प्रवीणको प्रण

- गोकर्ण गौतम

लेटाङ मोरङबाट काठमाडौँ आउँदा प्रवीण खतिवडासँग उस्तो सपना थिएन । बरु आईएस्सी असफलताको चोट भुलाउनु थियो ।

उनी रत्नराज्य क्याम्पसमा पत्रकारिता पढ्न थाले । दाजु नवीन खतिवडाको साथमा एक दिन पुरानो बानेश्वरस्थित आरोहण गुरुकुल पुगे । अग्निको कथा मञ्चन हुँदै थियो ।  पहिलो पटक नाटक हेर्दाको स्वर्णिम अनुभव !

त्यसपछि प्रवीण रंगमञ्चका पक्का दर्शक भए । कुनै नाटक त उनी दोहोर्‍याइ–तेहेर्‍याइसमेत हेर्ने । त्यही बेला गुरुकुलमा निफ फेस्टिभल भयो । भएभरका वर्कसपमा भाग लिए । जब गुरुकुलको डाँडा उक्लन्थे, उनलाई आफैँसँग साक्षात्कार भएको आभास हुन्थ्यो । त्यो आत्मीय माहोल सम्झादै भन्छन्, “त्यहाँ पुगेपछि जहिल्यै आफ्ना इच्छाका पन्ना पल्टाउथेँ । मैले खोजेको यही पो हो जस्तो लाग्थ्यो ।” तर गाउँबाट भर्खर सहर छिरेको ठिटोलाई कसले पत्याउने ?

अलिअलि संयोग, अलिअलि धैर्य । गुरुकुलले प्रवीणलाई पत्यायो । करिब चार सयबाट छानिएर त्यहाँको होस्टेलमा बस्न र पढ्न पाउने भए । त्यतिबेला डिल्लीबजारमा मासिक १२ हजार रुपैयाँको जागिर खान्थे । गुरुकुलमा आउँथ्यो, जम्मा ३ हजार । तैपनि उनलाई लाग्यो, संसार जितियो । तर समयले बुझाउँदै लग्यो, सिर्जनाको संसार अजेय छ । जति साधना गर्‍यो, उति गहिरो ।

यो थियो, ०६० को प्रसंग । प्रवीण आज पनि उही गति र लगावका साथ नाटकमा तल्लीन छन् । त्यसो नहुँदो त आफ्नै गुरु सुनील पोखरेल र अग्रज राजकुमार पुडासैनीलाई स्टेजमा उतार्ने साहस कसरी जुर्थ्यो ! यतिबेला अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक मीमांसाका निर्देशक हुन्, प्रवीण । मुख्य कलाकारचाहिँ सुनील र राजकुमार ।

मीमांसालाई प्रवीण नाटक मात्र नभई गुरुकुल पुनर्स्थापनाको पहिलो खुट्किलो भन्न रुचाउँछन् । थप्छन्, “गुरुकुल भत्किए पनि हामीसँगै छौँ भन्ने सन्देश पनि हो यो नाटक ।”

६ वर्षअगाडि गुरुकुल भत्कियो । तर प्रवीणको अभिनयकारितामा सुस्तता छाएन । यत्ति हो, नाटकबाट सिनेमातिर विधान्तर हुनुपर्‍यो । तर जब गुरुकुल र नाटकको कुरा हुन थाल्छ, प्रवीणका आँखा उज्यालिन्छन्, मुहारमा चमक छाउँछ । अभिनेताका रुपमा जति पहिचान बनेको छ, त्यो सबै गुरुकुलकै देन नै हो ।

गुरुकुलका दोस्रा ब्याच हुन्, प्रवीण । गुरुकुलमा उनलाई धेरैले भाग्यमानी मान्थे । गुरुकुल छिरेको केही महिना नबित्दै अग्निको कथाजस्तो बहुचर्चित नाटकको मुख्य चरित्र भिक्षुज्ञान खेल्ने मौका जो पाए । त्यही नाटक, जुन पहिलो पटक हेर्दा गुरुकुलप्रति मोहित भएका थिए उनी । त्यही भूमिका, जसलाई सुवास थापा र अनुप बरालजस्ता गिनेचुनेका कलाकारले जीवन्त बनाएका थिए । तर यस नाटकको पुनः मञ्चनमा सुवास र अनुपको समय मिलेन । खुदो पल्टियो, प्रवीणलाई । भिक्षुज्ञान बनेर यति दरिलो छाप बनाए कि यसपछि गुरुकुलका हरेक नाटकमा उनी अनिवार्यजस्तै हुन थाले । जात सोध्नु जोगीको, आरुका फूलका सपना, बाघभैरव, बुख्याँचा, खरीको घेरो आदि–इत्यादि । भन्छन्, “गुरुकुलमा मैले अभिनय सिकिनँ, जीवन सिकेँ ।”

अग्निको कथासँगको संयोग यत्तिमै सीमित भएन । गुरुकुलमा मञ्चन हुने अन्तिम नाटक यही बन्यो । प्रवीणले नै अभिनय गरे । तीन वर्षका लागि भनेर गुरुकुल छिरेका उनले आठ वर्ष बिताए । तर अभिनयप्रतिको भोक भेटिएन, झन्झन् घनीभूत हुँदै गयो । गुरुकुलसँगै प्रवीणका सपना पनि भत्किए । गुरुकुलमा हुर्किएका अरु धेरै कलाकारजस्तै ‘बेघरबार’ भए । नाटक गर्ने आफ्नै ‘स्पेस’ भएन । यही छटपटीबीच फिल्ममा झुल्कन थाले ।

उनले क्यामेरा फेस गरेको पहिलो चलचित्र थियो, युग अन्त्यपछिको प्रारम्भ । सुटिङ भयो तर आए–गएको पत्तै भएन । स्पोन्सर फिल्मको हालत पनि उस्तै । हिट भएको लुटले पनि उनलाई उतिविघ्न फाइदा भएन । तर उमाले भने चिनायो । उनकै शब्दमा, उमामा अभिनय गर्दा आँत भरियो । त्यसपछि ढुवानी, विनाकारण, जात्रा, कालो पोथी, लुट , गरुड पुराण, खाग, अनागतलगायत चलचित्र खेले । मिस्टर झोलेले चाहिँ अप्ठेरो पारेछ । जब यो चलचित्र युट्युबमा आयो, सार्वजनिक यातायात चढ्दा धेरैले नियालेर हेर्न थाले । कति त मुखै फोरेर भनिदिन्थे, ‘तपाईं मिस्टर झोलेको हिरो हैन ...?’ उनी मुस्कुराउँथे मात्र । अहिले पनि उस्तै हो ।

यसबीच प्रवीणले ध्रुव, सर्जमिन, हेड्डा ग्याब्लर, कसको, एक बोली एक दामलगायतका नाटक निर्देशन गरे । तर होहल्ला र क्षणिक चर्चाबाट सधैँ टाढा । जति समय बित्दै जान्छ, गुरुकुलको अभाव उति खट्कँदै जान्छ । गुरुकुल भत्किएपछि छटपटीमै बित्यो, बेचैनीले सतायो । अब यसरी नै पिल्सिने होइन, जसरी हुन्छ, गुरुकुल ब्युँताउने प्रण गरेका छन् । पुराना कलाकार र शुभेच्छुकलाई एक ठाउँ ल्याउँदै छन् । नाटकघरका लागि जग्गा हेर्दै छन् । “अब सुनील सर र निशा (शर्मा) म्यामलाई सम्मानित पद दिनेछौँ,” प्रवीण आत्मविश्वासका साथ योजना सुनाउँछन्, “गुरुकुलको नेतृत्वचाहिँ हामी नयाँ पुस्ताले नै सम्हाल्नेछौँ ।” प्रवीण तत्पर छन् ।

अबको प्रतीक्षा, सुनील र निशाले कोमामा पुगिसकेको गुरुकुललाई प्रवीणहरुको ऊर्जामार्फत पुनर्जीवन दिने बाटो सहज बनाउँछन्/बनाउँदैनन् भन्ने नै हो ।

प्रकाशित: श्रावण १४, २०७६

ट्याग: रङ