भरिया जिन्दगी
क्याम्पिङवाला भरियाहरू जहाँ पानी हुन्छ, त्यहीँ सामूहिक पकाएर खान्छन् र गन्तव्य ताक्छन् । भारी बोक्दै जाँदा थकाइ मार्छन् । केही छिन गफगाफ गर्छन् । चुरोट र सुल्पा तान्छन् ।

वर्षमा दुई सिजन ट्रेक चल्छ, लार्के–पास ट्रेक । सालिन्दा हजारौँ पर्यटकले लार्के पास गर्छन् । सबै पर्यटक आफ्नो झिटिझाम्टा आफैँ बोकेर यात्रा गर्न सक्दैनन् । ५ हजार १ सय ६ मिटरको उचाइ एक्लै पार गर्न कठिन पनि हुन्छ । त्यसका लागि पोर्टर अर्थात् भरियाको जरुरत पर्छ नै ।
बिहान ब्रेकफास्टलगत्तै त्यस दिनको गन्तव्यतर्फ अघि बढ्छन् । दिउँसो लन्च बेला एक खेप आफ्नो विदेशी समूहसँग भेट गर्छन् तर खाना एकै ठाउँ खाँदैनन् । नेपाली खाना छुट्टै, पर्यटक समूहको छुट्टै । सुत्ने सुविधा पनि फरक नै हुन्छ । मनास्लु अर्थात् लार्के ट्रेकमा भने हरछाक २ सय रुपैयाँको कुपन काट्ने चलन रहेछ ।
क्याम्पिङवाला भरियाहरू जहाँ पानी हुन्छ, त्यहीँ सामूहिक पकाएर खान्छन् र गन्तव्य ताक्छन् । भारी बोक्दै जाँदा थकाइ मार्छन् । केही छिन गफगाफ गर्छन् । चुरोट र सुल्पा तान्छन् । यात्राभरि महिला भरिया भने देखिएन । १५–१६ को उमेरदेखि भरिया हुँदै आएको आएको बताउने नुवाकोट, बुङताङका ५० वर्षीय दावादेखि ९ कक्षा अध्ययनरत १७ वर्षीय जितेनले यसरी भारी बोक्दै आएका छन् । उनीहरूले दिनभरि ४० किलोसम्मको भारी बोकेर १ हजारदेखि १५ सय हात पारे पनि ७ सयदेखि ९ सय रुपैयाँ मात्रै बचत गर्न सक्दा रहेछन् ।
भारी बोकेर बाससम्म पुर्याएपछि रमाइलो गर्ने पालो । कोही–कोही त रातभरि जुवाको खालमा पनि भेटिन्छन् । ट्रेकिङ खासमा दुई खाले हुन्छन् । एक– टीहाउस अर्थात् होटल–लजमा बस्ने । दुई– क्याम्पिङ अर्थात् टेन्ट टाँग्दै घुम्ने । हिमाल चढ्ने समूह पनि क्याम्पिङ हो तर हिजोआज अक्सर टी–हाउसवाला नै प्रचलित छ । एकै ट्रेक केही दिन टी–हाउस, केही दिनचाहिँ क्याम्पिङ हुन पनि सक्छ ।