नीतिले यती समूह लाभान्वित हुनेछ । ५ वटाभन्दा कम जहाज किन्ने क्षमता नभएका व्यवसायीले एयरलाइन्सको अनुमति नपाउने र प्रतिस्पर्धात्मक रूपमा भाडादर फेरबदल गर्न नपाउने बुँदा समेटिएको छ ।
यो पनि पढ्नुस
पाँच अपराधमा अदालतबाट दोषी ठहरिएका प्रमुख सेनानी भरत गुरुङको अकुत सम्पत्ति सरकारबाटै फिर्ता
स्वार्थ समूह र नेताहरूबीचको नेक्सस कानुन निर्माण तहबाटै सुरु हुने उदाहरण बग्रेल्ती छन् । शिक्षा नीति बनाउने क्रममै निजी विद्यालय सञ्चालक हावी भए । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको क्षेत्राधिकारमा पर्ने शिक्षा नीतिमाथि संशोधन गराउन प्रधानमन्त्री ओलीले रक्षामन्त्री पोखरेललाई लगाए । परिणामत: निजी विद्यालय सञ्चालकमैत्री नीति आयो । बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुन (बाफिया) बनाउने क्रममा निजी बैंकका सञ्चालक इच्छाराज तामाङ हावी भए । ५ वटा म्यानपावर कम्पनीका मालिक टेकबहादुर गुरुङ श्रममन्त्री बन्दा ५ वर्षअघि म्यानपावर सञ्चालकसँग स्वार्थ बाझिने मुद्दामा मुछिएका थिए ।
“कानुन निर्माणकै क्रममा नीतिगत भ्रष्टाचारको आधार खडा गरिन्छ । त्यसैका उदाहरण हुन्, शिक्षा नीति, बाफिया, मेडिकल शिक्षा ऐन, सहकारी ऐन,” विश्लेषक खनाल भन्छन्, “संसद्को कानुन बनाउने क्रममा बाहेक अधिकारप्राप्त व्यक्ति वा निकायले बनाउने नियम, विनियम र दिग्दर्शनबाट पनि नीतिगत भ्रष्टाचार हुन्छ ।”
कृषि मन्त्रालयले निर्देशिका बनाएर आफन्त र पहुँचवालालाई दिएको कृषि अनुदान प्रकरण होस् वा गृहले दिने आर्थिक सहायता वा स्वास्थ्यले उपलब्ध गराउने सहायता । सबैमा आफन्तमा केन्द्रित निर्णय भएका छन् । गृहले गत वर्ष मात्रै करिब २८ करोड रुपैयाँ जथाभावी बाँडेको थियो । संस्कृति तथा पर्यटन मन्त्रालयमार्फत पनि वर्षमा भन्डै ५ करोड विभिन्न संस्थाका नाममा बाँडिने गरेको छ । पूर्वसचिव पोखरेल भन्छन्, “मतदाता र चन्दादातालाई खुसी पार्न राज्यकोषबाट जथाभावी रकम बाँड्नु पनि नीतिगत भ्रष्टाचार हो ।”
नेपालमा बर्सेनि करिब १२ अर्ब बराबरको चिनीको व्यापार हुन्छ । त्यसमा उखु व्यापारी कसरी सरकारसँग नीतिगत निर्णय गराउन सफल छन् भन्नलाई गत वर्षको निर्णय हेरे पुग्छ । व्यापारीले नेपालमा प्रशस्त चिनी उत्पादन भएको भन्दै विदेशी चिनी आयातमा परिमाणात्मक प्रतिबन्ध लगाउन सरकारलाई राजी गराए ।
स्वदेशी उद्योगलाई प्रोत्साहित गर्ने आवरणमा तत्कालीन उद्योगमन्त्री मातृका यादव र प्रधानमन्त्री ओलीले उद्योगी पोस्न ३१ भदौ ०७५ मा विदेशी चिनी आयातमा प्रतिबन्ध लगाए । तर चिनी उद्योगीहरूले उखु किसानको करोडौँ उधारो रकम ५ वर्षदेखि तिरेका थिएनन् । चिनीको मूल्य पनि ह्वात्तै बढाए ।
५ वर्षदेखि रकम नपाएपछि ०७६ पुसमा उखु किसान काठमाडौँसम्म आए, आन्दोलनका लागि । सरकारसँग ७ माघ ०७६ भित्र रकम भुक्तानी सहमति भए पनि उखु किसानले अहिलेसम्म पूरै पैसा पाएका छैनन् । चिनी उद्योग सञ्चालकले भ्याट छूटको रकम र किसानको उखुको रकममा पनि मोज गरिरहेका छन् ।
त्यही हर्कत देखाएर केही महिनापहिला चल्ला उत्पादकले ०७६ मंसिरदेखि माघबीचमा १५ करोड मूल्य बराबरका ३० लाखभन्दा बढी चल्ला र ४५ करोड बराबरका साढे ३ करोड गोटा अन्डा नष्ट गरे । र, कुखुराको मासुको मूल्य बढाएर प्रतिकिलो साढ ४ सय रुपैयाँ पुर्याए । जबकि मंसिरमा २ सय ८० रुपैयाँ थियो । मूल्य बढाउन ह्याचरी महासंघ १० दिनसम्म हडतालमा थियो ।
कुखुरा व्यवसायीले झन्डै दोब्बर मूल्य बढाउँदा पनि कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल चुपचाप बसिरहेका छन् ।
कर फर्स्योट आयोग नै गठन गरेर सरकारले अर्बौं रुपैयाँ छूट दिने निर्णय पनि नीतिगत भ्रष्टाचारको चरम नमुना थियो । ०७१ मा गठन भएको आयोगले ३० अर्ब ५२ करोड बक्यौतामा करिब २१ अर्ब रुपैयाँ मिनाहा गरेको थियो । आयोग गठन गर्ने अर्थमन्त्री रामशरण महत र त्यसको नेतृत्व गर्ने चूडामणि शर्मा थिए । इन्डोनेसियाबाट ल्याएको सुपारी, मलेसियाबाट आयातीत पाम तेल नेपाली ब्रान्डमा भारत निकासी गर्ने र भारतबाट दाल ल्याएर बंगलादेश निर्यात गर्ने अनि निर्यात उद्योगलाई दिने ४ प्रतिशत नगद प्रोत्साहन कुम्ल्याउन नीतिगत बाटो पनि सरकारले खोलिरहेकै छ ।
मंसिर ०७३ को अर्को उदाहरण हेरौँ । तत्कालीन संसद्ले पारित गरेको औद्योगिक व्यवसाय ऐनमा निश्चित समूह वा कम्पनीलाई फाइदा पुग्ने गरी एउटा बुँदा घुसेको थियो । उक्त बुँदामा तीन सयभन्दा बढी नेपालीलाई वर्षभरि रोजगार दिने सञ्चार, सूचना तथा प्रविधि र उत्पादनमूलक उद्योगलाई आयकरमा १५ प्रतिशत छूट दिइने भनिएको थियो । १२ सयभन्दा बढीलाई रोजगार दिने उद्योगलाई त्यस वर्ष २५ प्रतिशत आयकर छूटको प्रावधान राखियो । खासमा एनसेललाई कर छूट दिन त्यसो गरिएको थियो ।
नीतिगत निर्णयबाट हुने भ्रष्टाचारले पहिलो त उत्पादनशीलतामा आधारित उद्योग स्थापना गर्दैन । “उत्पादनशीलतामा आधारित उद्योग स्थापना नहुनुमा नीतिगत भ्रष्टाचार प्रमुख कारण हो,” विश्लेषक खनाल भन्छन्, “त्यसबाहेक नीतिगत निर्णयमा हावी भएर स्थापित ठूला उद्योगमा विधिको शासन पनि छैन । बरु साना तथा मझौता उद्योग उत्पादनशीलतामा आधारित छन् ।”
ठूला उद्योगमा राजनीति संरक्षण रहेको उदाहरण कर छूट प्रकरणलाई लिन सकिन्छ । सरकारी तजबिजमै वार्षिक करिब ३० अर्ब रुपैयाँ कर छूटको नाममा व्यवसायीलाई फिर्ता गरिन्छ । तर हरेक सामानमा कर व्यवसायीले होइन, उपभोक्ताले तिर्छन् । उपभोक्ताले तिरेको करको छूट व्यवसायीले पाउँछन् ।
खनालका अनुसार नीतिगत भ्रष्टाचारले नागरिकमाथि दोहन बढाउँछ । व्यवसायीले राज्यको संरक्षणमा दोहन गर्ने छूट पाएकै कारण नेपालको शिक्षा, स्वास्थ्य क्षेत्र महँगो भएको छ । बढ्दो महँगीमा सरकारले लगाम कस्न नसक्नुमा चन्दादाताको संरक्षण मोहले काम गरेको देखिन्छ ।
नीतिगत भ्रष्टाचारलाई थप प्रश्रय दिने प्रयास राजनीतिक र प्रशासनिक तहबाट हुन थालेको छ । आफ्ना निर्णय प्रक्रियामाथि प्रश्न उठाउने हिम्मत कसैमा नहोस् भन्न लाई कानुनी आधार टेक्ने प्रयास हुन्छ । अहिले संसद् पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार निवारण ऐनको संशोधनले त्यही देखाउँछ । उक्त बुँदासहित ऐन पारित भए संघ, प्रदेश र स्थानीय तहको कार्यपालिकाले गर्ने नीतिगत भ्रष्टाचारमाथि अख्तियारले प्रश्न उठाउन पाउने छैन, जसले नीतिगत भ्रष्टाचारलाई संस्थागत गरी तल्लो तहसम्मै पुर्याउनेछ ।
अर्को, भ्रष्टाचार निवारण ऐनको मस्यौदामा सार्वजनिक पदमा पुग्ने सबैले सम्पत्ति विवरण सार्वजनिक नगरे पनि हुन्छ । यसले व्यक्तिको नैतिकता र सुशासनसँग जोडिएको मुद्दाबाट पनि छुटकारा खोज्ने तथा अवैध बाटोबाट आम्दानी गर्ने छूट दिन खोजेको देखिन्छ ।
पूर्वसचिव त्रिताल नीतिगत भ्रष्टाचार मात्र होइन, अवैध आम्दानीका हरेक बाटोलाई अघोषित वैधानिकता दिन कानुनी बाटो खोल्न लागिएको बताउँछन् । भन्छन्, “यी दुई ऐनको मस्यौदा संसद्बाट हुबहु पारित भए भ्रष्टाचारले सीमा नाघ्छ र संस्थागत हुन्छ ।”
यो पनि पढ्नुस
‘भ्रष्टाचारीको अनुहार हेर्दिनँ’ भन्ने प्रधानमन्त्री केपी ओलीले अब सरकारको अनुहार हेर्नेछन् र नेकपाको राजनीतिक तुलो फेरि जाँच्नेछन् ।
नीतिगत निर्णयको परिभाषा नै नभएकाले सरकार र मन्त्रीहरूले निजी स्वार्थलाई पनि नीतिगत निर्णयको पगरी गुथाउने एवं मन्त्रिपरिषद्बाट निर्णय गराउने प्रचलन बढेको छ । पूर्वसचिव भोजराज पोखरेलका अनुसार अमुक व्यक्तिको फाइदा–बेफाइदाभन्दा पनि सामान्यतया हुने गरी गरिने निर्णय नीतिगत हुन् ।
नागरिकलाई अवसर सिर्जना गर्न र राजनीतिक आश्वासनलाई व्यवहारमा ल्याउन प्रक्रियागत बाधक देखिए मन्त्रिपरिषद्ले प्रक्रिया खुलाउन निर्णय गर्न सक्छ । राष्ट्र हितमा हुने निर्णय तत्काल गर्नुपर्ने भए पनि मन्त्रिपरिषद्ले निर्णय लिन्छ । “सरकारका हरेक निर्णय अख्तियारको घेरामा राखिए सरकार सञ्चालनमा समस्या हुन्छ भनेर राम्रो काम गर्ने वातावरण बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको घेराभन्दा बाहिर राखेको हो,” पोखरेल भन्छन् ।
पूर्वसचिव शान्तराज सुवेदीको भनाइमा नीतिगत र प्रशासनिक दुई प्रकारका निर्णय हुन्छन् । तर अहिले प्रशासनिक निर्णयलाई पनि नीतिगत भन्न थालिएको छ । “एक कामका लागि वा एक पटकका लागि मात्रै हुने निर्णय मात्रै नीतिगतअन्तर्गत पर्छन्,” सुवेदी भन्छन् ।
मन्त्रिपरिषद्को मूलढोका उभिएका हुन्छन्– मुख्यसचिव, जसको अनुमतिबिना मन्त्रिपरिषद्मा अपवादबाहेक प्रस्ताव पुग्दैनन् । मन्त्रिपरिषद्मा प्रधानमन्त्रीपछिको शक्तिशाली सदस्य पनि हुन्, मुख्यसचिव । मन्त्रिपरिषद्का लागि मन्त्रालयबाट आउने हरेक प्रस्तावको अध्ययन, अनुसन्धान मुख्यसचिवको सचिवालयले गर्छ । प्रक्रिया नपुगे वा प्रस्ताव उचित नलागे मन्त्रालयमा फिर्ता पठाउन सक्छन् । हरेक छिद्रछिद्र केलाएर मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने शक्ति र ओजलाई पछिल्ला मुख्यसचिवले लाभहानिमा हिसाबकिताब गर्न थालेका छन् । त्यसो हुन्थेन भने ललिता निवास जग्गा प्रकरणमा तत्कालीन मुख्यसचिव माधवप्रसाद घिमिरे र लीलामणि पौडेलको भूमिकामा प्रश्न उठ्दैनथ्यो ।
विभागीय क्षेत्राधिकारमै नपर्ने भौतिक योजना तथा यातायात मन्त्रालयबाट मोही कायम गराउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाँदा पनि घिमिरे र पौडेल मुकदर्शक बने । मुख्यसचिव लोकदर्शन रेग्मी पनि पदीय दायित्वमा खरो उत्रन सकेका छैनन् ।
पूर्वसचिव भोजराज पोखरेलको भनाइमा कुनै प्रस्तावले राष्ट्र हित गर्दैन वा भ्रष्टाचारलाई बढावा दिन्छ भन्ने लाग्यो भने मुख्यसचिवले निर्णयमा हस्ताक्षर नगर्न सक्छ, प्रधानमन्त्रीलाई पुनर्विचार गर्न सुझाव दिन सक्छ । पछिल्ला घटनाक्रम नियाल्दा मुख्यसचिवमा त्यस्तो तागत देखिँदैन । विश्लेषक अजयभद्र खनाल भन्छन्, “मुख्यसचिवको सबैलाई रिझाउने चरित्र नीतिगत भ्रष्टाचार मौलाउन सहयोगी हुन्छ ।”
विश्वभर महामारीका रूपमा फैलिएको कोरोनाको मनोवैज्ञानिक त्रास सर्वसाधारणदेखि स्वास्थ्यकर्मीस...
महामारीका रुपमा फैलिइरहेको कोभिड-१९ संक्रमण नेपालमा पनि देखिएपछि एक साताका लागि मुलुक लकडा...
२७ खर्ब ३८ अर्ब बराबर को अवैध कारोबार...
रामचन्द्र पौडेल र कृष्ण सिटौला समर्थकहरुलाई पद दिएर महाधिवेशनबाट फेरि सभापति हुने देउवा रण...
प्रहरीले मोस्ट वान्टेड सूचीमा राखेर एक दशकयता खोजिरहेका अभियुक्त कालीबहादुर खामका अपराध–शृ...
पाँच अपराधमा अदालतबाट दोषी ठहरिएका प्रमुख सेनानी भरत गुरुङको अकुत सम्पत्ति सरकारबाटै फिर्त...